अर्बपति सन्यासी, पोल्ट्रीका फादर
काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अर्बपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिनँ, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै समय लाग्दैन,’ पोल्ट्री फादरको रुपमा चिनिने व्यवसायी गुणचन्द्र विष्टले भने, ‘जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच भएको मान्छे म होइन, म त अहिले पनि सन्यासी हुँ ।’ सन्यास भनेको संसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो । सन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ । ‘ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहनेलाई सन्यासी भनिन्छ’ भनेर वृहत नेपाली शब्दकोषमा व्याख्या गरिएको छ । गुणचन्द्र विष्टले अहिले पनि आफूलाई सन्यासी भन्छन् । झ्याप्प दारी, लामो कपाल, झट्ट हेर्दा सन्यासी जस्तो देखिन्छन् पनि उनी । विद्धताको पनि कमी छैन उनमा । गुणचन्द्र विष्ट उनका बाबुआमाले दिएको नाम हो । सन्यासी भएपछि उनले आफ्नो नयाँ नाम राखे ‘स्वामी कृष्णानन्द भारती’ । जुन अहिले उनले आफ्नो परिचय दिँदा भन्ने गर्छन् । तर, उनी अरबपति हुन् । दर्जन उद्योगको मालिक पनि हुन् । भौतिक सुख सुविधा भोगेको हिसावले कोहीभन्दा कमजोर छैनन् उनी । मासु पनि खान्छन्, रक्सी पनि सेवन गर्छन् । अब उनलाई सन्यासी भनेर समाजले कसरी पत्याउने ? हामीले प्रश्न उठायौं । उनले भने, 'समाज बेवकुफ छ । नेताले राजनीतिबाट सन्यास लिए भन्छन् । खेलाडीले खेलबाट सन्यास लिए भन्छन् । झट्ट हेर्दा छोड्नेको नाम सन्यासी ।' वास्तवमा त्यो सत्य होइन । जगतगुरु आदी शंकराचार्यले शुरु गरेको दशनाम सन्यास, गोरखनाथ बाबाको सन्यास, भिक्षुहरुको सन्यास फरक फरक भएझैं आफूले गरेको सन्यास पनि फरक भएको उनको दावी छ । सन्यासीहरुको मान्यता ठाउँ अनुसार, संस्कार अनुसार फरक फरक हुन्छ । संग्रह गर्नुहुन्न भन्नेमा सबै सन्यासीको समान मत छ । ‘अहिलेको परिवेशमा भीख मागेर स्वामी बनिदैँन, कुनै बेला भीख श्रद्धापूर्वक दिइन्थ्यो, तर अहिले त्यस्तो छैन, स्वामी बन्न मालिक बन्नुपर्छ, अरुसँग मागेर मालिक बनिदैँन, आफूलाई चाहिने आफैले कमाउनुपर्छ भन्ने नवसन्यासीको मान्यता हो, म नवसन्यासी हुँ’ उनले प्रष्ट्याए । उनले सन्यासीको अर्थ ‘सङ्ग्रह नगर्ने’ प्रवृतिको अर्थ लगाए । र, आफूले धन कमाउन व्यवसाय नगरेको दावी गरे । ६० अर्बको हकदार कर्मचारी तपाईं अहिले कति सम्पत्तिको मालिक हुनुहुन्छ ? हामीले सोध्यौं । ‘त्यो त हिसाव गर्नुपर्छ’ उनले भने । बैङ्कमा कर्जा कति छ ? उनले खुलेर जवाफ दिए– ‘करिब १२०० करोड रुपैयाँ ।’ कर्जा थाहा हुने, सम्पत्ति थाहा नहुने पनि हुन्छ र ? प्रश्न झरिहाल्यो । ‘कर्जा त तिर्नुपर्ने भएकोले हिसाब राम्ररी राखिएको हुन्छ । पुस मसान्तमा कति व्याज तिर्नुपर्ने हो भनेर अहिले नै हिसाव किताव भैराखेको छ । तर सम्पत्तिको हिसाव यसरी गरिँदैन ।’ तैपनि मोटामोटी अङ्क भन्न जोड ग¥यौं । उनी बोले– ‘होला करिब ६/७ हजार करोड अर्थात कर्जाको ५÷६ गुणा ।’ अब मोटामोटी फिगर आयो । उनको सम्पत्ति ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा छ । पुँजीबादी समाजमा पुँजीको हस्तान्तरणको कुरा गर्दा पहिलो हकदार परिवारको सदस्य मानिन्छ । गुणचन्द्र विष्ट अविवाहित छन् । श्रीमती, छोराछोरी नभएको मान्छेको त्यति धेरै सम्पत्ति कसले खाला ? धेरैको मनमा हुने चासो हो । तपाईंको सम्पत्तिमा कसले हकदावी गर्नेछ ? अथवा तपाईंको शेखपछि यो सम्पत्ति कसको नाममा जाने छ ? हामीले प्रश्न तेस्र्याइहाल्यौं । उनले यस प्रश्नलाई मूर्खले सोध्ने प्रश्न भने । त्यति मात्र होइन, ‘ तपाईंको सम्पत्ति कसले खान्छ ? उनले प्रतिप्रश्न गरे । र, थपे– ‘मरेपछिको योजना कसैले बनाउँछ भने त्यो जस्तो मूर्खता अरु केही हुँदैन ।’ हामीले उहाँको लिखित योजना मागेनौं । मनको कुरा भन्न भन्यौं । त्यसपछि उनले प्रष्ट जवाफ दिए । ‘१२०० कर्मचारी छन्, मेरो शेखपछि यो उनीहरुको सम्पत्ति हुनेछ, एकजना त मेरै अगाडि छन् ।’ उनले प्रतिनिधि पात्रलाई देखाए । त्यसपछि उनी अझ अगाडि बढेर बोल्न थाले । व्यवसायीको सम्पत्ति खान सजिलो नभएको उनले तर्क गरे । ‘मसँग नगद छैन, पत्रकारले धनी, समाजले धनी भनेर चिनेका मान्छेसँग झन् पैसा हुँदैन, ऊसँग व्यवसाय हुन्छ, ठूलो व्यवसायीसँग ठूलै ऋण हुन्छ, व्यवसाय चलाउन सकेन भने ऋणले सबै सम्पत्ति खान्छ, व्यवसाय गर्न नजान्नेको लागि जति धेरै सम्पत्ति त्यति ठूलो भारी हुन्छ ।’ आइपर्दा समाल्ने सफल व्यवसायीहरुले भन्ने एउटा साझा भनाई छ– ‘पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ, त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ, त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ, अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पठाइने सद्धान्तिक विषय पनि यिनै हुन् ।’ तर गुणचन्द्रको भोगाई त्यस्तो छैन । उनी योजनावद्ध विकासमा धेरै विश्वास गर्दैनन् । ‘कुनै पनि व्यवसाय गर्नुपूर्व व्यवसाय सम्भाव्यता अध्ययन गर्ने, रिर्पोट बनाउने चलन छ, मैले पनि बिजनेश सम्बन्धी किताबहरुमा पढी टोपलेको त्यही हो, तर मेरो जीवनमा त्यो लागू भएन’ उनले भने । ‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो । गर्दिन भन्दा भन्दै गरेको कामको उदाहरणको रुपमा उनले नेपाल ग्यास कम्पनी किन्ने घट्नालाई चित्रण गरे । ‘मैले लिन्न भन्दाभन्दै समाल्नु परेको कम्पनी हो, अहिले देशको सबैभन्दा ठूलो ग्यास बोटलिङ उद्योग भएको छ’ उनले भने । नेपाल ग्यास उद्योग, नेपाल ग्यास उद्योग नारायणी, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग र सत्यनारायण ग्यास उद्योगका मुख्य लगानीकर्ता उनी नै हुन् । ‘मैले पोल्ट्रीमा पनि सबैभन्दा ठूलो व्यवसाय गर्छु भनेर काम गरेको होइन, ग्यासमा पनि होइन, काम थालिसकेपछि राम्रोसँग गर्नुपर्छ भन्ने हो, त्यसको लागि कम्पनीमा आधुनिक प्रविधिको प्रयोग पनि गर्नैपर्छ, उत्पादन क्षमता वृद्धि पनि गर्नैपर्छ, काम गर्दै गर्दा बजारले हाम्रो उत्पादन मन पराएको छ’ उनले भने । खाँचो नपरेको प्रमाणपत्र गुणचन्द्र विष्टको व्यावसायिक सफलताको आधार विश्वविद्यालयको शिक्षा पनि होइन रहेछ । उनले आफूसँग औपचारिक शिक्षाको कुनै पनि प्रमाणपत्र नभएको बताए । ‘मसँग स्कूलले दिने शैक्षिक प्रमाणपत्र पनि छैन, कलेजको शैक्षिक प्रमाणपत्र पनि छैन, मेरो जीवनमा तीनको खाँचो पनि परेन ।’ स्कूल कलेज पढ्दाको किताब तथा शैक्षिक सामग्रीहरु काठमाडौंको कालिमाटीस्थित डेरामा सहपाठीलाई छोडेको तर त्यसपछि कहिल्यै सोधी खोजी नगरेको उनी बताउँछन् । ‘जागिर खाने सोच पनि थिएन, राजनीति नियुक्ती खानुपर्छ भन्ने पनि थिएन, मलाई सर्टिफिकेट चाहिन्छ भन्ने पनि थिएन,’ कारण खुलाउँदै उनले भने । ‘मैले एसएलसी चितवन हाईस्कूलबाट पास गरेको हुँ, आइकम मिनभवन क्याम्पसमा पढेको हुँ, आइकम पास भएँ भन्ने सुनेको पनि हुँ, तर म सर्टिफिकेट लिन पनि गईँन, बिकम पढ्न भर्ना पनि भईँन ।’ मसँग फर्मल एजुकेशन पनि छैन, इनफर्मल एजुकेशन (तालिम, प्रशिक्षण) पनि छैन । ननफर्मल एजुकेशन (छलफल, स्वअध्ययन) नै मेरो ज्ञानको श्रोत हुन् । उनले भने, ‘समूहमा छलफल गर्ने हो, त्यसैको आधारमा काम गर्ने हो ।’ अब्बल व्यवस्थापक गुणचन्द्र विष्ट व्यवस्थापनमा अब्बल छन् । अभिनास ग्रुपको कार्यकारी अध्यक्ष उनी नै हुन् । पोल्र्टी फर्ममा कार्यकारी प्रमुखको जिम्मेवारी उनैले समाल्दै आएका छन् । २० हजार प्यारेन्टबाट उनले पोल्ट्री व्यवसाय शुरु गरेका थिए । अहिले उनको एक कम्पनी अभिनास ह्याचरी प्रालि लेयर ह्याचरी, बोइलर ह्याचरी, अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो कम्पनी भएको छ । विष्ट जतिबेला पोल्ट्रीमा लागे त्यतिबेला नेपालमा यसले व्यावसायिक रुप लिएको थिएन । पोल्ट्री व्यवसायको तीन वर्षमा उनलाई ठूलो सफलता मिल्यो । चितवनमा उनको काम हुन आउनेको क्रम ह्वात्तै बढ्यो । चितवनमा मात्र होइन, देशभर नै उनको अनुसरण हुन थाल्यो । ‘मैले २०४७ सालमा ह्याचरी व्यवसाय शुरु गरेको हुँ, त्यतिबेलासम्म नेपालमा यस्तो व्यवसाय कसैले शुरु गरेका थिएनन्’ उनले भने– ‘यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।’ हाल कम्पनीले सातामा ३ लाख बोइलर कुखुरा उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार उसको क्षमता सातामा ६ लाख बोइलर कुखुरा उत्पादन गर्ने हो । कम्पनीले एक हप्तामा ८० हजार लेय¥स उत्पादन गर्छ, जुन कुल बजारको ८५ प्रतिशत हिस्सा हो । अभिनास फर्म नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म हो, जहाँ दुई लाख चल्ला र ५० हजार ठूला कुखुरा पालिएका हुन्छन् । अभिनास भेट फर्मले देशभरका कुखुरा व्यवसायीहरुलाई पोल्ट्री केयर सेवा दिँदै आएको छ । पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ । त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ । त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ । `अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पढाइने सैद्धान्तिक विषय पनि यिनै हुन् । ‘अभिनास भेट फर्म पोल्ट्री व्यवसायीलाई सबै प्रकारको सेवा एकै ठाउँमा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो, जहाँ कुखुरालाई कुन रोग लागेको हो, जाँच गर्ने, रोग पत्ता लगाउने, औषधि उपचारको सिफारिस गर्ने, औषधि तथा खोप सेवा उपलब्ध गराउने, उपचारको क्रममा प्रयोग हुने सामाग्री उपलब्ध गराउने, कुखुराको दाना उत्पादन तथा वितरण गर्ने सबै काम गर्छ’ विष्टले भने । अहिले नेपालको ह्याचरी व्यवसायको कुल डेढ खर्ब लगानी भएको अनुमान छ । यो क्षेत्रमा ५ लाख मानिसको सक्रिय लगानी छन् । कुखुराको मासु र अण्डामा २२ वर्षदेखि देश आत्मनिर्भर भएको छ । हरेक वर्ष कुखुराको मासु र अण्डाको खपत २० प्रतिशतले बढ्दै गएको थियो । अण्डाको बजार पनि वार्षिक १० प्रतिशतले बढ्दै गएको थियो । कोभिड महामारी फैलिनुअघि प्रतिदिन १० लाख मेट्रिकटन मासु खपत हुन्थ्यो भने अहिले ६ हजार मेट्रिकटन मासु खपत हुन्छ । अण्डाको खपत पनि घटेको छ । ‘अहिले सबै क्षेत्रमा डामाडोल भएको छ, उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’– उनले भने । कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकारले लिएको नीतिप्रति उनको तीव्र असन्तुष्टि छ । ‘किसानको खोर बन्द भएका छन्, २०७६ सालमा ३४८ ह्याचरी फर्म थिए, अहिले आधा बन्द भएका छन्, कति किसानको फर्ममा बैङ्कले ताला लगाएको छ, अवस्था यस्तो रहिरह्यो भने केही वर्षमा कुखुरा, अण्डा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ’ उनले भने । अभिनास ग्रुपले अर्गानिक मल, एग्रोभेट, मेटल, ग्यास उद्योगमा पनि लगानी विस्तार गरको छ । अभिनास ह्याचरी, अभिनास फर्म, अभिनास भेट फर्मा, चितवन गुराँस इन्भेष्टमेन्ट, अभिनास इनर्जी, स्काईलार्क एग्रो लगायत कृषिमा आधारित उद्योगहरुमा विष्ट आफैले नेतृत्व लिएका छन् । नेपाल ग्यासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका गोकुल भण्डारीले समालेका छन् । आइरनमा शैलेश श्रेष्ठले कार्यकारी प्रमुखको भूमिका खेलेका छन् । ‘व्यवस्थापनमा एमाले नेता केपी ओली जस्तो हुकुमी शैलीमा काम गर्दिन, सिनियर साथीहरुसँग छलफल गरेर नै काम हुन्छ ।’ नेत्र वान्तवा उनको लागि लागि विशेष साथी हुन् । जसले उनलाई व्यवसाय शुरु गर्ने बेलादेखि अप्ठ्यारो अवस्थामा सहयोग गरे । व्यवसाय शुरु गर्ने बेलामा दाई रुपचन्द्र विष्टले पुँजी दिएर सहयोग गरेको थिए । जीवनको रोजाइ उनको जीवनमा धेरै आरोह अवरोह छन् । ६ दाजुभाई, ३ दिदी बहिनीसहितको संयुक्त परिवारमा उनी जन्मे, हुर्के । १५ देखि २० वर्षको उमेरमा उनले बुबाले चलाएको खाद्यान्य पसल पनि चलाए । १२ वर्ष सन्यासी भएर आश्रममा पनि बसे । पछि आफ्नै बलबुताले चलाएको ठूलो उद्योगहरु पनि चलाए । कुन अवस्थाको, कुन परिवेशको जीवन उत्कृष्ट रह्यो ? ‘जे मा मजा लियो त्यही, म ४३ वर्षअघि जोगी भएको हुँ, अहिले पनि जोगी नै छु, त्यो बेलामा आश्रममा बसेको थिए, अहिले बिजनेश हाउसमा बसेको छु’ उनले भने– ‘मैले चाहेर यो व्यवसायमा हात हालेको हुँ, मलाई कसैले भारी बोकाइदिएको होइन, कम्युनमा बस्दाको झन्झट एक प्रकारका थिए भने अहिले अर्कोथरी झन्झट छ, यसमा कसैलाई दोष दिनु पनि परेन ।’ ‘कुनै बेला म चङ्गा थिएँ, कम्यूनमा आरामले बसेको थिएँ, अहिले सरकारी कर्मचारीको चाकडी गर्दै हिड्न परेको छ । १२ सय कर्मचारीको १२ सयथरी कुरा सुन्नुपर्छ, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा’ उनले भने, ‘पूर्ण स्वतन्त्रता कहीँ पनि हुँदैन । कम्युनमा पनि नियमहरु हुन्छन्, त्यसको पालना गर्नुपर्छ, व्यवसायमा पनि नियम हुन्छन्, त्यसको पालना गर्नुपर्छ ।’ (देशविकास पत्रिकाको वर्षअङ्क बाट)
भीडले माग गरेपछि सेबोनले सेवा शुल्क घटायो, नाफामा ठूलो असर गर्छ : मेख थापा
