९० हजारथरी सामान, दैनिक १० हजार ग्राहक

बाहिरभन्दा १५ रुपैयाँ सस्तो

काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको छ । खाद्यान्नदेखि फलफूल, तरकारी, लत्ताकपडा र विद्युतीय सामग्रीसम्मको मूल्यले उपभोक्ताको बजेटमा दबाब बढाइरहेको छ । यस्तो अवस्थामा उपभोक्ताको ध्यान भने एउटै प्रश्नमा केन्द्रित हुन्छ, कहाँ सस्तो, गुणस्तरीय र भरपर्दो सामान पाइन्छ ? यही प्रश्नको एउटा उत्तरका रूपमा धेरै उपभोक्ताले भाटभटेनी सुपरस्टोरलाई रोज्ने गरेको पाइन्छ ।

काठमाडौंको नक्सालस्थित भाटभटेनीमा पुग्दा ग्राहकको बाक्लो भीड देखिन्छ । कोही दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन् । कोही फलफूल र तरकारी छानिरहेका छन् भने कोही लत्ताकपडा, कस्मेटिक्स तथा विद्युतीय सामग्री खरिदमा व्यस्त देखिन्छन् । एउटै स्थानमा घरायसी आवश्यकताका अधिकांश सामग्री उपलब्ध हुनु भाटभटेनीको प्रमुख आकर्षण बनेको छ ।

वनस्थलीबाट नक्सालस्थित भाटभटेनी पुगेकी इन्दिरा केसीका लागि भाटभटेनीमा किनमेल गर्नु केवल आवश्यक सामान खरिद गर्नु मात्रै होइन, एउटा छुट्टै अनुभव पनि हो । उनी ग्रोसरीका सामान किन्न भाटभटेनी धाउने गर्छिन् । यहाँ प्रवेश गरेपछि आवश्यकताभन्दा बढी सामानसमेत किनौं किनौं जस्तो लाग्ने उनको अनुभव छ ।

null

उनका अनुसार बजारका सबै ठाउँमा सबै प्रकारका सामान पाइँदैनन् । तर भाटभटेनीमा भने खाद्यान्नदेखि बालबालिकाका सामग्री, महिलाका सामान, इलेक्ट्रोनिक्सलगायत घरमा आवश्यक पर्ने धेरै वस्तु एकै ठाउँमा भेटिन्छन् । त्यसैले उनलाई यहाँको सबैभन्दा ठूलो सुविधा नै सबै कुरा एउटै ठाउँमा पाइने लाग्छ ।

मूल्यका विषयमा भने केसीले बाहिरी बजारसँग विस्तृत तुलना नगरेको बताउँछिन् । तर भाटभटेनीका सामग्री गुणस्तरीय र ब्रान्डेड हुन्छन् भन्ने विश्वासले आफू यहाँ आउने गरेको उनको भनाइ छ । उत्पादनको म्याद, गुणस्तर र बजारमा आउने समाचारप्रति ध्यान जाने भएकाले पनि भाटभटेनीप्रति विश्वास बनेको उनी बताउँछिन् । 

बाहिरभन्दा १५ रुपैयाँ सस्तो

मण्डिखाटारका पवन श्रेष्ठ भाटभटेनीका नियमित ग्राहक हुन् । फलफूल, तरकारी, खाद्यान्न, दाल, रोटी तथा भान्साका अन्य सामग्री खरिद गर्न उनी प्रायः भाटभटेनी नै पुग्छन् । उनको अनुभवमा बाहिरी बजारको तुलनामा यहाँ केही वस्तु सस्तोसमेत पाइन्छ । उनले तरकारीमा प्रतिकिलो १०/१५ रुपैयाँसम्म फरक पर्ने गरेको बताए ।

null

जुम्लाको स्याउ बाहिर करिब २०० रुपैयाँमा पाइरहँदा भाटभटेनीमा १७५ रुपैयाँमा पाएको र ३५० रुपैयाँ पर्ने मुस्ताङको स्याउ ३१० रुपैयाँमा पाएको उनको अनुभव छ । श्रेष्ठका लागि भाटभटेनीको अर्को महत्त्वपूर्ण पक्ष हो, बार्गेनिङ गर्न नपर्नु । बाहिरी बजारमा एउटै सामानको मूल्य पसलअनुसार फरक हुन सक्ने र मूल्यमा मोलमोलाइ गर्नुपर्ने अवस्था हुने भए पनि भाटभटेनीमा मूल्य निश्चित हुने उनी बताउँछन् ।

सामान आफै छानेर काउन्टरमा गएर भुक्तानी गर्न सकिने भएकाले किनमेल सहज भएको उनको भनाइ छ । उनका अनुसार आवश्यक पर्ने अधिकांश सामान एउटै स्थानमा पाइन्छ । त्यसमाथि पार्किङको सुविधा पनि भएकाले बाहिरी बजारभन्दा यहाँ किनमेल गर्न सहज लाग्छ ।

