‘प्रिय पात्र’ का रूपमा इन्ट्री गरेका मरासिनी ‘धोकेवाज’ बनेर बाहिरिँदै

काठमाडौं । २०७८ साउन १७ गते अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त हुँदा धेरैको ‘टार्गेट’ मा परे अर्थमन्त्री  जनार्दन शर्मा । आफु निकट व्यक्तिलाई अर्थसचिव बनाएको भन्दै उनको ठूलो आलोचना भयो । तत्कालीन अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थ मन्त्रालयमा राम्रै पफर्मेन्स दिइरहेको बेला उनलाई अर्थबाट बिदाइ गरेर सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरियो । अवकाश पाउन केही दिन मात्रै बाँकी रहेका ढुङ्गानालाई सरुवा गर्नुको कारण धेरैले खोजे । तर, विषय त्यतिकैमा सेलायो । त्यसपछि शर्माको ‘प्रिय पात्रको रूपमा चिनिए मधुकुमार मरासिनी । तर, भनिन्छ नि ‘सधैं समय र परिस्थिती आफ्नो बसमा कहाँ चल्छ र ।’ हो यही भनाइ अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीको जीवनामा चरितार्थ भएको छ । अहिले यी दुवै जनाको हारगुहार प्रधानमन्त्री देउवा समक्ष छ । शर्माले आफु अनुकुल व्यक्तिलाई अर्थसचिव बनाउनु पर्ने माग देउवा समक्ष राखिरहेका छन् भने मरासिनी अर्थ मन्त्रालयबाट अन्तै सरुवा मागिरहेका छन् । पछिल्ला यि र यस्तै विभिन्न घटनाक्रमहरूले पनि अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको विवाद छर्लङ्ग भएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त भएको तीन दिन हुँदा समेत अर्थसचिव मरासिनी मन्त्रालय उपस्थित नहुँदा उनीहरुबीचको विवाद छर्लङ्ग भएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार आजसम्म पनि मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका छैनन् । साउन १५ गतेदेखि उनी मन्त्रालयमा उपस्थित नभएका हुन् । जनार्दन शर्मा पनि साउन १५ गते नै अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । सो दिन उनी अनुपस्थित थिए । उनी अर्थमन्त्रीको स्वागत कार्यक्रममा अनुपस्थित भएपछि धेरैले मन्त्री र सचिवबीचको सम्बन्धमा ठूलो दरार आएको टीप्पणी गरेका थिए । मन्त्री नियुक्त भएको तीन दिनसम्म पनि उनी मन्त्रालयमा नआएपछि अब उनी अर्थमन्त्रालयबाट बाहिरि लागेको आशंका पनि धेरैले प्रकट गरेका छन् । उसो त अर्थमन्त्रालय स्रोततले पनि अर्थसचिव मधुकुमार मरासिनीले प्रधानमन्त्रीसँग सरुवाका लागि छलफल गरिसकेका छन् । प्रधानमन्त्री उनको सरूवाप्रति सकारात्मक भएमा अब केही दिनमै उनको सरूवा हुन सक्ने स्रोतको भनाइ छ । तर, मरासिनीले सरुवा कुन मन्त्रालयमा मागेका छन् भन्ने विषय भने खुलेको छैन । यसअघि पनि उनी शर्मासँगकै टसलले विदामा बसेका थिए । बजेट निर्माणमा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा ठूलो विरोध भएपछि शर्मा र मरासिनीको विवाद बढेको थियो । मरासिनीले शर्मा मन्त्रालयमा हुँदासम्म आफु काममा नफर्किने भन्दै विदामा बसेका थिए । जेठपछि मात्रै उनी तीन पटक विदामा बसिसकेका छन् । बजेट सार्वजनिक