पढाइसँगै पैसा, सात साथी मिलेर ल्याए ‘कलेज टिफिन’
काठमाडौं । विद्यालय या कलेजमा पढ्ने जोकोहीलाई पनि घण्टौंसम्म खाजाका लागि क्यान्टिन अथवा होटलमा पर्खिनु परेको अनुभव पक्कै हुनु पर्छ । खाजा खानैका लागि लामो समयसम्म होटलमा बसेकै कारण कक्षा कोठामा शिक्षक/शिक्षिकाको गालि नखाएकाहरु पनि सायद विरलै होलान् । तर, के गर्नु पेटको भोक मार्नै पर्यो । गालि खानै परेपनि खाजा खाएरै जाने हामी सबैको बाध्यता हुन्छ । यस्तै बाध्यता र विवशता नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) का विद्यार्थीहरु अर्जुन, विवेक र आयुशा लगायतहरुलाई पनि थियो । उनीहरुले सोचे, यो बाध्यताको अन्त्य कसरी गर्न सकिन्छ होला ? उनीहरुको दिमाखमा धेरै आइडिया आए । ती मध्यको एउटा आइडिया हो ‘कलेज टिफिन’ । ‘हाम्रो आफ्नै अनुभवको कारण यो कन्सेप्ट ल्याएका हौं, कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ, सबै साथीहरुलाई खाजा बनाउन होटल/क्यान्टिनलाई समय लाग्छ, उता कक्षा सुरु भइसकेको हुन्छ, ढिलो गएपछि सर/म्यामहरुले कराउनु हुन्छ, यो समस्याको कसरी समाधान गर्न सकिन्छ भनेर हामीले कलेज टिफिन ल्यायौं,’ कलेज टिफिनका प्रमुख कार्यकारी अधिृकत विवेक ढकालले भने । विद्यार्थीहरूको समय बचत गर्ने उद्देश्यले कलेज टिफिन एपको लन्च गरेको ढकालले बताए । सो एप मंगलबार सार्वजनिक गरिएको छ । उक्त एप मार्फत् कलेज आसपासका रेस्टुरेण्टमा विद्यार्थीले खाना अर्डर गर्नसक्ने छन् । ‘कजेज टिफिन एउटा प्लेटफर्म हो, जहाँ कुनै रेस्टुरेण्ट जानु भन्दा अगाडि यसै एप मार्फत प्रि–अर्डर गर्न सकिन्छ, रेस्टुरेण्टको मान्छे पहिला नै अर्डर थाहा पाइसक्छ, त्यसपछि अर्डर गरेको ठाउँमा पुगेर धेरै समय नकुरेरै खाजा खाएर समयमै फर्किन सकिन्छ,’ उनले भने । यो एउटा स्टार्टअप बिजनेस हो । यो एप कलेजका विद्यार्थी र रेस्टुरेन्टहरूलाई जोड्ने एउटा माध्यम हो । ‘विद्यार्थीलाई भोलि बिहान १० वा १२ बजे छुट्टी हुन्छ भन्ने थाहा हुन्छ, भोलि म यो खान्छु भनेर यस एप मार्फत आजै अर्डर गर्न सकियो, पैसा भने सोही समय तिर्नुपर्ने हुन्छ, हाम्रो एपमा लिस्टेड भएका रेस्टुरेन्टहरूको मेनु उपलब्ध हुन्छ,’ उनले भने । एपका फाउण्डर अर्जुन घिमिरे आफैले धेरै पटक खाजा खाँदा कक्षा छुटेकैले यो बिजनेस सोचेको बताउँछन् । ‘म अफै टिफिन समयमा बाहिर खाजा खान जाँदा कयौं दिन पढाइ छुट्यो, यो समस्याको समधान गर्नको लागि मैले विभिन्न उपयाहरु खोजिरहेको थिएँ, समय पनि बचोस, पढाइ पनि नछुटोस् र सँगै बिजनेस पनि होस् भन्ने योजना सोचिरहेको थिएँ, मैले कलेज टिफनको विषयमा धेरै सोचेँ, साथीहरुलाई योजना सुनाएँ, साथीहरुलाई पनि मन पर्यो, साथ दिए, अहिले सार्वजनिक गर्न सफल भयौं,’ घिमिरेले भने । पकेट खर्चबाटै बन्यो ‘कलेज टिफिन’ एनसीआईटी कलेजका सात जना विद्यार्थी मिलेर ‘कलेज टिफिन’ एप सञ्चालनमा ल्याएका हुन् । सो कलेजा स्नातक तह पढ्ने अर्जुन घिमिरे, विवेक ढकाल, आयुषा श्रेष्ठ, प्रिन्स कुस्वाना, सरोज ढकाल, सुसन अधिकारी र सुसन चापागाईं मिलेर यो एप सञ्चालनमा ल्याएका