बागलुङमा थपिए १० झोलुङ्गे पुल

बागलुङ। बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् । गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे भएको थियो । सर्वे भएकामध्ये १० झोलुङ्गे पुलको मात्रै निर्माण सम्पन्न भएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए । ढोरपाटन–२ सिमलचौर, ढोरपाटन–७ का पँधेरी र ढोरपाटन–९ को रासीबाङ्ग, बरेङ–२ को काउला, बरेङ–१ को दोभानखोला, ताराखोला–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ को दोगाडी र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्ने गरेका छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टिविएसयु) र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको केसीले जानकारी दिए । टिविएसयुले पुलको लठ्ठा, फलामे सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरेको छ । कार्यक्रम संयोजक केसीका अनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने गरिएको छ । झोलुङ्गे पुलको परिचय बनाएको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । सङ्घीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको केसीले जानकारी दिए । जिल्लामा पुल रणनीति २०६२ अनुसार निर्माणको काम भइरहेको छ । विसं २०७६ भदौसम्म जिल्लाभर चार सय ५३ पुल बनिसकेको तथ्याङ्क छ भने बितेको दुई वर्षमा ३३ पुल निर्माणाधीनमध्ये १० निर्माण सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा २५ पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत वर्ष सर्वे गरिएको थियो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच पुल निर्माण हुनेछन् । रासस

खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङ । १० स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो । ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत सर्भे सुरु गरिएको छ । सात वडा रहेको ऐसेलुखर्क गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत् विस्तार गर्ने योजनासहित ठेकेदार कम्पनी सिग्माकोनले सर्भेको काम सुरु गरेको हो । ऐसेलुखर्क –१ राखाबाङ्देल, वडा नं २ बाकाचोल र वडा नं ३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई–दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए । सात वडामध्ये जलेश्वरी, राखाबाङ्देल र बाकाचोललाई हालसम्म विद्युतले छोएको छैन । वडा नं ७ माक्पा, वडा नं ५ महेश्वरी, वडा नं ६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र विद्युत् विस्तार भएको छ । बाँकी वडा र उपभोक्ताको घरमा विद्युत् विस्तारका लागि शुक्रबार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले १८ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सात वडामध्ये अहिले माक्पामा मात्र अधिकांश उपभोक्ताको घरमा विद्युत् विस्तार भएको प्रवक्ता राजभण्डारीले बताएका छन् । प्राविधिक टोलीले ट्रान्समिसन लाइनको रुट निश्चित गर्दै पोल राख्ने स्थान, विस्तार गर्न लाग्ने तार, लाभान्वित हुने उपभोक्तालगायतका बारेमा डिटेल सर्भे गर्ने जनाइएको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने नेपाल सरकारको योजनाअनुसार हाल जिल्लाका दशवटै स्थानीय तहमा डिटेल सर्भेको काम सुरु गरिएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । ठेकेदार कम्पनीले ऐसेलुखर्कका सबै वडामा १८ महिनाभित्र डिटेल सर्भे एवं विद्युतीकरणको काम सम्पन्न गर्ने गरी प्राधिकरणसँग ठेक्का सम्झौता गरेको जनाइएको छ । केपिलासगढी गाउँपालिकामा डिटेल सर्भेको काम सम्पन्न भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारका लागि शनिबार हलेसी तुवाचुङ नगरपालिकामा समेत छलफल गरिएको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा उद्घाटन गरेको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा विस्तार हुन सकेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने २२ हजार दुई सय ८२ घरधुरी उपभोक्ता रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट प्रदेश नं १ अन्तर्गत पर्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको विद्युतमा पटक–पटक समस्या देखिने गरेको छ भने उक्त समस्या दीर्घकालीनरूपमा समाधान गर्न टावर अनिवार्य रहेको विज्ञहरूले बताएका छन् । जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं ६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएको हो । जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारणलाइनको विद्युत् पटक–पटक अवरुद्ध हुँदा विद्युत् उपभोक्ता हैरानीमा पर्नेे गरेका छन् । यतिसम्मकि जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकै दिनमा दर्जनौं पटक विद्युत् आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन् । झ्याप्प आउने र झ्याप्प जाने केन्द्रीय प्रसारण लाइनको विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।

२० अर्बमा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य अर्को वर्षदेखि सुरु हुने

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ ।   आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए। दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए। विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए। त्यस्तै आयोजना निर्माण गर्न  एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ ।  बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ । २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख  रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै रु २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो ।   प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत रु ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ । यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ ।