विदेशी सम्बन्धन लिएका कलेजमा फेलै हुँदैनन् विद्यार्थी, त्रिविमा भने ४१ प्रतिशत मात्रै उत्तीर्ण
काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् । सामान्यतया नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका निजी शिक्षण संस्थाहरुले मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि जस्ता विषयहरुबाहेक अन्य उपयोगितामुलक (एप्लाइड कोर्ष) र विषयगत कोर्षका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा ८७ वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । ती शिक्षण संस्थामा करीब २६ हजार विद्यार्थी स्नातक तह अध्ययन गर्छन । सम्बन्धित विश्वविद्यालयले लिने परीक्षामा सबै विद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक विश्वविद्याय अनुदान आयोगले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ । कसरी सम्भव छ शतप्रतिशत उत्तीर्ण ? काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा बिएससी, बीबीए, बीएचएम र एमबीए लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीकाअनुसार पढाइ बीचमा छाड्ने विद्यार्थी बाहेक कलेजमा पढ्ने सबै विद्यार्थीले आफ्नो तह उत्तीर्ण गर्ने गर्छन् । वस्तीका अनुसार विद्यार्थी पास वा फेल हुने नेपाली विश्वविद्यालयको जस्तो परीक्षा मोडल सन्डरल्यान्ड विश्वविद्यालयको छैन । ‘नेपालमा मात्रै पास र फेल भन्ने मोडालिटी हुन्छ, हामीकहाँ विद्यार्थी क्वालिफाइड भयो की भएन अथवा उसले अब के प्रोग्रेस गर्नुपर्ने थियो भन्ने हुन्छ अथवा सुधारात्मक सुझाव दिइन्छ’, उनले भने । विद्यार्थीलाई ३/४ तहमा परीक्षण गर्ने गरिएको र त्यस्तो परीक्षण पास वा फेल गराउनको लागि नभई उसलाई थप उत्कृष्ट बनाउनको लागि हुने गरेको वस्तीले बताए । ‘तीन–चार तहमा जाँच हुन्छ, पहिलो तहमा जाँच गर्दा उसले राम्रो गर्न सकेको देखिएन भने उसलाई आवश्यक सुझाव दिइन्छ र उसको सुधार तोकिएका विषय विज्ञले त्यसलाई हेर्छन्, त्यसपछि विश्वविद्यालयले भेरिफिकेसन गर्छ’, उनले भने । विद्यार्थीले पढ्ने विषयहरु अनुसन्धान र योजनामा आधारित हुने भएकाले अनुसन्धान तथा योजना कसरी सफल बनाउने भन्नेमा नै पढाइ र परीक्षा केन्द्रित हुने भएकाले विद्यार्थी फेल नहुने तर, तुलनात्मक रुपमा कम र बढी अब्बल भने हुने उनले बताए । त्यस्तै, काठमाडौं कमलपोखरी स्थित आइआइएमएस कलेजले मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिएस, बिएचएम र बीबीए लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका एकेडेमिक डाइरेक्टर बृहत बोस्वाका अनुसार बीचैमा पढाइ छाडेका बाहेक अरु सबै विद्यार्थी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुन्छन् । ‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी सेमेस्टरअनुसार हेर्दा ९० प्रतिशत भन्दा धेरै उत्तीर्ण हुँदै जान्छन्, अनि फाइनल सेमेस्टरमा पुगेपछि फेल हुने भन्ने नै हुँदैन’ बोस्वाले भने । नेपाली विश्वविद्यालयमा भने भर्ना भएका सबै विद्यार्थी एकै पटक परीक्षामा उत्तीर्ण भने हुँदैनन् । नेपालमा अहिले संघीय र प्रदेश सरकारको पहलमा खुलेका १६ वटा विश्वविद्यालय छन् भने अझै केही विश्वविद्यालय सञ्चालनको प्रक्रियामा छन् । आर्थिक सर्वेक्षण अनुसार २०७९ असार मसान्तसम्म नेपालका ११ वटा विश्वविद्यालयमा ६ लाख ८७ हजार विद्यार्थीले अध्ययन गर्थें । अन्य प्रारम्भिक रुपमा सञ्चालनमा आएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या जोड्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या झण्डै सात लाख पुगेको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको अध्ययन पश्चात त्रिभुवन विश्वविद्यालयको ४१ प्रतिशत, पोखरा विश्वविद्यालयमा ६९ प्रतिशत, सूदूरपश्चिम विश्वविद्यालयमा ८२ प्रतिशत, लुम्बिनी बुद्ध विश्वविद्यालयमा ५१.९८ प्रतिशत, मध्य पश्चिम विश्वविद्यालयमा ३९.४८ प्रतिशत र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।
विकास बैंक र फाइनान्सको सेयर कर्जा : ग्रीन र सेन्ट्रल आक्रामक, कुनको कति ?
