बैंकबाट किन धमाधम बाहिरिँदै छन् संस्थापक सेयरधनी ?
काठमाडौं । गत पुस १९ गते भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । संस्थापक सेयरधनी रहेको भाटभटेनीले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा गरेर बैंकबाट बाहिरिने बतायो । जसको प्रतिकित्ता सेयर मूल्य २ सय रुपैयाँ तोकिएको छ । गत पुस २० गते एनआईसी एशिया बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरे । ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर अहिले बिक्रीमा छ । यस्तै, गत पुस १२ गते नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ७ जना संस्थापक सेयरधनीहरुले १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरे । बैंकका संस्थापक सेयरधनी ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गरेर बैंकिङ उद्योगबाट बाहिरिने निर्णय गरे । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यति मात्रै होइन गत मंसिरमा एनएमबि बैंकले संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर बिक्री गर्न सूचना प्रकाशन गर्याे । बैंकको उक्त सेयर न्यूनतम प्रतिकित्ता १८० रुपैयाँमा बिक्री गरेको थियो । मंसिरमै नबिल बैंकले पनि तीन पटक संस्थापक सेयर बिक्रीमा राख्यो । बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टकाे ३ लाख २ हजार ५४५ कित्ता, मंसिर १५ गते इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)को १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता र मंसिर ११ गते केही संस्थापक सेयरधनीको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । यी त केही उदाहरण मात्रै हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री गर्ने सूचना प्रायः दैनिक आउँछन् । यसरी एकपछि अर्को बैंकबाट संस्थापक सेयरधनीहरु बाहिरिनु कस्तो संकेत हो ? यो संकेत आफैमा बैंक तथा वित्तीय क्षेत्रका लागि सुखद होइन । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल लगानीकर्तालाई पैसा आवश्यक परेपछि सेयर बिक्री गर्नु परेको र यो नियमित प्रक्रिया नै भएको धारणा राख्छन् । थोरै कित्ता सेयर बिक्री गर्नुलाई संसयको रुपमा लिन नहुने उनको भनाइ छ । बैंकहरुमा हजारौं संस्थापक सेयरधनी रहेकाले केही संस्थापक बाहिरिनुमा कुनै तात्विक फरक नपार्ने उनको धारणा छ । ‘सानो सानो संस्थापक सेयर बिक्री गर्नु सामान्य विषय हो, प्रतिफल कम दिएको हुँदा बाहिरिएका पनि हुन सक्छन्, परिवारमा भागबण्डा मिलाउनका लागि बिक्री गरिएको हुन्छन्, कसैको परिवारको सेप्रेसन भइरहेको हुन्छ,’ उनले भने, ‘बैंकका संस्थापकहरु बैंकबाट बाहिरिन चाँदैनन्,अन्य विजनेश गर्दा २५/३० प्रतिशत प्रतिफल पाइरहेका छन् तर, बैंकमा १०/१५ प्रतिशत मात्रै पाएका छन् भने बेच्न सक्छन्,संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै भए निष्कर्ष निकाल्न सकिन्छ ।’ संस्थापक सेयर बिक्री गर्दैमा बैंकप्रतिको विश्वास घटेको भन्न नमिल्ने उनको भनाइ छ । सबैभन्दा बढी पारदर्शी संस्थाका रुपमा सञ्चालन भएका बैंक मात्रै भएकाले विश्वास बढ्दै गएको उनले बताए । यस्तै, कुमारी बैंकका सञ्चालक उपेन्द्र केशरी न्यौपानेबैंकमा लगानी गरेको पैसाले दिने प्रतिफल र अरु विजनेशमा लगानी गर्दा दिने प्रतिफलमा ठूलो ग्याप हुँदा सेयरधनी बाहिरिन थालेका बताउँछन् । बैंकमा लगानी गरेको भन्दा मुद्दती निक्षेपमा नै बढी प्रतिफल पाइने भएकाले पनि निराश हुने स्थिती आएको उनको तर्क छ । ‘१ करोड रुपैयाँ बैंकमा लगानी गरेको छ, १०/१२ प्रतिशत मात्रै लाभांश पाइन्छ, अन्य क्षेत्रमा लगानी गर्याे भने त्यो भन्दा बढी प्रतिफल आउनसक्छ, अथवा बैंकको फिक्स्ड डिपोजिटमा राख्यो भने पनि १२ प्रतिशत ब्याज पाउन सकिन्छ भने किन सेयरमा लगानी गरेर तनाब लिनु ?’ उनी भन्छन्, ‘अब बैंकमा लगानी गरेर १० प्रतिशत मात्रै लिनुभन्दा त मुद्दतीमा राख्यो भने फाइदा हुन्छ ।’ बैंकमा लगानी गर्नेले मुद्दतीमा राखेको भन्दा बढी प्रतिफल भयो भने मात्रै बैंकमा लगानी गर्न प्रेरित हुने उनको भनाइ छ । उनका अनुसार बैंकप्रतिको विश्वास घटेको भन्दा पनि लगानी गरेवापत रिटर्न छैन भन्ने सन्देश प्रवाह भयो । बैंकहरुको विजनेश गर्ने भोलुम सानो भएकाले पनि रिटर्न कम हुने गरेको उनले बताए । ‘बैंकहरुले विजनेश गर्नै सक्दैनन्, नाफा दिने गरेर विजनेश भएको हुँदैन, सेयर बिक्री गरेर निक्षेपमा राख्दा चाहिएको बेला नगद पनि हुन्छ, संस्थापक सेयर धेरै झण्झटिलो पनि छ, बजारमा त्यसको लिक्विट गर्न पनि गाह्रो छ, नगद चाहिएको बेला बिक्री गर्न पनि गाह्रो छ, निक्षेपमा राख्यो भने धेरै गाह्रो हुँदैन, त्यसैले त्यतातिर उत्प्रेरित भएका देखिन्छन्,’ उनले भने । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण पनि सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । साथै राष्ट्र बैंकले नीति नियममा कडाइ गरेको कारण्ले पनि संस्थापक निराश हुनु परेको उनको भनाइ छ । सञ्चालक समितिमा पनि भूमिका केही नहुने भएकाले संस्थापकले सेयर बिक्री गर्ने गरेको हुन सक्ने उनको तर्क छ । पूर्व बैंकर अनलराज भट्टराई पनि संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले पहिलाको जस्तो धेरै संख्या बिक्री नहुने गरेको बताउँछन् । बैंकमा संस्थापक सेयरधनी बन्न दिएपनि बाहिरिँदा धेरै झण्झटिलो रहेको उनको भनाइ छ । ‘बैंकिङ क्षेत्रमा ५ सय अर्ब रुपैयाँ बराबरको पूँजी छ, जसमा ५० प्रतिशत संस्थापक सेयरधनी छन्, १०/१२ करोडको सेयर बिक्री हुनु स्वभाविक हो, पहिला–पहिला एक/डेढ लाख कित्ता सेयर पनि धेरै हुन्थ्यो, अहिले एउटै बैंकको ३५ अर्बको पूँजी हुँदा ९ लाख कित्ता बिक्री गर्दा फरक पर्दैन, प्रतिशतमा धेरै कम हुन्छ,’ उनले भने, ‘बैंकमा संस्थापक लगानी गर्न दिइएको छ तर त्यो सेयरलाई बिक्री गर्न दिएको छैन, सेयर धितो पनि राख्न दिएको छैन, बजार मूल्य अनुसार कर्जा लिन पनि पाएको छैन, बजार मूल्यभन्दा आधामा कारोबार हुन्छ ।’ १० वर्ष अगाडिको लगानीलाई बिक्री गरेर अन्य ठाउँमा लगानी आवश्यक रहेको उनले बताए । पछिल्लो समय बैंकहरुको प्रतिफल घटेको भएपनि १० वर्ष अघि लगानी गर्दा अहिले कति गुणा फाइदा भयो भनेर हिसाव गर्न पनि आवश्यक रहेको उनको भनाइ छ । ‘बैंक स्थापना संस्थापकले गर्छन् तर संस्थापकलाई सजाय दिएको जस्तो देखिन्छ, संस्थापकले बैंक खोल्नु हुन्छ, कानुनले सजायको भागिदार हुनुहुन्छ भन्ने व्यवहार गरेको छ, संस्थापकलाई कानुनी प्रक्रिया हटाउनुपर्छ,’ उनले भने, ‘दैनिक खुला बजारमा लाखौ कित्ता कारोबार हुन्छ, त्यहाँ पनि एकले अर्काेलाई छोडेको हो नी, त्यो त ब्यापार हो नी, जस्तो होटलको कोठा दैनिक बिक्री भइरहन्छ,होटलको कोठा त्यहि रहन्छ, त्यो पनि बेचेकै हो, बेचबिखन जहाँ पनि हुन्छ, त्यसैले संस्थापकलाई सहजीकरण गर्नुपर्छ ।’ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कूल संस्थापक सेयरको दुई प्रतिशत भन्दा बढी सेयर बिक्री गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ । दुई प्रतिशत भन्दा कम सेयर बिक्री गर्नु पर्याे भने राष्ट्र बैंकको स्वीकृति लिन जरुरी छैन । त्यो अवस्थामा बैंक आफैले बिक्री गर्न सक्छन् । पछिल्लो समय २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने संख्या धेरै छैनन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ दफा ११ को उपदफा २ मा संस्थापक अन्य बैंक वा वित्तीय संस्थाको वित्तीय कारोबारमा कालोसूचीमा परेमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुबीच एक आपसमा सेयर खरिद वा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न चाहेमा राष्ट्रबैंकको स्वीकृति लिई बिक्री गरेको त्यस्तो सेयर संस्थापक समूहमा नै रहने गरी बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ । सम्बन्धित सामग्री : संस्थापक सेयर लगानीकर्तालाई ‘घाँडो’
प्रदर्शनी भन्दै जुत्ताको बारम्बार सेल मेला, खुद्रा व्यापारीको बिचल्ली
काठमाडौं । जुत्ता चप्पल प्रदर्शनी नाममा भृकुटीमण्डपमा वर्षभरी नै सेल मेला लाग्न थालेको छ । जुत्ता चप्पल उत्पादकहरुले बारम्बार सेल मेला चलाउँदा जुत्ता जप्पल व्यापार चक्र भत्किदै गएको छ । जुत्ता चप्पलको होलसेल तथा खुद्रा व्यापार गर्नेहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् । प्रदर्शनी भनेको वस्तु तथा सेवाको प्रदर्शन हो । नयाँ उत्पादनहरु उपभोक्तालाई देखाउन, उनीहरुको रुची बुझ्न, मानिसहरुबाट पृष्ठपोषण लिन वस्तु तथा सेवाको प्रदर्शनी गर्ने अभ्यास संसारभर हुन्छ । तर, जुत्ता चप्पल उत्पादकहरुले प्रदर्शनी सेल मेला चलाउने काम गर्दै आएका छन् । मेलामा मात्र जुत्ता चप्पल बेच्छु भनेर उद्योग स्थापना गरेका उद्योगीहरुसँग अरु विकल्प नभएकाले उनीहरुले बाह्रै महिना मेला लगाउने गरेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानिराज घिमिरेले बताए । यस्तो मेलाले ग्राहकलाई सस्तो सामान उपलब्ध हुने तर यसको नकारात्मक असर उपत्यका भित्रका रिटेल व्यवसायीहरुलाई परिरहेको घिमिरेले बताए । ‘व्यापार मेलामा व्यापार राख्ने धेरै संघका पधादिकारीहरु छन्, उहाँहरू त्यही रमाउनु हुन्छ, त्यसैले केही भन्न सक्दैनौं’ अध्यक्ष घिमिरेले भने, ‘कुनै पनि व्यवसायलाई व्यापार गर्ने अधिकारबाट संघले कुण्ठित गर्न सक्दैन । जुत्ता चप्पल मेला सदाबहार रूपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै वर्षमा दुई पटक मात्र संघ आफैले मेला गर्ने प्रावधान राखिएको तर त्यसको कार्यान्वनय नभएको जुत्ता उत्पादक संघ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले बताए । भृकुटीमण्डपमा यस वर्ष मात्रै ७ पटक भन्दा बढी जुत्ताचप्पल प्रदर्शनी भइसकेको उनले बताए । ‘उद्योगीले बाह्रै महिना भृकुटीमण्डपमा पसल नगरौैं भनेर हामीले भन्दै आएका छौं, ठूला उद्योगहरुले बाह्रै महिना मेला चलाएका पनि छैनन्, उत्पादन गरेर बजारमा पठाउन नसक्नेहरुले मेला चलाईरहेका छन्’ अध्यक्ष घिमिरेले भने । कुन-कुन उद्योग मिलेर कहिले व्यापार मेला चलाईरहेका छन् भन्ने जानकारी समेत संघलाई हुन छाडेको उनले बताए । मेलामा जुत्ता जप्पल प्रदर्शनीको नाममा धेरै बेथिति चलेको व्यवसायीहरु बताउँछन् । ‘प्रदर्शनी भनेको छ, ड्यामेज पिसहरु सेलमा राखिएको छ । फेसन आउट भएको, पसलमा लामो समय नबिकेर उद्योगमा फिर्ता आएका सामान सेलमा राखिएको छ । बिल बिजक पनि जारी गर्दैन । प्रदर्शनीमा नेपाली जुत्ता भनेर विदेशी जुत्ता बेचिरहेको पाइन्छ । ग्राहकले कुनै कैफियत देखेर हिजो किनेको सामान आज फिर्ता ल्यायो भने फिर्ता पनि गर्दैनन्’ मलाई त भृकुटीमण्डपमा हुने मेलामा भाग लिन र त्यहाँ गएर उभिन पनि लाज लाग्छ’ एक उद्योगीले आफ्नो पीडा सुनाए । ‘प्रदर्शनी स्थल भनेको उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र कुराकानी हुने स्थल हो । तर हाम्रो एक्स्पोहरुमा उत्पादकहरु बस्नै चाहादैनन’ उनले भने । मेला कुन उद्देश्यले