खुसुक्क ७ अर्ब नयाँ नोट बजारमा

किन सार्वजनिक भएन सूचना ?

काठमाडौं । दशैं नजिकिँदै गर्दा हरेक वर्षझैँ यसपटक पनि नयाँ नोटको खोजी सुरु भएको छ । नयाँ नोट साट्न राष्ट्र बैंक पुग्ने भीड, बैंकका शाखामा हुने चाप र नयाँ नोटका लागि हुने दौडधुप यसपटक भने केही फरक देएको छ । नेपाल राष्ट्र बैंकले यसपटक दशैंका लागि नयाँ नोट वितरण गर्ने भन्दै छुट्टै सार्वजनिक सूचना जारी गरेको छैन । तर, यसको अर्थ दशैंमा साना दरका नोट पाइँदैनन् भन्ने होइन ।

राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय, आफ्ना सबै प्रादेशिक कार्यालय तथा बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणलाई आवश्यकताअनुसार साना दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार असोज १ गतेदेखि नै वाणिज्य बैंकहरूले आफूलाई आवश्यक पर्ने साना दरका नोट लैजान थालेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाले करिब ७ अर्ब रुपैयाँ बराबरका साना दरका नयाँ नोट सटही गरिसकेका छन् । ‘दशैंका लागि भनेर नयाँ नोट वितरण गर्ने सूचना निकालेका छैनौँ, तर वितरण भने भइरहेको छ,’ प्रवक्ता पौडेलले भने ।

उनका अनुसार विगतमा दशैंलाई लक्षित गरेर नयाँ वा सफा नोट वितरण गर्ने परम्परा थियो । चार-पाँच वर्षअघिसम्म ‘नयाँ नोट’ वितरण गर्ने भन्दै सूचना जारी गरिन्थ्यो । त्यसपछि केही वर्ष ‘सफा नोट’ वितरण गर्ने नीति लिइयो । अहिले भने नोट वितरणलाई दशैं केन्द्रित विशेष अभियानभन्दा राष्ट्र बैंकको नियमित प्रक्रियाका रूपमा अघि बढाइएको छ ।

यसपटक दशैंका लागि नयाँ नोट वितरणको पूर्वसूचना जारी नगर्नुको पछाडि संवेदनशील अवस्थालाई पनि कारण मानिएको छ । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र त्यसको पीडा अझै कायम रहेकाले यस्तो संवेदनशील समयमा दशैंको उल्लाससँग जोडिएको नयाँ नोट वितरणलाई विशेष रूपमा प्रचार गर्न उचित नठानिएको प्रवक्ता पौडेलले बताए ।

तर, राष्ट्र बैंकले नागरिकलाई आवश्यक पर्ने नोटको अभाव हुन नदिने नीति लिएको छ । आवश्यकताअनुसार साना दरका नोट बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराइनेछ । ‘नोट वितरण राष्ट्र बैंकको नियमित प्रक्रिया हो । नागरिकलाई आवश्यक नोट उपलब्ध गराउने हो । त्यसका लागि नयाँ नोट नै हुनुपर्छ भन्ने हुँदैन,’ पौडेलले भने ।

दशैंका बेला साना दरका नोटको माग बढेसँगै बजारमा नगद प्रवाह पनि बढ्ने गर्छ । विगत चार-पाँच वर्षको तथ्याङ्क हेर्दा दशैंका बेला नयाँ वा साना दरका नोट बजारमा पठाउँदा नगद प्रवाह करिब १० प्रतिशतसम्म बढ्ने गरेको राष्ट्र बैंकको अनुभव छ ।

भदौ मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको मुद्रा अर्थात् नगद प्रवाह करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ थियो । अहिले यो बढेर करिब ८ खर्ब १० अर्ब रुपैयाँ पुगेको प्रवक्ता पौडेलले बताए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत साना दरका नोट बजारमा पठाउने क्रमलाई दशैंअघिका केही दिनसम्म पनि निरन्तरता दिने उनको भनाइ छ ।

साना दरका नोटको आपूर्ति सहज बनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन पनि भनेको छ । यसले सर्वसाधारणलाई केही हदसम्म साना दरका नोट प्राप्त गर्न सहज बनाउनेछ । तर, एटीएमबाट १०० रुपैयाँका नोट मात्रै उपलब्ध गराएर सबै आवश्यकता पूरा गर्ने नभई राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा बैंक तथा वित्तीय संस्थामार्फत आवश्यकताअनुसार साना दरका नोट सटहीको व्यवस्था मिलाइने प्रवक्ता पौडेलले बताए ।

दशैंका लागि साना दरका नोटको एउटा सेटमा १८ हजार रुपैयाँ हुन्छ । उक्त सेटमा १०, २०, ५० र १०० रुपैयाँ दरका नोट रहनेछन् । राष्ट्र बैंकले दशैंअघि केही दिनअघिसम्म आवश्यकताअनुसार साना दरका नोट वितरण गर्ने जनाएको छ ।

त्यसैले यसपटक बजारमा नयाँ नोट पाइँदैन कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ । नयाँ नोटलाई दशैं​​​​​​​​​​​​​​को विशेष आकर्षण बनाउनेभन्दा आवश्यकताअनुसार सफा तथा साना दरका नोट सर्वसाधारणसम्म सहज रूपमा पुर्याउने नीति राष्ट्र बैंकले लिएको छ । ‘यसको उद्देश्य दशैंमा नयाँ नोटको खोजीमा हुने अनावश्यक भीडभन्दा नागरिकलाई आवश्यक नोट सहज रूपमा उपलब्ध गराउनु हो,’ प्रवक्ता पौडेलले भने ।

Share News