‘स्ट्याण्डर्ड चार्टर्ड  बैंकलाई सेयर मूल्यमा नम्बर वान बनाऔं’

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले बैंकलाई पुरानै अवस्थामा फर्काउन आग्रह गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका हुन् । बैंकको आइतबार सम्पन्न ३६औं वार्षिक साधारणमा बोल्दै बैंकका सेयरधनीहरुले संचालक समिति र व्यवस्थापन समूहलाई यस्तो आग्रह गरेका हुन् । बैंकका सेयरधनी गुणराज भट्टले सेयर मूल्यका आधारमा बैंकलाई पुनः एक नम्बर बनाउन आग्रह गरे । विदेशी दूतको रुपमा काम गरिरहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत वर्षभन्दा बढी नै लाभांश वितरण गरेको भएपनि बैंकिङ्ग क्षेत्रमा नै एक नम्बर बनाउनुपर्ने उनले धारणा राखे । ‘अन्य बैंकले नाफा घटेर लाभांश पनि घटाएका छन् तर स्ट्यान्डर्ड चार्टर्ड बैंकले बढाएको छ, विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ पुगेको थियो, आजका दिनमा ४ सयको हाराहारीमा छ, यसलाई फेरि एक नम्बर बनाउनु पर्छ, बैंकका कर्मचारी र संचालकहरुले प्रयास गर्नुभयो भने एक नम्बर बन्न सक्छ, शिर ठाडो पारेर स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरु भन्न पाऊँ, यो मेरो विनम्र अनुरोध छ,’ उनले भने । उनले सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गरेको दुखेसो पोखे । उनले बोनस सेयर वितरण गरेर बैंकको चुक्ता पूँजी बढाउन सुझाव दिए । ‘बैंकले बोनस सेयर वितरण गरेको भए बजारमा ४ सय रुपैयाँमा बिक्री हुन्थ्यो, नगद दिँँदा १ सय मात्रै आउँछ, राष्ट्र बैंकले बैंकहरुको चुक्ता पूँजी १६ अर्ब पुर्याउने चर्चा छ, अधिकांश बैंक मर्जर गरेर ठूलो बैंक बनिसके, यस बैंकले चुक्ता पूँजी बढाउने योजना गरेको छ की छैन ? यदि चुक्ता पूँजी बढाउन निर्देशन दिए भने बैंकको सेयर मूल्यमा असर पर्छ,’ उनले भने, ‘बोनस सेयर वितरण गर्याे भने पूँजी बढ्छ ।’ अन्य बैंकका अध्यक्ष र सीईओहरु बैठक भत्ताका लागि तछाडमछाड गर्ने गरेको बताउँदै स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीईओ र अध्यक्षले बैठक भत्ता नलिएकोमा खुसी ब्यक्त गरे । नेपाली बैंकिङ्ग क्षेत्रमा एक मात्रै महिला अध्यक्ष रहेको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेकोमा गर्व लागेको खुसी प्रकट गरे । बैंकले खराब कर्जा ०.९६ प्रतिशत रहेकोमा गत वर्ष घटाएर ०.५९ प्रतिशत कायम गरेको छ । उनले बैंकको खराब कर्जा दर शुन्यमा झार्न आग्रह गरे । बैंकको व्यवसायको लागि पूँजी प्रयाप्त छ । बैंकको पूँजी प्रयाप्तता १५.९५ प्रतिशत रहेको छ । यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ । जुन वाणिज्य बैंकहरुको तुलनामा धेरै कम हो । पूँजी नबढाएर व्यवसाय विस्तार गर्न कठिन हुने भएकाले बोनस सेयरमा जोड दिनुपर्ने सेयरधनी भट्टले बताए । विदेशी लगानी रहेको बैंकको नेपाली बजारमा ३६ वर्षको बैंकिङ्ग इतिहास छ । तर, बैंकले हालसम्म आफ्नै स्वामित्वमा भवन निर्माण गर्न सकेको छैन । ‘बैंकको कर्पाेरेट भवन छैन, स्ट्याण्डर्ड चार्टर्ड बैंक अब नेपालबाट भागेर जान्छ भन्ने बजारमा हल्ला