नवलपुरको लोकाहा औद्योगिक क्षेत्र निर्माण चर्चामा मात्र सीमित
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने गरी निर्माण हुने भनिएको उक्त औद्योगिक क्षेत्र निर्माणको कामले हालसम्म ठोस काम भने हुनसकेको छैन । लोकाहामा रहेको करिब एक सय ८० बिघा क्षेत्रफलमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ । गण्डकी प्रदेश सरकारले समेत यहाँ औद्योगिक क्षेत्र निर्माणका लागि पहल गरेको लामो समय भइसकेको छ । कावासोती–१ का वडाध्यक्ष तबारक अहमद मियाँले चर्चा चलेको धेरै भए पनि काम भने अघि बढ्न नसकेको बताउँदै औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताए । लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीयस्तरबाट आफूहरूको सहयोग र समन्वय रहने उनको भनाइ छ । ‘हाम्रो वडाभित्र पर्ने भएकाले हामीले यसलाई सकारात्मकरूपमा लिएका छौँ, तर काम भने छिटो सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने । लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएयता गण्डकी प्रदेशदेखि सङ्घका विभिन्न मन्त्रीहरूले स्थलगत अवलोकन गरिसकेका छन् । औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको विकासमा सहयोग पुग्ने नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ अर्यालले बताए । सरकारले औद्योगिक क्षेत्र निर्माण गरी उद्योग स्थापनाको वातावरण बनाए यहाँ उद्योगीहरू धेरै आउने उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको मध्यभाग भएकाले उत्पादित सामग्री बजारीकरण र भारतीय सीमा नजिक रहेकाले आवश्यक कच्चा पदार्थ ल्याउन सहज हुने भएकाले लोकाहामा बन्ने औद्योगिक क्षेत्रमा उद्योगी आकर्षित हुने उनको तर्क छ । गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रूपमा यसलाई अगाडि बढाउँदै जाँदा जिल्लामा रोजगार, उद्यमशीलता थप बढ्ने र नवलपुरसहित गण्डकी प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष अर्यालको भनाइ छ । नवलपुरको लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए । लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा नापीको काम सम्पन्न भएको उनले जानकारी दिए । ‘औद्योगिक क्षेत्रका लागि जग्गा नापी तथा सरकारको नापमा मालपोत श्रेस्ता कायम गर्ने काम सकिएको छ र प्रदेश मन्त्रिपरिषद्मा पेस गर्न सबै प्रक्रिया पूरा भएको छ’, कार्यालय प्रमुख खनालले भने । प्रादेशिक औद्योगिक क्षेत्र निर्माणको योजनाअनुसार अब डिपिआर तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कामपछि उद्योग स्थापनाको काम अघि बढ्ने उनको भनाइ छ । ‘अब मन्त्रिपरिषद्को निर्णयसँगै डिपिआर बनाउनेदेखिका अन्य काम अघि बढ्छ, त्यसपछि उद्योग स्थापनाको चरण सुरु हुन्छ’, कार्यालय प्रमुख खनालले भने । रासस
पोखरामा एक हजार ६२४ वटा सडक बत्ति जडान हुँदै
काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम सुरु भएकाे हाे । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ति जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट वत्ति जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ति जडान गरिएको छ । सडक बत्ति जडान कार्य आगामी फागुनभित्र सकिने छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक वत्तिको संयुक्त रुपमा उद्घाटन गरे । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँका राखिएका हाइमास्ट र सडक वत्ति बालिएको थियो । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ति जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक वत्तिको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । वत्ति बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
बागलुङमा निर्धारित समयमा कालोपत्र गर्न निर्देशन
बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने भएको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म र थप १५ किलोमिटर सडक कालोपत्र असार महिनासम्म नगरे सम्झौता रद्द गरी कारबाही गर्ने भएको हो । कार्यालय प्रमुख नारायणदत्त भण्डारीले ठेकेदार कम्पनीले पुस मसान्तसम्म तीन किलोमिटर सडक ग्राभेल, पाँच सय मिटर नाली निर्माण र अक्षते बिहुँ खण्डमा यातायातमा सहज हुने गरी मर्मत नगरे ठेक्का सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ठेकेदार सूर्य कन्ट्रक्सनका रामकाजी श्रेष्ठले लिखित प्रतिबद्धता जनाएका छन् । ठेकेदार कम्पनीले पुस १५ गतेसम्म एक सय जना कामदार, एक/एक ग्रेडर/रोलर, पाँच वटा टिप्पर लगाएर काम गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार कम्पनीले जनाएको प्रद्धिबद्धता अनुसार काम नभए ठेक्का सम्झौता रद्द गरिने छ । कार्यालय प्रमुख भण्डारीले प्रतिबद्धता जनाएको समयसम्म काम नगरेमा ठेक्का रद्द गरि नयाँ प्रक्रियामा जाने बताए । प्रद्धिबद्धता अनुसार काम गरेमा भने २०८० असार ५ गतेसम्मलाई म्याद रहने छ । पटक–पटक म्याद थप गर्दासमेत अक्षते–बिहुँ खण्डको १२ किलोमिटर सडक कालोपत्र हुनसकेको छैन । सडक कालोपत्र नहुँदा दैनिक सैयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन र यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । आर्थिक वर्ष २०७२/७३ मा यस सडक कालोपत्रका लागि पेटी ठेक्काको रुपमा सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । केही समय अघि विभिन्न बहाना बनाउँदै ठेकेदार श्रेष्ठ फरार भएको बिहुँका स्थानीयवासीले बताएका थिए ।