प्राइम र इन्भेष्टमेन्ट बैंकका कर्मचारीबीच उत्पादकत्वमा टक्कर, कुन बैंकका कर्मचारीको उत्पादकत्व कति ?

काठमाडौं । कर्मचारीबाट बढी काम लिएर उच्च नाफा गर्ने चाहना जुनसुकै कम्पनी वा संस्थाको हुन्छ । जुन कम्पनीले कर्मचारीका लागि बढी सेवा सुविधा दिएर खर्च पनि बढी गर्छ, त्यो कम्पनीले नाफा पनि राम्रै कमाउन सक्छ । कम्पनीका कर्मचारीमा जति बढी उत्पादकत्व बढ्छ सो कम्पनीको नाफा पनि त्यति नै वृद्धि हुन्छ । त्यसका लागि कम्पनीले कर्मचारीका लागि कति खर्च गरेको छ भन्ने विषयमा पनि निर्भर हुन्छ । कम्पनीले जति बढी नाफा गर्छ सो कम्पनीले सेयरधनीलाई पनि लाभांश बढी नै प्रदान गर्छ । सेवा क्षेत्रका रूपमा लिइएको बैंकिङ क्षेत्रले पनि अहिले राम्रो नाफा गरिरहेका छन् । अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रले राम्रो नाफा गरिरहेको छ भने सेयरधनीलाई लाभांश पनि राम्रै दिँदै आइरहेका छन् । पछिल्लो समय धेरैले कम्पनीको क्षमता हेर्ने अर्को महत्वपूर्ण पक्षमा रुपमा धेरैले सो कम्पनीमा काम गर्ने कर्मचारीको उत्पादकत्वलाई पनि लिने गरेका छन् । कर्मचारी कुनै पनि कम्पनीको एक महत्वपूर्ण पुँजी हो । जुन संस्थाले कर्मचारीमा  राम्रो खर्च गर्छ, उनको वृद्धि विकास तथा क्षमता अभिवृद्धिमा बढी ध्यान दिन्छ त्यसमा आवद्ध कर्मचारीको उत्पादकत्वमा पनि त्यतिकै निखारता आउँछ । आज हामीले २६ वटा वाणिज्य बैंकमा कार्यरत कर्मचारीको उत्पादकत्व कति छ भनेर यो सामग्री तयार गर्ने प्रयास गरेका छौं । बैंकले गरेको खुद नाफा र उनीहरुमाथि बैंकले गरेको खर्चलाई आधार मानेका छौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो । बैंकले प्रति कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कति आम्दानी गर्छ, अर्थात् सो कर्मचारीको उत्पादकत्व कति हुन्छ भन्ने विषय स्पष्ट पार्न खोजेका छौं । यद्यपि खुद नाफा र कर्मचारीको संख्यालाई आधार मानेर पनि उत्पादकत्व निकाल्न सकिन्छ । २६ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकहरले कुल ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ खुद नाफा गरेका छन् भने २६ वटै बैंकहरुले कर्मचारीका लागि कुल ५७ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खर्च गरेका छन् । यस आधारमा बैंकिङ क्षेत्रका कर्मचारीको उत्पादकत्व १.२९ रुपैयाँ देखिन्छ । बैंकहरुले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा उनीहरुले कुल एक रुपैयाँ २९ पैसा नाफा गरेको देखिन्छ । प्राइम र नेपाल इन्भेष्टमेन्टबीच प्रतिस्पर्धा बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणलाई हेर्ने हो भने प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीबीच प्रतिस्पर्धा देखिएको छ । ती दुई बैंकका कर्मचारीबीच उत्पादकत्वमा प्रतिस्पर्धा देखिएको हो । सबैभन्दा बढी उत्पादकत्व भएका बैंकको रुपमा प्राइमका कर्मचारी देखिएका छन् । प्राइम बैंकले कर्मचारीलाई एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचरीले २ रुपैयाँ १५ पैसा नाफा गरेको देखिन्छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि कर्मचराीलाई एक रुपैयाँ खर्च गर्दा २ रुपैयाँ ११ पैसा नाफा गरेको देखिन्छ । उत्पादकत्वमा दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी देखिएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको सबैभन्दा बढी उत्पादकत्व थियो । तर, अहिले प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व बढेको हो । गत आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्टका कर्मचारीको कुल उत्पादकत्व २ रुपैयाँ १५ पैसा र प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व २ रुपैयाँ १३ पैसा थियो । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको उत्पादकत्व घट्दै गइरहेको छ । विगतमा यस बैंकका कर्मचारीको उत्पादकत्व ५/६ रुपैयाँसम्म थियो । अर्थात् सो बैंकले कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा कर्मचारीले ६ रुपैयाँसम्म नाफा गर्थे । १८ बैंकका कर्मचारीबीच टक्कर पछिल्लो समय सबै बैंकका कर्मचारीको उत्पादकत्व बराबरी नै देखिएको छ । विगतका वर्षहरुमा बैंकहरुबीच भिन्न भिन्नै उत्पादकत्व हुने भएपनि अहिले भने समानता देखिएको छ । उत्पादकत्वमा १८ वटा बैंकबीच प्रतिस्पर्धा छ । उत्पादकत्वमा तेस्रो नम्बरमा नबिल बैंक, चौथोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौंमा राष्ट्रिय वाणिज्य बैंक र छैठौंमा ग्लोबल आइएमई बैंकका कर्मचारीको उत्पादकत्व देखिएको छ । यी बैंकका .कर्मचारीहरुको उत्पादकत्व क्रमशः एक रुपैयाँ ८२ पैसा, एक रुपैयाँ ७९ पैसा, एक रुपैयाँ ५५ पैसा र एक रुपैयाँ ५२ रुपैयाँ छ । हिमालयन, एनएमबी, सानिमा, बैंक अफ काठमाण्डू, मेगा, नेपाल बैंक, एभरेष्ट, एनसीसी, सिटिजन्स, कुमारी सिद्धार्थ, सनराइज, माछापुच्छ्रे र सेञ्चुरी बैंकका कर्मचारीको उत्पादकत्व पनि १ रुपैयाँभन्दा बढी नै छ । यी बैंकहरुले कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा कर्मचारीहरुले एक रुपैयाँभन्दा बढी नै नाफा गरेको देखिएको छ । यी बैंकहरुका कर्मचारीको उत्पादकत्व न्यूनतम १ रुपैयाँ ७६ पैसादेखि १ रुपैयाँ ८२ पैसासम्म छ । आधा दर्जन बैंकको न्यून गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार आधा दर्जन बैंकका कर्मचारीहरुको उत्पादकत्व भने खर्चभन्दा पनि न्यून देखिएको छ । ती बैंकहरुले कर्मचारीलाई खर्च गरे पनि कर्मचारीको उत्पादकत्व खासै प्रभावकारी देखिएको छैन । यी आधा दर्जन बैंकहरुले आफ्नो कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा पनि सोभन्दा कम अर्थात् रुपैयाँ नभएर पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाउँछ । सबैभन्दा कम उत्पादकत्व भएका कर्मचारी कृषि विकास बैंकका छन् । कृषि विकास बैंकले आफ्नो कर्मचारीको लागि एक रुपैयाँ खर्च गर्दा ८० पैसा मात्रै कर्मचारीले नाफा गर्छन् । जुन सरकारी स्वामित्व रहेको बैंक हो । यस्तै, लक्ष्मी बैंकका कर्मचारीको उत्पादकत्व पनि खासै बढी नभएको तथ्यांकले देखाउँछ । लक्ष्मी बैंकले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचारीले ८९ पैसा मात्रै नाफा गरेको देखिन्छ । नेपाल एसबिआई बैंकका कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा ८९ पैसा, प्रभु बैंकका कर्मचारीले पनि ८९ पैसा र सिभिल बैंकका कर्मचारीले ९८ पैसा नाफा गर्छन् भने एनआइसी एशिया बैंकका कर्मचारीहरुको उत्पादकत्व पनि ९९ पैसा देखिएको छ । एनआइसी एशिया बैंकले पनि कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कर्मचारीले ९९ पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ अहिले नेपाली बैंकिङ क्षेत्रको कर्मचारीहरुको उत्पादकत्व सन्तोषजनक नै रहेको बताउँछन् । उनका अनुसार कर्मचारीको उत्पादकत्व बैंकले उनीहरुलाई गर्ने खर्च, क्षमता अभिवृद्धिका तालिम लगायतका विषयले फरक पार्छ । ‘बैंकले के कस्तो आम्दानी गरेको छ, कति खर्च गरेको छ, उसको कति वटा कर्मचारी छन्, बैंक नाफामुलक क्षेत्र भएकोले नाफा बढी गरेर खर्च पनि बढायो भने सोही अनुसार हुन्छ, जब बैंकका कर्मचारी खुसी छन्, उनीहरुले काम गरेर राम्रो नतिजा पनि देखाउँछन्, बैंकहले तालिम क्षमता अभिवृपद्धिका विषयमा के कस्तो ध्यान दिइरहेको छ, यी सबै कुराले उत्पादकत्वमा प्रभाव पार्छ, अहिले नेपाली बैंकिङमा कर्मचारीको उत्पादकत्व सन्तोषजनक नै छ,’ उनले भने ।

डण्डीको मूल्य घट्यो, सिमेन्टको ५० रूपैयाँसम्म बढ्यो

