‘सेयर लगानीमा कडाइ गर्दा बैंकको नाफा घट्यो, अब उचित लाभांश दिन्छौं’
काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकका सेयरधनीहरुलाई उचित प्रतिफल दिने बताएका छन् । पछिल्लो सयम कोरोना महामारी र तरलता अभावका कारण धेरै लाभांश दिन नसकेपनि आगामी वर्षमा भने सेयरधनीलाई उचित प्रतिफल दिने उनले बताएका हुन् । सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष केडियाले राष्ट्र बैंकले जारी गरेका निर्देशनले पनि काम गर्न गाह्रो भएको समेत बताए । ‘कोरोना महामारीले अर्थतन्त्रमा नकारात्मक असर पर्याे, तरलता अभाव खेप्नुपर्याे, जसले गर्दा बैंकको नाफा घट्न पुग्यो, नाफा घट्नुमा राष्ट्र बैंकले ल्याउका नयाँ–नयाँ निर्देशन पनि हो,’ उनले भने, ‘अब विस्तारै सुधार हुँदै गएकाले आगामी दिनमा सेयरधनीहरुलाई उचित प्रतिफल दिने छौं, बैंकले नयाँ नयाँ क्षेत्र खोजिरहेको छ ।’ सिद्धार्थ बैंकले डिजिटल पहिलो अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै बैंकले पनि नयाँ प्रविधिलाई पच्छ्याई रहेको उनले बताए । ‘डिजिटलमा थुप्रै काम पनि भइसकेका छन्, आगामी दिनमा बैंकको सेवालाई डिजिटलमा रुपान्तरण गर्ने योजना छ, बैंकको परिसरमा ग्राहकरु नआएर घरबाट नै सेवा उपभोग गर्न सकिने बनाउँदै छौं, ग्राहकलाई घरदैलोबाट नै सेवा प्रदान गर्ने योजना छ,’ उनले भने । बैंकमा खाता भएका ग्राहक वा खाता नभएका ग्राहकलाई सेवा दिन तत्पर रहेको उनले बताए । कर्मचारीको सहि व्यवस्थापनले बैंकले उचाइ लिएको बताए । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलले निक्षेप तथा कर्जा, बैंकको भौतिक विकास, गैर ब्याज आम्दानी वृद्धि गर्ने, साइबर सुरक्षामा कडाइ गर्ने लगायतलाई आत्मसाथ गर्दै अघि बढेको बताए । ‘बैंकलाई सुदृढ गर्न हामी निरन्तर रुपमा अघि बढेका छौं, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गरेको कडाइका कारण सेयर बजारमा काम गर्न पाएनौं, जसले गर्दा गैरब्याज आम्दानी घट्यो, डिजिटलमा जोड दिँदा साइबर हमलाको खतरा रहेकाले सुरक्षीत गर्ने चुनौति रहेको छ,’ उनले भने ।
केबलकार भित्रै रेष्टुरेन्टदेखि सुत्ने सुविधा
काठमाडौं । केबलकार भित्रै रेष्टुरेन्टमा बसेर विभिन्न परिकारका खानेकुरा खाँदै परिवार वा साथीभाइसँग गफिदा कस्तो आनन्द आउँछ होला ? दिनभर कामले थाकेको शरिरलाई केबलकारभित्रकै ओछ्यानमा सुत्दा कस्तो महसुस हुन्छ होला ? यी प्रश्न, जिज्ञासा र कौतुहलता मेटाउन अब धेरै समय पर्खनु पर्दैन । आउँदो नयाँ वर्षदेखि तपाईंले कल्पिएको सपना पुरा गर्दैछ बन्दीपुर केबलकार एण्ड टुरिजमले । बन्दीपुर केबलकार एण्ड टुरिजमले केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्था सहित केबलकार सञ्चालनको तयारी थालेको छ । पहाडकी रानीका नामले परिचित बन्दीपुरमा आगामी नयाँ वर्र्षदेखि केबलकारभित्रै रेष्टुरेन्ट, सुत्ने ओछ्यान सहितको सुविधा भएको बन्दिपुर केबलकार सञ्चालनमा आउने भएको छ । यात्रु बोक्ने र ओराल्ने बाहेक केबलकारमा