हुन् । उनीहरुले फरक–फरक जिम्मेवारी तोकेर काम अगाडि बढाएका छन् । सीईओ ढकालका अनुसार केही साथीहरूको आफ्नै स्टार्टअप बिजनेस पनि गरिरहेका छन् । नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ । फाउन्डर घिमिरे कलेज टिफिन एप बनाउन ८ महिना समय लागेको बताउँछन् । ‘हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं, एक लाखको हाराहारीमा खर्च भएको छ, यो एपले विद्यार्थीहरुको समय बचत हुनेमा हामी विश्वस्त छौं, यो एप सबै विद्यार्थीका लागि प्रभावकारी रुपमा काम गर्र्नेमा हामी ढुक्क छौं,’ उनले भने । अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । घिमिरेका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । सबै कलेजमा लागू भएको छैन । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने योजना रहेको उनको भनाइ छ । अहिले यस एपमा एनसीआईटी कलेज आसपासका ५/६ वटा रेस्टुरेण्टहरूलाई समावेश गरिएको छ । टिमले २/३ वर्ष भित्र आम सर्वसाधारणको लागि यो एप खुल्ला गर्ने योजना बनाएको छ । कसरी प्रयोग गर्ने एप ? यो एपलाई प्ले स्टोरबाट डाउनलोड गरेर सञ्चालन गर्न सकिन्छ । डाउनलोड गरेपछि उक्त एपलाई ‘लगइन’ गर्नुपर्ने हुन्छ । लगइन गर्दा विद्यार्थीको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ भने कलेजको पनि छनोट गर्नुपर्ने हुन्छ । लगइन गरिसकेपछि एप भित्र सूचीकृत रेस्टुरेन्ट तथा होटलहरु देख्न सकिन्छ । अहिले एपमा सात वटा रेस्टुरेन्ट आवद्ध छन् । पछि ती रेष्टुरेण्ड बढ्दै जानेछन् । हरेक रेस्टुरेण्टमा पाइने खाजाको नामसहित मूल्य पनि एपमा राखिएको छ । कुन रेस्टुरेण्टको खाजा अर्डर गर्ने आफ्नो च्वाइस अनुसार छनोट गर्नु पर्छ । अर्डर गरेकै समयमा पैसा तिरेपछि आफुलाई पायक पर्ने समयमा खाजा खाएर समयमै फर्किन सकिन्छ ।
हजारौं विद्यार्थीले रोजेको, समस्याले थिचिएको ज्ञानोदय
काठमाडौं । समस्याभित्रको सकस अत्यास लाग्दो हुन्छ । कतिपयलाई त्यो सकसले थित्छ । अगाडि बढ्न र सफल हुन दिँदैन । त्यही विवशताले विवश हुँदै धेरैले हार खान्छन् र पछाडि पर्छन् । समस्या देखाउँदै दिनहरु गुजार्छन् । तर, कतिपय व्यक्ति या संस्था भने त्यही समस्याभित्रको सकसलाई पार गर्दै सफल बन्छन् । अल्झनलाई आत्मसाथ गर्दै अब्बल बन्छन् । हो, त्यही व्यक्ति वा संस्था समाजको एक उदाहरणीय र परिचित पात्र बन्छ । अहिले देशमा हजारौं निजी तथा सरकारी विद्यालयहरु छन् । काठमाडौं उपत्यकामै पनि सयौं विद्यालयहरु छन् । तर, काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माद्यामिक विद्यालयको नाम नसुन्नेहरु बिरलै होलान् । सो विद्यालयमा तपाईंलाई सुन्दै अचम्म लाग्ने विद्यार्थी संख्या छ । ज्ञानोदयमा नर्सरीदेखि कक्षा १२ सम्म ४ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गर्छन् । सीमित जमिन, सीमित जनशक्ति, सीमित भौतिक पूर्वाधार र सीमित प्रविधिका बाबजुत पनि ज्ञानोदय काठमाडौंको एक अब्बल र नमुना विद्यालयका रुपमा परिचित छ । हुत त सबै चिजहरुमा अभाव खेपिरहेको यो विद्यालयलाई काम गर्न समस्या नभएको