बैंकका मुद्दति योजना : निक्षेपकर्ताको रकम २० वर्षपछि बैंकिङ कोषमा त जाँदैन ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि विभिन्न बचत योजनाहरू सार्वजनिक गरिरहेका छन् । यी योजनाहरू न्यूनतम पाँच वर्षदेखि अधिकतम् २५ वर्षसम्मका छन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला बैंक तथा वित्तीय संस्थाले यस्ता किसिमका योजनाहरू सार्वजनिक गरिरहेका हुन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले ग्राहकसँगै निक्षेप तान्नको लागि आकर्षक योजनाहरू ल्याएपनि दीर्घकालमा भने त्यसको प्रयोग र प्रतिफलको विषयमा भने धेरैले चासो देखाएका छन् । कुमारी बैंकले व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा १० गुणासम्मको प्रतिफल पाउन २१.६३ वर्ष र संस्थागत निक्षेपकर्ताले साँवा रकममा १० गुणा प्रतिफल पाउन २५.४० वर्ष अवधि तोकिएको योजना ल्याएको छ । उदाहरणका लागि कुमारी बैंकको यो योजना अन्तर्गत खाता खोलेर १० लाख रुपैयाँ निक्षेप राखेमा २१ वर्ष ६३ दिनमा सो खातावालले १ करोड रुपैयाँ पाउँछ । यस्तै, प्राइम कमर्सियल बैंकले ‘प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता’ अन्तर्गत २६ वर्ष ६ महिना ३ दिनमा जम्मा गरेको रकमको १० गुणा बढी रकम पाउने योजना ल्याएको छ । यो योजना पनि कुमारीको जस्तै हो । अर्थात, एक लाख रुपैयाँ जम्मा गर्ने खातावालले २६ वर्ष ६ महिना ३ दिनपछि १० लाख रुपैयाँ बैंकबाट फिर्ता पाउँछ । एनआईसी एशिया बैंकले पनि यस्तै किसिमको योजना सार्वजनिक गरेको छ । बैंकले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्मका मुद्दती खातामा रकम जम्मा गरे २ गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्ने योजना ल्याएको छ । यी बैंकहरुसँगै अन्य बैंकहरुले पनि छोटोदेखि लामो अवधिसम्मका मुद्दति योजना सार्वजनिक गरेका छन् । २० वर्षभन्दा लामो समयसम्मका लागि मुद्दति योजना ल्याइरहँदा धेरैले यसको प्रतिफल, प्रयोग र नीति नियमसँग पनि बाँझिएको धारणा राखिरहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ ले बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा यस ऐन बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा पठाउनु पर्ने व्यवस्था गरेको छ । सोही दफाको उपदफा ३ ले पनि २० वर्षसम्म लिन बुझ्न नआएमा उक्त रकम राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरी बैंकिङ्ग विकासमा प्रयोग गर्नु पर्ने व्यवस्था छ । बैंकहरुले ल्याइरहेका यी मुद्दति निक्षेप योजनामा पनि खातावालाले पैसा राखेर २० वर्षसम्म पनि सो खातालाई प्रयोग नगरेमा सो रकम के हुने भन्ने चासो धेरैको छ । बैंकहरुले आकर्षक योजना ल्याएपनि यस विषयमा भने ग्राहकलाई स्पष्ट पार्न सकेका छैनन् । तर, कुमारी बैंकका चिफ मार्केटिङ नबिनमुनी बज्राचार्य भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्थाले मुद्दति निक्षेप योजनालाई कुनै प्रभाव नपार्ने बताउँछन् । उनले यो ऐन बचत खातामा मात्रै लागू हुने बताए । उनले तोकिएको अवधिमा राखिएको रकम बचत खातामा जम्मा गर्ने र त्यसपछि नियम अनुसार लिन नआएमा सो व्यवस्था आकर्षित हुने धारणा राखे । ‘यदि कुनै बैंकको २१ वर्षको अवधिसम्म खातामा रकम राखिन्छ भने त्यसको