तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो । आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । ‘मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत्गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्, श्रेष्ठले भने । आयोजनाको एक हजार चार सय ५६ दहमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ । प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । ‘डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ’, श्रेष्ठले भने । सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ । प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्र्तगत हालसम्म रू दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ । प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ । प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शुन्य छ र वित्तीय प्रगति ५३ दशमव शुन्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ । रासस

बाँकेमा पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

बाँके । बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो । ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरुले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो । कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे । उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरुप कालोसूचीमा राखिने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन् । रासस

भिर छिचोलेर बागलुङको घुम्टे लेकमा पदमार्ग

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् । कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । ‘चट्टाने भिरमा मजदुरले काम गरे’, उनले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ ।’ चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उनले सुनाए । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए । त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताए । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उनको भनाइ थियो । जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो । ‘भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएकोछ’, अध्यक्ष थापाले भने, ‘थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ ।’ अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उनले जानकारी दिए । गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो । अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ । त्यसका लागि थप ३० लाख बजेटको खाँचो छ । ‘बीचमा कतैबाट पनि बजेट आउन सकेन, झण्डै दुई वर्षजति पदमार्गको काम रोकियो”, उनले भने, ‘यो वर्ष प्रदेशबाट आएको पाँच लाख बजेटबाट तीन सय मिटर जति पदमार्ग बनिसकेको छ ।’ बाँकी खण्ड सजिलो ठाउँको भएकाले कम बजेटमा पनि धेरै काम गर्न सकिने भएको छ । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताए । ‘छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ’, अध्यक्ष थापाले भने । पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ । उक्त पदमार्गमा सङ्घ र प्रदेश सरकारको गरी हालसम्म ३५ लाख खर्च भइसकेको छ । भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो । उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले पर्यटन विकासका लागि पदमार्गसहित अरु पूर्वाधार पनि चाहिने बताए । ‘पदमार्ग बन्दैछ अब पर्यटक आकर्षित गर्ने खालका गतिविधि पनि सञ्चालन गरिनुपर्छ’, उनले भने, ‘पूर्वाधार बनाउनसके घुम्टेमा पर्यटक आउँछन् ।’ पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिए । एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ । बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । त्यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन् । घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ । वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ । यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ । गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पु¥याउन लगानी गरिरहेको छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ । हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे पुगिन्छ । गलकोट–१० पाण्डवखानी र ताराखोला–३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ । रासस