२ हप्ता बित्दा पनि खुलेन दमाैलीकाे भानु नगरपालिकाकाे सडक

फाइल फाेटाे दमाैली । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए । ‘बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ’ उनले भने, ‘लामो समय हुँदासम्म पनि बाटो खोल्न सरोकारवालाको ध्यान गएन ।’ भानु–५ का वडाध्यक्ष प्रकाश मल्ले आफ्नो क्षेत्रमा भने सवारी साधनमा अवरोध नभएको बताए । छिर्कनेदेखि पिपलथोकसम्म व्यास–१२ को क्षेत्र भएकाले आफूले सो क्षेत्रमा केही पनि गर्न नसकेको उनको भनाइ छ । ‘मुख्य अवरोध भनेको व्यासको वडा नम्बर १२ मा नै हो । भानु–५ को मोटरमार्गमा पर्ने बाटोको अवरोध हटाइसकेका छौँ’, उनले भने, ‘त्यो बाटोको विकल्पमा नागनागिना हुँदै मैवल अनि नावरुङ जान सकिन्छ ।’ व्यास–१२ का वडाध्यक्ष तोत्रबहादुर कँुवरले आफ्नो वडाको क्षेत्र भए पनि त्यहाँ ठेक्का लागिसकेको हुँदा केही गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारले उक्त बाटोको स्तरोन्नति गरी बाटो मर्मत गरेको थियो । त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘वडा आफ्नो भए पनि बाटो समितिले काम गरेको र त्यो ठेकेदारलाई सम्पर्क गर्ने प्रयास गरेको छु’, उनले भने । बाटोको विषयमा पनि वडा र नगरपालिकाले राजनीति गरेको स्थानीयवासी शिव शाहीले बताए । ‘भानुको वडा कार्यालयमा भन्दा क्षेत्राधिकारभित्र पर्दैन भन्छ, व्यास–१२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्छ । ठेकेदार सम्पर्कविहीन छ’, उनले भने, ‘नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनीति भयो ।’ बाटो अवरुद्ध हुँदा दैनिक जीवनयापनमै प्रत्यक्ष असर परे पनि सम्बन्धित निकाय पन्छिने काम गरेको उनको आरोप छ । छिर्कने बजारको पिपलथोकदेखि डाँडाथोकसम्म करिब आठ किलोमिटर रहेको भगवती रङ्गपथ मोटरमार्गअन्तर्गत करिब एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घरसमेत जोखिम परेको छ । रासस

प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको आग्रह: सबै आयोजनाको म्याद एक वर्ष थपिदिनुस्

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ । महासंघको एक प्रतिनिधिमण्डलले बुधवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै निर्माण व्यवसायीहरूको समस्या र समाधानका उपायबारे जानकारी गराएको हो । महासंघले बजेटसँग सम्बन्धित् म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा प्रधानमन्त्री देउवा समक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको छ । प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको ६ महिना म्याद थप हुने व्यवस्था भएकोमा कोभिडको दोस्रो कहर, वर्षात्को मौसम, सिजन अनुसार हुने कार्य र त्यसपछिका चाडबार्डका कारण आउँदो कात्र्तिक महिनाको अन्त्यसम्म शुन्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काहरुको हकमा सम्बन्धित् सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थपको नीतिगत निर्णय गरिनु पर्ने सुझाव दिएको छ । २०७६ साल पौषमा सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनबाट एक वर्ष म्याद थप भएता पनि २०७६ चैत्र ११ गते देखि भएको लकडाउन र तत्पश्चात् २०७७ माघ ११ गते म्याद थपको लागि भएको नीतिगत निर्णयबाट समेत म्याद थपको समस्या समाधान नभई दुई सिजनमा गरी लगभग पाँच हजार आयोजनाहरु प्रभावित भएको जनाईएको छ । उक्त आयोजनाहरुको लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरुको लागि निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थप गरिनु पर्ने माग राखेको छ । व्यवसायीहरुले सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको छैठौं संशोधन बमोजिम शुरु सम्झौताको पचास प्रतिशतभन्दा बढी हुने गरी म्याद थप गर्न पाइने छैन भनी गरिएको व्यवस्था र एकपटक म्याद थप सम्बन्धमा निर्णय भइसकेकोमा पुनः म्याद थप हुने छैन भनि गरिएको व्यवस्थाबाट निर्माण कार्यको म्याद थप गर्न गम्भिर जटिलता सिर्जना भएको बताएका थिए । सो व्यवस्था अव्यवहारिक रहेकोले धेरै आयोजनाहरूको म्याद थप हुन नसकी कार्य सम्पादनमा गम्भिर अवरोध सिर्जना हुँदा उक्त किसिमका जटिलता थपिने अव्यवहारिक व्यवस्था खारेज गरिनुपर्ने महासंघको सुझाव रहेको छ । व्यवसायीलाई चालु पुँजी व्यवस्थापनमा सहयोग पु¥याउन धरौटी रकम बापतको ५० प्रतिशत रकम बराबरको बैंक ग्यारेण्टी राखी धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै जोखिम नहुने भन्दै फिर्ता गर्न समेत आग्रह गरेका थिए । महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूको समस्या अध्ययन गरी समाधान गर्ने बताएका थिए ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

फाइल फाेटाे मान्मा । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । ‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’ पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने, ‘आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।’ त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए । उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ’, उनले भने । रासस