बिना धितो २ लाख रुपैयाँ कर्जाले करोडौं सम्पत्तिकी मालिक बनिन् सबिता
काठमाडौं । गोरखाको पालुङटारकी सोबिता आचार्य खत्रीलाई अहिले नगरपालिकाभर नचिन्ने कोही छैनन् । गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा बस्ने आचार्य आजभोली एउटा सफल महिला उद्यमीका रुपमा नगरपालिकाभर चिनिन सफल भएकी छन् । ५५ हजारबाट कस्मेटिक पसल सुरु गरेकी उनले खासै सुरुमा सोचे जस्तो प्रगति गर्न सकिनन् । वैदेशिक रोजगारीको लागि कतार गएका श्रीमान् पनि २ वर्षपछि परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि नेपाल नै फर्किए । त्यसपछि उनको श्रीमानले अरुको बस चलाएर गुजारा चलाउन थाले । जिन्दगी जसोतसो चल्दै गयो । लघुवित्तमा आवद्ध भएका दिदिबहिहरुको परिवर्तन देखेर सोबितालाई पनि समूहमा बसेर कर्जा लिने सोच बनाइन् । लघुबित्त बित्तिय संस्था शाखा कार्यालय हरमटारीमा गएर कारोबार गर्न थालिन् । उनले साधना लघुवित्त वित्तिय संस्थाबाट बिना धितो सुरुमा दुई लाख कर्जा लिइन् । त्यसपछि २ लाख र पुनः २ लाख ५० हजार कर्जा लिइन् । फेरि उनले ३ लाख कर्जा लिई सो कर्जाको कष्टमेटिक व्यवशायमा लगानी गरिन् । पहिला कष्टमेटिक व्यवसाय भएपनि पूँजीको अभावमा व्यवसायमा पिकअप लिन सकेको थिएन, साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै मेरो व्यवसायमा ठुलो परिवर्तन भएको छ, त्यहि फेन्सी व्यवसायलाई थप गर्दै गएको छु,’ उनले भनिन् । हाल उनले व्यवसायमा लगानी गर्दै मनग्य नाफा कमाएर बचत गर्दै र व्यवसाय र श्रीमानको आम्दानीबाट बचाएर गोरखाको सदरमुकामको गोरखा नगरपालिका वडा नं ६ मा लागी पक्की घर बनाउन सफल भएकी छिन् । त्यति मात्र नभइ उनले व्यवसायमा भएको लगानी र थप लघुवित्तबाट कर्जाको सहायाताले हाल गोरखाबाट भच्चेक हुदै बारपार्क जाने सेकेण्ड ह्याण्ड लोकल बस खरीद गरेकी छिन् । उनको श्रीमान् आफै बस चालक रहेका छन् । मालिक बनाउन साधनाको महत्वपूर्ण भूमिका रहेको उनका श्रीमान् बताउँछन् । जीवनमा वैदेशिक रोजगारमा गरेको संघर्षले परिवारलाई केही गर्न नसक्दा लघुवित्तको सहयोगमा यस्तो स्थानमा आइपुगेको उनी बताउँछन् । केही गर्न खोज्ने सीप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुको लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको र यस किसिमको कार्य सरकारले आफै गर्नु पर्ने तथा सरकारले गर्न नसकेका कार्य लघुवित्त संस्थाहरुबाट हुँदै आएकोमा यस किसिमको लघुवित्त संस्था समाजमा आर्थिक क्रान्ती ल्याउन महत्पूर्ण योगदान गरेको कुरा उनी बताउँछन् । अहिले सबिताको पसलमा १० लाखदेखी २० लाखसम्मको कष्टमेटिक तथा फेन्सीको सामानहरु रहेको छ । २ लाख देखि ५ लाख जोकोहीलाई दिन सक्दैन तर लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ । ‘नेपालमा म जस्ता संघर्ष गर्ने लाखौ परिवार लघुवितको कारण स्वरोजगार बन्न सफल भएका छन्, परिवार चलाउन, उद्यमी बन्न, बाबुनानीलाई पढाउन, समाजमा केही गरेर उदाहारण बन्नमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योग्दान रहेकोले लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछु,’ सबितले भनिन् ।