काठमाडौं । सामान्यतया वर्षाको समयमा सधैँ नै निर्माण सामाग्रीको माग तथा खपतमा कमी हुने गर्दछ । माग र खपतमा कमी हुने भएपछि निर्माण सामाग्रीकाे मूल्य पनि घट्छ ।  उत्पादकहरु (सिमेन्ट र छड) ले सधैँजसो नै निर्माण सामग्रीको मूल्य वर्षा मौसममा कटौती गर्ने गर्दथे । तर, यसपटकको वर्षा मौसममा भने सिमेन्टको मूल्य उद्योगीहरुले बढाएका छन् । बजारमा १ हप्तादेखि होङ्सी र ह्वासिन सिमेन्टको मूल्यमा ५० रुपैयाँ बढेर आएको निर्माण व्यवसायी महासंघका उपाध्यक्ष दीपक श्रेष्ठले बताए । अरु सिमेन्टको मूल्यमा पनि बढ्ने कुरा सुन्नमा आएको उनको भनाइ छ । तर, स्टिलको मूल्य भने निरन्तर रुपमा घट्दो क्रममा रहेको उनको भनाइ छ । ‘बजारमा जगदम्बा, सर्वोत्तम, हामा लगायतका छडको मूल्य १ सय १० रुपैयाँ सम्म आएको छ तर, हिमाल स्टिलको मूल्य भने १२८ रुपैयाँ सम्म छ, स्टिलको मूल्य निरन्तर रुपमा घट्दो क्रममा छ,’ श्रेष्ठले भने । सिमेन्टको मूल्य बढाउनुपर्ने अवस्था नभएको तर, कोइलाको मूल्य बढेको कारण देखाएर उद्योगीहरुले सिमेन्टको मूल्य बढाउन खोजेको उनले बताए । अहिले सिमेन्टकाे मूल्य बढाउन सान्दर्भिक नभएको उनको भनाइ छ । ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले अहिले बजारमा स्टिलको मूल्य घटेको बताए । ‘मैले जगदम्बाको स्टिल ल्याउ गर्छु, पहिला यसको मूल्य १ सय ४० सम्म पुगेको थियो, तर, अहिले मैले १ सय १५ रुपैयाँमा किनेर ल्याएँ,’ अध्यक्ष कटवालले भने । कटवालका अनुसार अहिले निर्माणका वस्तुहरुको अर्डर असाध्यै कमी रहेको र बिक्री पनि कम भैरहेको अवस्था छ । सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले भने अहिले उद्योगीहरु सिमेन्टको मूल्य बढाउने वा घटाउनेतर्फ नभएको बताउँछन् । ‘अहिले बजारमा सिमेन्टको माग कमी छ, उद्योगहरु पनि ३० देखि ४० प्रतिशत मात्रै क्षमतामा सञ्चालन भएको अवस्था छ तर, मूल्य घटाउने विषयमा हामीले सोचेका छैनौं,’ उपाध्यक्ष पोखरेलले विकासन्युजलाई बताए । ‘मूल्य घटाएपनि बिक्री बढ्दैन, मूल्य घटाउने पनि थप घाटा खाएर नै घटाउने हो,’ पोखरेलले भने । सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा बाहेकका आइटमहरु भारतबाट ल्याउन पर्ने अवस्था रहेको र भारतबाट आयात हुने सबै वस्तुहरुको मूल्य बढेको पोखरेलको भनाइ छ । पहिलको अवस्थामा भारतका व्यापारीहरुले उधारोमा सामग्री दिनेगरेकोमा पछिल्लो समय त्यो अवस्था नरहेको र बैंकको ब्याज पनि बढेकोले उत्पादन लागत बढ्न पुगेको पोखरेलले बताए ।

प्राधिकरणले ७ करोडको लगानीमा बनाउँदै सुविधा सम्पन्न ६ वटा पार्क, तयारी तीव्र

काठमाडौं । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा ६ वटा पार्कको निर्माण गर्ने भएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण गर्न लागेको हो । प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष ६ वटा पार्क निर्माण गर्न लागेको उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी तथा इन्जिनियर सौरब ढकालले बताए । प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा सो पार्क निर्माण गर्ने योजना समावेश गरेको छ । सूचना अधिकारी ढकालका अनुसार काठमाडौंमा दुई, भक्तपुरमा गत वर्षकै पार्कलाई निरन्तरता र ललितपुरमा तीन वटा पार्क निर्माण हुने भएका हुन् । र, एउटा पार्क विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रका सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने कार्य रहेको प्राधिकरणले जनाएको छ । उपत्यकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने योजनासहित सो पार्कको बनाउने लक्ष्य लिएको पनि बनाएको ढकाले बताए । पार्क निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा दुई करोड, ललितपुरमा चार करोड र सार्वजनिक जग्गामा पार्क निर्माण गर्नको लागि एक करोड गरी जम्मा ७ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै ति पार्कहरुको निर्माण कार्य सकिनेछ । प्राधिकरणले टेन्डरेका आव्हान गरे पश्चात् सो पार्कको निर्माण कार्य सुरु हुनेछ । ‘यस वर्ष उपत्यका भित्र ६ वर्ष पार्कको निर्माण गर्ने लक्ष्य छ, यसको सम्पूर्ण प्रक्रिया पुरा गरी पार्क निर्माणको प्रक्रिया जान्छौं, यो मल्टिपल पार्कको योजना हो, अहिले शहरको