एनआईबिएल एस क्यापिटल (तत्कालिन एनआईबिएल क्यापिटल मार्केट्स) वि.सं. २०६७ फागुनमा कम्पनी रजिष्ट्रारमा दर्ता भई २०६९ श्रावणदेखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साविक एनआईबिएल क्यापिटल मार्केट्स र साविक एस क्यापिटल एक आपसमा मर्ज भई वि.सं. २०७४ माघ २८ गतेदेखि एनआईबिएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार गर्दै आएका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवान्त बहादुर पाँडे कार्यरत छन् । सीईओमा पाँडे भएपनि क्यापिटलको सबै काम भने नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापाले गर्दै आएका छन् । चार्टर्ड एकाउण्टेन्ट समेत रहेका डीसीईओ थापासँग नियामक नेपाल धितोपत्र बोर्डमा उपनिर्देशक तथा विभागिय प्रमुख तहमा करिब ४ वर्षको कार्य अनुभव छ । उनले स्नातक तहमा लेखा तथा वित्त विषयको अध्यापन समेत गरेका छन् । यसअघि सिद्धार्थ क्यापिटलमा प्रमुख संचालन अधिकृत र कम्पनी सचिव पदमा करिव ३ वर्ष बढी काम गरेका उनी एनआईबिएल एस क्यापिटलमा महाप्रबन्धक र नायव कार्यकारी अधिकृतको पदमा ७ वर्षदेखि कार्यरत छन् । डीसीईओ थापा नेपाल मर्चेन्ट बैंकर्स संघका पूर्व अध्यक्ष समेत हुन् । उनको कार्यकाल गत मंसिरमा सम्पन्न भएको थियो । हाल मर्चेन्ट बैंकिङ्ग क्षेत्रले गरिरहेका कामकारवाही र चुनौती लगायतका विषयमा केन्द्रित भएर विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । मर्चेन्ट बैंकर संघको अध्यक्षको कार्यकाल कस्तो रह्यो ? दुई वर्षअघि मर्चेन्ट बैंकर्स एशोसियसनको अध्यक्ष पद ग्रहण गरेको थिएँ । मेरो कार्यकालमा सम्भव भएसम्मका एजेण्डाहरु सम्पन्न गरेको छु । विभिन्न तालिमको आयोजना, विभिन्न संघ संस्थाहरुसँग मिलेर सचेतनामूलक कार्यक्रम, म्युचुअल फण्डको ट्याक्स (टीडीएस) को मुद्दा, प्यान नम्बरको मुद्दा, क्षमता अभिवृद्धि र बैंकर्सहरु बीचमा स्पोर्ट मिट्स लगायत थुप्रै कामहरु सम्पन्न भएका छन् । यी बाहेक विभिन्न क्षेत्रमा काम भएका छन् । नयाँ कार्यसमितिलाई काम गर्न बाटो कोरिएको छ । अझै के–के काम गर्न पाए हुन्थ्यो लाग्छ ? मेरो कार्यकालमा कोरोना महामारी सुरु भयो । कोरोनाले गर्दा कतिपय कामहरु गर्न गाह्रो भयो । रफ्तारमा काम गर्छु र सबै साथीहरुलाई मिलाएर लैजान्छु भन्ने लागेको थियो तर, कोरोना महामारीले गर्दा अफ्ठ्यारो भयो । क्षमता वृद्धि र सचेतनामूलक कार्यक्रमहरु धेरै गर्न सकिन्थ्यो । संघका सदस्यहरुलाई तालिम दिने र अनुभव आदानपप्रदान गर्ने काम अझै बढी गर्न सकिन्थ्यो । नेशनल बैंकिङ्ग इन्स्च्युट (एनबिआई)सँग एमओयू नै भएको थियो । एनबिआईसँग मिलेर धेरै काम गर्न सकिन्थ्यो तर त्यो पुरा हुन सकेन । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पत्रकारहरुलाई मर्चेन्ट बैंकिङ्ग भनेको के हो, यस अन्तर्गत के-के पर्छन्, म्युचुअल फण्डका कामहरु, पोर्टफोलियो म्यानेजमेन्ट सञ्चालनका बारेमा धेरै भन्दा धेरै जानकारी गराउने मेरो उद्देश्य थियो । विराटनगर र सुर्खेतमा प्रदेशस्तरीय लगानीकर्ता सचेतनामूलक कार्यक्रम पनि गर्याै । अन्य प्रदेशमा गर्ने योजना थियो । नयाँ कार्यसमितिले अगाडि बढाउँछ । नियामक निकायहरुसँग छलफल गर्न सकिएन । नियाम निकायले नीति नियम मर्चेन्ट बैंकरहरुको सहकार्य बिना नै ल्याउने प्रवृत्ति छ । हामीले निरन्तर आवाज पनि उठायौं । तर, कहिलेकाँही झ्याप्प ल्याउँदा गाह्रो हुने गरको छ । यो विषयमा हामीले धेरै प्रयास गर्न बाँकी रहेको छ । मर्चेन्ट बैंकका चुनौती के-के हुन्, आगामी दिनमा कसरी अघि बढ्नुपर्छ ? मर्चेन्ट बैंक कसरी दीगो हुने र कसरी विकास गर्ने भन्ने ठूलो चुनौती छ । सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरुमा ४/५ वटा बाहेक अन्य कम्पनीलाई धेरै गाह्रो छ । केही कम्पनीहरुले १० प्रतिशतभन्दा बढी लाभांश दिन पनि सकेका छैनन् । मर्चेन्ट बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्छ । त्यो २० करोडलाई बैंकको फिक्स्ड डिपोजिट (एफडी) मा राखेर १० प्रतिशतका दरले २ करोड ब्याज आउँछ । त्यहि ब्याजले थोरै कर्मचारी राखेर व्यवस्थापन गरिरहेका छन् । बजारको ब्यापकता बढ्दै गएको छ । डिम्याट खाता, इस्यू म्यानेजर, म्युचुअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरीको जसरी ब्यापक वृद्धि भइरहेको छ, त्यो हिसावमा काम हुन सकेको छैन । मर्चेन्ट बैंकले दक्ष जनशक्ति राख्नु पर्ने र उपत्यका बाहिर पनि आफ्नै शाखा खोलेर काम गर्नुपर्ने बेला आएको छ । नियामकले