अन्य सुपरमार्केटसँग तुलना गर्दा पनि केही खाद्यान्न सामग्री भाटभटेनीमा सस्तो पाएको उनको अनुभव छ । दूध, दहीबाहेक अन्य कतिपय सामग्रीमा आफूले भाटभटेनीलाई तुलनात्मक रूपमा सस्तो पाएको उनी बताउँछन् । 

फिक्स मूल्य, मोलमोलाइको झन्झट छैन

नियमित ग्राहक गीतु बस्नेत र रीता बस्नेतको अनुभव पनि मूल्य र सहजताकै वरिपरि छ । उनीहरूका अनुसार भाटभटेनीमा सबै सामान बजारभन्दा सस्तो हुन्छ भन्ने होइन । केही वस्तु उस्तै मूल्यमा, केही महँगो र केही सस्तो पाइन्छन् । तर उनीहरूलाई भाटभटेनीको सबैभन्दा राम्रो पक्ष भनेको तोकिएको मूल्य अर्थात् एमआरपीअनुसारको निश्चित मूल्य हो । बजारका कतिपय खुद्रा पसलमा मनपरी मूल्य हुन सक्ने भए पनि यहाँ मोलमोलाइ गर्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

null

उनीहरूका अनुसार दैनिक प्रयोग हुने केही सामग्री बजारभन्दा १०/१५ रुपैयाँसम्म सस्तो पनि पाइन्छ। विद्युतीय सामग्रीमा समेत छुटको सुविधा रहेको उनीहरूले बताए ।

दैनिक ७ हजार ग्राहक

नक्साल भाटभटेनी सुपरस्टोरकी म्यानेजर रेजिना प्रधानका अनुसार ग्राहकको आगमन निरन्तर राम्रो छ । ग्राहकहरू पटक-पटक आइरहेका छन् ।  सामान्य दिनमा दैनिक करिब ६/७ हजार ग्राहक आउने गरेको र व्यस्त समयमा यो संख्या ७ हजारदेखि १० हजारसम्म पुग्ने गरेको प्रधान दावी गर्छिन् । ग्राहकलाई सहज किनमेलको वातावरण बनाउन काउन्टरको संख्या बढाउनुका साथै फ्लोरलाई फराकिलो बनाइएको उनको भनाइ छ ।

null

बालबालिकाका लागि टोय सेक्सन, फुड पार्क तथा पार्किङको सुविधाले पनि परिवारसहित आउने ग्राहक बढाएको उनी बताउँछिन् । नक्सालस्थित भाटभटेनीमा पाँचवटा फ्लोर छन् । ग्राउन्ड फ्लोरमा ग्रोसरी तथा खाद्य सामग्री, पहिलोमा किचेन र कस्मेटिक्स, दोस्रोमा रेडिमेड तथा साडी-कुर्ता, तेस्रोमा जुत्ता र इलेक्ट्रोनिक्स तथा चौथो फ्लोरमा फुड पार्क र बालबालिकाका लागि मनोरञ्जनका सामग्री छन् । पाँचौं फ्लोरमा कार्यालय तथा अन्य सामग्रीको व्यवस्था रहेको म्यानेजर प्रधानले जानकारी दिइन् । 

एउटै स्टोरमा हजारौं सामग्री

भाटभटेनीमा एउटा मात्र उत्पादन बढी बिक्री हुन्छ भनेर छुट्याउन कठिन रहेको व्यवस्थापनको भनाइ छ । दैनिक आवश्यक पर्ने खाद्य तथा गैरखाद्य सामग्रीदेखि बेबी प्रोडक्ट, भाँडाकुँडा, कपडा र इलेक्ट्रोनिक्ससम्मका हजारौं प्रकारका सामग्री उपलब्ध छन् । व्यवस्थापनका अनुसार स्टोरमा ९० हजारभन्दा बढी प्रकारका सामग्री रहेको दाबीसमेत गरिएको छ ।

