लकिङ पिरियड सकिएपछि शिवमको मूल्य १०११ रुपैयाँले घट्यो, नाफा पनि आधा मात्र
काठमाडौं । प्रमोटर सेयरको लकिङ पिरियड सकिएपछि शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । साथै कम्पनीको नाफा पनि ५१ प्रतिशतले घटेको छ । गत माघसम्मका शिवम् सिमेन्ट लिमिटेडकाे प्रमोटर सेयर ८८ प्रतिशत र सर्वसाधारणको सेयर १२ प्रतिशत रहेको थियो । त्यतिबेला यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्ममा किनबेच भएको थियो । अहिले सबै सेयर पब्लिक भएकाे छ । सेयर मूल्य झरेर ६६० रूपैयाँमा किनबेच हुन थालेकाे छ । कम्पनी सचिव लेखनाथ अर्यालका अनुसार यस कम्पनीको प्रमोटर सेयरको लकिङ पिरियड गत मागमा सकिएको हो । अहिले कम्पनीको सबै सेयर साधारण सेयर सरह किनबेच खुला भएको छ । कम्पनीले यहि भदौ महिनामा विशेष साधारणसभा गरेर प्रबन्ध पत्र र नियामलीमा समेत संशोधन गरी सेयरको वर्गिकरण र सञ्चालक समितिमा रहने प्रतिनिधिको वर्गिकरण हटाएको छ । अब सबै सेयरधनी र सबै सञ्चालक एउटै अर्थात सर्वसाधारण सेयरधनीको हैसियतमा रुपान्तरित भएका छन् । सबै प्रमोटर सेयर पब्लिक सरह किनबेच भैरहँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ भन्दा बढीले घटेको छ । गत माघ ३ गते यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्मका किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार शिवमको सेयर प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भयो । यस अवधिमा प्रतिकित्ता १०११ रुपैयाँले सेयर मूल्यमा गिरावट आएको छ । माघदेखि भदौंसम्ममा कम्पनीको सेयर मूल्यमा ६० दशमलव ५० प्रतिशतले घटेको छ । कम्पनीको नाफा पनि ५० दशमलव १९ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७९ असार मसान्तमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेकाे लेखापरिक्षण हुन बाँकी वित्तीय विवरणमा उल्लेख गरिएकाे छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई करिब ६ प्रतिशत मात्र लाभांश दिन सक्छ । १० प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने समार्थ्य भएका बैंकको सेयर मूल्य २०० रुपैयाँमा झरेको अवस्थामा ६ प्रतिशत लाभांश दिन सक्ने शिवमकाे सेयर मूल्य अझै घट्न सक्ने विश्लेषण एक लगानीकर्ताले गरे ।
जलविद्युतका आयोजना अब क्यू-२५ मा डिजाईन गरिने, पीपीए दर पनि घट्ने
काठमाडौं । उर्जा, जलश्रोत तथा सिञ्चाईं मन्त्रालयले जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र तथा निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा नीतिगत व्यवस्था परिवर्तन गर्ने भएको छ । मन्त्रालयले सो सम्बन्धी प्रतिवेदनमा विभिन्न व्यवस्था परिवर्तन गरी कार्यान्वयन गर्ने भएको हो । आरओआर तथा पीआरओआर आयोजनाहरु सम्भावित पूर्ण क्षमता अनुसार विकास गर्न हालको क्यू४० क्राइटएरियाको डिजाईन डिस्चार्जको सट्टा क्यू२५ मा आयोजना विकास गर्ने भएको छ । जसअनुसार औसतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्ने छ । आयोजनाबाट वार्षिक उत्पादन हुने उर्जा ४०.२ प्रतिशत र वर्षायामको ऊर्जा ५९.३ प्रतिशतले बढ्न सक्ने छ । आयोजनाको प्लान्ट फ्याक्टर ६८.२ प्रतिशतबाट ५१.६ प्रतिशत हुन सक्ने छ । आयोजनाको स्पेसिफिक प्रोजेक्ट कष्ट १५६० यूएसडी किलोवाटबाट १०९२ यूएसडी किलावाट हुन सक्ने छ । त्यस्ते, क्यू२५मा डिजाईन गरिएका आयोजनालाई १७ प्रतिशत आरओई दिनका लागि वर्षायामको पीपीए रेट परिवर्तन गरी प्रतियुनिट ४.२४ रुपैयाँ गरिने छ । सुख्खायामको रेट प्रतियुनिट ८.४० रुपैयाँ नै कायम गरिने जनाइएको छ । पीपीए सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरुले पनि आफ्नो डिजाईन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने साथै सो बापत वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम गरिने छ । जुन हाल ४.८० रुपैयाँ रहेको छ । गत असार २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार कायम भएको ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाट क्षमता नपुगेसम्म साविकको पीपीए रेट अनुसारनै (रु ४.८० र रु ८.४०) आरओआर आयोजनाहरुको पीपीए गर्ने छ । पीपीए गरिसकेपछि प्रवर्द्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने छ । ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाटपछि पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपछि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने छ । पीआरओआर आयोजनाको हकमा समेत मन्त्रिपरिषदको निर्णय अनसार कायम सिमा ४५०० मेगावाटसम्म हालै व्यवस्थालाई निरन्तरता दिइने छ । र, पीपीए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिइने छ । सो सीमापश्चात पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपनि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने । सुख्खायामको इनर्जी ३० प्रतिशत पुगेमा मात्र ६ महिना सुख्खायामको रेट (रु ८.