पनि मर्चेन्ट बैंकहरुको आम्दानीका स्रोतहरु कटौती गरिरहेको छ । पूँजी बजार घट्दा गत वर्ष ५०/६० प्रतिशत आम्दानी घटेको थियो । यो वर्ष पनि सोही बराबर आम्दानी घट्छ । अहिले खर्च बढ्दै गएको छ । अहिले नियम कानुहरु पनि कडा हुँदै गएका छन् । सम्पत्ति शुद्धिकरण र आतङवाद वित्तको सुरक्षा (एएमएल/सीएफटी) देखि लिएर कम्प्लाइन्सका मुद्दाहरु धेरै छन् । विजनेशलाई स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्ने जरुरी छ । सबैभन्दा ठूलो दक्ष जनशक्ति अभावको चुनौती छ । आम्दानीको स्रोत दीर्घकाल नभएकाले जनशक्तिलाई काम लगाउन गाह्रो छ । नयाँ-नयाँ स्कोप पनि सञ्चालन हुन सकिरहेका छैनन् । बुक बिल्डीङ प्रक्रिया, कर्पाेरेट एडभाइजरी, एसआईपी र पीईभीसी फण्डहरु सञ्चालन गर्न दिन दिएको छैन । यदि दिएपनि कार्यान्वयनमा ढिलाइ गरेको छ । मर्चेन्ट बैंकको खर्च बढेको बढ्यै छ । त्यसैले दीर्घकालको योजना बनाउन दक्ष जनशक्ति राख्न गाह्रो भएको हो । नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । नियामकले अस्वस्थ प्रतिस्पर्धा रोक्न कुनै पहल नै चालेको छैन । मर्चेन्ट बैंकहरुसँग छलफल नगरी नियम कानुन ल्याउँदा कार्यान्वयमा गाह्रो हुने गरेको छ । फण्ड म्यानेजमेन्टका लागि डोमेस्टिक सफ्टवेयरबाट अन्तर्राष्ट्रिय सफ्टवेयरमा जानु पर्ने भएकाले सफ्टवेयरको समस्या पनि छ । तपाईंहरुको आम्दानीको स्रोत कटौति गर्दा कति असर गर्छ ? नियामकले कुनै पनि नियम कानुन ल्याउँदा वा सेवा शुल्क कटौती गर्दा अध्ययन गरेर ल्याउनु पर्छ । त्यसमा हामी मर्चेन्ट बैंकरलाई पनि संलग्न गराएको हुनुपर्छ । मर्चेन्ट बैंकको आम्दानीको स्रोत कटौती गर्न सजिलो छ तर, के असर पर्छ भनेर सोच्नु आवश्यक छ । सर्वसाधारणले सर्वसुलभम सेवा पाउनु पर्छ भन्ने मर्चेन्ट बैंकरहरुको पनि मान्यता हुन्छ । सर्वसाधारणको सेवा शुल्क घटाउँदा लागत कति घट्छ, घटेको लागतमा योगदान कसले गर्ने हो, कसको आम्दानीबाट त्यो छोड्नुपर्छ भनेर अध्ययन हुन जरुरी छ । तर, भीडले माग गरेपछि झ्याप्पै घटाउँछन् । खुला बजारमा सेवा शुल्क समान गर्नुपर्छ भन्ने हुँदैन । कुनै बैंकले आफ्नो ग्राहकलाई निशुल्क गर्छु भन्दा केही फरक पर्दैन । यस्तो कुरालाई प्रोत्साहन गर्नुपर्छ किनभने आ-आफ्नो रणनीति अनुसार काम गरेका हुन्छन् । नेपाल बैंकर्स संघले राष्ट्र बैंक र अर्थमन्त्रालयसँग अनौपचारिक सहमति अनुसार बजारको ब्याजदर निर्धारण गरिरहेको छ । सोही अनुसार मर्चेन्ट बैंकले शुल्क तोक्नु पाउनु पर्छ । इण्डष्ट्रि नै स्थापित हुन नसकेका कारण त्यो पुरा हुन सकिरहेको छैन । मर्चेन्ट बैंकहरुमा पनि नराम्रो प्रवृत्ति देखिएको छ । सुधार गर्न धेरै प्रयास गरिए पनि त्यो रोक्न सकिएको छैन । कुनै मर्चेन्ट बैंक १० जना कर्मचारीले सञ्चालन भइरहेका छन् भने कुनै मर्चेन्ट बैंकमा १ सय जना कर्मचारी छन् । एनआईबिएल एस क्यापिटलको वार्षिक कारोबार ५० करोडको हुन्छ भने कुनैको ५ करोड पनि कारोबार हुँदैन । जसले गर्दा मर्चेन्ट बैंकबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । नयाँ कम्पनीले काम पाउनै पनि निशुल्क काम गरिरहेका छन् । नियामकले अस्वस्थ प्रतिस्पर्धा रोक्न पहल गरेको छैन । नयाँ लाइसेन्स वा नवीकरण गर्दा न्यूनतम मापदण्ड तोक्न आवश्यक छ । लाइसेन्स लिएर होल्ड गर्नेलाई दिनु हुँदैन । उनीहरुले बजार मात्रै बिगारेका छन् । ५/७ वटा बैंकबाहेक अन्य बैंकले १० जना कर्मचारी राखेर नो विजनेश भन्दै लाइसेन्स होल्ड गरेर बसेका छन् । त्यस्तो कम्पनीमा जनशक्ति पनि उथलपुथल भईरहेको हुन्छ । कुनै बैंकले जुनियरलाई सीईओ बनाएका छन् । जसले गर्दा त्यो कम्पनीको ब्रेन (दिमाग) नै हुँदैन । यस्तोलाई नियामकले कडाई गर्नुपर्छ । मर्चेन्ट बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव किन भयो ? तपाईंहरुले उत्पादन गर्न नसकेको हो ? मर्चेन्ट बैंकमा दीर्घकालको अवधारणा देखिँदैन । जनशक्ति उत्पादन गर्नलाई दीर्घकाल सोच राख्नुपर्छ । नियामकको पनि त्यो सोच छैन । नियामकले मर्चेन्ट बैंकिङ्ग इण्डष्ट्रिलाई बलियो बनाउछु भन्ने सोच राख्नुपर्छ । कुनै मान्छेलाई पर्मानेन्ट हायर गर्न लङटर्म लायबिलीटीज बोक्नुपर्छ । हायर गरेको मान्छेलाई मोटिभेट गरिराख्नु पर्छ । प्रमोशन गर्नुपर्याे, सेवा सुविधा बढाउनु पर्याे, कामले पनि एक्साइटमेन्ट दिनुपर्याे । अनि मात्रै मान्छे टिक्छ । यो क्षेत्रमा आकर्षण धेरै देखिँदैन । यो इण्डष्ट्रि मार्केट डिपेन्डेन्ड भयो । अस्वस्थ प्रतिस्पर्धा बढ्यो र सेवा शुल्क जथाभावि घटाई दियो । दीर्घकालमा राम्रो गर्न सक्छौ भन्ने रेभिन्यूको स्रोत देख्न गाह्रो छ । मर्चेन्ट बैंकको इण्डष्ट्रि अबको १० वर्षमा कहाँ हुन्छ भनेर स्पष्ट भिजन बनाउन सकिएको छैन । त्यसैले हामीले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको नै हो । जनशक्ति उत्पादन भन्दा पनि टिकाउन नै सकिँदैन । मर्चेन्ट बैंकका टप लेभलका जनशक्ति पनि धेरै पलायन भइरहेका छन् । मध्यम लेभलका कर्मचारी २/४ वर्ष जागिर गरेर बैंक, बीमातिर जाने गरेका छन् । सेवा सुविधा बैंकहरुको दाँजोमा दिन सकिएको छैन । त्यहि लेभलको एक्साइटमेन्ट, क्यारियर दिन नसक्दा पलायन हुने गरेका छन् । सेवोनले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदा नेप्सेको मात्रै क्षमता वृद्धि गर्ने भन्छ । मार्केट स्टेक होल्डर हाम्रो क्षमता अभिवृद्धि खोइ त ?, उनीहरु मात्रै बलियो बनेर बजार चल्छ त ? हामी बलियो हुनु पर्दैन ? कि प्राइभेट सेक्टर आफै बलियो हुन्छ ? भनेर प्रश्न गर्छाै । यदि आफै बलियो हुने हो भने नीति नियमले सपोर्ट गर्नुपर्याे नी । मर्चेन्ट बैंकले के योगदान गर्छ, भविष्यमा कसरी ग्रोथ गर्छ, कसरी ह्युमन क्यापिटल वा सिस्टम विकास गरिरहेको छ भन्दा जवाफ दिन गाह्रो छ । माउ कम्पनी मर्जर हुँदा मर्चेन्ट बैंकहरु कसरी अघि बढ्छन् ? मर्चेन्ट बैंकमा सबैभन्दा पहिलो मर्जर एनआईबिएल एस क्यापिटल हो । सेबोनले त्यहि बेला नीति ल्याएको हो । माउ कम्पनी मर्ज भएपछि क्यापिटल पनि मर्ज गर्नै पर्छ, बेच्न पाईँदैन भन्ने सेबोनको नियत थियो । हामीलाई कि लिक्वीडिट गर्नुपर्याे कि मर्ज गर्न पर्याे भनेको थियो । सेबोनले हामीलाई फोर्स गरेर तिमीहरुले बेच्न पाउँदैनौ, मर्जर गर्नुपर्छ भनेको थियो । एसलाई बिक्री गर्ने सामान्य छलफल भएको थियो । अन्ततः मर्ज गरियो । यो नीति ठिक छ मर्ज गर्नै पर्छ । अहिले पनि संख्या धेरै भएको छ । माउ कम्पनी मर्ज हुँदा राम्रो प्रभाव पार्छ । ४/५ वटा कम्पनी तुरुन्तै मर्ज हुँदै छन् । नबिल इन्भेष्टमेन्ट र नेपाल बङ्गलादेश क्यापिटल मर्ज भइसकेँ । ग्लोबल आइएमई र बिओके क्यापिटल, प्रभु र सेञ्चुरी क्यापिटल, एनआईबिएल एस र मेगा क्यापिटल, हिमालयन र सिभिल क्यापिटल मर्ज हुँदैछन् । कुनै–कुनै क्यापिटल बिक्री पनि गर्न खोजिरहेका छन् भन्ने हल्ला छ । सेबोनको त्योबेलाको स्ट्याण्ड नीति अहिले पनि कायम छ भने बेच्न दिनु हुँदैन भन्ने मेरो मान्यता छ । त्यो बेलामा हामीलाई बेच्न नदिएकै हो । फेरी नयाँलाई लाइसेन्स दिँदा उस्तै हालत हुन्छ । अहिलेको नियम अनुसार सबै विकास बैंकले लाइसेन्स लिन पाउँछन् । बजारमा हेर्दा अन्य बैंकले पनि मर्चेन्ट बैंकको लाइसेन्स लिन खोजिरहेका छन् । भोलिका दिनमा इन्स्योरेन्स कम्पनीले पनि ल्याउन सक्छन् । त्यसैले पुनः लाइसेन्स बाड्ने हो भने मर्जको कुनै अर्थ छैन । मर्चेन्ट बैंकको संस्ख्या कति हुनुपर्छ ? संख्या भन्दा पनि अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन । स्ट्याण्डर्ड मेन्टेन गरेर विजनेश गर्ने कम्पनी हुनु पर्छ । अहिले जसले जे गरेपनि हुन्छ भन्ने अभ्यास भइरहेको छ । त्यसको अन्त्य हुनु पर्छ । स्वच्छ प्रतिस्पर्धा हुने हो भने ३० वटा भएपनि फरक पर्दैन । सेबोनसँग मर्चेन्ट बैंकहरुको तालमेल नमिलेको हो ? सेबोनका कर्मचारीले मर्चेन्ट बैंकरहरुसँग छलफल गर्नुपर्छ र भन्या व्यवहार गर्छन् । उनीहरुसँग सुझाव माग्न जरुरी छ र जस्तो व्यवहार गरिरहेका हुन्छन् । कुनै पनि नीति नियम ल्याउँदा हामीसँग छलफल गर्दा के बिग्रन्छ र । हामी पनि मार्केटको पार्ट हो । उनीहरुको निती नियम अनुसार काम गर्ने हो । हाम्रो पनि कुरा सुन्नु पर्छ । कुनै नीति नियम ल्याउँदा हामीहरुको पनि सझुाव राख्ने अवसर हामीलाई दिनुपर्ने हुन्छ । तर, उहाँहरुले हामीसँग पनि सल्लाह गरेर अघि बढ्नुपर्छ । अन्य काम हामीले गर्ने हो नसकेको काम छोडिदिने हो । तालमेन नै नमिलेको भन्ने चाहि छैन । मर्चेन्ट बैंकको दायरा कति पुग्यो ? त्यति धेरै ठूलो छैन । शाखा खोल्ने अभ्यास नै छैन । आश्वा सबै बैंकले गर्ने हो । डिम्याट खोल्न र कतिपय डिपी बैंकहरु पनि छन् । अन्य सेवाका लागि मर्चेन्ट बैंकहरुले शाखा खोलेका