काठमाडौं उपत्यकालाई सफा र हरियाली बनाउने काम सुरु, नौ करोड लाग्ने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए । एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए । गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ । एकीकृत योजनाअनुरुप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ । एकीकृत योजना बनाउन नौ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

लमजुङबाट ७२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

लमजुङ । जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।  दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । उनका अनुसार दोर्दी खोलामा निर्माण सम्पन्न तीन आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१  मेगावाटको दोर्दी-१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् । तीमध्ये सबैभन्दा ठूलो २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका ११ रामचोक बेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो ।  आयोजनामा गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए। नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजना निर्माणमा चार अर्ब ८३ करोड लगानी भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो । तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो ।  आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो । आयोजना निर्माणमा चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ ।  त्यस्तै, दोर्दी गाउँपालिका-६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको  दोर्दी   जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा दुई अर्ब भन्दाबढी लगानी भएको छ ।  त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ । यस दोर्दी करिडोरमै पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाको निर्माण समेत अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए। केही महिनाभित्रै बिजुली उत्पादन गर्ने तयारी भइरहेको उनको भनाइ छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो । विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिँदै आएको छ । सुरुआतमा रु आठ अर्ब ८० करोड लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोडसम्म खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख गौतमले बताए ।  आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । कुल  ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा आयोजना निर्माण हुँदैछ । आयोजनामा प्रभावित स्थानीयबासीले २७ करोड लगानी गरेका छन् ।

अघि बढाइँदै ४५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजना

काठमाडौं ।  कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक छ । एउटै वडाभित्र सीमित सो आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ । कम्पनीका अनुसार अरुण नदीमा जगदेखि एक सय ४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ । सोही बाँधका कारण अरुण नदीमा करिब शून्य दशमलव तीन सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ । तालमा एक सय तीन लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट करिब पाँच सय मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ । आयोजनाका लागि आठ मिटर व्यास भएको करिब पाँच हजार नौ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । कम्पनीका अनुसार पानीको डिजाइन बहाव करिब एक सय ४३ घनमिटर प्रतिसेकेण्ड र करिब तीन सय ७९ दशमलब ५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । त्यसबाट वार्षिक करिब दुई हजार छ सय ५५ दशमलब १२ गिगवाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । विद्युत्गृह भूमिगत हुनेछ । त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन पश्चात् करिब सात सय ५१ दशमलव शून्य पाँच मिटर लामो रेलरेस सुरुङमार्फत पानी पुनः अरुण नदीमा नै छाडिनेछ । आयोजनाका संरचनासम्म पुग्नका लागि २६ दशमलव आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ । आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ । अरुण नदीमा नै हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले कूल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, सोही कम्पनीले तल्लो अरुण समेत जिम्मा लिएको छ । अरुण चार जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । एक हजार एक सय मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ । यस आधारमा ऊर्जा नदीका रुपमा परिचित अरुण नदीमा नै किमाथाङका अरुणको काम समेत शुरु भएको हो । रासस