लागेका छन् । कस्तो सामान बिक्री भइरहेको छ, बिल छ कि छैन, नेपाली भनेर विदेशी बस्तु बिक्री गर्न पाइन्छ कि पाइदैन, उपभोक्ताको अधिकार खोसिएको छ कि छैन भनेर सरकारी निकायले हेर्नुपर्ने उपाध्यक्ष बन्जाडेले बताए । मारमा खुद्रा बिक्रेता उत्पादकले होलसेलर र खुद्रा बिक्रेतालाई ३० देखि ४० प्रतिशत कमिशन दिएर जुत्ता चप्पल बजारमा पठाउने गरेका हुन्छन् । तर उद्योगीले उपभोक्तालाई २०/२५ प्रतिशत छुट दिएर तिनै जुत्ता चप्पल व्यापार मेलामा राखेका हुन्छन् । मूल्यको हिसावले उपभोक्तालाई पसलमा किन्नु भन्दा व्यापार मेलामा किन्दा पाइदा हुन्छ । त्यसैले मूल्यमा बढी ध्यानदिने उपभोक्ताहरु जुत्ता चप्पल व्यापार मेलामा गएर जुत्ता जप्पल किन्ने गर्दछन् । काठमाडौं उपत्यकाबासीको लागि व्यापार सामान्य दोकान जस्तै भएको छ । राजधानीबाहिरबाट काठमाडौं आईरहने उपभोक्ता पनि व्यापार मेलाबाट पुग्ने गर्दछन् । जुत्ता मेलाले राजधानीको खुद्रा व्यापार चौपट भएको र राजधानी बाहिरका बिक्रेतालाई पनि असर परेको बिक्रेताहरु बताउँछन् । प्रदर्शनी भन्दै उद्योगहरुले स्टकका जुता चप्पल बेच्न राखेकोले पसलमा हुने जुत्ता चप्पल व्यापार खत्तम भएको बागबजारको जुत्ता व्यापारी व्यापारी मोहन संग्रौलाले बताए । ‘उत्पादकले नै जुत्ताको व्यापार गरिदिन्छ, उनीहरूले उत्पादन गरेका सामान नै हाम्रा पसलमा छन्, त्यहाँ राख्दा सामान बिक्री हुँदैन, त्यसै व्यापार घट्ने नै भयो, सस्तोमा जुत्ता त्यहाँ पाउने भएकाले हाम्रो सामान बिक्री पनि हुन छाड्यो,’ उनले भने । जुत्ता उत्पादकहरुले भृकुटीभण्डममा ७ दिन वा १५ दिनको लागि भनेर प्रदर्शनी कार्यक्रम राख्छन् । तर गोदाम खाली नभएसम्म यस्तो प्रदर्शनीहरु लम्व्याउने गरेका छन् । ‘७ दिन प्रदर्शनी भनेर कार्यक्रम राख्छन् । गोदाम खाली भएन भने उपभोक्ताको माग छ, अवलोकनकर्ताको भीड छ भनेर एक महिनासम्म पनि मेला आयोजना गर्दछन्’ मोहनले भने । यहाँ समय लम्ब्याउँदै स्टकका सामान बचेको जुत्ता व्यापारीरुको आरोप छ । भृकुटीमण्डपको प्रदर्शनी समय लामो र महिनैपिच्छे हुन थालेपछि सस्तो बजारका जुत्ता व्यापारीहरुले उजुरी समेत गरेका थिए । तर, त्यसको सुनुवाई नभएको व्यवसायीहरु बताउँछन् । बाह्रै महिनाको प्रदर्शनीले उपत्यकाको रिटेल पसलेको व्यापार उद्योगीले खाने खोजेकै जस्तो देखिएको जुत्ता व्यापारी नारायण प्रसाद भट्टराई बताउँछन् । ‘पसलमा जुत्ता बिक्न छाड्यो, अहिले अनलाइनबाट जुत्ता बेच्न सुरु गरेका छौं, पसल गोदाम जस्तो भएको छ ।’ स्टकका सामान कटाउनको लागि जुत्ताहरू चल्तीको नभई पहिलाको राखेको पनि भट्टराईले बताए ।
मर्जरमा रहेका बैंकहरु धमाधम एकीकृत कारोबार गर्दै, कुन बैंकको कहिले ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दियो । सोही सुविधा प्राप्त गर्नका लागि झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार सम्पन्न भइसकेको छ । अब बाँकी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि ३ दिन अर्थात पुस २२, २३ र २४ गते सेवाहरु बन्द रहने भएका छन् । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुने भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीका अनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ । ‘दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहने भएको हो । मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबार हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । एकिकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेसन गर्न पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।