एकल पुरुषलाई स्थानीय सरकारको राहत, जिविका धान्न मासिक भत्ता
काठमाडौं । स्थानीय तहहरुले एकल पुरूषको जिविकोर्पाजनमा सघाउने कार्यक्रम बनाई मासिक भत्ताकोरुपमा राहत दिइरहेका छन् । स्थानीय तहको वार्षिक बजेटमै कार्यक्रम समावेश गरेर एकल पुरूषहरुलाई भत्ता दिने स्थानीय तहको संख्या बढिरहेको छ । उनीहरुले भत्ता वितरणका लागि छुट्टै कार्यविधिन समेत बनाएका छन् । स्थानीय तहहरुले न्यूनतम पाँच सयदेखि अधिकतम पाँच हजार रुपैयाँसम्म एकल पुरुष भत्ता दिने गरेको पाइएको छ । ललितपुरको बागमती गाउँपालिकाले विगत ४ वर्षदेखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । एकल पुरुष भत्ता कार्यक्रम अन्तर्गत गाउँपालिकाले प्रतिव्यक्ति १५ सय रुपैयाँ दिँदै आएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । पालिकाले ६० वर्ष पुगेको तर ७० वर्ष ननाघेका एकल पुरुषलाई मासिक १५ सय रूपैयाँ दिने गरी कार्यविधि बनाएको लोप्चनले बताए । सरकारले दिएको वृद्ध भत्ता लिनेहरुलाई भने गाउँपालिकाले एकल पुरुष भत्ता नदिइने उनले बताए । बागमती गाउँपालिकामा यस्तो एकल पुरुष भत्ता लिनेहरुको संख्या ५० देखि ५५ जना रहेको लोप्चन बताउँछन् । ‘हामीले एकल भत्ता कार्यक्रम अन्तर्गत एक हजार रूपैयाँ उपलब्ध गराउँदै आएका थियौं । अहिले भने पाँच सय थपेर १५ सय रुपैयाँ पु¥याएका छौं । अहिले यस्तो भत्ता लिने पुरुषको संख्या पनि बढेको छ’, लोप्चनले भने । बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आठ लाख रूपैयाँ एकल पुरुष भत्ता छुट्याएको छ । त्यसैगरी, रामेछापको सुनापाति गाउँपालिकाले पनि एकल पुरुषहरूलाई एक हजार रुपैयाँ भत्ता दिँदै आएको छ । गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङका अनुसार पालिकाले विगत ३ वर्षदेखि भत्ता वितरण गर्दै आएको छ । एकल महिलालाई मात्रै भत्ता दिँदै आएको सुनापाति गाउँपालिकाले विगत दुई वर्षदेखि भने एकल पुरूषलाई पनि भत्ता दिन थालेको हो । गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिनका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्टयाएको तामाङले जानकारी दिए । उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ बाट पालिकाभित्रका एकल पुरुषलाई मासिक रूपमा भत्ता वितरण गर्ने नीति बनाएको थियो । सुनापाति गाउँपालिकाले विवाहपछि एकल भएका पुरुषको हकमा ५० वर्ष र अविवाहित पुरुषको हकमा ६० वर्ष उमेर पुगेकाले एकल पुरुष भत्ता पाउने व्यवस्था गरेको तामाङले जानकारी दिए । एकल पुरूषलाई जिविकोपार्जनमा सहजता होस् भनेर भत्ता दिन थालिएको उनले बताए । पाल्पाका दुई स्थानीय तह रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले पनि एक पुरुष भत्ता दिँदै आएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाले विगत तीन वर्षदेखि एकल पुरुषलाई भत्ता दिँदै आएको छ । एकल पुरुषलाई गाउँपालिकाले पाँच सय रुपैयाँका दरले भत्ता दिँदै आएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । अपिहिमाल गाउँपालिकाले एक सयभन्दा बढी पुरुषलाई एकल भत्ता दिने गरेको बोहोराले जानकारी दिए । त्यसका लागि वार्षिक दुई लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । सो भत्ता गाउँपालिकाले ४० वर्ष पुगेका ६८ वर्ष ननाघोकाहरुलाई उपलब्ध गराउँदै आएको उनले बताए । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक एक हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् । पालिकाभित्रका ६० वर्षदेखि ६८ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रुपमा एकल पुरुष भत्ता पाउने गरेको सूचना अधिकारी अर्जुन चापागाईंले बताए । चापागाईंकाअनुसार गाउँपालिकाले विगत तीन वर्षदेखि यस्तो भत्ता उपलब्ध गराउँदै आएको छ । ‘गाउँपालिकाले पहिला एकल पुरुषहरूलाई ५ सय रुपैयाँ दिन्थ्यो, गत वर्षदेखि बढाएर एक हजार रूपैयाँ दिन थालेको छ’, उनले भने । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पनि विगत ५ वर्षदेखि एकल पुरुषलाई भत्ता दिने गरेको छ । नगरपालिकाले विवाहित र अविवाहित एकललाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको नगरपालिकाकी पञ्जीकरण विभागकी पार्वता पुरीले बताइन् । पुरीकाअनुसार नगरपालिका भित्र ६५ जनाले यस्तो भत्ता पायरहेका छन् । चालु आर्थिक वर्षका लागि नगरले एक लाख ६० हजार रुपैयाँ बजेट छुट्याए उनले बताइन् । यसैगरी, काभ्रेको तेमाल गाउँपालिकाले विदुर एवं एकल पुरूषहरूलाई भत्ता दिँदै आएको छ ।
‘बैंकको ब्याजदर दीर्घकालका लागि घटेको हो’
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दै दीर्घकालसम्म न्यून रहने बताएका हुन् । ‘लगानीयोग्य कर्जा सहज भएकाले बैंकहरुले ब्याजदरमा भद्र सहमति तोडेका हुन् । यसले समग्रमा ब्याजदर घट्न मद्दत गरेको छ । ग्राहकको इच्छाअनुसार आफ्नो रोजेको बैंकमा जान सक्छन् । समग्र अर्थतन्त्रको सहजताका लागि सहमति तोडिएको हो,’ अध्यक्ष केसीले भने, ‘ब्याजदर अब दीर्घकालका लागि घटेको हो । कुनै असामान्य अवस्था नआएसम्म अब बैंकको ब्याजदर दीर्घकालका लागि घटेको हो ।’ एनएमबी बैंकका सीईओ समेत रहेका केसीले चालू आर्थिक वर्षमा ६/७ सय अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य राखेको भएपनि चुनौती कायम रहेको बताए । उनका अनुसार राष्ट्र बैंकले साढे ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राख्दा उत्पादनमुलक र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन चाहेको हो । ‘राष्ट्र बैंकको मौद्रिक नीतिले वास्तविक अर्थतन्त्रलाई सपोर्ट हुने गरी बैंकिङ्गलाई विजनेश गर्न सहज हुनेछ । सेयर कर्जा, घरकर्जा र अटोकर्जामा सहुलियत दिँदा अन्य क्षेत्र निर्माण, सिमेन्ट लगायत क्षेत्रलाई समेत सजिलो हुनेछ,’ अध्यक्ष केसीले भने, ‘अन्तर बैंकदर ह्वात्तै घटेर ०.५ प्रतिशतमा झर्ने र ह्वात्तै बढेर ९ प्रतिशत पुग्ने अस्थिरतालाई अब स्थिरता कायम हुनेछ ।’ बैंकको ब्याजदर सम्बन्धी भद्र सहमति सबैको सहमतिमा नै तोडेको उनको भनाइ छ । भद्र सहमति तोडेपछि बैंकहरुको औसत ब्याजदर साउनमा बचततर्फ न्यूनतम ५.५ प्रतिशतदेखि ९.३४ प्रतिशतमा झरेको उनको दावी छ । बैंकिङ्ग क्षेत्रमा तरलता सहज भएपछि ब्याजदरमा कायम गरिएको भद्र सहमति तोड्नु परेको अध्यक्ष केसीले बताए । ‘कर्जाको माग कम र निक्षेप संकलन दर बढ्दै गएपछि ब्याजदर पनि निरन्तर घट्ने देखिन्छ । सरकारको खर्च पनि बढेका कारण तरलता सहज भएको हो । निजी क्षेत्र र ऋणीहरुसँग छलफल गर्दा ब्याजदर उच्च भएको गुनासो थियो । अब ब्याजदर कम भइसकेको छ,’ उनले भने । उनका अनुसार गत पुसमा साढे १३ प्रतिशत बैंकहरुको औसत कर्जाको दर रहेकोमा जेठमा घटेर १२.