नेशनल, मेट र नेपाल लाइफको बीमालेख बढी निष्कृय, पौने ६३ अर्बको व्यतित हुँदा नोक्सानमा १९ कम्पनी
काठमाडौं । हालसम्म कूल ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमालेख (बीमा पोलिसी) व्यतित भएका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा कूल १९ वटा जीवन बीमा कम्पनीहरुको ११ लाख १९ हजार ५९४ वटा बीमालेख व्यतित भएको हो । जसमध्ये रकमका आधारमा सबैभन्दा बढी बीमालेख व्यतित हुनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको हालसम्ममा ३२ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमालेखमा ल्याप्सेस् देखिएको हो । संख्याको आधारमा भने ८५ हजार ४०१ वटा बीमालेखहरु ल्याप्सेस् अर्थात व्यतित् भएका छन् । त्यस्तै, अधिकांश कम्पनीकोे अर्बौं बढीको बीमालेख व्यतित भएका छन् । जसमा नेशनल लाइफसँगै मेट लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), गुराँस लाइफ, सिटिजन लाइफ, सूर्या लाइफ र राष्ट्रिय बीमा संस्थानहरु रहेका छन् । यसमध्ये मेट लाइफको ८ अर्ब ४१ करोड रुपैयाँ, नेपाल लाइफको ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमालेखहरु व्यतित भएका छन् बाँकीको १ देखि पौने ३ अर्ब रुपैयाँसम्मको बीमालेखहरु व्यतित भएका बीमा श्रोतले जनाएको छ । र, बाँकी रहेका ११ कम्पनीहरुको करोडौंको बीमालेखमा ल्याप्सेस् देखिएको छ । गत आर्थिक वर्षको तथ्याङ्कको आधारमा सबैभन्दा कम बीमालेख व्यतित हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको १० करोड ३० लाख रुपैयाँ बराबरको बीमालेख व्यतित भएको छ । यो अवधिमा महालक्ष्मीको कूल २ हजार ६७९ वटा बीमालेखहरु यतिकै व्यतित भएका हुन् । कुनको कति ? कसरी हुन्छ बीमालेख व्यतित ? कुनै पनि कम्पनीबाट लिएको बीमालेख समयमै नवीकरण नगरेपछि उक्त बीमालेख स्वतः व्यतित हुने गर्छ । कम्पनीहरुले तोकेको समयभित्र बीमितले आफ्नो बीमालेखको नवीकरण गरेमा उक्त बीमालेख व्यतित हुँदैन । यदि बीमालेख व्यतित भएको खण्डमा कम्पनीले बीमितहरुलाई नवीकरण गर्नको लागि थप समय दिएको हुन्छ । सो अवधिभित्रमा पनि बीमालेख नवीकरण नगरेमा सो बीमालेख निष्क्रिय हुनेछ । र, बीमितिले बीमा गरेवापतको कुनै पनि जोखिम सुरक्षा पाउँदैनन् । तर, म्यादी बीमाको हकमा भने यो प्रावधान लागू नहुने समितिले जनाएको छ । बीमालेख व्यतित हुँदा बीमा गर्ने बीमित र बीमा गराउने कम्पनी दुबैले घाटा हुने देखिन्छ । सो अवस्थामा बीमितले बीमा गरे वापतको सुरक्षा तथा सेवा सुविधा पाउँदैनन् भने बीमा कम्पनीले प्रिमियम पाउँदैनन् ।
प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, चुक्ता पूँजी २२ अर्ब २६ करोड पुग्ने
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । दुबै बैंकले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै एक हुने भएका हुन् । आइतबार भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताएको छ । मर्जर पश्चात् बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमति अनुसार प्रभु बैंकले सीईओ र अध्यक्ष दुबै पाउने छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् । हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
निक्षेप बीमाको सीमा ५ लाख पुर्याइने अर्थमन्त्रीको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । आइतबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् । उनले आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले अघि भने बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागि पर्ने छौं बताए । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यान्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थसचिव अनुपस्थित नवनियुक्त अर्थमन्त्री शर्मालाई अर्थसचिव मधुकुमार मरासिनीले भने वेवास्ता गरेका छन् । नवनियुक्त अर्थमन्त्री शर्मालाई वेवास्त गर्दै स्वागत कार्यक्रममा उनी अनुपस्थित भएका हुन् । सचिव मरासिनी स्वागत कार्यक्रममा अनुपस्थित भएपछि राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई स्वागत गरे । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई पुष्करले स्वागत गरेका हुन् । यसअघि पनि मरासिनीले शर्माले राजीनामा नदिएसम्म काममा नआउने भन्दै विदामा बसेका थिए । आज पनि उपस्थित नहुनुले अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको ‘इगो’ बढेको बुझ्न सकिन्छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमाल लगायत स्वागत कार्यक्रममा पुग्दा अर्थसचिव भने अनुपस्थित देखिएका हुन् । नव नियुक्त मन्त्रीलाई सोही मन्त्रालयको सचिवले स्वागत गर्ने अभ्यास छ ।