अवधि त्यही समयमा समाप्त हुन्छ, त्यसपछि त्यो रकम बचत खातामा जम्मा हुन्छ, बचत खातामा राखिएको १० वर्षसम्म सो रकम लिन कोही नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने । बज्राचार्यका अनुसार कुनै मुद्दति निक्षेपमा ५ वर्षसम्मका लागि रकम राखिएको छ भने ५ वर्षपछि बचत खातामा जान्छ । यदि १० वर्षसम्म सो रकम लिन आएन भने त्यो बेला सो दफा आकर्षित हुन्छ । किनभने ५ वर्षमा उसको सम्झौता सकिएको हुन्छ । ‘बैंकका खाताहरु २ किसिमका हुन्छन्, सम्म र सक्रिय (साधारण बचत खाता र फिक्स्ड खाता) । मुद्दती खातामा सम्झौता हुन्छ । तर, बचत खातामा सम्झौता भएको हुँदैन, बचत खाता सक्रिय भइरहनु पर्ने भएकाले यस्ता खाता लामो समयसम्म सक्रिय नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ मा भएको व्यवस्था लागू हुन्छ,’ उनले भने । यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देव कुमार ढकाल यस्ता योजनाहरु कुनैपनि नियमसँग नबाझिने बताउँछन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा लिन नआएको अवस्थामा भनिएको र यस्ता योजनामा त्यो अवधिमा भुक्तानी गर्छु भनेको हुनाले सो ऐन मुद्दति योजनाहरुमा लागू नहुने उनको भनाइ छ । बैंकले ग्राहक सम्पर्कमा नआएको सूचना निकाल्दा पनि लिन नआएको अवस्थामा मात्रै सो व्यवस्थ लागू हुने उनको धारणा छ । बैंकहरुले मुद्दती निक्षेपमा अहिले पनि १० वर्षको ऋणपत्र स्वीकार गरिरहेको उनले बताए । ‘बैंकहरुको ऋणपत्र हेर्ने हो भने १० वर्षसम्मको अवधि हुन्छ, त्यसमा चल्ति नभएको भन्न मिल्दैन,उसले सृजना गरेको दायीत्व नै दीर्घकाल हो, यसलाई चल्ति नभएको भन्न मिल्दैन,’उनले भने । ‘बैंक र ग्राहकबीच सम्झौता भएको हुन्छ, जति नै वर्षको अवधि भएपनि त्यो दिनमा बैंकले मुद्दति निक्षेप फिर्ता दिन्छ, बैंकले समय सकिएको अवस्थामा सूचना गरेर पुन नवीकरण गर्न आउनु भन्छ, नवीकरण गर्याे भने पुन निक्षेपमा जान्छ होइन भने बचत खातामा जम्मा हुन्छ, यस्ता खातामा जहिले पनि दाबी पर्छ,’ उनले भने । सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता भएकाले लामो समयसम्म सक्रिय नभएमा सो व्यवस्था लागू हुने उनको भनाइ छ । ‘सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता हुन्, लामो समयसम्म सक्रिय नभएमा बैंकले लिनका लागि बोलाउँछ, बोलाउँदा पनि लिन नआएमा यो व्यवस्था लागू हुन्छ, लामो समयसम्म नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘यदि कुनै बैंकको योजनामा रकम राखेर एकै पटक २५ वर्षपछि लिन्छु भनेर जाँदा त्यो रकम लिन पाउँछन्, याृजना नै त्यहि प्रकृतिको हो ।’ सम्बन्धित सामग्री : १० लाख डिपोजिट गर्दा एक करोड पाइने, कुन बैंकमा पैसा राख्दा बढी फाइदा ?

नेपाल ट्रष्टको सयौं रोपनी जग्गामा व्यक्तिको रजाइँ, यी हुन् स्वामित्वमा ल्याउन नसकेका जग्गा

काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको सयौं कित्ता जग्गाहरु लामो समयदेखि एकलौटी रुपमा व्यक्ति (मोही)ले प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकाभित्र मालपोत तथा नापीको रेकर्डमा नेपाल ट्रस्टको स्वामित्वमा रहेका १०९ कित्ता जग्गाहरु मोहीहरुले एकलौटी रुपमा प्रयोग गर्दै आएको देखिएको हो । ट्रस्टले पछिल्लोपटक प्रकाशन गरेको प्रतिवेदनअनुसार काठमाडौं नगरपालिकाको वडा नं. २९ मा ४ कित्ता र तत्कालिन बालाजुको वडा नं. ८ क मा २७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् । त्यस्तै, तत्कालिन सतुंगलको वडा नं. १ क मा १ कित्ता, मातातिर्थ १ क मा २७ कित्ता, मातातिर्थ १ ख मा ७ कित्ता र थानकोट महादेवस्थान वडा नं. ४ क मा ११ कित्ता जग्गा मोहीको स्वामित्वमा रहेको ट्रस्टको प्रतिवेदनमा उल्लेख गरिएको छ । थानकोट महादेवस्थानकै वडा नं. ४ ख मा १५ कित्ता र ४ ग मा १७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् । ०६४ सालमा अध्यादेशमार्फत् स्थापना भएको नेपाल ट्रस्टले डेढ दशकभन्दा बढी समय गुजारीसकेको छ । पछिल्लो अभिलेखअनुसार ट्रस्टसँग २१ हजार रोपनी भन्दा धेरै जमिन रहेको छ । जसमध्ये सयौं रोपनी जमिन विभिन्न व्यक्तिहरुले मोहीको रुपमा प्रयोग गर्दे आएका छन् । यसरी मोहीहरुले प्रयोग गर्दै आएको जमिनबाट न त ट्रस्टले कुनै उत्पादित मूल्य पाएको छ न त आफ्नो स्वामित्वमा नै ल्याउन सकेको छ । नेपाल ट्रस्टका प्रवक्ता विष्णुराज ढकालले ट्रस्टले गर्नुपर्ने काम धेरै भएको र मोहीको स्वामित्वमा रहेका जग्गाहरुलाई ट्रस्टको स्वामित्वमा ल्याउने विषयमा काम अगाडि बढीनसकेको बताएका छन् । उनले आफु ट्रस्टको जिम्मेवारीमा आइसकेपछि मोहीहरुले प्रयोग गरेको जग्गाको अवस्थाबारे अनुगमन गर्ने काम पनि नभएको बताए । ट्रस्टमा नापी विषयको नेतृत्व सम्हाल्दै आएकी नापी अधिकृत दुर्गा चापागाईंले ट्रस्टले मोहीहरुले प्रयोग गर्दै आएको जग्गालाई ट्रस्टको स्वामित्वमा ल्याउनेबारे आवश्यक काम अगाडि नबढेको बताइन् ।  साथै उनले रेकर्डमा मोहीको नाममा देखिएका अधिकांश जग्गाको प्रयोग पनि मोहीहरुले नै गरिरहेको बताइन् । ‘सञ्चालक समितिको बैठक नबसेको धेरै भएको भइसक्याे, खासगरी सो समितिको बैठक नबसिकन केहीपनि गर्न नमिल्ने रहेछ, त्यहीभएर अगाडि बढेको छैन्,’ अधिकृत चापागाईंले भनिन् । व्यक्तिगत स्वामित्वमा रहेको जग्गामा मोहीको आधा हक हुने तर तत्कालिन राजा विरेन्द्रको सम्पत्ति नभएर सरकारी जग्गा भएको भए त्यसमा मोहीको हक नलागेर सबै सम्पत्ति ट्रस्टको मातहतमा आउन सक्ने उनले बताइन् । [pdf id=345928]

भोजपुरे खुकुरीको साख जोगाउँदै गणेश गजमेर, जोडे करोडौंको घरजग्गा

काठमाडौं । भोजपुर जिल्ला खुकुरीको लागि प्रख्यात मानिन्छ । ४५ वर्षदेखि त्यही खुकुरी बनाउँदै आइ रहेका छन् भोजपुरका गणेश गजमेर । लामो समयदेखि खुकुरी बनाउँदै आइरहेका गजमेर अहिले ५७ वर्षका भए । उनले १२ वर्षको उमेरदेखि खुकुरी बनाउन सुरु गरेका हुन् । उमेरले ढल्कँदै गए पनि गजमेरले पुर्ख्यौली पेसालाई छाडेका छैनन् । झन् जोस र नयाँ डिजाइनको खुकुरी बनाउन उनी लागि परेका छन् । लामो समयदेखिको त्यो अनुभव र मेहेनतलाई मिसाउँदै नयाँ तथा आकर्षक खुकुरी बनाउँदै आइरहेका छन् उनी । अहिले आरनमा बसेर खुकुरी बनाउँदै बित्छ उनको दैनिकी । त्यसो त भोजपुरे खुकुरी अहिले देश विदेशमा परिचित छ । उनका बाबुआमा पनि खुकुरी बनाउने पेशामा नै रमाउँदै आएका थिए । १२ वर्षको कलिलो उमेरमै उनी बुवासँग आरनमा बसेर खुकुरी पिट्ने गर्थे । बाबु छोराको दिन खुकुरी बनाउँदै बित्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएका कारण टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बाट उनी गाउँभन्दा बजारमा राम्रो कमाइ हुने ठानेर सदरमुकाम गए । आफ्नो बुबाको आरन भएका कारण उनलाई फलामको बारेमा धेरै ज्ञान थियो । कामको खोजिमा उनी सदरमुकाममा भौतारिए । कामको खोजीमा उनले सदरमुकाममा रहेको खुकुरी बनाउने आरनमा काम पाएको उनी बताउँछन् । कमजोर आर्थिक अवस्थाका आरन सदरमुकाम खोलेर बस्न सक्ने स्थिति थिएन । अरुकै आरनमा काम गरेर भए पनि उनको गुजारा चलिरहेको थियो । फलामको काम त्यति सजिलो त छैन । तर, काम गर्न दुःख भए पनि गजमेर मेहेनतका साथ काम गरे । घरको आरनमा फलाम पिट्ने पेशाले परिवार धान्न गाह्रो थियो । पछि उनी पैसा कमाउने सपनाले विदेश गए । तर, विदेशमा पनि राम्रो आम्दानी गर्न सकेनन् । अन्ततः उनी घर फर्किए । घर फर्केर पुर्ख्यौली आरनमा फलाम पिट्ने पेशा उनले अँगाले । आरनको काम गर्दै, मेलापात गर्दै उनले आफ्नो जीविको पार्जन गर्थे । उनका तीभाइ छोरा छन् । समयक्रमसँगै छोरा छोरी बढ्दै थिए । उनीहरूको शिक्षा दीक्षाको लागि आर्थिक जुटाउनु पर्ने बाध्यता छदै थियो । ३ भाइ छोरालाई पनि सोही आरनमा खुकुरी बनाउन सिकाउँदै गए । गजमेरले छोराहरूलाई उच्च शिक्षासम्म पढाए । घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराहरू पनि विदेश जानु पर्ने बाध्यता आइलाग्यो । ‘मैले सक्ने र गर्ने जति छोरा छोरीको लागि गरे, पढाएँ, छोराहरू पनि विदेश गए, मैले पनि आफ्नो पेशा लाई निरन्तरता दिएर बस्ने, एउटा आफ्नै खुकुरी उद्योग खोल्ने सपना थियो, छोराहरु विदेशबाट आएपछि त्यो सपना सम्भव भयो,’ उनले भने । अब गजमेर एउटा आफ्नै खुकुरी उद्योग खोलेर बस्ने भए । तर, कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा गजमेर अलमलमा नै थिए । बुझ्दै जाँदा साना तथा मझौला उद्योग अन्तर्गत उद्योग दर्ता गरेर व्यापार व्यवसाय सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने थाहा पाए । त्यस पश्चात् घरेलु तथा साना उद्योगमा ‘रञ्जिता खुकुरी उद्योग’ दर्ता गरी आफ्नै लगानीमा व्यापार सुरु गरे । उनको २ लाख रुपैयाँको लगानीबाट व्यावसायिक यात्रा सुरु भयो । २०७२ सालमा छोराहरूको साथमा उद्योग दर्ता गराएको गजमेर बताउँछन् । पसल सञ्चालन गरेको केही महिना देखिनै व्यापार पनि राम्रो हुन थाल्यो । त्यहाँ बनाएको सामान बजारमा पनि माग बढ्न थाल्यो । उनी भोजपुरे खुकुरीको इतिहास सम्झँदै भन्छन्, ‘पहिला राजा महेन्द्र भोजपुर घुम्न आउँदा यहाँका खुकुरी बनाउँनेहरुले मायाको चिनो स्वरुप खुकुरी दिए, त्यस पश्चात् उहाँले दरबारमा गएर यहाँको खुकुरीको चर्चा गर्नु भएछ, त्यसपछि भोजपुरे खुकुरी नाम दिएर यहाँको खुकुरी लोकप्रिय बन्न पुगेको हो । अहिले उनको उद्योगबाट २ जनाले रोजगारी पनि पाएका छन् । गजमेरका अनुसार उनका छोराले उनलाई खुकुरी बेच्नदेखि बनाउनसम्म सहयोग गर्दै आएका छन् । भोजपुरे खुकुरी भन्ना साथ नेपालमा मात्र नभएर विदेशमा समेत नाम चलेको छ । भोजपुरे खुकुरीको माग बढी रहेको र उत्पादन भने कम भएकाले उक्त मागलाई ध्यानमा राखेर खुकुरी उद्योग खोल्ने सोच आएको पनि गजमेरले बताए । ‘भोजपुर खुकुरीका लागि प्रख्यात भएपनि पछिल्लो समय जिल्लामा खुकुरी उत्पादन कम भइरहेको थियो, त्यसैले हामीले उद्योग सञ्चालन गरेका हौं,’ उनले भने । आफ्नै