महँगो ब्याजमा पनि पाइँदैन ऋण, बैंकमा कर्जाका फाइल पेन्डिङ्ग
काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ । बैंकहरुमा निक्षेप संकलन घट्दै गएको अवस्था छ । बैंकहरुले निक्षेप घट्दै गएपछि कर्जा प्रवाह गर्न रोक लगाएका छन् । बैंकिङ्ग क्षेत्रमा देखिएको समस्याले पुरै अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । निक्षेप संकलन घट्दै गएपछि बैंकहरुले कर्जा रोकेका कारण व्यावसायीले ठूलो प्रभाव परेको गुनासो गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थालले महँगो ब्याजदरमा कर्जा माग गर्दा पनि आफूहरुले नपाएको गुनासो उनीहरुको छ । यता बैंक तथा वित्त संस्थाहरुले भने तरलता भित्र्याउनका लागि निक्षेपको ब्याजदर बढाउँदै आएका छन । तर, ब्याजदर बढाउँदा पनि निक्षेप संकलन नहुँदा लागत मात्रै बढेको भन्दै विगत केही महिनादेखि बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । बैंकहरुले कर्जा प्रवाहमा रोक लगाएपछि व्यवसायीले व्यवसाय नै धरासायी बन्न थालेको गुनासो गरिरहेका छन् । कोरोना महामारीका कारण थलिएका उद्योगी व्यावसायीलाई बैंकहरुले थप पीडा पुर्याएको गुनासो गरिरहेका छन् । यस्तै, बैंकहरुले वृद्धि गरेको ब्याजदरले केही व्यवसायीको उद्योग नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको उनीहरुकाे दुखेसो छ । राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्यूबीचको अनुपात उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गर्दा व्यवसायीलाई ठूलो समस्या परेको गुुनासो गरिरहेका छन् । आफूले धितो राख्दा धेरै रकम घटेको उनीहरुको आरोप छ । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले धितो वा कुनै प्रोडक्ट राखेर ऋण माग्दा पनि बैंक तथा वित्तीय संस्थाले ऋण दिन ठप्प पारेको गुनासो गरे । ‘धितो वा कुनै प्रोडक्ट राखेर ऋण माग्दा पनि बैंकहरुले कर्जा दिएका छैनन्, सानासाना व्यावसायीले प्रोजेक्ट तयार पारेका छन्, जग्गा किनेर काम गर्न पाएका छैनन्,’ उनले भने, ‘व्यवसाय गर्नका लागि अहिले ठूलो समस्यापरेको छ, बैंकमा गएपछि पैसा नै छैन भन्छन् ।’ पछिल्लो समय लगानी गर्न रकमको अभाव हुँदा नयाँ उद्योग तथा व्यवसाय नै सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनले बजारमा प्रतिस्पर्धा बढिरहेका बेलामा सरकारले उद्योगी व्यवसायीलाई विभेद गरेको गुनासो गरे । प्रदेश १ का सबै व्यवसायीलाई ठूलो समस्या परेको भन्दै उनले यसको छिट्टै समाधान गर्न आग्रह गरे । ‘लगानी गर्न पैसा नभएपछि ब्यापार गर्न समस्या पर्याे, बजारमा प्रतिस्पर्धा बढेको छ, सरकारले कसैलाई छुट दियो, कसैलाइ दिएको छैन,यो सरासर विभेद भयो, अब पैसा नभएपछि इण्ड्रष्टी बन्द हुने अवस्था आएको छ,’ उनले भने, ‘हिजोका दिनमा ७ प्रतिशत कर्जा लिएर १५ प्रतिशत ब्याज तिर्न बाध्य भएका छन्, भारतीय वस्तुहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो भयो ।’ यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो परेको गुनासो गरे । ब्याजदर बढाउँदा पनि तरलताको समस्या कायमै रहेको बताउँदै उनले राष्ट्र बैंक माथि रिस पोखे । उनले उच्च ब्याजदर तिर्दा पनि बैंकले ऋण दिन नमानेको उनी बताउँछन् । ‘तरलताको समस्या यथावत छ, ब्याजदर र बेसरेट बढेको छ, राष्ट्र बैंकको पछिल्लो नीतिले निर्यातमूलक र उत्पादनमूलक बाहेक अरु सबैमा बैंकलाई प्रिमियम तोक्ने अधिकार दिएको छ, यसले बैंकको मनोमानी बढ्छ’ उनले भने, ‘बैंकबाट व्यवसायीले ऋण पाउनै छाडे, उच्च ब्याजदर तिर्छु भन्दापनि पाउँदैनन्, यदि कुनै बैंकले दियो भने ब्याजदर यति उच्च छ की त्यसले उद्योग व्यवसाय गर्न गाह्रो छ ।’ विगतमा फिट इन्भेष्टमेन्ट गरेर व्यवसाय गरेकालाई संचालन लागत धेरै बढ्न गएकाले उद्योग व्यवसाय धान्न पनि गाह्रो भएको उनको भनाइ छ । यहि अवस्था रहिरहने हो भने आर्थिक गतिविधि संकुचित हुने उनको तर्क छ । राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जा विस्तार र मनी सर्कुलेशनलाई संकुचित बनाएको आरोप उनको छ । पहिलादेखि नै पहुँचवाला व्यवसायीले मात्रै बैंकबाट ऋण पाउँदै आएको आरोप उनको छ । ‘विगतदेखि नै पहुँचवाला व्यासायीले मात्रै बैंकबाट ऋण पाउँदै आएका छन, बैंकको कर्जा वितरण गर्ने नीयम नै आफैमा जटिल छ, साना व्यवसायीलाई सधैं मर्का पार्ने र ठूलालाई सधै सहज हुने, झनै समस्या परेका बेलामा नीति नियमले साथ दिन्छ,’ उनले भने,‘ दीर्घकालमा उद्योगधन्दा धरासयी वा बन्द हुने अवस्था आउन सक्ने र सरकारको राजश्व घट्दै गएको छ ।’ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतीश मोरले बैंक तथा वित्तीय संस्थासँग पैसा भएपनि सीडी रेसियोका कारण कर्जा दिन रोक लगाएको बताए । बैंकहरुलाई पनि नियममा बस्नु पर्ने बाध्यताले पनि कर्जा वितरणमा रोक लगाउनु परेको उनको भनाइ छ । अहिले बैंक तथा वित्त संस्थाबाट कर्जा पाउनलाई सपना देख्नु परेको उनले बताए । ‘एउटैलाई मात्र दोष दिएर हुँदैन, राज्य र नीजि क्षेत्रको सहकार्य हुनुपर्छ, नयाँ उद्योग खोल्नका लागि कर्जा पाउन भनेको त दिवा सपना देखे जस्तै हो,’ उनले भने, ‘बैंकहले नपत्याएर कर्जा नदिएको होइन,बैंकहरुलाई सीडी रेसियो कायम गर्नुपर्ने बाध्यता छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको स्थिति धरासायी भएकाले यस्तो अवस्था आएको आरोप लगाए । अहिलेको अवस्थामा जोसँग पैसा छ उसैले सबै काम गर्न सक्ने उनको बुझाइ छ । ‘लथालिंग देशको भताभुंग चाला, जसले सक्छ उसैले खाला भने जस्तै अहिलेको अवस्था छ, जोसँग पैसा छ उसले काम गर्छ,’ उनले भने, ‘जसले पहिला नै ऋण लिने सम्झौता गरेका छन्, उनीहको काम भइरहेको छ, साना व्यावसायी विस्थापित हुनु पर्ने अवस्था छ ।’ बैंकहरु पनि आक्रामक बन्न खोजेको बताउँदै उनले घरजग्गा राखेर ऋण लिएका लाईसंकुचित गर्न खोजेको बताए । ‘एक करोडको सम्पत्तिलाई बैंकले ६० लाखको भ्याल्यूसन गर्छ, ६० प्रतिशत हुँदा ३६ लाख दिन्थ्यो अहिले ३० प्रतिशत हुँदा १८ लाख मात्रै दिएको छ, एक करोडको सम्पत्तिमा बजार मूल्य ६० प्रतिशत र सरकारी मूल्य ३० प्रतिशत हुँदा काम गर्न गाह्रो छ,’ उनले भने । शतप्रतिशत एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्थाले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । घरखेत बिक्री गरेर काम गरौं भन्दा पनि बिक्री हुने अवस्था नरहेको उनको गुनासो छ । तरलता अभाव मात्रै भयो भनेर समस्या टार्न खोजिरहँदा नियामकले कुनै एक्सन नलिएको उनको भनाइ छ । तरलता अभाव भयो भन्दै चुप लागेर बस्नु भन्दा पैसा कहाँ गयो भनेर खोजि गर्नुपर्ने उनले बताए । ‘राष्ट्र बैंकले कति पैसा छापेको छ, त्यो तथ्याङ्क हेर्नु पर्याे, बैंकहरुलाई घरघरमा गएर पैसा ल्याउ भन्न सक्नु पर्याे, बैंकमा पैसा छैन भने कहाँ गयो राष्ट्र बैंकले खोज्नु पर्याे, नेपालको पैसा बाहिर जाँदैन, अहिले घरमा पैसा कसैले राख्दैन, जनताले पनि बैंकमा नै सुरक्षित ठान्छन्,’ उनले भने, ‘उद्योगी व्यवसायीहरुले घरमा पैसा थन्काएर राख्दैनन्, ब्याज बढाउँदा पनि रकम बढ्दैन भने राष्ट्र बैंकको नीति नै गलत भयो नी ।’ एक महिनामा एक खर्ब बढी निक्षेप घटेको भनेर मात्रै नहुने बताउँदै उनले राष्ट्र बैंकले खोज्नुपर्ने बताए । नेताहरुलाई चुनाव लागिसकेकाले चन्दा उठाउन थालिसकेको गुनासो उनको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठ पनि बैंकहरुको सीडी रेसियो टाइट भएकाले कर्जा प्रवाह गर्न रोक लगाएको स्वीकार गर्छन् । राष्ट्रिय वाणिज्य बैंकसहित अधिकांश बैंकको सीडी रेसियो ९० प्रतिशत पुगिसकेको बताउँदै उनले भदौको अन्तिमसम्ममा सुधार हुन सक्ने बताए । ‘डिपोजिट र क्रेडिट रेसियोको इम्प्लिमेन्टसनको अनब्यालेन्स भयो, कर्जाको माग अनुसार डिपोजिट बढेको छैन, सीडी रेसियो टाइट छ,’ उनले भने, ‘जुन बैंकको सीडी रेसियो मेन्टेन छ उनीहरुले कर्जा दिइरहेका छन्, अधिकांश बैंकहरुको सीडी रेसियो टाइट भएकाले कर्जा दिन बन्द गरेका छन् ।’
पुँजी बजारका ‘हट केक’ कम्पनी : प्रतिफल दिँदैनन्, सेयर मूल्य उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुको सेयरमा लगानी गरेर राम्रो प्रतिफल पाउने आशा जुनसुकै सेयरधनीको पनि हुन्छ । कम्पनी वर्तमानमा राम्रो लाभांश दिन नसके पनि भविश्यमा राम्रो प्रतिफल दिन सक्ने आँकलन गरेर धेरैले सो कम्पनीको सेयरमा लगानी गरेका हुन्छन् भने कतिपयले सर्टटर्मको लागि भनेर सेयर खरिद बिक्री गर्दै नाफा असुल्छन् । सामान्यतः नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले आफ्ना सेयरधनीलाई वार्षिक रुपमा लाभांश खुवाउँदै आएका छन् । लगानीकर्ताले पनि प्रतिफल पाउने आशमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । जुन कम्पनीले बढी लाभांश अर्थात् प्रतिफल दिन्छ सो कम्पनीको सेयरमा आकर्षण हुनु पनि स्वभाविक नै हो । जसले सेयरधनीले बढी लाभांश दिन्छ उक्त कम्पनीको सयर मूल्य पनि अन्य कम्पनीको सेयर मूल्यको तुलनामा बढी नै हुन्छ । तर, केही कम्पनी यस्ता पनि छन् जुन कम्पनीले सेयरधनीलाई प्रतिफल दिएका छैनन् तर ती कम्पनीको सेयर खरिद गर्ने सेयरधनीको आकर्षण छ भने सेयर मूल्य पनि राम्रो प्रतिफल दिने कम्पनीहरुको तुलनामा उच्च छ । बीमा क्षेत्रको राष्ट्रिय बीमा कम्पनी र ट्रेडिङ समूहको बिशाल बजार कम्पनीले हालसम्म लाभांश वितरण गरेका छैनन् । तर पनि यी दुई कम्पनीको सेयर मूल्य अधिकांश कम्पनीको तुलनामा कयौं गुणा बढीमा दोस्रो बजारमा खरिद बिक्री भइरहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी २०७१ पुस २४ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएपश्चात् कम्पनीले कुनै पनि आर्थिक वर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छैन । दोश्रो बजारमा सूचीकृत हुनुभन्दा अघि भने कम्पनीले आर्थिक वर्ष २०६२/६३ को नाफाबाट ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लामो समयसम्म लाभांश वितरण नगरेको कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४ हजार २५१ रुपैयाँमा कारोबार भइरहेको छ । विगत एक वर्षमा कम्पनीको सेयर प्रतिकित्ता १८ हजार ५८८ रुपैयाँसम्म कारोबार भएको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण ३७ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ छ । दोश्रो बजारमा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । धितोपत्रको व्यवस्थाअनुसार लाभांश वितरण गर्न कम्पनीले साधारण सभा गर्नुपर्ने हुन्छ । साधारणसभा गर्नको लागि प्रत्येक वर्षको वार्षिक प्रतिवेदन महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक अनुमोदन गराई सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्छ । नियामकले स्वीकृत गरेपछि कम्पनीलाई उक्त वर्षको साधारण सभा बोलाउनको लागि बाटो खुल्छ । तर, राष्ट्रिय बीमा कम्पनीले भने वर्षौंदेखि वार्षिक साधारण सभा गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०६७/६८ पछिका कुनै पनि साधारण सभा बोलाएको छैन । नियामक बीमा समितिबाट वार्षिक प्रतिवेदनको स्वीकृति बिना कम्पनीले सभा गर्न पाएको छैन । पछिल्लो समय भने कम्पनी धमाधम विगतका वर्षहरुका वार्षिक रिर्पोट स्वीकृत गराउनतर्फ लागिरहेको छ । नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले कम्पनीको सीईओको जिम्मेवारी पाएपछि पेन्डिङ्ग रहेका कामहरु धमाधम हुन थालेको छ । आर्थिक वर्ष २०७१/७२ देखिका परीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरु हाल आर्थिक वर्ष २०७२/७३ सम्मको प्रतिवेदन स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीमा सरकारको ४७.५ प्रतिशत, नेपाल बैंकको १०.५ प्रतिशत र कर्मचारी सञ्चय कोषको २२, सर्वसाधारणको १२ र संस्थापकको ८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, २०६४ साउनमा नेप्सेमा सूचीकृत भएको बिशाल बजार कम्पनीको अवस्था पनि त्यस्तै छ । बिशाल बजार दोश्रो बजारमा सूचीकृत भएको १५ वर्ष नाघ्यो । तर, कम्पनीले हालसम्म लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश खुवाउन सकेको छैन । हाल यस कम्पनीको सेयर मूल्य हाल ३ हजार ६८० रुपैयाँ छ । बिहीबार कम्पनीको बजार पुँजीकरण १ अर्ब ८० करोड रुपैयाँ थियो । यस कम्पनीको सेयर अधिकतम् ६ हजार ८९० रुपैयाँसम्म पुगेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ छ । बजारमा कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये ८५.२६ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता साधारण र १४.७४ प्रतिशत अर्थात ७२ हजार ४३३ कित्ता संस्थापक सेयर रहेका छन् । विशाल बजार कम्पनी २०२६ सालदेखि सञ्चालनमा आएको हो । जसको रजिष्टर्ड कार्यालय काठमाडौंको शुक्रपथमा छ । जसको उद्देश्य नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकलाई विभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ । किन छ आकर्षण ? लाभांश अर्थात प्रतिफल नै नदिने कम्पनीमा लगानीकर्ताको आकर्षण किन हुन्छ भन्ने विषय पनि धेरैले चासाका रुपमा हेरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लामो समयसम्म वितरण नगरेका कम्पनीले लाभांश दिइहाल्छन् की भन्ने आशमा लगानीकर्ताहरुले यी कम्पनीको सेयर किन्ने गरेको बताउँछन् । ‘यी कम्पनीले चाहे भने २/३ सय प्रतिशत लाभांश दिन सक्छन्, त्यहि आशमा पनि लगानीकर्ताले धेरै नभएपनि थोरै मात्रामा भएपनि सेयर किनेर राखेका छन्, बोनस तथा हकप्रद आयो भने मालामाल भइनेमा लगानीकर्ताहरु आशाबादी छन्,’ रौनियारले भने । त्यस्तै, विशाल बजारको हकमा कम्पनीको अट्याच सेयर हुनेले त्यहाँको पसल पाउने व्यवस्था रहेको छ । र, उक्त अट्याच भएको सेयर भनेको समयमा किनबेच गर्न नमिल्ने जानकारहरु बताउँछन् । बिशाल बजार कम्पनीले लाभांश वितरण गरेको या नगरेको कुनै पनि तथ्यांक आफ्नो वेवसाइटमा राखेको छैन । यता लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भने कम्पनीले विगतमा लाभांश वितरण गरेको बताउँछन् । ‘कम्पनीले विगत १० वर्ष अगाडि लाभांश वितरण गरेको याद छ, बीचमा सरकारसँगको मुद्दा परेको थियो, त्यसपछि भने कुनै पनि लाभांश वितरण गरेको छैन,’ उनले भने । यी कम्पनीहरुले हालसम्म लाभांश नदिएपनि राम्रो सम्पत्ति भएकै कारणले पनि लगानीकर्ताको आकर्षण हुने धेरैको बुझाइ छ । कम्पनीले अहिले प्रतिफल नदिएपनि भोलिको दिनमा राम्रो नाफा हुन सक्ने विश्वास लगानीकर्तामा भएकै कारण लगानी गरिरहेकाे र सेयर मूल्य पनि अन्यकाे तुलनामा राम्राे भएकाे बुझ्न सकिन्छ ।
लाखको लगानीबाट करोडौंको कारोबार, ५० जनालाई रोजगारी, छोरी स्टाफ नर्स
काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिन्छ भन्ने कुरा तपाईं कत्तिको पत्याउनुहुन्छ ? विश्वमा धनाड्य बनेका अर्थात सफल व्यवसायी बनेका अधिकांश मानिसहरुले सानै लगानीबाट व्यवसाय सुरु गरेको इतिहास छ । तर, त्यसको लागि निरन्तरको मेहेनत, लगाव र धैर्यताको भने खाँचो अवश्य नै चाहिन्छ । इलाम नगरपालिका वडा नं. ८ तिल्केनीकी दिपा गुरुङले आफु सफल उद्यमीका रुपमा चिनिन्छु भन्ने कहिल्यै सोचेकी थिइनन् । घरको आर्थिक अवस्था कमजोर भएपछि दिपाका श्रीमान १५ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि दुवईतर्फ लागे । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने सोच दिपामा पलायो । उनी कामको खोजीमा भौतारिन थालिन् । छोराछोरी बढ्दै थिए । उनीहरूको शिक्षा दीक्षाको लागि आर्थिक जुटाउनु पर्ने बाध्यता दिनप्रतिदिन बढ्न थाल्यो । कुनै सीप नभएकी दिपालाई कसैले जागिर दिन मानेनन् । आफ्नो विगतलाई स्मरण गर्दै उनले सुनाइन्, ‘जागिर खोज्नु भन्दा आफै उद्योग खोलेर उद्यमी बन्ने रहर पलायो, तर घरखर्च नै चलाउन गाह्रो भइरहेको बेला उद्योग खोल्ने पो कसरी ? मैले साहस बटुलेँ, जिल्लाकै साना तथा मझौला उद्योगले ललिपप र दूधबाट बनाइने परिकारको बनाउने तालिमम दिदैछ भन्ने थाहा पाएँ, अब त्यहीँ सीप सिकेर पछि काम गर्नु पर्छ भन्ने लागेर सीप सिक्न लागेँ ।’ दिपाको तालिम पनि सकियो । विगतका दिनहरुमा सीप छैन भनेर जागिर नपाएकी दिपालाई अब आफ्नै उद्योग खोल्नु पर्छ भन्ने लाग्यो । उनका श्रीमानले पनि अब विदेशबाट घरखर्च चलाउने पैसा पठाउन थाले दुई छोरा छोरी रहेकी दिपाले उनीहरुको पढाइ र घर खर्च चलाएपछि केही बचत गर्न थालिन् । ‘बचेको पैसाले घरेलु उद्योग खोल्ने निर्णय गरेँ, वि.स २०६८ सालमा ‘ग्रिन सिटी ललीपप उद्योग’ दर्ता गरेँ, सुरुमा करिब ५ लाख रुपैयाँ खर्च गरेर उद्योग सञ्चालन गरेँ, बिस्तारै ललिपपका आइटम तथा दूधका परिकारहरू बनाएँ, उनले भनिन्,‘ एक दिन अवश्य यसले बजार मूल्य पाउँछ भन्ने विश्वास थियो ।’ उनले उद्योग सुरु गर्दा लगानी पो डुब्ने हो कि भन्ने आशंका परिवारमा रहेको पनि बताइन् । सुरुवाती दिनका समस्या, चुनौती र अवरोधहरू पनि उनले सुनाइन् । तर, ती समस्या र चुनौतिहरूलाई एउटा अवसर र सिकाइका रूपमा लिँदै अगाडि बढ्दै गएको उनको भनाइ छ । ‘व्यापारबाट आएको आम्दानी भएको रकमबाट छोरा छोरीलाई पढाउँदै ठिक्क हुन्थ्यो, आफ्नो घरमा उद्योग सञ्चालन गरेको भएर परिवारबाट पनि साथ पाइयो, विस्तार व्यापार फस्टाउँदै गयो, बजारमा माग बढ्न थाल्यो, आम्दानी पनि राम्रै हुन थाल्यो, अहिले हामी सन्तुष्ट छौं,’ उनले भनिन् । आफैले मात्रै काम गरेर बजारको मागलाई धान्न नसक्ने भएपछि कर्मचारीहरू पनि राखेको उनले सुनाइन् । श्रीमानले पठाएको पैसालाई पनि उनले बचत गर्दै गइन् । छोराछोरी पनि पढाइमा अब्बल नै थिए । उच्च शिक्षामा छोरी स्टाफ नर्स बढ्ने बिचार गरिन् । छोरोको कुरामा दिपाले पनि सहमत जनाइन् । छोरी स्टाफ नर्स पढ्न थालिन् । दिपाले आफ्नो पेसालाई निरन्तर दिइन् । ‘छोरीले