छ किनभने एउटा घर पनि बनाउन सकेको छैन, ३६ वर्षको इतिहासमा किन एउटा घर नबनाउने ? बैंकले आफ्नै भवन बनाउन आवस्यक छ,’ उनले भने । यस्तै, सेयरधनी नरसिंह चख्खुले बैंकले काम गर्ने शैली परिवर्तन गरेर अघि बढ्नु पर्ने धारणा राखे । उनले सेयरधनीहरुलाई उच्च प्रतिफल दिने बैंकको रुपमा आफूलाई स्थापित गरेको बताए । बैंक अधिकांश सूचकमा अब्बल रहेकोले अब अग्रस्थानका लागि काम गर्नुपर्ने उनको भनाइ छ । सेयरधनी चन्द्र नारायण श्रेष्ठले क्यापिटल एडुकेसी राम्रो भएकोले बैंकले सेयरधनीहरुलाई २०/२५ प्रतिशतका दरले लाभांश वितरण गर्नुपर्ने धारणा राखे । उनले बैंकले सही तथ्याङ्क राख्नु पर्नेमा जोड दिए । खुद ब्याज आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले अझ प्रगति गर्नुपर्ने धारणा उनले राखे । उनले बैंकले कर्मचारीलाई ८२ करोड कर्जा प्रदान गरेको गुनासो गरे । ‘बेस रेटमा कर्मचारीलाई कर्जा दिँदा सेयरधनीले प्राप्त गर्ने प्रतिफल घट्छ, कर्मचारीलाई ८२ करोड प्रदान गरेको छ, कस्ट अफ फण्ड जोडेर कर्मचारीलाई कर्जा दिनुपर्छ, बैंकले अर्काे वर्ष ३ अर्ब नाफा कमाएर २५÷३० प्रतिशत लाभांश दिनुपर्छ,’ उनले भने । मेजर श्री कुबेर श्रेष्ठले जलविद्युत क्षेत्रमा कर्जा प्रवाहका बारेमा गुनासो गरे । उनले जलविद्युत क्षेत्रको विकास बढ्दै गइरहेका बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने कर्जा कम प्रवाह गरेकोमा गुनासो गरे । उनले बैंकको व्यवसाय बढाउनका लागि शाखा सञ्जाल बढाउँदै लैजानु पर्ने धारणा राखे । ‘अहिले लगानीका लागि जलविद्युत क्षेत्र भर्जिन छ, जलविद्युत क्षेत्रमा किन लगानी कम गरेको छ, सेयर मार्केटमा पनि लगानी छैन, बैंकले लगानीको क्षेत्र बढाउँदै जानुपर्छ, ब्यापार विस्तारमा जोड दिनुपर्छ, सेयरधनी, संचालक र कर्मचारी सबैको कल्याण हुनेगरी काम गर्नु पर्छ,’ उनले भने । सञ्चालक भरत कुँवरले आफ्नो कार्यकालमा शाखा विस्तार गर्ने लक्ष्य भएपनि पुरा हुन नसकेकोमा दुख ब्यक्त गरे । आफ्नो कार्यकाल अवधिभर शाखा विस्तार गर्न नसकेपनि आगामी वर्षमा विस्तार हुने अपेक्षा रहेको उनको भनाइ छ । ‘डिजिटल बैंकका कारण शाखा विस्तार हुन सकेन, विगत ४ वर्षमा ग्रेट ब्रिटेनमा २५ प्रतिशत (एक चौथाई) एटिएम मेसिन बन्द भए, यहि कारण शाखा विस्तारमा बैंक सकारात्मक देखिएन, गत वर्ष एउटा शाखा विस्तार गर्ने योजना थियो तर हुन सकेन, सीईओले यो वर्ष एउटा शाखा खोल्छु भन्नु भएको छ, शुभकामना,’ उनले भने, ‘आफू बैंकको सञ्चालक पदमा नियुक्त हुँदा बैंकको सेयर मूल्यका आधारमा ५ औं नम्बरमा थियो तर अहिले त्यो अवस्था रहेन, बैंकले नेपाल, लगायत विदेशका पनि कानुन मान्नुपर्ने छ, विदेशका कानुन पनि लागू गर्नै पर्ने भएकाले लगानीमा संकुचन आयो, कोरोना महामारीका कारण अधिकांश सूचकमा पुछारमा पुग्न थाल्यौं ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दास्तिदारले बैंकलाई एक बलियो बैंक बनाउने योजना रहेको बताए । बैंकको वित्तीय प्रतिवेदनलाई स्पष्ट बनाउँदै कर्जा लगानीमा विशेष जोड दिएको उनको भनाइ छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाहमा जोड दिइरहेको उनले बताए । ‘उत्पादनशील क्षेत्रहरूमा कर्जा प्रवाहतर्फ ध्यान केन्द्रित छ, केन्द्रीय बैंकका प्राथमिकताहरूमा हामी पूर्ण रूपमा प्रतिबद्ध छौं, हामीले नवीकरणीय उर्जा र कृषि मार्फत दिगो लगानीको सम्भाव्यता साथै तोकिएका क्षेत्र कर्जा लक्ष्यहरू प्राप्तिमा सहयोग पुर्याएका छौं, हामीसँग राम्रो भविष्य निर्माण गर्ने ठूलो अवसर छ, वातावरणलाई असर नगरी र समुदायिक भावनालाई कमजोर नपारीकनै विविधता मार्फत व्यापार र समृद्धिलाई अघि बढाउने उद्देश्य छ,’ उनले भने । बैंककी अध्यक्ष जरिना दारुवाला बैंकले आगामी वर्षमा सेयरधनीहरुलाई लाभांश बढी वितरण गर्न प्रयासरत रहेको बताइन् । हाल कायम रहेका सूचकहरु अब्बल रहेको बताउँदै अब बैंकलाई नम्बर वान बनाउने रणनीति रहेको उनको भनाइ छ । बैंकको आरोई १४.२१ प्रतिशत रहेको उनले बताइन् । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालको बैधानिक संरचना र स्ट्याण्डर्ड चार्टर्ड समूहको जोखिम व्यवस्थापन सम्बन्धि सिद्धान्त र अभ्यासहरूको पालना गर्छ, बैंकका अभ्यासहरूलाई स्वस्थ जोखिम संस्कृतिमा पङ्क्तिबद्ध गर्ने र आचरणका उच्चतम मापदण्डहरूलाई अवलम्वन गर्ने कुरालाई सुनिश्चितता प्रदान गरेको छ, स्ट्याण्डर्ड चार्टर्डमा, जोखिम र आचरण दुबै हाम्रो संस्थागत जोखिम व्यवस्थापन ढाँचाको अभिन्न अंगका रुपमा रहेका छन, जसले हामीलाई समग्र जोखिमका वारेमा विचार गर्न सक्षम बनाउँदै सबै साझेदारहरूको लागि मार्गदर्शक सिद्धान्तहरू लागु गर्दछन्,’ उनले भनिन् ।

२४ बैंकको खुद तरल सम्पत्ति घट्यो, लाभांशमा प्रभाव पर्ने

काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको खुद तरल सम्पत्ति (एनएलए) न्यून बिन्दुमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत एनएलए २३.५३ प्रतिशत छ । गत असारमा बैंकहरुको औसत एनएलए २५.३८ प्रतिशत थियो । तीन महिनामा वाणिज्य बैंकहरुको खुद तरल सम्पत्ति १.८५ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको भएपनि अहिले अधिकांश बैंकहरूको एनएलए सीमाको हाराहारीमै छ । अहिले बैंकहरू तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । गत असारको तुलनामा एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए बढेको छ भने अन्य २४ वटा वाणिज्य बैंकको एनएलए घटेको छ । गत असारमा २०.३० प्रतिशत रहेको एनआइसी एशिया बैंकको खुद तरल सम्पत्ति असोजमा बढेर २१.८५ प्रतिशत कायम भएको हो । यस्तै, गत असारमा २८.२४ प्रतिशत रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए असोजमा भने ३७.९८ प्रतिशत पुगेको हो । हाल सबैभन्दा कम एनएलए नेपाल बैंकको छ । यस बैंकको एनएलए २०.०६ प्रतिशत छ । ६ वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति २१ प्रतिशत, ९ वटाको २२ प्रतिशत, दुइटाको २३ प्रतिशत, तीन बैंकको २४ प्रतिशत, दुइटाको २५ प्रतिशत र दुइटाको २६ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति छ ।

पुँजीकोषको ठूलो दबाबमा बैंक, डेढ दर्जनको घट्दा तीनलाई सकस, कुनको कति ?