आरन र पसल भएपछि खुकुरीले राम्रो बजार पायो । गजमेरको उद्योगबाट रोजगारमात्र नभई निःशुल्क खुकुरी बनाउने तालिम पनि दिँदै आएको छ । ‘हामीले यो पेसामा लाग्ने इच्छुक व्यक्तिहरूलाई निःशुल्क तालिम पनि दिन्छौं, राम्रो काम गर्याे भने हाम्रो उद्योगमा रोजगारी पनि दिने व्यवस्था मिलाएका छौं,’ उनले भने । गजमेरले खुकुरी बनाउने आफ्नो पुर्खौली पेशा भएका कारण यस पेसालाई नछाड्न छोराहरूलाई पनि आग्रह गरेको गजमेर बताउँछन् । मासिक डेढ लाखको आम्दानी खुकुरी पसल सञ्चालन गरेर मासिक डेढ लाख रुपैयाँको आम्दानी गरेको पनि गजमेरले बताए । ‘खुकुरीको व्यापार सिजन अनुसारको हुन्छ, अहिले यो व्यापार खासै छैन, दशैं, तिहार तथा मंसिर/पुसमा यसको सिजन हुन्छ, त्यो अवसर पारेर मानिसहरू विभिन्न ठाउँबाट भोजपुर आइपुग्छन्, उनीहरूले कोसेली वा चिनेको रूपमा खुकुरी लिने गरेका छन्,’ उनले भने । उनले खुकुरी उद्योग सञ्चालन गरेर नै सदरमुकाममै एउटा घर पनि बनाएका छन् । उनी सोही घरमा बस्दै आएका छन् । खुकुरी बनाउँदै बेच्दै गरेर धरान लगायत अन्य ठाउँमा जग्गा पनि जोड्न सफल भएको पनि गजमेर बताउँछन् । सो उद्योगमा उत्पादन भएका खुकुरी अहिले देशका विभिन्न ठाउँमा पुग्छ । देश–विदेशमा राम्रो छवि बनाएको लोकप्रिय भोजपुरे खुकुरीको साख गिर्नबाट बचाउन र राम्रो आम्दानीको स्रोत बनाउन सकिने उनको बुझाइ छ । ‘काम सानो ठुलो हुँदैन, जुन पेशालाई अगाडि बढाए पनि राम्रोसँग गर्याे भने विदेशमा कमाइनेभन्दा दोब्बर कमाई गर्न सकिन्छ, विदेश जानु ठुलो कुरा हैन, आफ्नै देशमा बसेर राम्रो काम सफल उद्यमी बन्नु जीवनको एउटा ठुलो सफलता हो जस्तो लाग्छ,’ उनले भने । कति पर्छ मूल्य ? रञ्जिता खुकुरी उद्योगमा भोजपुरे, बोखिमे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले नामक खुकुरीहरूको उत्पादन हुन्छ । यी खुकुरीको आ–आफ्नै महत्व रहेको गणेश गजमेरका कान्छा छोरा दिनेश गजमेर बताउँछन् । यहाँ उत्पादन भएको खुकुरीको घरको कामदेखि घरको शोहो गर्न राख्न समेत प्रयोग गरेको पाइन्छ । छोरा दिनेशका अनुसार अहिले फरक खुकुरी बनाउँदा आवश्यक पर्ने कच्चा पर्दा भुजपुरकै फलाम पसलबाट वा धरान विराटनगरबाट खरिद गर्ने गरेका छन् । ‘हामीले फलाम पत्थर कोइला लगायतका कच्चा पदार्थहरू धरान विराटनगरबाट खरिद गर्ने गरेका छौं भने विड, दाप बनाउन प्रयोग हुने काठ लगायतका अन्य सामाग्रीहरू भने स्थानीय नै प्रयोग गर्छौ,’ उनले भने । उद्योगमा उत्पादन भएका खुकुरीहरू नेपालका साथै विदेश समेत निर्यात गर्ने लक्ष्य रहेको गजमेरले बताए । भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाइमा समेत भोजपुरे खुकुरी उपहार स्वरुप प्रदान गर्ने चलन छ । खुकुरीको साइज अनुसारको मूल्य हुने पनि गजमेरले बताए । उनका अनुसार खुकुरीको ५ सय भन्दा बढी प्रजाति हुन्छन् । भोजपुर मात्र नभई देशका विभिन्न ठाउँमा पनि खुकुरीको उत्पादन हुँदै आइरहेको छ । खुकुरीको मूल्यको निर्धारण त्यसको आकार र बनावट हेरेर हुन्छ । दाप र विडले गर्दा पनि खुकुरीका मूल्य फरक फरक पर्न जाने गजमेरले बताए । ‘हाम्रो साना तथा मझौला उद्योग भएका कारणले ४ देखि २५ इन्चसम्मको खुकुरी बनाउन पाइन्छ, त्यसैले ८ सय देखि १४ हजार रुपैयाँसम्मको खुकुरी यहाँ उपलब्ध छ,’ उनले भने ।