बाबुराम भट्टराईलाई अध्यक्ष हमालको काउन्टर : सेयर बजार जुवाघर होइन, बुझाइ कम भयो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोलदै उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेपछि यो विषयले बेला बेला चर्चा पाउने गरेको छ । आइतबार अध्यक्ष हमालले पनि सो विषयलाई काउन्टर गर्दै यस्तो बताएका हुन् । ‘पूँजी बजारलाई जुवा घर भन्नू गलत बुझाइ हो, पूँजी बजार अध्ययन, हिसाबकिताब, विश्लेषण, क्याल्कुलेशन गरेर लगानी गर्ने क्षेत्र हो, पूँजी बजार जुवा घर भन्नू गलत हो, यस्तो भन्नु बुझाइको पनि कमि हो,’ अध्यक्ष हमालले भने । सेयर बजारको विषयमा विभिन्न समयमा विभिन्न नेताहरुको अभिव्यक्तिले आलोचित हुने गरेका छन् । माओवादी नेतृत्वको पहिलो सरकार बनेका बेला बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए । त्यस बेला उनले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसबेला सेयर बजार नियामक धितोपत्र बोर्डका अध्यक्ष रहेका चिरञ्जीवी नेपालले अर्थमन्त्रीसँग असहमति जनाउँदै राजीनामा समेत दिएका थिए । त्यतिबेलाको अभिव्यक्ती अहिलेसम्म चर्चामा छ । गत वर्ष मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललको सेयर बजार सम्बन्धि एउटा अभिव्यक्तीले उनलाई विवादमा ल्याएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा र अर्थमन्त्री बन्दा समेत डा. युवराज खतिवडाले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो । उनले पनि सेयरर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए । कतिपय लगानीकर्ताले त्यसको विरोध पनि जनाएका थिए । खतिवडाले “सट्टेबाजका कारण सेयर बजार सुन्निएको अर्थतन्त्रको ऐना“ जस्तो बनेको अभिव्यक्ती दिएका थिए । त्यस कारण पनि उनी विवादमा तानिएका थिए । यी विभिन्ज प्रशंगहरुलाई स्ममरण गर्दै आइतबार अध्यक्ष हमालले सेयर बजार जुवाघर नभएको तर्क राखेका हुन् । उनले आफु निजी क्षेत्रबाट बोर्डको अध्यक्ष बनेको बताउँदै सबैको समस्या समाधानका लागि आफु लागि परेको बताए । यस्तै, उनले बिश्वास बढेपछि मात्रै पूँजी बजारको बिकास गर्न सकिने बताउँदै पूँजी बजारमा बिश्वास नै नभएको तर्क राखे । उनले इक्विटी भेन्चरको लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको बताउँदै एक साता भित्रमा थप ७ वटा लाई अनुमति दिने बताए । ‘बजारमा मोनोपोली हुनु हुँदैन, फेयर प्रतिस्पर्धा हुनु पर्छ, हामीले सीआश्वा शुल्क पनि घटाएका छौँ, रियल सेक्टरका कम्पनी ल्याउनका लागि उसले बजार मूल्य पाउनुपर्छ, ब्रोकरको शाखा खोल्नका लागि बोडले अनुमती दिनु पर्छ भन्ने हुँदैन, यदि योग्य ब्रोकर कम्पनी छ भने उसले आफ्नो क्षमता अनुसार को शाखा पाउनुपर्छ,’ उनले भने । यस्तै, उनले डिजिटल प्लेटफर्म धेरै कमजोर रहेको धारणा राखेका छन् ।
बीमा कम्पनीहरु मुद्दती निक्षेपमै आकर्षित, घरजग्गामा नेशनल लाइफ बाहेक ४० वटाकै लगानी शून्य
काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो । कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो । त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् । यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ । त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।