लगत्तै उनी लामो समय विदामा बसेर अमेरिका घुम्न गएका थिए । दोस्रो पटकको विदामा उनी विदा बस्ने दिननै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि लगत्तै प्रधानमन्त्री देउवाले नियमित काममा फर्कन आग्रह गरेपछि उनी पछिल्लो दिनदेखि नै काममा फर्किएका थिए । अहिले शर्मा पुनः मन्त्री भएपछि उनी विदामा बसेका हुन् । उनले अब अर्थमन्त्रालयबाट नै बाहिरिन चाहेको स्रोतको दाबी छ । तर, सरकारले अर्थसचिव कसलाई बनाउने भन्ने यकिन नगर्दा उनले मागेको सरुवा स्वीकृत भइसकेको छैन । स्रोतका अनुसार अहिले अर्थसचिवका लागि राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ । अर्थमन्त्री शर्माले राजश्व सचिव पुस्करलाई नै अर्थसचिव बनाउन खोजेको पनि बुझिएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त हुँदा पनि पुस्करले नै स्वागत गरेका थिए । ‘कन्भिन्स गर्न नसकेमा दुर्घटनामा परिन्छ’ पूर्व अर्थ सचिव शिशिर कुमार ढुङ्गाना मन्त्रीलाई कन्भिन्स गराउन सक्ने क्षमता सचिवमा हुनु पर्ने बताउँछन् । उनले मन्त्रीलाई सफल बनाउने वा असफल बनाउने भन्ने महत्वपूर्ण भूमिका सचिवको हुने भएकोले सचिवले तथ्य र तथ्यांकको आधारमा रहेर मन्त्रीलाई सल्लाह दिनु पर्ने धारणा राखे । ‘मन्त्रीलाई सफल पार्नुका लागि सचिवको भूमिका महत्वपूर्ण हुन्छ, प्रशासन र मन्त्री भनेको एक रथका दुई पाँग्रा हुन, प्रशासनले आफ्नो योग्यता, क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्छ, राजनीतिज्ञ भनेको शक्तिको स्रोत हो, राज्य सञ्चालन गर्ने अधिकार पाउने शक्तिलाई सफल बनाउनका लागि व्यवसायिक सल्लाहकार चाहिन्छ, त्यो भनेको प्रशासनको नेतृत्व गर्ने सचिव हो, उसले तठस्त व्यवहार गर्नु पर्छ, कुनै आग्रह पूर्वाग्रह विना कुनै व्यक्ति वा संस्थाको लागिभन्दा पनि राज्यको हितका लागि काम गर्नु पर्छ,’ उनले भने । उनी अनुसार मन्त्रीलाई काम गर्न प्रेसर हुने भएपनि सचिवले भने सबै प्रक्रिया पुर्याएर अगाडि बढ्नु पर्ने सुझाव दिन्छन् । ‘राजनीतिज्ञहरुको जनताप्रति बढी अट्याचमेन्ट हुन्छ, उनीहरु प्रोसेसभन्दा प्रेसरमा काम गर्न चाहन्छन्, काम छिटो होस् भन्ने उनीहरुको इच्छा हुन्छ, उनीहरुलाई प्रक्रियाको मतलब हुँदैन, कानुन, विधि र त्यसको प्रभाव र असर विषयमा सचिवले मन्त्रीलाई महत्वपूर्ण सल्लाह दिन सक्नु पर्छ,’ उनले भने । उनका अनुसार सचिवले मन्त्रीले गरेको निर्णयले समग्र मुलुकलाई के असर पुग्छ भन्ने विषयमा बुझेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले जब प्रशासनले त्यो काम गर्न छोड्छ अनि जहाज दुर्घटनामा पर्ने धारणा राखे । ‘प्रशासनको भूमिका राजनीतिज्ञले पनि सुन्छन्, तथ्य र तथ्यांकले उनीहरुलाई कन्भिन्स गराउने हो, राजनीतिज्ञ आदर्शमा चल्छन्, त्यसमा तथ्य राखेर हामीले कन्भिन्स गर्न सक्नु पर्छ,’ उनले विकासन्युजसँग भने ।

बीमा पोलिसी त्याग्नेको संख्या बढ्दो, १२ अर्ब बढीको सरेन्डर (कुनको कति ?)

