मुग्लिन पोखरा सडक : तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा ५७ करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा उक्त खण्डका लागि दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार विनियोजन भएको थियो ।सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त खण्ड अन्तर्गत विभिन्न ठाउँमा भित्ता काट्ने काम भइरहेको छ, भने सडक चौँडा पार्ने काम पनि निरन्तर चलेको छ । उक्त खण्ड अन्तर्गत सडक दायाँबायाँका रुख कटान गरिएको छ । तनहुँ खण्डमा मात्रै छ हजार ५०० रुख कटान गरिएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । पश्चिम खण्डमा १३८ संरचना हटाइने जामुनेदेखि कोत्रेसम्म (पश्चिम खण्ड) तर्फ १३८ संरचना हटाउनका लागि मुआब्जा प्रक्रिया सुरु भएको छ । जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायतका संरचना हटाउन दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गर्न लागिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका एक सय ३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् । रासस
डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु
म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए । ‘७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,’ उनले भने, ‘थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ ।’ १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ । रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ । डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ । राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । डाडाँखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडाैंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ । धवलागिरि गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रालि काठमाडौंलले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ । रासस
प्राधिकरणले ७ करोडको लगानीमा बनाउँदै सुविधा सम्पन्न ६ वटा पार्क, तयारी तीव्र
काठमाडौं । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा ६ वटा पार्कको निर्माण गर्ने भएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण गर्न लागेको हो । प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष ६ वटा पार्क निर्माण गर्न लागेको उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी तथा इन्जिनियर सौरब ढकालले बताए । प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा सो पार्क निर्माण गर्ने योजना समावेश गरेको छ । सूचना अधिकारी ढकालका अनुसार काठमाडौंमा दुई, भक्तपुरमा गत वर्षकै पार्कलाई निरन्तरता र ललितपुरमा तीन वटा पार्क निर्माण हुने भएका हुन् । र, एउटा पार्क विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रका सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने कार्य रहेको प्राधिकरणले जनाएको छ । उपत्यकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने योजनासहित सो पार्कको बनाउने लक्ष्य लिएको पनि बनाएको ढकाले बताए । पार्क निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा दुई करोड, ललितपुरमा चार करोड र सार्वजनिक जग्गामा पार्क निर्माण गर्नको लागि एक करोड गरी जम्मा ७ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै ति पार्कहरुको निर्माण कार्य सकिनेछ । प्राधिकरणले टेन्डरेका आव्हान गरे पश्चात् सो पार्कको निर्माण कार्य सुरु हुनेछ । ‘यस वर्ष उपत्यका भित्र ६ वर्ष पार्कको निर्माण गर्ने लक्ष्य छ, यसको सम्पूर्ण प्रक्रिया पुरा गरी पार्क निर्माणको प्रक्रिया जान्छौं, यो मल्टिपल पार्कको योजना हो, अहिले शहरको अतिआवश्यक चिज भित्र पार्क पनि पर्छ, त्यसैले यस योजनालाई अगाडि बढाउने जमर्को गरेका हौं,’ उनले भने । ढकालका अनुसार पार्क अनुसार फरक–फरक सेवा सुविधा हुनेछन् । उनका अनुसार जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण हुनेछन् । ‘शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ, मान्छेलाई मनोरञ्जन नभई नहुने आवश्यकता हो, साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन, त्यसैले पार्क निर्माण अवधारण ल्याएको हौं,’ उनले भने । कुन ठाउँ बन्दैछन् पार्क ? प्राधिकरणका अनुसार ६ वटा पार्क निर्माणको योजना चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । जसमध्ये केही पार्कको निर्माणको तयारीमा पनि प्राधिकरण जुटिसकेको छ । गत आर्थिक वर्षमा पनि साना ठुला गरी करिब ३० वटा पार्क निर्माणको अवधारणासहित प्राधिकरण अगाडि बढेको थियो । उक्त पार्कमध्ये केही पार्क निर्माणको काम सम्पन्न भएको छ भने बाँकी पार्क चालु आबभित्र सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । नयाँ योजनामा समावेश भएका पार्कमा एक करोड रुपैयाँ भन्दा बढी बजेट प्राधिकरणले विनियोजन गरेको छ । प्राधिकरणको चालु आर्थिक वर्षको योजना अनुसार काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका वडा नं. ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्नको लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, काठमाडौंकै शंकरापुर नगर वडा नं.७ स्थित धार्मिक पर्यटन स्थल सलिनदीमा पार्क, टोखा नगरको वडा नं. ६ मा रहेको हात्तीटोल ढङगेधारा पुन निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने, नागार्जुन नगरको वडा नं ७ स्थित घटाल बाबा मन्दिर क्षेत्रको जग्गा संरक्षण तथा पूर्वाधार निर्माण गर्नको लागि एक करोड २० लाख रुपैयाँ बजेट रहेको छ । प्राधिकरणका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहेको ढुङ्गेकोट र लुभु मा.वि. पछाडिको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, ललितपुर महानगरपालिका वडा नं. २५ सैंब भैसेपाटीको सार्वजनिक संरक्षण गरी पार्क निर्माण गर्नेको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । सो महानगरको नै वडा नं. १३ मच्छिन्द्र पार्क र वडा नं. २१ खोकना स्थित पंचो पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा सार्वजनिक जग्गामा पार्क निर्माण गर्नेको लागि एक कारण रुपैयाँ बजेट छुट्याएको पनि प्राधिकरणले बताएको छ । गत वर्ष ६ वटा पार्क निर्माण गत आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले एक करोड रुपैयाँ भन्दा माथिका १५ वटा पार्कका निर्माणको काम अगाडि बढाएको थियो । ती पार्कहरुमध्ये ६ वटा पार्कको निर्माण सम्पन्न भएको छ भने बाँकी ९ वटा पार्क निर्माणको काम पनि चालु आर्थिक वर्ष भित्र सक्ने योजना रहेको प्राधिकरणका सूचना अधिकारी ढकालले बताए । पार्क निर्माणको कार्य हाल तीव्र गतिमा भइरहेको प्राधिकरणको भनाइ छ । यो वर्ष नै ती पार्कको निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको पनि ढकालले जानकारी दिए । केही पार्क निर्माणको योजना बहु–वर्षीय योजनाको रूपमा अगाडि बढेका छन् । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ को गिरिजा प्रसाद, सोही नगरको वडा नं. ८ स्थित ओमनगर, कीर्तिपुर नगरपालिकाको वडा नं. २, चम्पादेवी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै, ललितपुर जिल्लाको बदेलीचौर (गचा), ललितपुर महानगरको वडा नं. २ को छुङमती पार्क निर्माणको काम पनि ४० प्रतिशत पुरा भएको पनि प्राधिकरणले जनाएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरको वडा नं. ५ को गणेशमान वाटिका पार्क निर्माणको काम ४० प्रतिशत सकिएको छ भने चांगुनारायण नगरको वडा नं. ५ स्थित नागथलि कृष्ण मन्दिर पार्क निर्माणको काम ८० प्रतिशत पुरा भएको पनि प्राधिकरणले बताएको छ ।