म्याग्दीकाे वारीबेनीमा सडक कालोपत्र
म्याग्दी । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ । म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाडासम्म करिब ७५० मिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी निराजन खतिवडाले बताए । उनका अनुसार साढे पाँच मिटरदेखि नौ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्र गरिएको छ । प्रिमिक्स प्रविधिको कालोपत्र गर्न त्रिशक्ति–तिलक निर्माण सेवाले एक करोडमा विसं २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ छन् । आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ । अबको सात दिनभित्र कालोपत्र सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले बताए । यही आयोजनाअन्तर्गत वारीबेनीको डाँडादेखि आँखोलासम्म सडक विस्तार गरिएको छ । कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्यौलता भएपछि एक वर्षदेखि काम रोकिएको थियो । वारीबेनीदेखि आँखोला खण्ड कालीगण्डकी कोरिडोर र वारीबेनी बजारभित्र सडक डिभिजनले कालोपत्र गर्ने निर्णय भएपछि काम अघि बढेको हो । करिब दश वर्षअघि मालढुङ्गा–बेनी सडक आयोजनामार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पूरै भाग कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताए । रासस
अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
काठमाडौं । अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले एक खर्बमाथि पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोभिड १९ प्रभावित व्यवसायी अनुसार थप लगानी गर्न कार्यधि संशोधन गरिएको बताइएको हो । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले केन्द्रीय बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्नेछ । ग्राहक ऋणीअनुसार ४२ अर्ब ५० करोड लगानी गर्नसक्नेमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको बताइएको छ । राष्ट्र बैंकले शंसोधन गरेको पुनरकर्जा कार्यविधिमा इजाजत पत्र प्राप्त संस्थाले पुनरकर्जाको आवेदन पेश गर्दा ग्राहक ऋणीको कर्जा वर्गिकरण, कर्जा प्रवाह मिति, कर्जा भुक्तान मिति र कर्जाको व्याजदर स्पष्ट रुपमा खुलाउनुको अतिरिक्त कुन प्रकारको पुनरकर्जाको लागि आवेदन पेश गरेको हो सो व्यहोरा स्पष्ट रुपमा किटान गरी पेश गरे पुनरकर्जा दिन सक्ने उल्लेख गरेको छ । [pdf id=262858]
मेलम्चीको पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा
काठमाडाैं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवक्र्स’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । उनले भने, ‘बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।’ आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवक्र्स’ निर्माण गरेको हो । आयोजनाअन्तर्गत सुरुङ, हेडवक्र्स र सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्रको निर्माण भएको छ । सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौं ल्याइएको छ । तत्कालका लागि ‘हेडवक्र्स’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिए । उनले भने, ‘अबको केही महिनामा नै हेडवक्र्स सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।’ यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा शनिबार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए । सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनको भनाइ छ । उनले भने, ‘ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।’ रासस