उपत्यका बाहिर ७ वटा विशिष्टीकृत अस्पताल बन्ने, सरकारले छुट्टायो बजेट

दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई छ सय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए । ‘अहिले विकल्प कहाँ खोज्ने,’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छन् ।’ यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उनको भनाइ छ । रासस

नेपाल इको प्यानलमा ७० वर्षको वारेन्टी

काठमाडौं । नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी दिने घोषणा गरेको छ । स्थायी तथा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र केही समस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा गरेको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विभिन्न अनुसन्धानपत्रको अध्ययनपश्चात् नेपाल इको प्यानल ७० वर्षसम्म केही नहुने निश्चित भएकाले यस्तो घोषणा गरेको बताए । ‘निरन्तरको घामपानी, आगलागी जस्ता भवितव्यका साथै म्यानिफ्क्यारिग डिफेक्टका कारण नेपाल इको प्यानलमा केही समस्या आए यसको रिप्लेसमेन्ट ग्यारेन्टी हामी दिन्छौ, सिइओ इन्जिनियर दुवालले भने, ‘त्यसकारण ढुक्क भएर हाम्रो लाइटवेट कंक्रिट प्यानलहरु घरको भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गर्न हामी आह्वान गर्छौ ।’ नेपाल इको प्यालन इपीएस, सिमेन्ट, वालुवाको मिश्रण र दुईतिर ४ दशमलब ५ मिलिमिटर मोटाइको सिमेन्ट वोर्ड/क्लासियम सिल्केट बाेर्डबाट बनेको हुन्छ । इपीएस भनेको हलुका तथा दिगो निर्माण सामाग्री उत्पादन गर्न क्रंक्रिटमा मिसाउने एकखालको पोलिस्टायरिन हो । यसको घनत्व १० देखि १२ किलो प्रति घनमिटर मात्र हुन्छ । यो इपिएस वालुवा, सिमेन्टमा मिसाउँंदा कंक्रिटको घनत्व ६ सय ५० किलो प्रति घनमिटर मात्र हुन्छ, जवकि साधारण कंक्रिटको घनत्व २ हजार ४०० किलो प्रति घनमिटर हुन्छ । ‘नेपाल इको प्यानल बन्दा त्यसमा इपिएस मिसाउने भएकोले यसको पानी सोस्ने क्षमता ६ दशमलब ९ प्रतिशत मात्रै हुन्छ, जबकि साधारण प्लाष्टरको पानी सोस्ने क्षमता ९ दशमलब ४ प्रतिशत हुन्छ’, सिइओ इन्जिनियर दुवालले थपे, ‘कुनै पनि सिमेन्ट कंक्रिटमा पानी सोस्ने क्षमता कम हुनु भनेकै यसको आयु वढ्नु हो । यो कुरा विभिन्न अध्ययनले देखाएको छ ।’ नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।

सुपर न्यादी जलविद्युत् आयोजनाको सुरुङ मार्ग ’ब्रेक थ्रु’

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माणकार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत धमाधम अघि बढिरहेको छ । ड्याम साइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढकिलोमिटर सडक बनाउन बाँकी रहेको र आागमी दुई महिनासम्म निर्माण सम्पन्न हुने उनले बताए । प्रबन्ध निर्देशक गुरुङले भने, यतिबेला हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पु¥याएर बाँध र ड्याम साइडबाट सडक खन्ने र सात किलोमिटरको सुरुङमार्गको काम भइरहेको छ । सुरुङका लागि दुई वटा अडिट टनेलसहित ५०० मिटर खन्ने काम सकिएको छ । यतिबेला दैनिक निर्माण कार्यमा २४० जना खटिएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) अनुसार आगामी दुई वर्ष (२०८१ असार) भित्र विद्युत् उत्पादन सुरु गरिसक्नुपर्छ । हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माणको ठेक्का लिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ । प्रवर्धकको इक्वीटी (स्व पुँजी) एक अर्ब ७५ करोड रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्धकको २५ प्रतिशत लगानी रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्बको लागतमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सवस्टेसनमा जोडिने भएको छ । सवस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र छ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ । रासस