तर कुन एउटा सामग्री सबैभन्दा बढी बिक्री हुन्छ भन्ने छुट्टै वर्गीकरण गर्न कठिन रहेको म्यानेजर प्रधान बताउँछिन् । भाटभटेनीमा आयातित सामग्रीसँगै आफ्नै ब्रान्डका कफी, नट्स तथा ड्राइ फ्रुट्सलगायतका सामग्री पनि रहेको व्यवस्थापनले जनाएको छ । रेडिमेड, इलेक्ट्रोनिक्स, कार्पेटलगायतका विभिन्न सामग्री पनि आयात गरेर बिक्री गर्ने गरिएको छ ।

null

बजार महँगिँदा पनि मूल्य सकेसम्म न्यून

बजारमा मूल्य बढिरहेका बेला भाटभटेनीले मूल्य नियन्त्रण र ग्राहकलाई राहत दिने विषयलाई प्राथमिकतामा राखेको व्यवस्थापनको दाबी छ । स्टोर म्यानेजर प्रधानले विगतमा चिनीको अभाव र मूल्यवृद्धि भएको समयमा बजारमा चिनीको मूल्य करिब १९० रुपैयाँसम्म पुगेको अवस्थामा भाटभटेनीमा भने ११० रुपैयाँमा बिक्री गरिएको उदाहरण दिइन् । 

बजारमा मूल्य बढ्दैमा भाटभटेनीले पनि त्यसैअनुसार मूल्य बढाउनेभन्दा सकेसम्म अफर दिने र मूल्य न्यून राख्ने उद्देश्य रहेको उनको भनाइ छ । उनका अनुसार विद्युतीय सामग्रीमा कतिपय वस्तुमा १० देखि २५ प्रतिशतसम्म छुट उपलब्ध छ । टेलिभिजन, वासिङ मेसिन, फ्रिज, फ्यान तथा भ्याकुमलगायत सामग्रीमा छुट तथा स्किम राखिएको छ । कस्मेटिक्समा पनि छुट उपलब्ध रहेको र रेडिमेड तथा विवाहका कुर्तालगायत सामग्रीमा २० प्रतिशतसम्म नगद छुट रहेको उनले बताइन् । 

खाद्यान्नमा पनि मूल्यलाई प्रतिस्पर्धी राख्ने प्रयास भइरहेको व्यवस्थापनको दाबी छ । चामलमा बाहिरी बजारको तुलनामा २० किलोमा करिब ३/४ सय रुपैयाँसम्म कम पर्न सक्ने प्रधानले बताइन् । फलफूल तथा तरकारीमा पनि भाटभटेनीले सकेसम्म प्रत्यक्ष स्रोतबाट सामग्री ल्याउने प्रयास गरेको व्यवस्थापनको भनाइ छ ।

म्यानेजर प्रधानका अनुसार फलफूल तथा तरकारी फार्म टु फार्मर अवधारणामा ल्याउने गरिएको छ । हालै मुस्ताङको स्याउ प्रतिकिलो ३१० रुपैयाँमा आएको र आफूले समेत यसको गुणस्तर परीक्षण गरेको उनले बताइन् । 

null

गुणस्तरमा जोड, म्याददेखि एमआरपीसम्म निगरानी

ग्राहकको विश्वास कायम राख्न उत्पादनको गुणस्तर र विवरणमा ध्यान दिइएको व्यवस्थापनको दाबी छ । प्रधानका अनुसार सामग्रीमा एमआरपी, उत्पादक, उत्पादन तथा म्याद सकिने मितिलगायत आवश्यक विवरण राखिएको हुन्छ । खाद्य सामग्रीमा आवश्यक नियामकीय विवरण र नम्बरसमेत नभएको सामग्री बिक्रीका लागि नराखिने उनको भनाइ छ । यही कारण ग्राहकको विश्वास कायम भएको उनी बताउँछिन् ।

भाटभटेनीलाई महँगो पसलका रूपमा बुझ्ने उपभोक्ताको एउटा वर्ग अझै पनि छ । व्यवस्थापन भने यो धारणा पुरानो भएको बताउँछ । स्टोर म्यानेजर प्रधानका अनुसार भाटभटेनीमा सस्तोदेखि महँगोसम्म विभिन्न मूल्यका सामान उपलब्ध छन्। त्यसैले भाटभटेनी महँगो छ भन्ने धारणा बनाउनुअघि एकपटक आएर बजारसँग मूल्य तुलना गर्न उनी उपभोक्तालाई आग्रह गर्छिन् । 

अन्ततः भाटभटेनीको आकर्षण केवल सामान बिक्रीमा मात्र सीमित देखिँदैन । एकै स्थानमा धेरै प्रकारका सामान, निश्चित मूल्य, पार्किङ, परिवारसहित किनमेल गर्न सकिने वातावरण, विभिन्न छुट तथा गुणस्तरप्रतिको विश्वास, यी सबै पक्षले ग्राहकलाई पटक-पटक भाटभटेनीतर्फ फर्काइरहेका छन् । बजारमा मूल्यवृद्धिको दबाब बढिरहँदा उपभोक्ताले खोज्ने कुरा पनि यही हो, सस्तो कहाँ छ, गुणस्तरीय कहाँ छ र समय बचाएर सबै सामान कहाँ पाइन्छ ?

null
 

Share News