होइन तर त्यही समस्याको सकसभित्र रहेर अब्बल शैक्षिक संस्थाको रुपमा परिचित हुने दौडमा ज्ञानोदय माबि छ । भौतिक पूर्वाधारको सिमितताको कारणले गर्दा विद्यालयले कक्षालाई धेरै सेक्सनमा विभाजन गरेको छ । प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार नर्सरी देखि कक्षा १२ सम्म ८० वटा सेक्सन छन् । एक सय भन्दा कम विद्यार्थी कुनै पनि कक्षामा छैनन् । चालू शैक्षिक सत्रमा सबभन्दा कम कक्षा १ मा एक सय र सबैभन्दा धेरै कक्षा ११ मा छ सय १० जना विद्यार्थीले अध्ययन गर्छन् । ज्ञानोदयमा एक सय १० जना शिक्षकले अध्यापन गराउँछन् । जसमध्ये ४५ जना शिक्षकको व्यवस्थापन विद्यालयले आन्तरिक स्रोतबाट गरिरहेको छ । ‘हामीले अभिभावकहरुसँग विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गर्छौं र उहाँहरुसँग नै सहयोग संकलन गरेर आन्तरिक स्रोत जुटाउन काम गर्छौं’, महर्जनले भने ‘ सहयोग गर्न नसक्नेहरुसँग भने विद्यालयले सहयोग माग्दैन ।’ इजोन कम्पनीले स्कुलको दैनिकी कामलाई सहज होस् भन्ने हिसाबले सफ्टवेयर जडान गरिदिएको छ । प्रध्यानाध्यापक महर्जनका अनुसार सो कम्पनीले जोडिदिएको सफ्टवेयरले शिक्षक–विद्यार्थीको हाजिरी, स्कुलको एकाउन्ट तथा बिलिङ, विद्यार्थीको तथ्यांक र विद्यार्थीको नतिजा सम्बन्धी सम्पूर्ण काम गर्न सकिन्छ । तर, सबै कक्षाकोठामा आवश्यक अनुसार इन्टरनेट जडान गर्न नसकेको कारण सो सफ्टवेयरलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन नसकिएको उनी बताउँछन् । ‘हामीले यसलाई ट्रायल गर्यौं तर यसलाई पूर्ण रुपमा प्रयोग गर्न सबै कक्षाकोठामा इन्टरनेट पुग्नुपर्छ, त्यसको व्यवस्था गर्न सकेका छैनौैं’, उनले भने, ‘यदी इजोनले दिएको सफ्टवेयर प्रयोग गर्ने हो भने विद्यालयमा अनुपस्थित भएको विद्यार्थीको अभिभावकलाई तुरुन्त एसएमएसमार्फत् जानकारी दिन सकिन्छ ।’ ज्ञानोदय माबिका प्राधानाध्यापक नातिकाजी महर्जन । ज्ञानोदयलाई माइक्रोसफ्ट कम्पनीले पनि माइक्रोसफ्ट टिमको एकाउन्ट निःशुल्क उपलब्ध गराएको छ । जसलाई ग्रुपमा अर्थात् ठूलो संख्यामा विद्यार्थीहरु एकैपटक अनलाइनमा पढाउन सकिने सकिन्छ । सन् २०१७ मा दक्षिण कोरिया सरकारले स्कुलमा आइटी ल्याब बनाइदिएको छ । पाकिस्तान राजदुतबासले पनि दर्जनौको संख्यामा कम्प्युटर दिएको छ । तर, स्कुलमा आइटी जनशक्ति भने छैन । महर्जनका अनुसार विद्यालयले ५ जना कम्प्युटर शिक्षक राखेको छ । तिनै शिक्षकहरुबाट कम्प्युटरसम्बन्धी सम्पूर्ण विषयहरुलाई सञ्चालन गर्ने काम भइरहेको छ । परम्परागत ढंगले अध्यापन गर्दै आएका शिक्षकहरुलाई एकैपटक आधुनिक बनाउन नसकिने तर विस्तारै अभ्यस्त बनाउन सकेमा त्यो सम्भव हुने देखिएको महर्जन बताउँछन् । ‘लकडाउन अगाडि दशैं विदाको समयमा हामीसँग भएको ४० वटा ट्याब मैले शिक्षकहरुलाई दिएँ, उहाँहरु कसैलाई त्यस विषयमा ज्ञान थिएन, मैले घरमा लिएर सिक्नुस्, छोराछोरीबाट भए पनि सिक्नुस् भनेपछि उहाँहरुले लिनु भयो, एक महिनापछि उहाँहरु त्यसलाई प्रयोग गर्न सक्षम हुनु भयो, त्यसले पनि हामीलाई सघाउ पुग्यो,’ उनी भन्छन्, ‘विद्यालयमा आईटीको सामानहरु भएपनि जनशक्ति छैन ।’ उनी आईटीको शिक्षक नै नभएपनि आइटी पढाउन सुरु गरेको बताउँछन् । ज्ञानोदयमा धेरै राजनीतिकर्मी, अभिभावक र संस्थाहरुको पनि सहयोगको लागि ध्यान पर्ने गरेको देखिन्छ । विद्यालयले १५ वटा कक्षामा प्रोजेक्टर जोडेको छ । प्रअ महर्जन केही विषयहरु प्रोजेक्टरबाट पढाउन निकै सजिलो भएको बताउँछन् । ‘विज्ञान, अंग्रेजी, सामाजिक लगायतका विषयहरुमा राम्रोसँग प्रयोग भएको छ’, उनी भन्छन् । पढाउँदा एउटै विधि र प्रविधि प्रयोग गर्ने विषय पनि उपयुक्त नहुन सक्ने उनको धारणा छ । उनी स्वयं आफूले विज्ञान विषयको अध्यापन गर्दा प्रोजेक्टरको प्रयोग नगर्ने सुनाउँछन् । ‘कुनै शिक्षकले प्रोजेक्टर प्रयोग गर्नुहुन्छ, कसैले यसै आफ्नो तरिकाले पढाउनुहुन्छ, प्रविधिको नाममा दिनभरी विद्यार्थीलाई एउटै विधिबाट पढायो भने पनि त वाक्क हुनसक्छ नी होइन ?’ उनी भन्छन् । स्कुलका ९ वटा कक्षामा टिभी बोर्ड पनि जडान गरिएको छ । एउटा स्मार्ट कक्षा कोठा छ । आइसिटी कक्षामा पनि इन्ट्रयाक्टिभ बोर्ड छ । भिजुअलाइज गरेर अध्यापन गर्नको लागि स्मार्ट प्रविधि निकै उपयोगी हुने गरेको उनी बताउँछन् । महर्जनले अध्यापन पेशा थालेको वि.स. २०४६ सालदेखि हो । ज्ञानोदयमा उनले २०७१ सालबाट प्रधानाध्यापकको जिम्मेवारी लिएका हुन् । आफुले बुझेदेखि विद्यालयको अवस्थामा धेरै परिवर्तन आएको उनी सुनाउँछन् । ‘खोलाको छेउको जग्गामा सुरु भएको विद्यालयको आफ्नै जग्गा समेत थिएन, कतिपय दाताहरुले दिनुभो र कतिपय किनेर अहिलेको अवस्थामा आइपुगेको हो’, महर्जन भन्छन् । अहिले विद्यालयलाई आवश्यक बनेको भवनले आवश्यकताअनुसारको कक्षाकोठा बनाउन नै नपुगेको उनी गुनासो गर्छन् । क्यान्टिन चलाउनको लागि दुईवटा कोठा छुट्याएका छन् । विद्यार्थीको संख्याले क्यान्टि पनि धान्न मुस्किल भएको उनी सुनाउँछन् । झण्डै साढे चार हजार पढ्ने स्कुलले गाडीको व्यवस्था गरेको छैन । कतिपय अभिभावकहरुले गाडी राख्ने सुझाव दिने गरेको तर त्यसका लागि विद्यालयसँग धेरै समस्या रहेको उनी बताउँछन् । ‘गाडी राख्नलाई हामीसँग ठाउँ नै छैन, गाडी राखेपछि चलाउने मान्छे चाहियो, चलाउने मान्छे एउटा शिक्षक भन्दा महंगो हुँदा रहेछ, ड्राइभर पाल्ने पैसाले बरु एउटा शिक्षक आउँछ जस्तो लाग्छ’, प्रअ महर्जन भन्छन् । विद्यालयको प्राङ्गण विद्यार्थी संख्याको अनुपातमा निकै साँघुरो छ । विद्यार्थी स्कुल आउने समय, मध्यान्तर समय र छुट्टी हुने समय विद्यार्थी नै अट्दैनन् । ‘हामीलाई कक्षाकोठा पुगेको छैन, प्राङ्गण पुगेको छैन तर बनाउने ठाउँ छैन’, उनी थप्छन्, ‘सरकारले भवन बनाउने पैसा दिन्छ तर जमिन किन्ने पैसा दिँदैन ।’ दुई/चार पटक भवन बनाउनको लागि सरकारमार्फत् आएको पैसा फिर्ता गएको उनी सुनाउँछन् । ‘नजिकै केही जग्गा पाइएको छ, विद्यालयलाई दिने भनेका छन् तर हामीसँग किन्ने पैसा छैन,’ उनी भन्छन्, यसमा हामीलाई सरकारको सहयोग चाहिएको छ ।’ शिक्षा पेशामा ३३ वर्ष काम गरेका महर्जन विद्यालयलाई व्यवस्थित डिजिटलाइज्ड गर्न चाहन्छन् । तर, उनीसँग ज्ञानोदयको सरकारी सेवामा रहिरहन अब उमेरले धेरै दिँदैन । उनी अर्को वर्ष रिटायर्ड हुँदैछन् ।