नयाँ सेवा सुविधा थप्दै फरक ढंगले बन्दिपुरमा केलबकार सञ्चालनको तयारी भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पर्यटनमा नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई लक्षित गरी आगामी नयाँ बर्ष अर्थात बैशाखदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ । उनका अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले पारदर्शी सिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । आगामी नयाँ वर्ष २०८० साल बैशाख महिनादेखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको उनले बताए । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ । आवतजावतको समय पश्चात् साँझ पख केबुलकार भित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने उनले बताए । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । कति लाग्छ शुल्क ? केबलकार भित्रै रेष्टुरेन्ट तथा सुत्ने ओछ्यानका लागि कम्पनीले छुट्टै शुल्क तोकेको छ । रेस्ट्रो–कार नाम दिइएकोे केबलबार रेष्टुरेन्ट र ओछ्यानका लागि १ घण्टाको समय तोकिएको छ । २५ हजार रुपैयाँ शुल्कमा रेष्टुरेन्ट र ओछ्यान बुक गर्न सकिन्छ । ८ जना बस्न मिल्ने उक्त रेस्ट्रो कार तोकिएको समयभित्र तल माथि भइरहनेछ । एक घण्टाभन्दा धेरै समय बस्न चाहे पुनः बुकिङ गर्नुपर्छ । त्यसको थप २५ हजार रूपैयाँ शुल्क लाग्छ । ‘रेष्टुरेन्टभित्र खानाका लागि प्याकेज बनाइएको हुन्छ, आफूलाई आवश्यक पर्ने खानुकुरा अर्डर गर्न सकिन्छ’, उनले भने, ‘पुनः थप्नुपर्ने भए थप शुल्क सहित अर्डर गर्न सकिन्छ, हामीले रेस्ट जोन बनाएको छाैँ, खाने कुरा त्यहीँबाट लिन सकिन्छ ।’ कम्पनीले शाकाहारी, मांशाहारी खानेकुरासँगै पेय पदार्थ समेत उपलब्ध गराउने बताइएको छ । ६५ वर्ष माथिका नागरिक र टिकटमा सहुलियत दिइएको कम्पनीले जनाएको छ । १७५ रुपैयाँमा केबलकार चढ्न पाइनेछ । न्यूनतम टिकट ५ सय रुपैयाँ देखि २५ हजार रुपैययाँ तोकिएको छ । यस्तै, ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले टिकटमा सहुलियत दिने जनाएको छ । उनले बन्दीपुरमा खर्च गर्न आउने पर्यटकलाई नै लक्षित गर्दै केबलकार, रेस्ट्रोकार, तारे स्तरको होटल बनाइएको बताए । होटलभित्रै केबलकार हाइवेमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ । ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, माथि सिधै होटलभित्र पस्छ, मलेसियामा बाहेक अन्यत्र यस्तो प्रकारको केबलकार निर्माण भएको छैन्, यो दुलर्भ नै हो’, उनले भने । उनले बन्दीपुर केबलकारको बटम स्टेशन अन्य केबलकारभन्दा फरक रहेको बताए । ‘बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक छ, टर्मिनल भवन छ, सोही भवनमा भीआइपी लाउन्ज, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), गेष्टलाई स्वागत गर्ने रुम लगायतका कामहरु एउटै भवनबाट हुन्छ, उनले थपे । ‘क्वीन टावर’ नाम दिइएको १७ तल्ले भवनबाट बन्दीपुर उपत्यका सहित काठमाडौं देखिनु हो । ९० रुम रहेको हिलपटमा ७८ वटा रुप प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १७ सय किलाेमिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । केबुलकार र तारे हाेटल सहितकाे माेडलमा होटल निर्माणसहित साढे तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्यवृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । भौतिक पूर्वाधार बनाउनका लागि ३ अर्ब १६ करोड लागत अनुमान होे तर निर्माणको अबधि थपिदा साढे ३ अर्ब खर्च हुने अनुमान कम्पनीले गरेको छ । ‘हाम्रो सुरुको योजना केबलकार मात्रै बनाएर सञ्चालन गर्ने थियो, जम्मा ५६ कराेड रुपैयाँको योजना थियो, पछि हाम्रो सोच फराकिलो बन्यो, पहाडकी रानी नामले परिचित बन्दीपुरमा होटल सहित मोडल लेबलको केबलकार बनाउने भन्ने भयो’, उनले भने, ‘सामान्य केबलकारबाट आधुनिक केलबकारसँगै तारे स्तरको होटलसँगै अन्य संरचना बनाउँदा लगानी थपियो ।’ १७ तल्लाको माथिल्लो भवनको १७ औं तल्लाबाट सबैभन्दा लामो हिमालयको रेञ्ज देखिन्छ । उनले लामो हिमालयको रेञ्ज हेर्नका लागि टेलिस्कोप राखिने बताए । ‘गर्मी महिनामा बिहानको समयमा हिमाल खुलेको देखिँदैन, बन्दीपुरको दृश्य सबै देख्नका लागि हामीले दृश्य रुम बनाउने तयारी गरेका छौँ, त्यो रुममा टेलिस्कोप लगाएर नजिक ल्याउने र आर्टिफिसियल रुपमा हिउँ नै आखाँ अगाडि झरेको जस्तो देख्ने बनाउने हाम्रो योजना छ’, उनले भने । माथिल्लो तल्लामा नै ‘रुफ टप’ भन्ने रेष्टुरेन्ट छ, पर्यटकका लागि लक्षित गर्दै नेपालमै पहिलो पटक वाक्स र फाइबर म्यूजियम राखिने भएको छ । उनले अधिकांश स्थानमा वाक्स म्यूजियम राख्ने भनेर कल्पना गरिएको भन्दै केही ठाउँमा फाइबर पनि मिसाएर नयाँ कन्सेप्ट नेपालमा ल्याउन लागिएको जानकारी दिए । अध्यक्ष शर्माले बन्दीपुरमा तारे स्तरको होटलसहित केबलकार बनेपछि आउने पर्यटकको संख्या दुई गुणाले बढ्ने बताए । ‘पहिला वार्षिक रुपमा २ साढे २ लाख पर्यटक बन्दीपुर आउने गरेका थिए, हामीले केबलकार सहित चार तारे स्तरको होटल बनाउन थालेपछि पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने, ‘हाम्रो प्रोजेक्ट बनि रहना वार्षिक रुपमा ५ लाखभन्दा बढी पर्यटक आउन थालेका छन् ।’ उनले केबलकार, होटल र अन्य संरचना निर्माण भएपछि वार्षिक १० लाखभन्दा बढी पर्यटक बन्दीपुरमा आउँने अनुमान गरिएको बताए ।
जसले नेपालमा केबलकार क्रान्ति ल्याए
काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले ती व्यक्तिहरुको स्मरण जो कोहीले पनि गरिरहन्छन् । हुन त लक्ष्मण बाबु श्रेष्ठको निधन २०७० सालमै भयो । तर, उनको कामले उनलाई जीवन्त तुल्याएको छ । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा उनले एउटा पदछाप छोडेका छन् । अहिले देशभर केबलकार व्यवसायको लहर छ । ठूूला र चर्चित् व्यवसायीहरुले एकपछि अर्को केबलकार ल्याइरहेका छन् । यो व्यवसायको सुरुवात तिनै लक्ष्मणबाबुले आजभन्दा २५ वर्ष अगाडि अर्थात् सन् १९९८ मा सुरु गरे । कसैले नगरेको काम । सरकारको पनि नजर नपरेको क्षेत्र । लक्ष्मणबाबुको कल्पनामा कसरी आयो होला केबलकार ? यो जिज्ञासा, प्रश्न र चासो तपाईं हामीमा आउनु स्वभाविकै हो । एक कपडा व्यापारीको छोरा । घर गोरखा । कपडा व्यापारकै कारण तनहुँ, चितवन, धादिङ र लमजुङसम्म आवतजावत गर्नु दैनिकी थियो । खासै सडकहरु थिएन । अधिकांश ठाउँमा पैदल जानु पर्ने बाध्यता । सानैमा काठमाडौं पढ्न आए लक्ष्मणबाबु । स्नातकसम्म त्रिचन्द्र कलेजमा पढे । बिचमा जागिर गर्ने सोच पनि उनमा नआएको होइन तर गरेनन् । उनका छोरा राजेशबाबु श्रेष्ठ भन्छन्, ‘बुबामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुट्हुटी थियो ।’ एकदिन उनी काठमाडौं आउँदै थिए । कुरिनटार नजिकैको रमाइलो डाँडाबाट देखिने प्राकृतिक दृश्यहरूले उनलाई लोभ्यायो । तल त्रिशुली आफ्नै रफ्तारमा बगिरहेको छ । बीचमा सालघारीको हरियाली । आकाशमा बादल । तिनै बादलमा एक ठाउँबाट अर्को ठाउँसम्म लुकामारी गरिरहेका चराचुरुङ्गीहरु । दृश्य मनमोहक लाग्यो । लक्ष्मणको दिमाखमा अनेकौं शब्दहरुले स्थान लिए । उनले सोचे, ‘यो ठाउँबाट मनकामना मन्दिरसम्म रोपवे सञ्चालन गर्न सकियो भने कस्तो हुन्छ होला ?’ किनकी उनले भारतमा पनि रोपवे चल्छन् भन्ने सुनेका थिए । गोरखाबाट मनकामना जान आउन ५/६ घण्टा समय लाग्थ्यो । रोपवे सञ्चालन गर्न सकेमा त्यो समय पनि बचत गर्न सकिने, मान्छेहरुको त भीड लाग्छ होला भन्ने सोच उनीमा आइरहेको थियो । प्राविधिक जाँच गर्न उनले काठमाडौंबाट इञ्जिनियर लिएर मनकामना पुगे । अध्ययन गराए । मनकामनामा कति मान्छेहरु जाने रहेछन् भनेर सर्वेक्षण पनि गराए । अष्ट्रियाबाट स्याटेलाइटमार्फत् ठाउँ हेराए । केबलकारका लागि राम्रो ठाउँ भनेपछि उनमा काम अगाडि बढाउने हिम्मत बढ्यो । त्यसपछि सुरु भए मनकामना केबलकार बनाउने औपचारिक दिनहरु । उद्योग विभागमा लाइसेन्सका लागि गए । विडम्वना, अर्कैले लाइसेन्स लिइसकेको रहेछ । तर, बर्षौसम्म काम नगरेपछि उद्योग विभागले त्यो लाइसेन्स खारेज गरेर लक्ष्मणबाबुलाई लाइसेन्स दियो । त्यतिखेर विभागको महानिर्देशकमा रामविनोद भट्टराई थिए । ‘बुबामा आफ्नै जिल्लामा लगानी गर्ने चाहना थियो, केबलकार बन्ने भएपछि उहाँ धेरै खुसी हुनुहुन्थ्यो तर सुरु गर्दा सबैले लक्ष्मणबाबु बौलायो, अब डुब्छ भन्थे, बैङ्कले पनि पत्याएनन्,’ राजेशबाबु साढे दुई दशक अगाडिको कुरा स्मरण गर्दै भन्छन्, ‘नयाँ काममा जोखिम अवश्य नै हुन्छ, त्यतिबेला त्यो जोखिम नलिएको भए आज सबैले केबलकारमा लक्ष्मणबाबु ट्रेण्ड सेटर हो भनेर चिन्थेनन् होला, हामीलाई अहिले गर्व लाग्छ ।’ त्यतिखेर लक्ष्मणबाबुको प्रोजेक्टलाई नेपाल बैङ्कले पत्यायो । त्यसमा हिमालयन बैङ्कले पनि साथ दियो । निर्माण सुरु भएको १० महिनामै मनकामना केबलकार व्यावसायिक सुरुमा सञ्चालनमा आयो । अर्को वर्षदेखि रेष्टुराँ लगायतका पूर्वाधारहरु निर्माण सुरु भए । ‘केबलकार निर्माण गर्दा अनेकौं समस्या, दुःख र चुनौतीहरु भोगियो, स्थानीयदेखि नीति निर्मातासँग जुध्नु प¥यो, सुरुमा काम गरेपछि दुःख पाइँदो रहेछ तर त्यसको श्रेय पाउँदा र सबैले उदाहरणका रुपमा लिँदा भने पृथक किसिमको आनन्द आउँदो रहेछ,’ मुस्कुराउँदै केबकारका प्रबन्ध निर्देशक राजेशबाबुले भने । त्यसबेला केबलकार सम्बन्धी सरकारको कुनै नीति नियम थिएन । मूल्य अभिवृद्धि कर (भ्याट) छुटको विषयमा कुनै व्यवस्था थिएन । लक्ष्मणबाबुले त्यसका लागि धेरै मिहिनेत गरे । सङ्घर्ष गरे । ‘केबलकारको सामान भन्सारमा आएर रोकियो तर सरकारले भ्याट छुटको विषयमा कुनै निर्णय गरेन, सामान भन्सार नाकामै थियो, संयोगवश त्यतिखेर अर्थसचिव पनि तत्कालीन उद्योग विभागकै महानिर्देशक रामविनोद भट्टराई नै हुनुहुन्थ्यो, पछि धेरै कुराहरु बुझाइसकेपछि बैङ्क ग्यारेन्टीमा सामान आयो,’ केबलकार निर्माणका दिनहरु स्मरण गर्दै राजेशबाबु सुनाउँछन्, एकदिन त सचिवले ऐनमा गरेको व्यवस्था हो परिवर्तन गर्न मिल्दैन भनेपछि बुबाले त्यसो भए तपाईंहरु भएको के काम ? पीए भए पनि काम चलिहाल्थ्यो नी भन्नुभयो, अलि विवाद पनि भयो ।’ भ्याट छुट नदिएकै कारण मनकामना केबलकार र सरकारको मुद्दा पनि चल्यो । अदालतले केबलकार विरुद्ध नै फैसला ग¥यो । पछि कम्पनीले भ्याट ति¥यो । तर, अर्को आर्थिक वर्षदेखि केबुलकारलाई आर्थिक ऐनको भाग ८४ मा राखियो । बजेटमार्फत् भन्सारदर रेट ५ प्रतिशत भएका वस्तुमा ५० प्रतिशत भ्याट छुटको व्यवस्था भयो । आफूहरुले ठूलो मिहिने त गरेकै कारण सरकारले बजेटमा सो व्यवस्था गरेको राजेशबाबु बताउँछन् । अहिले केबलकार निर्माण गर्ने सबैले त्यो छुट पाउने गरेका छन् । लक्ष्मणबाबुले एउटा बाटो देखाएकै कारण देशमा एउटा उत्कृष्ट पर्यटन बढाउने माध्यमका रुपमा केबलकार देखिएको छ । प्रत्येक वर्ष नाफामा साढे दुई दशकको अवधिमा देशमा धेरै उतारचढावहरु आए । विभिन्न आरोह अवरोहरु भए । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको सङ्कट ल्यायो । विभिन्न उद्योग व्यवसाय थला परे । पर्यटकीय क्षेत्र सुनसान बने । पर्यटकको आवागमन ठप्प बन्यो । तर, मनकामना केबलकार भने आफ्नै गतिमा छ । यो २४ वर्षको अवधिमा मनकामना जाने न मान्छे घटेका छन् न त कम्पनीको नाफामा नै सङ्कुचन आएको छ । कम्पनी अहिलेसम्म घाटामा छैन । कम्पनीका अनुसार केबलकारमा हालसम्म १ करोड ७० लाख बढी मानिसहरुले यात्रा गरेका छन् । ‘हामीले अहिलेसम्म नोक्सान व्यहोर्नु परेको छैन, सञ्चालनमा ल्याएको ७ वर्षमै ऋण चुक्ता ग¥यौं, अहिले पनि सबै खर्च कटाएर, कर तिरेर ३० प्रतिशत जति नाफा हुन्छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘केबलकारसँगै गन्तव्य बनाउन सकियो भने आम्दानी राम्रै गर्न सकिन्छ ।’ केबलकारमा गत मंसिरमा १ लाख २० हजारले यात्रा गरेको उनी बताउँछन् । अहिले पनि दैनिक ३ हजार ५ सय जनाले यात्रा गर्ने गरेका छन् । अहिलेसम्म एक महिनामा सबैभन्दा बढी १२ लाख मानिसले केबलकारबाट यात्रा गरेको रेकर्ड छ । ‘केबलकार मात्रै आकर्षण भएर होइन, गन्तव्य आकर्षण हुनुप¥यो, गन्तव्य राम्रो भएपछि पयर्टक स्वतः जान्छन्, कोरोनामा अरुलाई समस्या भयो, मनकामना केबलकारले राम्रै नाफा ग¥यो, कोभिडपछि ३ लाख पर्यटकले यात्रा गरे,’ राजेशबाबु भन्छन्, ‘डाँडाँको टुप्पो छ भन्दैमा केबलकार परियोजना सफल हुँदैन, केबलकार सफल बनाउनका लागि गन्तव्य बनाउन सक्नु पर्छ ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको सेयर भने अहिले दोस्रो बजारमा सूचीकृत गराउने कुनै तयारी नभएको उनले बताए । २५ वर्षअघि कुरिनटारबाट मनकामना मन्दिर जाने केबलकार निर्माण शुरु गर्दा उद्यमी लक्ष्मणबाबु श्रेष्ठलाई धेरैले ‘बौलायो’, ‘डुब्छ’ भन्थे । तर, अहिले उक्त परियोजनालाई पछ्याउँदै देशभर चलेका र बन्दै गरेका केबलकार परियोजना एक दर्जन पुगेका छन् । ‘मनकामनामा सुविधा सम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्वीमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए । अहिले मनकामना केबलकारको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको सुधारका लागि अहिले पनि चरणवद्ध रुपमा काम भइरहेको श्रेष्ठले बताए । ६५ करोड रुपैयाँ लगानीमा सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ । पर्यटकसँगै स्थानीयको व्यापार बढ्यो मनकामना केबलकार सञ्चालनमा आउँदा स्थानीयहरू आक्रोशित थिए । जसको कारण जग्गा प्राप्ति, जंगल लगायतको विषयमा कम्पनीले धेरै सकस भोग्नु प¥यो । तर, अहिले परिस्थिति बदलिएको छ । मनकामना केबलकारको हाइहाई नगर्ने कोही छैनन् । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पर्यटकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल/रेष्टुराँहरुखुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ श्रेष्ठका अनुसार मनकामना केबलकारले मलेखुदेखि आँबुखैरेनी क्षेत्रलाई जोडेको छ । ‘मनकामनाबाट फर्केको मान्छे मलेखुमा माछा खान्छन्, व्यवसाय चम्किएको छ, राजमार्गमै नयाँ–नयाँ रिसोर्ट आएका छन्, धेरैले रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘२४ वर्ष अगाडि र आजको मनकामना आकाश पातल फरक छ ।’ मनकामना केबलकार अहिले श्रेष्ठ परिवारको व्यवसायमा मात्र सीमित भएन, स्थानीयको जीवनस्तर विकास, मुग्लिनदेखि नारायणघाट क्षेत्रको व्यापार विस्तारको प्रमुख आधार बनेको छ । देशको आन्तरिक पर्यटनमा सबैभन्दा चलेको गन्तव्य पनि भएको छ । कमाएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मानसिकताका साथ मनकामना दर्शन प्रालिले प्रत्येक वर्ष नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । कम्पनीले एक प्रतिशत शहिदलखन गाउँपालिका र एक प्रतिशत इच्छामनकामना गाउँपालिका भित्रका केही वडाहरुमा खर्च गरिरहेको छ । श्रेष्ठ परिवारले केबलकारसँगै निर्माण, हाइड्रोपावर र दुध प्रशोधन उद्योगमा ठूलो लगानी गरेको छ । चितवन मिल्क आएपछि नेपालमा ‘मिल्क होलिडे’ को नै अन्त्य भएको उनी बताउँछन् । अब भएकै व्यवसायलाई विस्तार गरेर अगाडि बढ्ने सोचमा उनको परिवार छ । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल