२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक
बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ रुपैयाँको लगत अनुमान गरेको छ । ‘गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाख मात्रै आयो’, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भने, ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।’ वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ । ‘बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुन्छ’, बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भने, ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।’ पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा १० लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको २० रुपैयाँ लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ । विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउँछन् । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ । ‘पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौँ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का भन्छन्, ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौँ, आशा छ हिउँदमा काम हुने वातावरण बन्छ ।’ सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्डखण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ । मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताए । बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । ‘बीचमा परेको बाटो नबन्दा दुःख पायौँँ’, शर्माले भने । यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०/५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताए ।
सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती
नेपालगञ्ज । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम पाँच वर्ष आठ महिना वितिसक्दा पनि सम्पन्न भएको छैन । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित भएको खजुरा बजारका स्थानीय व्यवसायी टेकप्रसाद शर्माले बताए । उनले मुख्य सडकमा सवारीसाधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीयवासी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे । गतवर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो । विसं २०७४ वैशाखमा २१ करोड ४९ लाखमा निर्माणको लागि ठेक्का सम्झौता भएको उक्त सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए । उनले सडक निर्माण कार्यलाई सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरेपनि काम हुन नसकेको उल्लेख गरे । सडक डिभिजन कार्यालय नेपालगञ्जमार्फत सञ्चालित उक्त योजना निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुमा कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउँदै आएको छ । अब भने काम अन्तिमचरणमा पुगेको कम्पनीका सञ्चालक बामदेव रेग्मी बताउँछन् । खजुराको चार लेन खण्डसँगै बर्दियाको गुलरियाको चार लेन खण्ड पनि एकैपटक ठेक्का लिइएको उनले बताए । अब गुलरियाको काम सकिएकोले केही हप्तामै खजुराको सडक पनि निर्माण सम्पन्न भइसक्ने बताए । रासस
मैलुङ्–स्याफ्रुबेँसी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र
रसुवा । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र परेको हो । फल्लेटार, मैलुङ, गोम्चेत, छोकलहुदैँ स्याफ्रुबेँसीसम्मको करिब १९ किमी राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट एवं ग्याबिन तारजालीको पर्खाल निर्माण गर्ने र सडक सतह मिलाइ कालोपत्र गर्ने प्रमुख काम छोडी केही कामबाट पटक–पटक ३५ करोड भूक्तानी लिएपश्चात उक्त निर्माण कम्पनी बिना सूचना सम्पर्कविहीन भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले जनाएको छ । गत वर्षको फागुनबाट काम अगाडि बढ्न सकेको छैन । यही पुस मसान्तसम्म निर्माण व्यवसायी कम्पनीको काम गर्ने म्याद बाँकी रहेकाले अर्को ठेक्का पट्टाको प्रक्रिया अगाडि बढाउन कानुनी अड्चन परेको जनाइएको छ । विगत १० महिनादेखि सम्पर्कविहीन गरी बसेको कम्पनीको ठेक्का तोड्न जमानत जफतका लागि सम्बन्धित बैंक संस्थालाई पत्राचार गरिएको राजमार्ग सुधार आयोजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए । नुवाकोटको गल्छीदेखि रसुवाको स्याफुबेँसीसम्म निर्माण सुधार गर्नुपर्ने ६७ किमीमध्ये ३४ किमी राजमार्ग निर्माण सम्पन्न भइसकेको बताइएको छ । राजमार्गमा निर्माण गर्नुपर्ने २८ साना ठूला पुलमध्ये हालसम्म १८ वटाको बोलपत्र भई १३ वटा निर्माण सम्पन्न भइसकेका छन् । अन्य प्रक्रियागत चरणमा अगाडि बढिरहेको साइट इन्चार्ज इञ्जिनीयर रामविहारी चौधरीले बताए । सम्पन्न पक्की पुलमा महेश, कोल्फु, झागर, ठूलो , बान्द्रे , गुन्द्रे , गेर्खु, फलाखु, खाल्टे त्रिशूली, सुकौरे, मैलुङको त्रिशूली, क्रसिङ र गोम्चेत छन् । साना खोल्सा धेरै भएकाले धेरै ठाउँमा आवश्यकता अनुसार कल्भर्ट निर्माण हुनसक्ने प्राविधिकले जानकारी दिएका छन् । निर्माणमा संलग्न कन्स्ट्रक्सनमध्ये पुल निर्माणकार्य कालिका, तुण्डी, हिण्डूङ एण्ड थोकर एवं सडक सुधारमा संलग्न कोमेक, तुण्दी र रसुवा जेभी कन्ट्रक्सनले धादिङको गल्छिदेखि रसुवाको फल्लेटारसम्मका राजमार्गमा सुधार एवं निर्माणकार्य गरिरहेको साइट इञ्चार्ज इञ्जिनीयर चौधरीले जानकारी दिए । नेपाल, चीन, भारत जोड्ने त्रिदेशीय व्यापारिक राजमार्गको रूपमा विकसित हुँदै गरेको सो राजमार्ग सुधार निर्माणका लागि हालसम्म मुआब्जा वितरण तर्फ तीन अर्ब १४ करोड ९० लाख रुपैयाँ र निर्माण सुधारतर्फ पाँच अर्ब खर्च भएको आयोजनाले जनाएको छ । रासस