लघुवित्तहरुको लाभांश ७७ प्रतिशतसम्म, यी १६ कम्पनीको सेयर किन्दा अझै पाइन्छ प्रतिफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिकांश कम्पनीहरुलाई लाभांश वितरणमै कडाइ गर्दा केही लघुवित्तहरुले भने आकर्षक लाभांश घोषणा गरेका छन् । केही बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ग्राहकबाट शुल्क तथा प्रिमियम लिएको भेटाएपछि राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्दा केही लघुवित्तले भने सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सफल भएका हुन् । राष्ट्र बैंकको नीति अनुसार आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारणसभा गरि सक्नु पर्ने प्रावधान भएपनि राष्ट्र बैंकले एजीएम क्लियरेन्स नदिँदा अधिकांश लघुवित्तहरुले साधारणसभा गर्न पाएका छैनन् भने लाभांश पनि घोषणा गर्न पाएका छैनन् । तर, केही यस्ता लघुवित्त छन् जसले सेयरधनीलाई उच्च रुपमा प्रतिफल दिएर खुसी बनाएका छन् । केही लघुवित्तहरुले सेयरधनीहरुलाई ७६ प्रतिशत बढी लाभांश दिएका छन् । २५ वटा लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उच्च रुपमा लाभांश घोषणा गरेका हुन् । करिब आधा दर्जन लघुवित्तले मात्रै साधारणसभा गरिसकेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये नौ वटाको बुक क्लोज भइसकेको छ भने १६ वटाको बुक क्लोज हुन बाँकी छ । हालसम्म इन्फिनिटी (२० प्रतिशत), सर्पोर्ट (११.५७८९प्रतिशत), नयाँ सारथी (२० प्रतिशत), मिथिला (१५.७८९५), स्वाबलम्बन (२१.०५), छिमेक (२५.२६), एनएमबि (१०.५२६३), स्वरोजगार (२३.१५७९), डिप्रोक्स (२१.०५२६), माहुली (२५), महिला (५०), निर्धान उत्थान (२०), आँधीखोला (३१.५८), सिवाइसी नेपाल लघुवित्त (३१.५८)ले लाभांश घोषणा गरेका छन् । यस्तै, साधन (२०), मिरमिरे (२३), नेरुड (२३.१५७९), मेरो माइक्रोफाइनान्स (२०), फरवार्ड (३०), गुँरास (४.२१०५), आरएमडीसी (२७.३६८४), साना किसान विकास (२७.३६८४), फष्र्ट माइक्रोफाइनान्स (२०), आरएसडीसी (११), जालपा सामुदायिक लघुवित्त (७६.८४२१ प्रतिशत)ले लाभांश घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका लघुवित्तहरुमध्ये इन्फिनिटी, सर्पोर्ट, नयाँ सारथी, मिथिला, स्वाबलम्बन, छिमेक, एनएमबि, स्वरोजगार, डिप्रोक्स, माहुली, महिला, निर्धान उत्थान, नेरुड, फष्र्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको बुक क्लोज हुन बाँकी छ । अन्यको बुक क्लोज भइसकेको छ । बुक क्लोज हुन बाँकी कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउने व्यवस्था छ । बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउनका लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ । लघुवित्तमा नेरुड लघुवित्तको लाभांश सुरक्षित गर्न १४ दिन बाँकी छ । सो लघुवित्तले माघ ३१ गते बुक क्लोज मिति तोकेको छ । यसको अर्थ माघ ३० गते सम्म नेप्सेमा यस लघुवित्तको सेयरधनीको रुपमा कारोबार गरेकाले मात्र यस कम्पनीको लाभांश पाउनेछन् ।