तरलता र सञ्चितिको अभावमा धमाधम डलर भित्र्याउँदै बैंकहरू, कुन बैंकले कति ल्याए ?

काठमाडौं । जतिबेला कोरोना महामारी शुरु हुँदै थियो, त्यसबेला नेपाली बैंकिङ्ग क्षेत्रका लागि एउटा ऐतिहासिक क्षण बन्यो । नेपालका बैंकले विदेशबाट ऋण ल्याउँदा बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक बन्न पुग्यो । नेपालमा मात्रै सिमित बैंकहरु अन्तर्राष्ट्रिय स्तरमा समेत उपस्थित जनाउन थालेपछि बैंकिङ्ग क्षेत्रका लागि ठूलो फड्को मानियो । आजभन्दा ५ वर्षअघि पहिलो पटक एनएमबि बैंकले विदेशबाट विदेशी मुद्रामा ऋण ल्याउन सफल भयो । त्यसअघि कानुनी प्रावधानका कारण र अन्तर्राष्ट्रिय वित्त संस्थाले विश्वास नगरेका कारण ऋण ल्याउन ठूलो बाधा थियो । जब, विश्व बैंक समूहको सदस्य आईएफसीले नेपालका बैंकलाई ऋण दिन शुरु गर्याे, त्यस बेलादेखि नेपालका बैंकले पनि बैदेशिक ऋण (विदेशी मुद्रा) भित्र्याउन थाले । यसअघि अन्तर्राष्ट्रिय संस्थाहरुले सरकारलाई मात्रै विदेशी मुद्रा ऋण सहायताका रुपमा दिने गरेका थिए । राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रलाई लगाइएको रोकावट फुकुवा गरेसँगै बैंकिङ्ग क्षेत्रले विदेशी डलर नेपाल भित्र्याउन सफल भएका हुन् । यद्यपि बैंकिङ्ग क्षेत्रले चाहे जति डलर भने भित्र्याउन पाएका छैनन् । एनएमबि बैंकले पहिलो पटक विदेशबाट ऋण ल्याएपछि अन्य वित्तीय संस्थाहरुले पनि धमाधम विदेशी मुद्रामा ऋण ल्याउन थाले । गत साउन २५ गते सानिमा बैंकले आईएफसीबाट २० मिलियन डलर विदेशी ऋण ल्याउने सम्झौता गर्याे । बैंकले त्यसअघि पनि ऋण ल्याइसकेको थियो । हालसम्म सानिमा बैंकले अन्तर्राष्ट्रिय विभिन्न संस्थाहरुबाट ४५ मिलियन डलर विदेशी मुद्रा ल्याइसकेको सानिमा बैंकले जनाएको छ । जसमा बैंकले १५ मिलियन डलर ऋण भुक्तानी गरिसकेको बैंकका सीईओ निश्चलराज पाण्डेले बताए । यस्तै, वि.स.२०७६ माघमा माछापुच्छ्रे बैंकले १ अर्ब रुपैयाँ(अमेरिकी डलर १० मिलियन) बढी रकम ल्यायो । बैंकले दुवई स्थित माश्रिक बैंकबाट सो रकम ल्याएको हो । यस्तै, वि.स. २०७६ फागुनमा मेगा बैंकले २ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर२ करोड) वैदेशिक ऋण ल्यायो । बैंकले कतारको दोहा बैंकबाट विदेशी मुद्रा नेपालमा ल्याएको हो । यस्तै, वि.स.२०७७ असारमा लक्ष्मी बैंकले २ अर्ब ४३ करोड रुपैयाँ (अमेरिकन डलर २० मिलियन) वैदेशिक मुद्रामा ऋण ल्यायो । बैंकले दोहा बैंक, दुबईबाट ३ वर्षका लागि सो रकम बराबरको विदेशी ऋण ल्याएको हो । यस्तै, वि.स. २०७८ मंसिरमा ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँ (अमेरिकी डलर २५ मिलियन) ऋण ल्यायो । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट विदेशी मुद्रा ल्याएको बताएको छ । ग्लोबल आइएमईले आईएफसीबाट पनि २अर्ब २० करोड नेपाली रुपैयाँ ( अमेरिकन डलर २ करोड) विदेशी ऋण ल्याएको छ । यस्तै, सनराइज बैंकलेगतअसारमा २ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्र्यायो । बैंकले जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागिसो बराबरको विदेशी ऋण भित्र्याएको हो । यस्तै, एभरेष्ट बैंकले कतारको दोहाबैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने बाटो खोलेपछि बैंक तथावित्तीय संस्थाहरुले विदेशबाट धमाधम ऋण ल्याएका हुन् । तरलताको समस्या चुलिएपछि बैंकले ल्याएको ऋणले ठूलो सहयोग पुग्ने बैंकर्सहरु बताउँछन् । हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूँजी अभावलाई विदेशबाट आउने ऋणले कम गर्ने विश्वास बैंकर्सहरुको छ । हाल बैंकहरुको निक्षेप घट्दो छ । कर्जा प्रवाह समेत गर्न नसक्ने अवस्थामा छ । बैंकहरुमा निक्षेप संकलन घट्दा कर्जा प्रवाह समेत रोक्नु पर्ने बाध्यता छ । यस्तै बाध्यताले बैंकहरुले विदेशबाट डलरमा ऋण ल्याउनु परेको बैंकर्सहरुको भनाइ छ । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डेले विदेशी बैंक तथा संस्थाहरुबाट डलरमा ऋण ल्याउँदा सम्झौतामा भने अनुसारको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । नेपाली बैंकमा निक्षेप कम भएपछि विदेशबाट ऋण ल्याउनु परेको एभरेष्ट बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् । ‘पहिला बैंकलाई पैसा आवश्यक नभएपछि विदेशबाट ल्याउनु पर्ने बाध्यता थिएन, देशमा नै निक्षेप कम भएपछि बैंकहरुले ल्याउन थालेका हुन्,’ उनले भने । विदेशी मुद्राले तरलता सहजसँगै विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुर्याउने उनले बताए । ‘बैंकहरुले ल्याएको विदेशी संचितीमा सहजता ल्याउँछ तर छोटो समयकालागिमात्रै हुन्छ, तोकिएको समय पुगेपछि ऋण फिर्ता गर्नुपर्छ, बैंकले ल्याउने ठूलो सञ्चिति भने होइन,’ उनले भने, ‘डलर लिएर विदेशमा नै लगानी गर्याे भने सञ्चिति रहँदैन तर, नेपाली रुपैयाँमा कन्भर्ट गरेर लगानी, कर्जा वा ऋण दियो भने संचिति बढ्छ ।’ एभरेष्ट बैंकले कतारको दोहा बैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ । एनएमबी बैंकका प्रमुखकार्यकारी अधिकृत (सीईओ) सुनिल केसी एनएमबीले विदेशबाट ल्याएको ऋणलाई नेपाली बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक बताउँछन् । एनएमबीले नेपालमा पहिलो पटक सन् २०१८ मा विदेशबाट ऋण ल्याएको थियो । त्यसयता बैंकले हालसम्म आईएफसीबाट ६५ मिलियन डलर अर्थात् ८ अर्ब रुपैयाँभन्दा बढी रकम भित्र्याइसकेको सीईओ केसीले बताए । केन्द्रिय बैंकले कोर क्यापिटलको शतप्रतिशतअनुमति दिएमा २६ वटा बैंकले ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा ल्याउन सक्ने क्षमता रहेको सीईओ केसीले बताए । हालसम्म आईएफसीबाट ३ वटा बैंकले मात्रै विदेशी ऋण ल्याएका छन् । जसमा एनएमबी, ग्लोबल आइएमई र सानिमा बैंकले आईएफसीबाट विदेशीमुद्रा नेपाल भित्र्याउन सफल भएकाहुन् । आईएफसीबाट मात्रै बैंकहरुले जम्मा ३८ अर्ब रुपैयाँ बराबरको ऋण ल्याएका छन् । आईएफसीका अनुसार हालसम्म नेपालमा ६ सय मिलियन डलर ऋण प्रवाह गरेको छ । आईएफसीबाट ल्याइने ऋण साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थाबाट कर्जा ल्याउन पाउने व्यवस्था गरेपछि बैंकहरु धमाधम विदेशबाट ऋण ल्याइरहेका छन् । नेपालमा विदेशी मुद्रा घट्दै जाँदा टाँट पल्टिने होकी भन्ने चिन्ताको विषय बन्दा बैंकहरु भने धमाधम विदेशबाट डलरमा रकम ल्याउन थालेका हुन् ।