काठमाडौं । हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण (सरेन्डर) भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ लाख ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् । सञ्चालित १९ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । यो अवधिमा सो कम्पनीका बीमितहरुले २६ हजार ६०३ वटा अर्थात ५ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्सका बीमितले २ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी रोकेका छन् । जुन संख्याको आधारमा ९ हजार ८६८ वटा पोलिसी हुन् । त्यस्तै, ५० करोडभन्दा बढी बीमालेख सरेन्डर गरेकामा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र एशियन लाइफबाट रहेको छ । यी कम्पनीका बीमितले क्रमशः ८५ करोड ९७ लाख, ८५ करोड ५५ लाख र ५८ करोड ९० लाख रुपैयाँ बराबरको बीमालेख निश्चित अवधि पुग्नु अगावै रोकिएका छन् । त्यसैगरी, अधिकांश कम्पनीहरुबाट १० करोडभन्दा बढी र ५० करोडभन्दा कम रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसमा गुराँस लाइफ, मेटलाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सानिमा, ज्योती, महालक्ष्मी, सिटिजन, रिलायबल नेपाल, सन नेपाल र आइएमई लाइफको १० करोडभन्दा कमको पोलिसी सरेन्डर भएका छन् । जसमध्ये सानिमा, ज्योति र महालक्ष्मीको ६ करोडभन्दा बढीको, सिटिजनको ३ करोड बढी, रिलायबल नेपाल, सन नेपाल र आईएमई लाइफको एक वर्षको अवधिमा २ करोड बढीको बीमालेख सरेन्डर भएका हुन् । रकमका आधारमा सबैभन्दा कम बीमालेख सरेन्डर हुनेमा आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा इन्स्योरेन्सका बीमितले २ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी निश्चित समय नपुगी रोकेका हुन् । संख्याको आधारमा भने सानिमा लाइफ इन्स्योरेन्सको पोलिसी सबैभन्दा कम सरेन्डर भएको छ । यो अवधिमा इन्स्योरेन्सको २२६ वटा पोलिसी सरेन्डर भएका छन् । कुनको कति ?

गौतमश्री सहकारी : २२ प्रतिशतसम्म ब्याज दिने आश्वासनले बचत तान्यो, घरजग्गामा लगानी !

काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले चर्को ब्याजदरको आशवासन देखाइ बचत गर्न लगाएको बुझिएको छ । सहकारी विभागका अनुसार बचतकर्ताकाे उजुरीकाे आधारमा सहकारीले बचतकर्तालाई २२ प्रतिशतसम्म पनि ब्याजकाे आश्वासन देखाएकाे थियाे । २५ हजारभन्दा बढी बचतकर्तालाई सहकारीमा पैसा बचत गर्न लगाइ ब्याजको आश्वासन देखाएर अन्तिममा बचत फिर्ता माग्दा फिर्ता नगरेपछि सहकारीको बचत फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ताहरु अहिले सडकमा छन् । गत शुक्रबार मात्रै सो सहकारीका बचतकर्ता उजुरी लिएर सहकारी विभाग पुगेका थिए । बचतकर्ताले पैसा फिर्ता मागे लगत्तै सहकारीका अध्यक्ष रामबहादुर गौतम सम्पर्कविहिन बनेका छन् । उनीसँगै संस्थाका अन्य सञ्चालक, म्यानेजर सदस्यहरु सम्पर्कविहिन छन् । अहिले सदस्यहरु दिनहुँ कार्यालय परिसरमा गएर धर्ना दिइरहेका छन् । सहकारीका महाप्रबन्धक रवीन्द्र बिष्ट हुन् । उता सहकारी संस्थाहरुको नियामक सहकारी विभागले बचतकर्ताले बचत रकम फिर्ता दिलाउने प्रयास गरिहरेको बताइएको छ । विभागले बचतकर्ताको उजुरीको आधारमा विभिन्न कागजात अध्ययन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने तयारीका साथ काम गरिरहेको बुझिएको छ । विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले बचतकर्ताको रकम फिर्ता गर्न र सहकारीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए । उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई सम्बन्धि व्यक्रिलाई उपस्थित गराउन पत्रचार गरेको र राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई सञ्चालकहरुको बैंक खाता रोक्का गर्नका लागि आग्रह गरिसकेको बताए । ‘एक हजारभन्दा बढी बचतकर्ताको उजुरी प्राप्त भएको छ, सो निवेदन अनुरुप उक्त संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरी पठाएका छौं, सो सहकारीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति यस विभागको अनुमति विना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रदान गर्न तथा शिलबन्दी लाहाछाप गरी सो को जानकारी सहकारी विभागमा पठाईदिन र संचालक एवं कर्मचारीहरुलाई बिभागमा उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा पत्र पठाएका छौं,’ उनले भने । यता नेपाल राष्ट्र बैंकले भने गौमश्री सहकारीका सञ्चालकहरुको खाता रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार सो सहकारीका अध्यक्षसहित १५ जनाको खाता रोक्का भएको हो । राष्ट्र बैंकका अनुसार सहकारीका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष गौतमकी श्रीमती निर्मला खत्री, सचिव राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गौतम, शन्तोषी केसी, भगवती थापा र सुभास भुसालको खाता रोक्का भएको हो । यस्तै, सहकारीको लेखा समिति संयोजक सुनिता तिमिल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा, र विकास चौधरी सहकारीको व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम र लेखापाल सुनिता सिंहको खाता रोक्का भएको बताइएको छ । सहकारीका अध्यक्षसहित सञ्चालहरु सम्पर्कविहीन भएकोले संस्था बन्द हुने र संस्थाको सम्पत्तिको सुरक्षा पाउँ भन्दै सहकारीका व्यवस्थापक रविन विष्टले प्रहरी प्रधान कार्यालयसमक्ष निवेदन पनि दिएका छन् । उनले १३ असारमै यस्तो निवेदन दिएको फेला परेको छ । उनका अनुसार बचतकर्ताले २२ प्रतिशतसम्म ब्याज दिने भनेपछि बचतकर्ताले सो सहकारीमा धमाधम बचत राखेका थिए । सहकारीहरुले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । बचत र ऋणबीच ब्याजदर अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने कानुनी व्यवस्था छ । गौगमश्रीको अध्यक्ष नै सम्पर्कविहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँसेको छ । संस्थाका अध्यक्ष गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ । को हुन् रामबहादुर गौतम ? काभ्रेको सामान्य परिवारमा जन्मेका रामबहादुर गौतम काठमाडौंमा आएर सामान्य व्यपार सुरु गरेका थिए । सुरुमा उनले सानो सटर राखेर ओभरसिज ब्यापार गर्थे । पछि विस्तारै चीनबाट सामान ल्याएर ब्यापार गर्दै गए । उनले कृषि सामग्री बढाउँदै लगे । ब्यापार बढेपछि उनले गौतम समूहका नाममा सहकारी, मार्ट र गाई फार्म पनि सञ्चालन गरे । सहकारीमा बचतकर्ताको रकम बढेपछि उनको सहकारीको कारोबार बैंक सरह नै हुने गरेको जानकार।हरु बताउँछन् । बचतकर्ताको रकमलाई नै उनले घरजग्गामा लगानी गरेको हुन सक्ने अनुमान विभागले पनि गरेका छ । तर, अहिलेसम्म खुल्न सकेको छैन । गौमश्री सहकारीमा एक बचतकर्ताले न्यूनतम एक लाखदेखि ३५ करोड रुपैयाँसम्म बचत गरेको बुझिएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरु समस्यामा पर्न थालेका छन् ।