काठमाडौं । गत वर्षदेखि आरालो लागेको वाणिज्य बैंकहरुको पुँजीकोष हालसम्म पनि रोकिएको छैन । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको पुँजी कोषमा खासै सुधार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको असोजसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत पुँजी कोष १३.१९ प्रतिशत रहेको छ भने प्राथमिक पुँजी कोष १०.२६ प्रतिशत रहेको छ । गत वर्षको असारसम्म पुँजीकोष १३.३२ प्रतिशत र प्राथमिक पुँजीकोष १०.४७ प्रतिशत थियो । अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नीतिगत व्यवस्थाको हाराहारीमै पुँजीकोष कायम गरेका छन् । पुँजी कोष कम हुँदा बैंकहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा पनि कमि आउँछ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षकै वित्तीय विवरणमा केही बैंकहरुले पुँजी कोष कायम नगरेकै कारण लाभांश वितरणमा रोक लगाउने तयारी गरिरहेको छ । अहिले पुनः बैंकहरुको पुँजी कोषमा दबाब देखिएको हो । राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार बैंकहरुले ११ प्रतिशत पुँजीकोष र प्राथमिक ८ प्रतिशत पुँजीकोष हुनु पर्ने हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार तीन वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । माछापुच्छ्रे , प्रभु र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । ६ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष ९ प्रतिशतको हाराहारीमा छ भने ७ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष १० प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, तीन वटा वाणिज्य बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा देखिन्छ । गत असारको तुलनामा डेढ दर्जन वाणिज्य बैंकको पुँजी कोष घटेको छ । प्राथमिक पुँजीकोष र पुँजीकोषको न्यूनतम व्यवस्था कायम नगरेको अवस्थामा राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा नै रोक लगाउँछ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर लागू गर्ने बताइसकेको छ । राष्ट्र बैंकको सो नीतिपछि ११ प्रतिशत कायम रहेको पुँजीकोष बढाएर १३.५ प्रतिशत पुर्याउनु पर्ने हुन्छ । जसअनुसार बैंकले कायम गर्नुपर्ने ११ प्रतिशत पुँजी कोषको आकार बढेर १३.५ प्रतिशत पुग्नेछ । केन्द्रीय बैंकले हालको पुँजीकोषमा २.५ काउन्टर साइक्लिकल बफर थपेको हो । यो व्यवस्था लागू भएलगत्तै तरलता संकट र सीडी रेसियोको दबाबमा रहेका बैंकहरुको कर्जा विस्तारमा थप ह्रास आउने देखिन्छ । घट्दो नाफाले लाभांश दर बैंकहरुको पुँजी कोष कमजोर बन्दै गएको छ । पछिल्लो समय एक दजर्न बढी वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सबै बैंकहरुले अघिल्लो वर्षको भन्दा कम लाभांश घोषणा गरेका छन् । पुँजी कोषको कारण बैंकहरुको लाभांश क्षमता पनि घट्दै गएको हो ।