‘नयाँ ब्रोकरलाई लाईसेन्स दिन बाहानाबाजी नगरौं, कमिसन घटाऔं’

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले नयाँ ब्रोकर लाईसेन्स वितरणमा बाहानाबाजी नगर्न माग गरेका छन् । पुँजीबजारका लगानीकता संघ संगठनले नेपाल धितोपत्र बोर्डका अक्ष्यक्ष रमेश कुमार हमालसमक्ष उक्त कार्यमा बाहाना बाजी नगरी तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले समग्र लगानीकर्ताको तर्फबाट बोल्दै मन्त्रिपरिषदमा पेश भएको उक्त मस्यौदा तत्काल कार्यान्वयनमा ल्याउन बोर्डले पहल गर्नु पर्ने माग गरेका हुन् । बोर्डले उक्त मस्यौदा गत साउनको पहिलो सातामै अर्थमन्त्रालयमा पेश गरेको थियो । त्यस्तै, लगानीकर्ताहरुले तत्काल ब्रोकर, नेप्से, सिडियस र स्वयं धितोपत्र बोर्डको समेत लगानीकर्ताहरुबाट असुल गर्दै आएको कमिसन तत्काल घटाउन पनि बोर्डका अध्यक्ष हमालसँग माग गरेका छन् । साथै, मर्जरको नाममा लामो समयसम्म सेयर कारोबार रोक्का रहेको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । नेपाल स्टक एक्सचेञ्जलाई निजिकरण वा नयाँ स्टक एक्सचेञ्ज खुलाउने प्रकृयामा छिटो भन्दा छिटो लाग्न आवश्यक रहेको उनीहरुको भनाई छ । यदि सेबोनबाट यी सबै काम यथाशिघ्र भएमा बोर्डको नीति तथा कार्यक्रममा सहयोग पुग्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

कुन बैंकले दिन्छ सस्तोमा ऋण ? यस्तो छ २६ वटै बैंकको ब्याजदर

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । बैंकहरुले लगानीयोग्य रकम नपाइरहेको अवस्थामा ब्याज बढाएर निक्षेप संकलन गर्ने रणनीति पनि बनाइरहेका छन् । लगानी गर्नका लागि स्रोतको अभाव भएपछि बैंकहरुले विभिन्न बचतका योजनामा आकर्षक ब्याज दिएर पैसा संकलन गर्ने रणनीति बनाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले गर्दा बैंकहरुको ब्याजदर थप महँगो भएको छ । बैंकहरु ब्याज बढाउने उद्धेश्यले आधार दर बढाउन बाध्य भएका छन् । अहिले बैंकहरुको आधारदर नै दोहोरो अंकमा छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ । आधार दरमा केही निश्चित प्रिमियम तोकेर बैंकहरुले ऋण लगानी गर्छन् । बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको आधार दर औसतमा ९.४६ प्रतिशत छ । अहिले आधा दर्जन वाणिज्य बैंकहरुको आधार दर १० प्रतिशत माथि छ । कुमारी, सिभिल, सेञ्चुरी, सिटिजन्स, मेगा र सनराइज बैंकको आधारदर १० प्रतिशतभन्दा बढी देखिएको छ । यी बैंकहरुको आधार दर क्रमशः १०.५७ प्रतिशत, १०.४६ प्रतिशत, सेञ्चुरी बैंकको १०.२३ प्रतिशत, सिटिजन्स बैंकको १०.०९ प्रतिशत, मेगाको १०.०१ प्रतिशत र सनराइज बैंकको १०.०१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकहरुको औसत आधार दर ८.९९ प्रतिशत थियो । यो अवधिमा चार वटा वाणिज्य बैंकको आधार दर ३ प्रतिशत बिन्दुले वृद्धि भएको छ । १३ वटा वाणिज्य बैंकका आधार दर ९ प्रतिशतको हाराहारीमा छ । पाँच वटा वाणिज्य बैंकहरुको आधार दर ८ प्रतिशत र दुइटा वाणिज्य बैंकको आधारदर ७ प्रतिशतको हाराहारीमा छ । अहिले सबैभन्दा कम आधारदर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छ । आधार दर बढेपछि बैंकहरुको कर्जामा दिने ब्याज पनि बढाउँछन् बैंकहरुले अधिकतम ५ प्रतिशत प्रिमियम लिँदै आएका छन् । अहिले १० प्रतिशत हाराहारीमा आधारदर भएका बैंकहरुको कर्जा १५ प्रतिशतसम्म हुन्छ । कम आधारदर भएका बैंकहरुको ब्याजदर कम र बढी हुनेको कर्जाको ब्याजदर पनि बढी नै हुन्छ ।