घुमाउने पुल : ४ वर्षमा एकतिहाइ काम

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटक–पटक ध्यानाकर्षण गरायौँ’, उनले भने । त्रिशूली नदीको वारिपारि ‘फाउण्डेशन’मात्र बनेको छ । अब ‘आर्क’को काम सुरु हुनलागेको अध्यक्ष चुमानले बताए। एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका छन् । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको छ । ‘महानिर्देशकज्यूले निर्माण व्यवसायीलाई फोन गरी यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ, निर्माण व्यवसायीले पैसाको अभावका कारण काम गर्न ढिलाइ भएको बताउनुभएको छ’, अध्यक्ष चुमानले भने, ‘पैसाको अभावलाई मन्त्रालयबाटै केही समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिबनी निर्माण कम्पनी हेटौँडाले पाएको छ ।’ गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो । उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम सुरु भइसकेको छ । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आउनेजाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

६ वर्षपछि ढोलाहिटी–लेले सडक सम्पन्न गरिने

काठमाडौं । निर्माण सुरु भएको छ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको काम भएको छ । तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सुनाकोठीमा झण्डै आठ सय मिटर लम्बाइमा एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउड रहेकाले पुनःसडक भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार पानी बग्ने ठाउँ नभएकाले सडकमा निर्माण हुनासाथ उप्कने गरेको हो । कालोपत्रका लागि प्रयोग हुने उपकरणले सडक नजिकका घरलाई असर गर्ने हुनाले सो स्थानमा उपकरण प्रयोग नगरिएको जोशीले बताए । उनले भने, ‘यही अवस्थामा कालोपत्र गर्दा नटिक्ने हुँदामर्मत गरेरै ठेक्का सम्पन्न गरिनेछ ।’ विस्तारका क्रममा रहेका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माणसम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन, तथा त्यहाँका संरचना हटाउनका लागि लामो सयम लाग्ने देखिए पनि अब निर्माण कार्य छिट्टै सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ‘पर्खाललगायतका अरु कुरा सकिएको छ सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन ।’ सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जङ्गल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ । ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायत बजार क्षेत्रमा सडक साँघुरा छन् । उक्त स्थानमा ठूला सवारीसाधनका कारण घन्टौँसम्म सडक जाम हुनुका साथै कार्यालय समयमा लामो समय जाम हुँदा स्थानीयवासी समस्यामा परेका छन् । झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएपछि पटकपटक ठेक्का अवधि थप हुँदै आएको छ । पछिल्लो दुई वर्षमा भने कोभिड सङ्क्रमणका कारण सडक निर्माण अवरोध पुगेको थियो । रासस

१२ वर्षमा ३० किलोमिटर सडक कालोपत्र

फाइल फोटो दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अल्झिँदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको छैन । राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रूख कटानी समयमै हुन नसक्दा सन्तोषजनकरूपमा काम हुन नसकेको हो । विसं २०६६ देखि सुरु भएको करिडोर १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमा कालोपत्र मात्रै भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण गरिनेमा तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनले लोकमार्गको कञ्चनपुर, डडेल्धुरा र बैतडीमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए । ‘आयोजनाको शून्य विन्दु (ब्रह्मदेव क्षेत्र) बाट काम सञ्चालन हुनसकेको छैन’, प्रमुख जोशीले भने, ‘शून्यविन्दुको ११ किलोमिटर सडक वन क्षेत्रमा पर्छ त्यो क्षेत्रमा रूख कटानी आदेश नआउँदा ढिलाइ भएको हो ।’ ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न दिवा–शनिदेव जेभीसँग गत वर्ष असारमा पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि रूख कटानको आदेश नहुँदा काम अघि बढ्न सकेन । लोकमार्गअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ । उक्त आयोजनाको ०८०/८१ भित्र ट्र्याक खोलिसक्नुपर्ने लक्ष्य रहे पनि हालसम्म कामको सुरुआत भएको छैन । डडेल्धुरामा भने ११ किलोमिटरदेखि ६७ किलोमिटर सडकमा पर्ने रूख छपानको काम भइरहेको आयोजना प्रमुख जोशीले बताए । उनका अनुसार लोकमार्गअन्तर्गत बाँकी दार्चुला र बैतडीमा पनि वन क्षेत्रमा ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म डडेल्धुरामा २२ किलोमिटर, बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर ट्र्याक खुलिसकेको उक्त आयोजनाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजना मानिए पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माणको कामले गति लिन सकेको छैन । आयोजनाका लागि गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजन भएको र चालू आवमा ४० करोड मात्रै बजेट रहेकाले बजेट पर्याप्त नहुँदा पनि काममा समस्या भइरहेको आयोजना प्रमुख जोशीले बताए । ‘अब काम गर्दा हामीलाई बजेट अभाव हुने देखिएको छ थप भुक्तानीका लागि बजेट माग गरेका छौँ’, उनले भने, ‘प्रक्रियागत र बजेट पर्याप्त नहुनु पनि आयोजना ढिलाइको कारण हो ।’ त्यसैगरी नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसार पानीदेखि तिङ्कर भञ्ज्याङसम्म ७९ किलोमिटर सडकमध्ये हालसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ । महाकाली लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने विश्वास गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले चीनको सिमाना तिङ्करसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली करिडोरलाई विकास गर्नुपर्नेमा जोड दिए । ‘महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुन्छ’, उनले भने, ‘सरकारले करिडोरलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष मल्लले अहिलेकै गतिमा निर्माण भए योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने भएकाले छिटो सम्पन्न गर्न सरकार तदारुकताका साथ लाग्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले महाकाली लोकमार्ग बने तेस्रो मुलकुसँगको व्यापारको ढोका खुल्ने अपेक्षा गरे । ‘व्यापारिक मात्रै नभएर नेपालमा धार्मिक पर्यटनको सम्भावना तथा विकासका लागि समेत यो लोकमार्ग बन्नु जरुरी छ’, उनले भने, ‘सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याउनुपर्छ ।’ रासस