४० प्रतियुनिट) पाउने व्यवथा परिवर्तन गरी सुख्खायाम र वर्षायाम को रेट ६-६ महिना पाउने व्यवस्था गरिने छ । हाल सुख्खायामको इनर्जी ३० प्रतिशत नपुगेमा ४ महिना मात्र रु ८.४० प्रतियुनिट पाउने व्यवस्था रहेको छ । त्यस्तै, विद्युत खरिद तथा विक्री दर निर्धारण गर्ने अधिकार विद्युत नियमन आयोगको भएको कारण माथि उल्लेखित परिवर्तित खरिद दर (वर्षायामको प्रतियुनिट रु ३.६१ र रु ४.२४ को हकमा मात्र) प्राधिकरण संचालक समितिबाट निर्धारण गरी आयोगबाट स्वीकृत गराउनु पर्नेछ । अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गर्न वा डिजाईन परिवर्तन गरी आरओआरबाट पीआरओआरमा आयोजना निर्माण गर्न तल्लो तटीय क्षेत्रका आयोजनाको अग्रिम सहमति लिनुपर्ने व्यवस्थालाई परिवर्तन गरी तल्लो तटीय क्षेत्रको आयोजनाको औसत मासिक उत्पादनलाई असर नपर्ने गरी मन्त्रालय तथा विभागको सहमति लिई निर्माण गर्न सक्ने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८४/८५ सम्म व्यापारिक उत्पादन शुरु गर्ने आयोजनालाई मात्र टेक अर पे प्रावधानमा पीपीए गर्ने गरेकोमा उक्त सीमा ५ वर्ष बढाई आर्थिक वर्ष २०८९/९० सम्म कायम गर्नेछ ।
८५ प्रतिशतसम्म लाभांश दिएको बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ वर्षमा कति कमाए ?
काठमाडौं । सन् १९७३ मा विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला नेपाल भित्रिएको थियो । यसको ६ वर्ष अर्थात् सन् १९७९ मा बोटर्लस नेपाल लिमिटेडको स्थापनासँगै काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपूरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना भएको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीको कार्यालय भरतपुर चितवनमा छ । बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । बोटलर्स नेपाल (तराई) ले वार्षिक १ करोड ७० हजार इकाई केस उत्पादन बिक्री गरिरहेको छ । बोटलर्स नेपाल (तराई) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘हट केक’ सेयरका रुपमा लगानीकर्ताले लिएका छन् । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिइन्छ । कम्पनी नेप्सेमा सन् २००७ जुलाई २९ तारिखका दिन सूचीकृत भएको हो । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । कम्पनीको शुक्रबारको अन्तिम कारोबार प्रतिकित्ता १३ हजार ३५२ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । शुक्रबारको कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १६ अर्ब १५ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/०६८ मा ५५ प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ८५ प्रतिशत, आर्थिक वर्ष २०६९/०७० मा २२ प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७३/०७४ सम्म निरन्तर ४ वर्ष २५ प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ मा ४०/४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । नेप्सेमा थोरै पूँजी भएका कम्पनीले सेयर मूल्यका आधारमा अन्य कम्पनीलाई चुनौति थपिएको छ । पूजी कम भएपनि राम्रो प्रतिफल वितरण गर्ने भएकाले सेयरधनीको आकर्षणमा यस्ता कम्पनी पर्ने गर्छन् । बोटलर्स नेपाल तराई ९ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीको सेयरमा ९ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई लखपति बनाएको छ । कम्पनीमा ९ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले साढे ३ लाख रुपैयाँ नगद प्रतिफल प्राप्त गरेका छन् । यद्यपि, ९ वर्ष अगाडि १ लाख रुपैयाँमा कम्पनीको १ हजार कित्ता सेयर पाउन असम्भव थियो । तर, ९ वर्ष अगाडि कम्पनीको वास्तविक सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँको हाराहारीमा थियो । यदि नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग १ हजार कित्ता सेयर थियो भने २०६७/६८ पछिको नगद लाभांश मात्रै गणना गर्दा १ लाख लगानी गर्दा ९ वर्ष पछि ३ लाख ४२ हजार रुपैयाँ प्रतिफल आर्जन गरेको छ । यद्यपि, २०६८ मा कम्पनीको सेयर मूल्य ७४५ रुपैयाँ थियो । सो समयमा प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता सेयर खरिद गरेर हालसम्म होल्ड गरेका सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । जस्तै, कुनै सेयरधनीले २०६८ साल अर्थात् ११ वर्ष अघि प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता खरिद गर्दा ७४ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए भने हालको सेयर मूल्य अनुसार सो सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर, कम्पनीको सेयर मूल्य साढे १७ हजार भन्दा माथि पुगेको थियो ।