छैनन् । एनआईबिएल एस क्यापिटलले हेड अफिस बाहेक ६ वटा शाखाबाट सेवा दिइरहेकोु छ । सेयर बजारमा संस्थागत लगानीकर्ताको प्रभावकारी भूमिका किन हुन सकेन ? नेपालमा कसलाई संस्थागत लगानीकर्ता भन्ने भनेर दुविधा छ । बैंक, वित्तीय संस्था, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीलाई संस्थागत लगानीकर्ता भन्ने हो भने बैंकलाई राष्ट्र बैंकले कडाइ गरेको छ । बीमालाई बीमा प्राधिकरणले कडाइ गरेको छ । कोसहरुले खुला रुपमा लगानी गरेको देखिएको छैन । खासमा भन्ने हो भने नेपालमा संस्थागत लगानीकर्ता नै छैनन् । संस्थागत लगानीकर्ता को हुन भनेर निर्णय गर्नुपर्छ । संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न केके कठिनाइ छन् भनेर अध्ययन हुन आवश्यक छ । धितोपत्र बोर्डले फुकुवा गर्न पहल गर्नुपर्छ । संस्थागत लगानीकर्ता बजारमा ल्याउन कुनै मतलब नै गरेको छैन । म्युचुअल फण्डलाई गलत बुझेका छन् । म्युचुअल फण्डले मार्केट मेकरको भूमिका खेल्नुपर्याे भनेर आवाज उठ्छ । लगानीकर्ताहरु पनि बजार घट्दा मात्रै आवाज उठाउनु हुन्छ । बजार बढेको बेला आफैं फाइदा लिन तल्लिन हुन्छन् । बजार घटेको बेला म्युचुअल फण्डने किनेन्, बजारलाई थामेन भन्नु हुन्छ । घाटा जति म्युचुअल फण्डले ब्यहोर्नुपर्ने र नाफा जति हाम्रो हो भन्ने एट्टिच्यूड लगानीकर्ताहरुमा छ । तर, म्युचुअल फण्ड लगानीकर्ता नै हो । किनभने म्युचुअल फण्डमा लगानीकर्ताको पैसा हो । सर्वसाधारण लगानीकर्ताको रकम उठाएपछि जवाफदेही हुनुपर्छ । त्यसैले म्युचुअल फण्ड शुद्ध लगानीकर्ता हो । हामीले फाइदा भयो भने गर्ने हो र घाटा हुने हो भने केही पनि गर्दैनौ । म्युचुअल फण्डले बजार थाम्दैनन् । एनआईबिएल एस क्यापिटलले के–के काम गरिरहेको छ ? एनआईबिएल एस क्यापिटलले मर्चेन्ट बैंकहरुले गर्ने सबै काम गरिरहेको छ । मर्चेन्ट बैंकिङ्ग अन्तर्गत पर्ने इस्यू म्यानेजमेन्ट, अण्डर राइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट र आरटिएस गरी ४ वटा काम गर्छ । यसका अलवा कर्पारेट एडभाइजरीको पनि काम गरिरहेका छौं । ओपन इण्डेड म्युचुअल फण्डको सेवा दिइरहेका छौं । डीपी वा निक्षेप सदस्यका रुपमा पनि सेवा दिइरहेको छ । पीइभीसीको लाइसेन्स पाइसकेको छ । अब फण्ड दर्ता गरेर छिट्टै सञ्चालन गर्ने हो । शाखा विस्तार गरेर सेवालाई जनमानसमा पुर्याउने काम गरिरहेको छ । सातै प्रदेशमा जाने हाम्रो उद्देश्य थियो । एउटा शाखा सञ्चालन गर्न ४÷५ लाख खर्च आउँछ । तैपनि हामीले यो वर्ष कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गर्ने योजना छ । यो वर्षभित्र सातै प्रदेशमा पुग्ने लक्ष्य छ । एनआईबिएल एस क्यापिटलको डिम्याट संख्या ३ लाख १० हजार पुगेका छन् । डिम्याटमा पहिला एक नम्बरमा थियौं । एनआईबिएल एस क्यापिटलले आक्रामक विजनेश किन नगरेको हो ? डिपीको विजनेश बैंकसँग धेरै जोडिन्छ । डिम्याट खाता देशभरि खोल्नुपर्ने हुन्छ । देशभरि मर्चेन्ट बैंकको सञ्जाल छैन । नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा संख्या ८९ वटा मात्रै छन् । बैंकले शाखा सञ्जाल धेरै विस्तार नगरेको हुँदा अन्य डिम्याट खाता खोल्ने संख्या पन वृद्ध हुन सकिरहेको छैन । त्यसैले विजनेश पनि आक्रामक हुन सकिरहेको छैन । एनआईबिएलको प्रतिस्पर्धा कोसँग हो ? वास्तवमा मर्चेन्ट बैंकमा प्रतिस्पर्धा गर्न बजार नै छैन । सबै मिलेर बजारलाई बलियो र फराकिलो बनाउन आवश्यक छ । विजनेश कसले ल्याउने भनेर इस्यू म्यानेजमेन्टमा प्रतिस्पर्धा छ । म्युचुअल फण्ड सबैको छ । डीपीमा पनि प्रतिस्पर्धा गर्ने गरी विस्तार भएको छैन । अहिले प्रतिस्पर्धा भन्दा पनि सबै मिलेर काम गर्न आवश्यक छ । एनआईबिएल एस क्यापिटलको प्रतिस्पर्धा ग्लोबल आइएमई, एनएमबि, नबिल, सिद्धार्थ, प्रभु, एनआईसी एशिया क्यापिटलसँग हो । उनीहरुसँगै हामी पनि छौं । कतिपयमा हामी नम्बर वान छौं, कतिपयमा उनीहरु नम्बर वान छन् । पोटफेलियो साइज एनआईबिएल एसको ठूलो छ । आरटिएसको सबैभन्दा बढी संख्या एनआईबिएल एससँग छ । रेभिन्यूमा टप मध्येमा छ । सबै भन्दा बढी कर्मचारी संख्या भएको क्यापिटल एनआईबिएल एस हो । उपत्यका बाहिर पनि शाखा विस्तार गर्नेमा एनआईबिएल एस क्यापिटल पहिलो हो । एनआईबिएल एस जहिले पनि टप थ्री भित्र रहन्छ । एनआईबिएल एस क्यापिटलले के के अफर सञ्चालन