५३ प्रतिशतमा सिमित भएको छ । साथै, जेठमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशतमा झरेको छ । ४ प्रतिशतमा स्प्रेडदर घट्दा ब्याजदर कम हुँदै जाने अध्यक्ष केसीले बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार आन्तरिक क्षेत्र सुधार हुँदै गएको र विदेशी मुद्रा सञ्चिति ठिकै रहेको बताए । साथै, रेमिट्यान्स आयातमा पछिल्ला महिनाहरुमा रेकर्ड ब्रेक गर्दै आएको उनको भनाइ छ । मौद्रिक नीति आन्तरिक क्षेत्र तथा अर्थतन्त्रलाई चलायमान गर्ने गरी सन्तुलित आएकाे उनले बताए । उनका अनुसार बैंकहरुले बाहिरबाट स्रोत ल्याउँदा हेजिङ गर्नु पर्ने व्यवस्था छिट्टै लागू हुने भएपछि बैंकहरुलाई समेत सहज हुनेछ । बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले पनि मौद्रिक नीति सन्तुलित आएको बताए । तरलता सहज भएपछि ब्याजदर खुला छोड्नु परेको उनले बताए । अब बैंकहरुले आ-आफ्नो तरिकाले अनुकुलता अनुसार ब्याजदर तोकेर जानु पर्ने बताए । ‘अब बैंकहरुले आफ्नो व्यवस्थापन गरेर अघि बढ्नु पर्ने बेला आएको छ । ब्याजदर खुला छोड्दा भविष्यमा सोही अनुसारको प्रभाव पार्नेछ,’ उनले भने ।
एक वर्षमा १२ अर्बको विद्युतीय गाडी आयात, कहाँ-कहाँबाट आउँछन् गाडी ?
काठमाडौं । एक वर्षको अवधिमा नेपालमा चार हजारभन्दा बढी विद्युतीय गाडी आयात भएको छ । जसका लागि नेपालले करीब १२ अर्ब रुपैयाँ खर्चिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९र८० को तथ्यांक अनुसार, एक वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको चार हजार ५० वटा विद्युतीय गाडी आयात भएको छ। उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार, असार महिनामा मात्रै एक सय ८० वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । विभागले सार्वजनिक गरेको असार महिनासम्मको तथ्यांकअनुसार विद्युतीय गाडीको आयात बढेको देखिन्छ । सरकारले जेठ १५ गते चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्नु अगाडि उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । गत जेठ महिनासम्म विभिन्न भन्सार नाका हुँदै तीन हजार आठ सय ७० गाडी नेपाल आएको थियो । त्यसबेला ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँको गाडी बढी आयात भएको भन्सार विभागको तथ्यांक छ । जसबाट ती अर्ब ५१ लाख १८ हजारभन्दा बढी रुपैयाँ राजश्व संकलन भएको थियो । विभागको तथ्यांकअनुसार असार महिनामा सबैभन्दा धेरै विद्युतीय गाडीहरू भारतबाट भित्रिएका छन् । भारतबाट ५० किलोवाटका दुई हजार एक सय ८६ वटा गाडी र १०० वाटका ९१ वटा गाडी नेपाल भित्रिएका हुन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट असारमा १०० किलोवाट क्षमताका १२ सय २१ वटा र ५१ देखि १०० किलोवाटसम्मका १४३ वटा गाडी आयात भएका छन् । असारसम्ममा चीनबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी आयात भएका छन् । दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको तीन सय ४० र इन्डोनोसियाबाट ११ वटा गाडी आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोबाट क्षमताका पाँच वटा, बेलायतबाट पाँच वटा विद्युतीय गाडीहरू नेपाल भित्रिएका हुन । युकेबाट १०१ देखि २०० किलोवाट क्षमताका पाँच वटा र बेलायतबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । पछिल्लो समय भारबाट टाटाको विद्युतीय गाडी नेक्सन, टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरू आयात हुने गरेको छ ।