पनि स्टाफ नर्स उच्च अंकका साथ उतिर्ण गरिन्, स्टाफ नर्समा पास भएको केही महिनापछि नै छोरीलाई जागिर मिल्यो, मैले ललिपपको व्यापार गरेर नै छोरीलाई स्टाफ नर्स पढाएँ, छोरा पनि अहिले स्नातक पढ्दैछन्,’ उनले भनिन । दिपाका अनुसार विराटनगर कोसी अस्पतालमा अहिले छोरी स्टाफ नर्सको रूपमा काम गरिरहेकी छिन् । श्रीमान् विदेश बसाइको केही वर्षपछि नै नेपाल फर्किए । हाल दिपाका श्रीमानले मार्केटिङ गर्न सहयोग पुर्याइरहेका छन् । ५० जनालाई रोजगारी लाखौं आम्दानी दिपाले अहिले सो उद्योग सञ्चालन गरेको करिब १२ वर्ष पुगेको छ । यो अवस्थासम्म आइपुग्दा करिब ५० जनालाई रोजगारी दिएको उनले सुनाइन् । उनका अनुसार फुलटाइम काम गर्ने ४० र पार्ट टाइम काम गर्ने १० जना कर्मचारी छन् । उनीहरूले उद्योगमा ललिपपका आइटम र दूधका परिकार बनाउन सहयोग गर्दै आइरहेका छन् । ‘पहिला विभिन्न समस्या आए, समयसँग लड्दै अगाडि बढे अहिले श्रीमानले पनि साथ दिनु भएको छ, अझै कर्मचारीको संख्यालाइ बढाउने योजना छ, उत्पादनको वृद्धि गर्ने सोच छ,’ उनले भनिन्, पाँच लाखबाट सुरु भएको घरेलु उद्योग ३५ रुपैयाँको बराबरका पुगेको छ ।’ दिपाको उद्योगबाट अहिले मासिक लाखौं रुपैयाँको ललिपपको आइटम बिक्री हुन्छ । कर्मचारीलाई तलब दिएर घर खर्च कटाएर मासिक ६० हजार रुपैयाँ बचत हुने पनि दिपाले बताइन् । दिपाको उद्योगबाट उत्पादन भएको ललिपप नेपालका धेरै जिल्लाहरूसम्म पुग्छ । उनले सुरुदेखि हालसम्म करोडौंको कारोबार गरिसकेकी पनि बताइन् । दैनिक १२ सय लिटर दुध खपत दिपाको उद्योगबाट दैनिक १२ सय लिटर दुध खपत .हुन्छ । सो दूधबाट ललिपपका विभिन्न आइटमहरूको उत्पादन हुन्छ । उनले दूधबाट बन्ने ६ वटा परिकारहरू बनाउँदै आइरहेका छिन् । ‘इलाम दूधको खानी नै हो भन्दा पनि हुन्छ, वरपरका कृषकहरुले उत्पादन गरेको दूधलाई संकलन गरेर ललिपपहरू बनाउने हो, हामीले उहाँहरूसँग प्रति लिटर ५० रुपैयाँका दरले दूध खरिद गर्दै आइरहेका छौं,’ उनले भनिन्, माग बढेपछि ललिपपको उत्पादन गर्नले बिहानदेखि बेलुकासम्म फुर्सद छैन ।’ उनका अनुसार उत्पादन अनुसारको खपत पनि राम्रो हुन्छ । इलाम पर्यटकीय क्षेत्र भएको कारणले पनि घुन्न आउनेहरूले यहाँ उत्पादन भएको चकलेट कोसेलीको रूपमा लिएर जान्छन् । यसले पनि व्यापारमा धेरै टेवा पुगेको छ । दिपा दूधका परिकारहरूको संख्यालाई बढाउने सोचमा छिन् । व्यापार राम्रो भएका कारण कर्मचारी थप्ने तयारीमा दिपा जुटेकी छिन् । यस प्रोडक्टलाइ ब्रान्डको रुपामा स्थापित गर्ने लक्ष्यमा दिपा छिन् । ‘इलामको चकलेट खरिद गर्दा महँगो पर्छ भन्छन् तर यस्तो भने होइन, यो यहाँको लोक उत्पादन हो, दुधको लागत, कर्मचारीको लागत हेरेर मूल्य निर्धारण हुन्छ, विदेशी चकलेट चाहिँ महँगो भए पनि नहिचकिचाई किन्छौं, नेपालमा उत्पादन भएको लोकल स्वास्थ्य खानेकुरा चाहिँ महङ्गो भयो भन्छौं, यस्तो खालको मानसिकता हामीले हटाउनु पर्छ,’ उनले भनिनन् ।