एकल पुरुषलाई स्थानीय सरकारको राहत, जिविका धान्न मासिक भत्ता

<p>काठमाडौं । स्थानीय तहहरुले एकल पुरूषको जिविकोर्पाजनमा सघाउने कार्यक्रम बनाई मासिक भत्ताकोरुपमा राहत दिइरहेका छन् । स्थानीय तहको वार्षिक बजेटमै कार्यक्रम समावेश गरेर एकल पुरूषहरुलाई भत्ता दिने स्थानीय तहको संख्या बढिरहेको छ । उनीहरुले भत्ता वितरणका लागि छुट्टै कार्यविधिन समेत बनाएका छन् । स्थानीय तहहरुले न्यूनतम पाँच सयदेखि अधिकतम पाँच हजार रुपैयाँसम्म एकल पुरुष भत्ता [&hellip;]</p>

काठमाडौं । स्थानीय तहहरुले एकल पुरूषको जिविकोर्पाजनमा सघाउने कार्यक्रम बनाई मासिक भत्ताकोरुपमा राहत दिइरहेका छन् । स्थानीय तहको वार्षिक बजेटमै कार्यक्रम समावेश गरेर एकल पुरूषहरुलाई भत्ता दिने स्थानीय तहको संख्या बढिरहेको छ । उनीहरुले भत्ता वितरणका लागि छुट्टै कार्यविधिन समेत बनाएका छन् ।

स्थानीय तहहरुले न्यूनतम पाँच सयदेखि अधिकतम पाँच हजार रुपैयाँसम्म एकल पुरुष भत्ता दिने गरेको पाइएको छ ।
ललितपुरको बागमती गाउँपालिकाले विगत ४ वर्षदेखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । एकल पुरुष भत्ता कार्यक्रम अन्तर्गत गाउँपालिकाले प्रतिव्यक्ति १५ सय रुपैयाँ दिँदै आएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए ।

पालिकाले ६० वर्ष पुगेको तर ७० वर्ष ननाघेका एकल पुरुषलाई मासिक १५ सय रूपैयाँ दिने गरी कार्यविधि बनाएको लोप्चनले बताए । सरकारले दिएको वृद्ध भत्ता लिनेहरुलाई भने गाउँपालिकाले एकल पुरुष भत्ता नदिइने उनले बताए ।
बागमती गाउँपालिकामा यस्तो एकल पुरुष भत्ता लिनेहरुको संख्या ५० देखि ५५ जना रहेको लोप्चन बताउँछन् ।

‘हामीले एकल भत्ता कार्यक्रम अन्तर्गत एक हजार रूपैयाँ उपलब्ध गराउँदै आएका थियौं । अहिले भने पाँच सय थपेर १५ सय रुपैयाँ पु¥याएका छौं । अहिले यस्तो भत्ता लिने पुरुषको संख्या पनि बढेको छ’, लोप्चनले भने । बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आठ लाख रूपैयाँ एकल पुरुष भत्ता छुट्याएको छ ।

त्यसैगरी, रामेछापको सुनापाति गाउँपालिकाले पनि एकल पुरुषहरूलाई एक हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङका अनुसार पालिकाले विगत ३ वर्षदेखि भत्ता वितरण गर्दै आएको छ । एकल महिलालाई मात्रै भत्ता दिँदै आएको सुनापाति गाउँपालिकाले विगत दुई वर्षदेखि भने एकल पुरूषलाई पनि भत्ता दिन थालेको हो । गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिनका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्टयाएको तामाङले जानकारी दिए ।

उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ बाट पालिकाभित्रका एकल पुरुषलाई मासिक रूपमा भत्ता वितरण गर्ने नीति बनाएको थियो ।

सुनापाति गाउँपालिकाले विवाहपछि एकल भएका पुरुषको हकमा ५० वर्ष र अविवाहित पुरुषको हकमा ६० वर्ष उमेर पुगेकाले एकल पुरुष भत्ता पाउने व्यवस्था गरेको तामाङले जानकारी दिए । एकल पुरूषलाई जिविकोपार्जनमा सहजता होस् भनेर भत्ता दिन थालिएको उनले बताए ।

पाल्पाका दुई स्थानीय तह रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले पनि एक पुरुष भत्ता दिँदै आएका छन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिकाले विगत तीन वर्षदेखि एकल पुरुषलाई भत्ता दिँदै आएको छ । एकल पुरुषलाई गाउँपालिकाले पाँच सय रुपैयाँका दरले भत्ता दिँदै आएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।

अपिहिमाल गाउँपालिकाले एक सयभन्दा बढी पुरुषलाई एकल भत्ता दिने गरेको बोहोराले जानकारी दिए । त्यसका लागि वार्षिक दुई लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । सो भत्ता गाउँपालिकाले ४० वर्ष पुगेका ६८ वर्ष ननाघोकाहरुलाई उपलब्ध गराउँदै आएको उनले बताए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक एक हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

पालिकाभित्रका ६० वर्षदेखि ६८ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रुपमा एकल पुरुष भत्ता पाउने गरेको सूचना अधिकारी अर्जुन चापागाईंले बताए ।

चापागाईंकाअनुसार गाउँपालिकाले विगत तीन वर्षदेखि यस्तो भत्ता उपलब्ध गराउँदै आएको छ । ‘गाउँपालिकाले पहिला एकल पुरुषहरूलाई ५ सय रुपैयाँ दिन्थ्यो, गत वर्षदेखि बढाएर एक हजार रूपैयाँ दिन थालेको छ’, उनले भने ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पनि विगत ५ वर्षदेखि एकल पुरुषलाई भत्ता दिने गरेको छ । नगरपालिकाले विवाहित र अविवाहित एकललाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको नगरपालिकाकी पञ्जीकरण विभागकी पार्वता पुरीले बताइन् । पुरीकाअनुसार नगरपालिका भित्र ६५ जनाले यस्तो भत्ता पायरहेका छन् । चालु आर्थिक वर्षका लागि नगरले एक लाख ६० हजार रुपैयाँ बजेट छुट्याए उनले बताइन् ।

यसैगरी, काभ्रेको तेमाल गाउँपालिकाले विदुर एवं एकल पुरूषहरूलाई भत्ता दिँदै आएको छ ।

Share News