सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट
कालीकोट । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् । नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डरुपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रुपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘यो सडक कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला छोटो मार्ग हो’, उनले भने, ‘पहिलो पटक ट्र्याक खुलेको छ, स्तरोन्नतिको कामका लागि प्रदेश र सङ्घ सरकारले बजेट विनियोजन गरेका छन् ।’ अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए । ‘यसअघि मान्मदेखि सेरावाडा हुँदै भैँसेगौँडाको पुल भएर चिल्खाया हुँदै गाउँपालिका केन्द्र गाडी पुगेका थिए’, उनले भने, ‘वर्षात्ले भैँसेगौँडा पुल बगेपछि सडक सञ्जालबाट सम्बन्धबिच्छेद भएको थियो ।’ महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । ‘ओदा गाउँमा ट्र्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको छ’, उनले भने, ‘यो मार्ग निर्माण भएर सडक सञ्जालले नछोएको महावैमा पहिलो पटक पटक गाडी पुगेको हो ।’ रासस
धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो
झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो । प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी-ज्यामिरगढी-चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा-विर्तामोड-चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा-चारआली-चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ । मेचीनगर(१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन । प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । ‘कल्भर्टमा काम भइरहेको छ’, उनले भने, ‘काम दु्रतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णपमा निर्माण भइसक्छ ।’ रोङ जोड्ने सडक निर्माण सुस्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको विसं २०७५ मा शिलान्यास गरेका थिए । भद्रपुर नगरपालिकाबाट इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलग–अलग निर्माण कम्पनीले ठेक्का लिएका थिए । ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकबाट भद्रपुरसम्मको सडक निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ भने धुलाबारी मोडबाट उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ । इलामको रोङ जोड्ने सो सडक रु ४६ करोड २३ लाख ८२ हजार नौ सय ८३ मा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ । सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकाशिने प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले बताए । उनले पूर्वीनाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकलाई समेत सहज भएको बताए । हँडियामा नयाँ पुलको खाँचो यस सडकको मेचीनगर र भद्रपुर सीमामा पर्ने हँडिया खोलामा नयाँ पुलको आवश्यकता देखिएको छ । एक दशकअघि निर्मित एक लेनको उक्त पुल जीर्ण र साँघुरो भइसकेको छ । पुलको रेलिङ भत्किएका छन् भने दक्षिणतर्फ पुलको मुखमा ठूलो भ्वाङ परेको छ । दुईवटा सवारीसाधन ओहोरदोहोर हुन नसक्ने साँघुरो पुलको मुखैमा भ्वाङ परेपछि कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिने जोखिम बढेको स्थानीय बताउँछन् । तर भ्वाङ टाल्नेतर्फ कसैको ध्यान जानसकेको छैन । दुई लेनको सडक कालोपत्र भइसकेको अवस्थामा हँडिया खोलाको पुल पनि दुई लेनको हुनुपर्ने भद्रपुर-९ का पूर्व जनप्रतिनिधि कम्पलाल राजवंशीले बताए ।
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाले करीब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कूल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७०० मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक १८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको आगामी १ वर्षभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङ मार्गसँगै बाँध र विद्युत् गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्ग लगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताए । वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युत् गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै ३०० मजदुर परिचालन गरिएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी) सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आईभीआरसीएल कमजोर आर्थिक अवस्थाका कारण ४ वर्षमा १० प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट पुर्याइएको छ ।