काठमाडौं । क्यासिनो सञ्चालन गरिरहेका कम्पनीले आफ्नो क्षमता विस्तार गर्दा अब विस्तारको परिमाणअनुसार ५० लाखदेखि ३ करोड रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ । सरकारले क्यासिनोको पहिलो संशोधन नियमावली, २०८३ मार्फत क्षमता विस्तारको अनुमति र त्यसबापत लाग्ने दस्तुरको व्यवस्था गरेको हो ।
सरकारले क्यासिनोको खेलस्थलको क्षेत्रफल, टेबल वा उपकरणको सङ्ख्या बढाएर क्षमता विस्तार गर्न चाहने कम्पनीले विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । विभागले तोकिएको प्रक्रिया पूरा भएपछि क्षमता विस्तारको अनुमति दिने व्यवस्था नियमावलीमा गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार क्षमता विस्तार गर्दा लाग्ने शुल्क क्यासिनोको आकारअनुसार फरक हुनेछ । सानो क्यासिनोले आफ्नो स्वीकृत क्षमताको ५० प्रतिशतसम्म विस्तार गर्दा ५० लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, ५० प्रतिशतभन्दा बढी क्षमता विस्तार गरेमा एक करोड ५० लाख रुपैयाँ दस्तुर लाग्नेछ ।
ठूलो क्यासिनोको हकमा ५० प्रतिशतसम्म क्षमता विस्तार गर्दा एक करोड ५० लाख रुपैयाँ र ५० प्रतिशतभन्दा बढी विस्तार गर्दा तीन करोड रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सानो क्यासिनोलाई ठूलोमा स्तरोन्नति गर्न नयाँ व्यवस्था
संशोधित नियमावलीले सानो क्यासिनो सञ्चालन गरिरहेको कम्पनीलाई ठूलो क्यासिनोमा स्तरोन्नति हुन सक्ने व्यवस्था पनि गरेको छ । त्यसका लागि कम्पनीले ठूलो क्यासिनोका लागि तोकिएको बैंक जमानतसहित आवश्यक निवेदन विभागमा पेस गर्नुपर्नेछ ।
निवेदन प्राप्त भएपछि विभागले क्यासिनोको स्थलगत अनुगमन तथा निरीक्षण गर्न कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ । निरीक्षणबाट ठूलो क्यासिनोका लागि तोकिएका सर्त र मापदण्ड पूरा भएको देखिएमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सकिनेछ ।
ठूलो क्यासिनो सञ्चालनका लागि आवश्यक इजाजतपत्र दस्तुर, रोयल्टी र जमानतमा नपुग रकम दाखिला गराउनुपर्ने व्यवस्था पनि नियमावलीमा छ । तर, सोही आर्थिक वर्षका लागि सानो क्यासिनोको नवीकरण शुल्क बुझाइसकेको अवस्थामा स्तरोन्नति गर्दा नवीकरण शुल्कमा पहिले बुझाएको रकम घटाएर बाँकी रकम मात्र दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विभागले अनुगमन गर्न सक्ने
क्षमता विस्तारका लागि निवेदन प्राप्त भएपछि विभागले कम्पनीले नियमावलीमा तोकिएका सर्त तथा मापदण्ड पूरा गरे–नगरेको जाँच गर्न सक्नेछ । अनुगमनका क्रममा खटिएको कर्मचारी वा टोलीले स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ ।
क्यासिनो कम्पनीले स्वीकृत क्षमताभन्दा बढी क्षेत्रफल, टेबल वा उपकरणको सङ्ख्या बढाउन चाहेमा त्यसको विवरण खुलाएर विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । क्षमता विस्तारको अनुमति लिनुअघि तोकिएको प्रक्रिया र दस्तुर पूरा गर्नुपर्नेछ ।
यसैगरी, नियमावली प्रारम्भ हुनुअघि नै क्षमता विस्तार गरी क्यासिनो सञ्चालन गरिरहेका कम्पनीले पनि नियमावली प्रारम्भ भएको मितिले ९० दिनभित्र विभागमा निवेदन दिनुपर्ने व्यवस्था संशोधनमा गरिएको छ ।
सरकारले क्यासिनो नियमावली, २०८२ मा संशोधन गर्दै क्षमता विस्तार, स्तरोन्नति, बैंक जमानत तथा दस्तुरसम्बन्धी प्रावधान थप गरेको हो । संशोधित नियमावली तत्काल प्रारम्भ हुने राजपत्रमा उल्लेख छ ।