गरिरहेको छ ? क्यापिटलमा दिन मिल्ने सेवा कम छन् । लाइसेन्स प्राप्त सेवा मात्रै दिने हो । डिपी, पोर्टफोलियो म्यानेजमेन्टमा एनआईबिएल एसले अफरको व्यवस्था गरेको छ । डिम्याट खाता खोल्दा आजीवन शुल्क तिर्न मिल्दैन । १९९९ रुपैयाँमा आजीवन डिम्याट र मेरो सेयर खाता खोल्न सकिन्छ । पोर्टफोलियो म्यानेजमेन्टमा न्यून शुल्कमा सेवा दिइरहेका छौं । लाइसेन्स सर्भिस भएकाले धेरै स्किम ल्याउन सकिएको छैन । पोर्टफोलियो म्यानेजमेन्टमा कस्ता कम्पनीहरु छनोट गर्नुपर्छ ? एनआईबिएल एस क्यापिटलले १ हजार भन्दा बढीको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेको छ । धेरै संख्या भएको कम्पनी पनि एनआईबिएल एस क्यापिटल हो । ४ अर्ब भन्दा बढीको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेको छ । फण्डामेन्टल्ली राम्रा कम्पनीहरु छनौट गर्ने हो । कहिलेकाँही बजारको ट्रेण्ड अनुसार सर्ट बेनिफिट लिन सकिन्छ भने त्यस्ता कम्पनीहरु पनि छनोट गर्नुपर्छ । पोर्टफोलियोमा ग्राहकहरुको रुची अनुसार हुन्छ । ग्राहकको जोखिम क्षमता कति छ, त्यहि अनुसार कम्पनी छनोट गरेर लगानी गरिन्छ । पोर्टफोलियो म्यानेजमेन्टमा आकर्षण बढ्दो छ । अझै आकर्षण बढाउन विभिन्न माध्यमहरुबाट प्रमोशन भइरहेको छ । सेयर बजार किन घटेको हो ? अर्थतन्त्र सबै नेगेटिभ भएका बेलामा बजार मात्रै बढ्नु पर्छ भन्ने हुँदैन । बजार पिकमा पुगेपछि अर्थतन्त्रका सबै सूचकहरु खराब देखिए । अर्थतन्त्र सुधार हुँदै भएपछि बजार पनि बढ्दै जाने हो । अब अर्थतन्त्र सुधारसँगै बजार बढ्नुको विकल्प छैन । अर्थतन्त्र कसरी जान्छ भन्नेमा बजार निर्भर हुन्छ । अब बजार बढ्यो भने पहिलाका उच्च रेकर्ड तोड्छ । सेयर बजारमा राम्रा भनिएका कम्पनीको सेयरमूल्य कम छ, ब्यालेन्ससिट नेगेटिभ भएका कम्पनीको सेयर मूल्य उच्च छ, किन ? बजारमा धेरै फ्याक्टरले काम गर्छ । बजारले फण्डामेन्टल मात्रै हेर्दैन । सेयर बजारमा ग्रीड एण्ड फेल, डिमाण्ड एण्ड सप्लाइ देखिएको हो । तर यो सर्टटर्म मात्रै हो । दीर्घकालमा हुने भनेको फण्डामेन्टल अनुसार नै हो । यस्ता कम्पनीको सेयर मूल्य एकाध वर्ष उच्च भएपनि डुबाउँछन् । दीर्घकालमा राम्रा कम्पनीले उकास्छ । मार्केटमा सूचना विश्लेषण गरेर भन्दा पनि कसले के भन्छ, त्यसको आधारमा लगानी गर्ने चलन छ । पहिलाभन्दा मार्केटमा धेरै परिवर्तन भएको छ । अनलाइन सिस्टम, साक्षरता र सचेतना बढ्दै गएको । मर्चेन्ट बैंकहरुबीच मर्जर के भइरहेको छ ? नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि हामी पनि मर्ज हुने हो । हामीहरुमा पनि मर्जरको छलफल भइरहेको छ । तर, बैंकको मर्जर पछि सजिलो हुन्छ । बैंकको मर्जर जुन दिन सकिन्छ त्यहि दिनबाट एनआईबिएल एस र मेगा क्यापिटल इन्भेष्टमेन्ट बैंकको १ सय प्रतिशत सब्सिडेरी हुन्छ । दुईटै क्यापिटलको माउ कम्पनी एउटै हुन्छ । दुईटैमा शत प्रतिशत सब्सिडेरी हुन्छ । मर्जर पछि टेक्निकल्ली मिलाउने मात्रै हो । त्यो दुइतीन महिनाभित्र नै सम्पन्न हुन्छ ।
जीवन बीमा कम्पनीले उठाए ११ अर्ब २७ करोड प्रथम बीमाशुल्क, ९ कम्पनीबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै सो मात्राको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट सो मात्राको प्रथम प्रिमियम उठाउन सफल भएका छन् । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । मंसिरसम्ममा उठेको प्रथम बीमाशुल्कमध्ये दुई कम्पनीले अर्ब बढी उठाएका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको छ । बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको उक्त बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् । त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तिमा भने ज्योति लाइफ ९औं स्थानमा थियो । कार्त्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिरसम्ममा संकलन गरेका छन् । प्राइमलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको छ । मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । यता गुराँस लाइफले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । कम्पनीले मंसिरमा मात्रै १ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम प्रथम बीमाशुल्कबाट संकलन गरेको छ । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएको छ ।