अतिआवश्यक चिज भित्र पार्क पनि पर्छ, त्यसैले यस योजनालाई अगाडि बढाउने जमर्को गरेका हौं,’ उनले भने । ढकालका अनुसार पार्क अनुसार फरक–फरक सेवा सुविधा हुनेछन् । उनका अनुसार जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण हुनेछन् । ‘शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ, मान्छेलाई मनोरञ्जन नभई नहुने आवश्यकता हो, साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन, त्यसैले पार्क निर्माण अवधारण ल्याएको हौं,’ उनले भने । कुन ठाउँ बन्दैछन् पार्क ? प्राधिकरणका अनुसार ६ वटा पार्क निर्माणको योजना चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । जसमध्ये केही पार्कको निर्माणको तयारीमा पनि प्राधिकरण जुटिसकेको छ । गत आर्थिक वर्षमा पनि साना ठुला गरी करिब ३० वटा पार्क निर्माणको अवधारणासहित प्राधिकरण अगाडि बढेको थियो । उक्त पार्कमध्ये केही पार्क निर्माणको काम सम्पन्न भएको छ भने बाँकी पार्क चालु आबभित्र सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । नयाँ योजनामा समावेश भएका पार्कमा एक करोड रुपैयाँ भन्दा बढी बजेट प्राधिकरणले विनियोजन गरेको छ । प्राधिकरणको चालु आर्थिक वर्षको योजना अनुसार काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका वडा नं. ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्नको लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, काठमाडौंकै शंकरापुर नगर वडा नं.७ स्थित धार्मिक पर्यटन स्थल सलिनदीमा पार्क, टोखा नगरको वडा नं. ६ मा रहेको हात्तीटोल ढङगेधारा पुन निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने, नागार्जुन नगरको वडा नं ७ स्थित घटाल बाबा मन्दिर क्षेत्रको जग्गा संरक्षण तथा पूर्वाधार निर्माण गर्नको लागि एक करोड २० लाख रुपैयाँ बजेट रहेको छ । प्राधिकरणका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहेको ढुङ्गेकोट र लुभु मा.वि. पछाडिको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, ललितपुर महानगरपालिका वडा नं. २५ सैंब भैसेपाटीको सार्वजनिक संरक्षण गरी पार्क निर्माण गर्नेको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । सो महानगरको नै वडा नं. १३ मच्छिन्द्र पार्क र वडा नं. २१ खोकना स्थित पंचो पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा सार्वजनिक जग्गामा पार्क निर्माण गर्नेको लागि एक कारण रुपैयाँ बजेट छुट्याएको पनि प्राधिकरणले बताएको छ । गत वर्ष ६ वटा पार्क निर्माण गत आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले एक करोड रुपैयाँ भन्दा माथिका १५ वटा पार्कका निर्माणको काम अगाडि बढाएको थियो । ती पार्कहरुमध्ये ६ वटा पार्कको निर्माण सम्पन्न भएको छ भने बाँकी ९ वटा पार्क निर्माणको काम पनि चालु आर्थिक वर्ष भित्र सक्ने योजना रहेको प्राधिकरणका सूचना अधिकारी ढकालले बताए । पार्क निर्माणको कार्य हाल तीव्र गतिमा भइरहेको प्राधिकरणको भनाइ छ । यो वर्ष नै ती पार्कको निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको पनि ढकालले जानकारी दिए । केही पार्क निर्माणको योजना बहु–वर्षीय योजनाको रूपमा अगाडि बढेका छन् । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ को गिरिजा प्रसाद, सोही नगरको वडा नं. ८ स्थित ओमनगर, कीर्तिपुर नगरपालिकाको वडा नं. २, चम्पादेवी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै, ललितपुर जिल्लाको बदेलीचौर (गचा), ललितपुर महानगरको वडा नं. २ को छुङमती पार्क निर्माणको काम पनि ४० प्रतिशत पुरा भएको पनि प्राधिकरणले जनाएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरको वडा नं. ५ को गणेशमान वाटिका पार्क निर्माणको काम ४० प्रतिशत सकिएको छ भने चांगुनारायण नगरको वडा नं. ५ स्थित नागथलि कृष्ण मन्दिर पार्क निर्माणको काम ८० प्रतिशत पुरा भएको पनि प्राधिकरणले बताएको छ ।