काठमाडौं । राष्ट्र बैंकले कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने गत वर्ष सेयर कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंक र फाइनान्स कम्पनीले १३.८२ प्रतिशत सेयर कर्जा बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बढाएर १७ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ मात्रै सेयर कर्जा दिएको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा विकास बैंकहरुको सेयर कर्जा २०.३२ प्रतिशत बढेर १४ अर्ब १६ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ७७ करोड रुपैयाँ सेयर मार्जिन कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले कर्जा बढाएको भएपनि वित्त कम्पनी अर्थात् फाइनान्स कम्पनीहरुको भने घटेको देखिन्छ । गत असारसम्म फाइनान्स कम्पनीहरुको सेयर कर्जा ५.७२ प्रतिशत घटेर ३ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीको सेयर कर्जा ३ अर्ब ९१ करोड रुपैयाँ थियो । ग्रीन डेभलपमेन्ट बैंक आक्रामक बन्दा ८ बैंकको बढ्यो गत वर्ष अधिकांश विकास बैंकले सेयर कर्जा बढाएको भएपनि केही बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले सेयर कर्जा बढाएको छ । बैंकले १५०.२२ प्रतिशत बढाएर २ करोड २६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२६.७० प्रतिशत बढेर १ अर्ब २५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ९८.१६ प्रतिशत बढेर ४३ करोड २० लाख, गरिमा विकास बैंकको ४८.४० प्रतिशत बढेर १ अर्ब ५४ करोड र मुक्तिनाथ विकास बैंकको ३५.७४ व्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै लुम्बिनी विकास बैंकको १८.२७ प्रतिशत बढेर १ अर्ब ८२ करोड, कामना सेवा विकास बैंकको १७.९२ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको १३.८३ प्रतिशत बढेर २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । मितेरी डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष कर्जा दिएको थिएन भने गत वर्ष ५ करोड ३० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । तर, ज्योति विकास बैंकको ९.४७ प्रतिशत घटेर १ अर्ब ६६ करोड, नारायाणी डेभलपमेन्ट बैंकको १९.१४ प्रतिशत घटेर ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९३ करोड ३३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंको २५.८९ प्रतिशत घटेर १ करोड ३० करोड र सिन्धु विकास बैंकको ४५.५६ प्रतिशत घटेर १५ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । १३ वटा फाइनान्समध्ये ४ वटाले मात्रै बढाए गत वर्ष १३ वटा फाइनान्स कम्पनीले सेयर कर्जा प्रदान गरेका छन् । जसमध्ये ४ वटा फाइनान्सले बढाउँदा अधिकांशले सेयर कर्जा घटाएका छन् । गत असारसम्म सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सले ३०.८१ प्रतिशत बढाएर ६५ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेको छ । यस्तै, आइसिएफसिको २२.२५ प्रतिशत बढेर ५४ करोड ३६ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २०.३२ प्रतिशत बढेर ४३ करोड ८७ लाख र नेपाल फाइनान्सको ५.७१ प्रतिशत बढेर १९ करोड ५७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । बेस्ट फाइनान्सको ०.५० प्रतिशत घटेर २२ करोड ६९ लाख, रिलायन्स फाइनान्सको ४.२५ प्रतिशत घटेर ४२ करोड ३४ लाख, मञ्जुश्री फाइनान्सको ७.३१ प्रतिशत घटेर ५४ करोड १० लाख र पोखरा फाइनान्सको १२.१८ प्रतिशत घटेर १९ करोड २७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको १२.५६ प्रतिशत घटेर ३४ करोड १४ लाख, समृद्धि फाइनान्सको १८.५० प्रतिशत घटेर १० करोड ४८ लाख, गुडविल फाइनान्सको २३.९६ प्रतिशत घटेर ३२ करोड ३५ लाख, प्रोग्रेसिभ फाइनान्सको २५.१६ प्रतिशत घटेर १६ करोड ४५ लाख र गोर्खाज फाइनान्सको ३५.६९ प्रतिशत घटेर १६ करोड १ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
प्रिमियममा सिटिजन, प्रभु महालक्ष्मी र आईएमई लाइफबीच प्रतिस्पर्धा, ६ कम्पनी भित्रिए अर्ब क्लबमा
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । प्रिमियम संकलनमा पहिलो स्थानमा रहेको कम्पनी जारी बीमालेखको आधारमा भने सातौं स्थानमा छ । प्रिमियम संकलनमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी तीन कम्पनीले एक महिनाको अवधिमै ५२ करोडदेखि ५८ करोड रुपैयाँसम्मको प्रिमियम संकलन गरेका छन् । जसमध्ये सिटिजन लाइफले सबैभन्दा बढी अर्थात ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख र आईएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जारी बीमालेखमा भने यी कम्पनी क्रमशः तेश्रो, १३औं र नवौं स्थानमा छन् । कुनले कति उठाए ? सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रिमियम संकलनमा दोश्रो स्थानमा छ । इन्स्योरेन्सले साउनमा मात्रै ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालित कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एक महिनामै एक अर्ब बढी प्रिमियम उठाएको छ । जसमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इ. कर्पोरेशन (नेपाल), नेशनल र सुर्यज्योति लाइफ रहेका छन् । सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा सन नेपाल रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जारी बीमालेखको अधारमा मेट लाइफ अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ५५ हजार ९७६ वटा पोलिसी जारी गरेको छ । र, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । जसले साउनमा ७ सय ३८ वटा बीमापोलिसी बिक्री गरेको छ ।