सिन्धुपाल्चोकको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षातका समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदैआएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । ५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए । रासस
बुढीगण्डकी परियोजना बनाउन ९६ अर्ब संकलन, काम अगाडि बढाउने छैन सुरसार
काठमाडौं । नेपाल आयल निगमले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि साढे ९६ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । आर्थिक वर्ष २०७२/०७३ सालदेखि गत आर्थिक वर्ष २०७८/०७९ सम्म निगमले पूर्वाधार कर बापत ९६ अर्ब ४७ करोड ७ लाख ८८ हजार रुपैयाँ संकलन गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् डिजल र पेट्रोल आयात गर्दा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँका दरले थप कर लगाउने घोषणा गरेका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि पूर्वाधारमा लाग्दै आएको करलाई बढाएर प्रतिलिटर १० रुपैयाँ कायम गरेका थिए । निगम नाफामा गएको भन्दै राजश्व संकलन बढाउन अर्थमन्त्री खतिवडाले पूर्वाधार कर १० रुपैयाँ कायम गरेका थिए । पूर्वाधार करमा ५ र १० रुपैयाँ गरी निगमले सात आर्थिक वर्षमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा पूर्वाधार कर लगाएर बूढीगण्डकीका नाममा उक्त रकम संकलन गर्दै आएको छ । अहिलेसम्म बूढीगण्डकी जलाशय आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी नै तयार गर्न नसकेको सरकारले पेट्रोलियम पदार्थबाट कर उठाउने काम भने नियमितरूपमा गरिरहेको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा प्रत्येक महिना भन्सार नाकामै पूर्वाधार करको रकम उठाएर निगमले उक्त रकम अर्थ मन्त्रालयको खातामा जम्मा गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७२/०७३ सालदेखि हालसम्म पूर्वाधार कर शिर्षकमा संकलन भएको रकम अर्थ मन्त्रालयमा जम्मा गर्ने गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । सात आर्थिक वर्षदेखि नियमति रुपमा भन्सार विन्दुमै पूर्वाधार कर संकलन गर्दै आएको उनको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १६ करोड रुपैयाँ, आव २०७३/७४ मा ९ अर्ब ४३ करोड, आव २०७४/७५ मा ११ अर्ब ३६ करोड, आव २०७५/७६ मा १२ अर्ब ४१ करोड, आव २०७६/७७ मा १३ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको थियो । यस्तै, आव २०७७/०७८ मा २२ अर्ब ८६ करोड ९६ लाख ६९ हजार र गत आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी २५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन भएको उनले बताए । सडक संम्भारमा ४८ अर्ब संकलन निगमले सडक पूर्वाधार कर (सम्भार) शिर्षमा साढे ४८ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले सडक पूर्वाधार कर आर्थिक वर्ष २०६५÷०६६ सालदेखि उठाउँदै आएको हो । हालसम्म उक्त शिर्षकमा ४८ अर्ब ६० करोड ४२ लाख ३८ हजार ७२७ रुपैयाँ संकलन गरिसकेको छ । जसमा आव २०६५/०६६ मा ७ करोड ४१ लाख १० हजार, आव २०६६/०६७ मा ९ करोड २६ लाख ५५ हजार, आव २०६७/०६८ मा १ अर्ब ७५ करोड ८८ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, आव २०६८/०६९ मा २ अर्ब ९७ करोड ८ लाख ६० हजार, आव २०६९/०७० मा २ अर्ब ३३ करोड २७ लाख १४ हजार, आव २०७०/७१ मा २ अर्ब ६१ करोड ६६ लाख ७९ हजार, आव २०७१/७२ मा २ अर्ब ९२ करोड ९६ लाख ४१ हजार, आव २०७२/७३ मा २ अर्ब ५२ करोड ७३ लाख ७९ हजार, आव २०७३/७४ मा ४ अर्ब २५ करोड ३३ लाख र आव २०७४/७५ मा ५ अर्ब १२ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, आव २०७५/७६ मा ५ अर्ब ६९ करोड ७८ लाख ७२ हजार, आव २०७६/७७ मा ४ अर्ब ९८ करोड ५९ लाख ६२ हजार, आव २०७७/७८ मा ५ अर्ब ७५ करोड ४७ लाख २९ हजार र आव २०७८/७९ मा ६ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको बताइएको छ ।
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो
काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको र १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो । हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ । साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला गरिएको छ । हाल पुनःनिर्माण भइरहेका सम्पदाको काम पूरा नभइ अन्य काम सुरू गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनःनिर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए । काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन् । ‘माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेगको पुनःनिर्माण सकिएपछि कामदेव मन्दिरको पुनःनिर्माण सुरु हुन्छ’, उनले भने । त्यसैगरी आगम्छे घरको पुनःनिर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ । उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो । यस क्षेत्रको सम्पदा पुनःनिर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग ९जाइका०, बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौं महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार नाम रहन गएको हो । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरपरका अन्य सम्पदालाई पनि यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् । महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घर विसं १८१३ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गरेका हुन् । कुल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो ।