फेरि बुढानीलकण्ठमै भेटियो सुनका अपराधीको अखडा

भाडाकै घर र गाडी लिएर यसरी चल्थ्यो सुन कारोबारको धन्दा

काठमाडौं । चीनमा रहेका बोसको निर्देशनमा नेपालमा सुन प्रशोधन र ओसारपसार हुने गरेको खुलेको छ । 

काठमाडौंको बुढानीलकण्ठमा भाडाको घर लिई अर्धप्रशोधित  सुनलाई तयारी अवस्थामा पुर्याउने र तोकिएको स्थानमा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित भाडाको घरबाट २१ किलो ७५० ग्रामभन्दा बढी सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

यसअघि पनि बुढानीलकण्ठमै ठूलो परिमाणको सुनसहित भारतीयहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा चीनको ज्याङ्सु, गुआङडोङ घर भएका २७ वर्षीय हान फेई, ३७ वर्षीय वाङ जिआनझेन र ४७ वर्षीय झोउ लोङछिन रहेका छन् ।

बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट सुन, नगद, सुन ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण र विभिन्न कागजात बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले चीनको ग्वाङझाउमा बस्ने झेन जिया लेको निर्देशनमा काम गर्ने गरेका थिए । 

नेपालमा सुन कहाँ पुर्याउने, कसरी ओसारपसार गर्ने र अन्य आवश्यक निर्देशन लेको विच्याटमार्फत प्राप्त गर्ने गरेको बयान उनीहरूले दिएका छन् ।

उनीहरूको जिम्मेवारी भाडाको घरमा ल्याइने अर्धप्रशोधित सुनलाई प्रशोधन गरेर तयारी अवस्थामा पुर्याउने र तोकिएको स्थानसम्म पुर्याउने रहेको अनुसन्धानमा खुलेको छ । 

सुनको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति र सुन पुर्याइने गन्तव्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तयारी अवस्थाको करिब ११ किलो, अर्धप्रशोधित साढे १० किलो सुन

प्रहरीका अनुसार बरामद सुनमध्ये १० किलो ९९७.९३ ग्राम तयारी अवस्थामा रहेको छ । त्यस्तै, प्लास्टिकमा पोका पारेर राखिएको अर्धप्रशोधित वा कच्चा अवस्थाको सुन १० किलो ७५२.७५ ग्राम बरामद भएको छ । दुवैको कुल तौल २१ किलो ७५०.६८ ग्राम रहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको विवरणअनुसार असोज २२ गतेको बजार मूल्यका आधारमा बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा कायम गरिएको छ ।

तयारी अवस्थाको सुनमध्ये घरको तेस्रो तलाबाट पाँचवटा बिस्कुट आकारका ढिक्कामा ४ हजार ९८७.७४ ग्राम र दोस्रो तलाबाट चारवटा ढिक्कामा ३ हजार ९९२.४० ग्राम बरामद भएको थियो । 

त्यस्तै, सुन ओसारपसारमा प्रयोग भएको गाडीबाट दुईवटा बिस्कुट आकारका ढिक्कामा २ हजार १७.७९ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।

अर्धप्रशोधित सुनमध्ये तेस्रो तलाबाट पहेँलो धातुका टुक्रा १ हजार ६०७.९५ ग्राम बरामद भएको थियो । पहिलो तलाबाट प्लास्टिकसहित १५ वटा पोकामा ६ हजार ३५१.८२ ग्राम र छुट्टै साना टुक्रा रहेको अर्को पोकामा प्लास्टिकसहित २ हजार ७९२.९८ ग्राम सुन फेला परेको थियो ।

घरभाडामै १३ लाख २० हजार तिरे

अनुसन्धानका क्रममा उक्त घर भाडामा लिने र प्रयोग गर्ने व्यक्तिहरूको गतिविधिबारे पनि विवरण खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनियाँ नागरिक मिस्टर शु चानले घरधनीसँग मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी २४ जुलाई २०२६ (२०८३ साउन ८) देखि लागू हुने चार महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका थिए । 

उनी १५ अगस्ट २०२६ (२०८३ साउन ३०) मा चीन फर्किएको र त्यसपछि नेपाल नफर्किएको अनुसन्धानमा उल्लेख छ ।

शुचानले चीन फर्कनुअघि घरको साँचो झेन जिया लेलाई दिएका थिए । पछि झेन जिया लेले उक्त साँचो हान फेईलाई दिएर पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार हान फेई र झोउ लोङछिन २७ सेप्टेम्बर २०२६ (२०८३ असोज ११) मा नेपाल आएका थिए । त्यस्तै, शु चान १ अक्टोबर २०२६ (२०८३ असोज १५) मा नेपाल प्रवेश गरेको देखिएको छ ।

सुनको बजार बुझ्न यसअघि पनि आएका थिए हान फेई

प्रहरीका अनुसार हान फेई यसअघि पनि परिवारसहित नेपाल आएका थिए । उनले ४ अगस्ट २०२६ (२०८३ साउन १९) मा नेपाल आएर सुनको बजार अवस्था र मूल्यबारे जानकारी लिएको तथा २९ अगस्ट २०२६ (२०८३ भदौ १३) मा चीन फर्किएको बयान दिएका छन् ।

त्यसपछि उनी २७ सेप्टेम्बर २०२६ मा नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बीवाईडी एटो–३ गाडी भाडामा लिएका थिए ।

उक्त गाडी ११ अक्टोबर २०२६ सम्मका लागि भाडामा लिइएको अनुसन्धानमा उल्लेख छ । प्रहरीले सुन ओसारपसारमा प्रयोग भएको उक्त गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले सुन, नगद, गाडी, प्रशोधनका उपकरण तथा कागजात कानुनी प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Share News