काठमाडौं । नेपाल राष्ट्र बैंकले केही सयम अघि सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । अझ अमेरिकी डलरमा हिसाब गर्दा ११ अर्ब ७४ करोड अमेरिकी डलर नेपालसँग छ ।
तर, राष्ट्र बैंकमा अमेरिकी डलर साट्न जाने नेपालीहरुले भने सहजै विदेशी मुद्रा पाइरहेका छैनन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समेत प्रशस्त विदेशी मुद्रा उपलब्ध गराउन सकेको छैन् ।
पछिल्ला दिनमा राष्ट्र बैंकमै विदेशी मुद्रा साट्न जाने नेपालीहरुको ताँती नै लाग्ने गरेको छ । विगतमा दैनिक ७/८ सय जनाले विदेशी मुद्रा सटही गरिरहेका भए पनि आइतबार भने १५ सयको हाराहारीमा मानिसहरु विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैैंक पुगेका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए ।
‘दैनिक सयौंको संख्यामा विदेशी मुद्रा सटहीका लागि आइराख्नु भएको छ, विद्यार्थी, पर्यटक लगायत सबै जना विदेश गइरहेका छन’, पोखरेलले भने ।
तथ्यांकमा हेर्दा विदेशी मुद्राको सञ्चिति प्रशस्त देखिने तर, नगद लिन जाँदा नपाउने अवस्था कसरी भयो ?
राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेल भन्छन्, ‘बैंकको खातामा विदेशी मुद्रा प्रशस्त छ । तर, हामीसँग अहिले विदेशी नोट कम भएकोले मागे जति दिन सकेका छैनौं ।’
अन्य बैंकहरुको पनि अवस्था त्यस्तै छ । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली पनि विदेशी नोट पर्याप्त नहुँदा ग्राहकले मागे जति नगद दिन नसकिएको बताउँछन् ।
अहिले वाणिज्य बैंकदेखि राष्ट्र बैंकसम्मै विदेशी मुद्रा साट्न जानेमध्ये विद्यार्थी धेरै छन् । विदेश अध्ययनमा जाने विद्यार्थीहरु आफु जाने देशको मुद्रा अथवा अमेरिकी डलरको माग गर्दै राष्ट्र बैंक पुग्ने गरेका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट डलर सटही सुविधालाई खुकुलो बनाएको थियो । राष्ट्र बैंकले प्रतिब्यक्ति १५ सयबाट बढाएर २५ सय डलरसम्म नगद सटही गर्न सक्ने व्यवस्था गरेको छ । तर, अमेरिकी डलरको नोट अभाव भएपछि राष्ट्र बैंकले नै ३/४ सय अमेरिकी डलर मात्रै उपलब्ध गराइरहेको डा. पोखरेल बताउँछन् ।
राष्ट्र बैंकमा नगद नै माग गरेर गइरहेकाहरूलाई भने डलर कार्ड बनाउन र त्यसैमा पैसा लोड गर्न आग्रह गरिरहेको पोखरेलले बताए ।
‘राष्ट्र बैंकले २५ सय डलर नै उपलब्ध गराउन सकेको छैन, अहिले ३/४ सय डलर मात्रै दिइरहेको छौं, नगदमा हामी धेरै दिन सक्दैनौं, डलर कार्ड बनाउनुहोस् भनिरहेका छौं’, उनले भने ।
हिमालयन बैंकका सहायक सीईओ गोर्खालीले पनि बैंकहरूमा विदेशी मुद्राको नगद सञ्चिति नभएपछि ग्राहकले मागेजति विदेशी मुद्रा नगदमै दिन नसकिएको र थोरै दिएर फर्काउने गरेको बताए । नेपालमा १५ खर्ब विदेशी मुद्रा सञ्चिती भएपनि त्यो खातामा मात्रै सीमित रहेको उनले बताए ।
नेपालमा बैंकिङ प्रणालीमा विदेशी मुद्रा (नगदमा) अभाव हुनुको कारण पर्यटनमा आएको कमी मुख्य रहेको बैंकरहरु बताउँछन् ।
पर्यटन नेपाल आउँदा उनीहरुले विदेशी मुद्रा ल्याइदिने हुँदा बैंकिङ प्रणालीमा अमेरिकी डलर नगदमै रहन्थ्यो ।
‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा प्रतिब्यक्ति ५/७ हजार डलर साट्छन्, त्यसरी नगद बढी हुन्थ्यो तर, अहिले पर्यटक पनि कम आएका छन्, साथै पयर्टकहरुले पनि डिजिटल कारोबार गर्न थाले, ट्राभल एजेन्सीलाई पनि नगद दिँदैनन्, क्रेडिट कार्डबाटै भुक्तानी गर्छन्, होटल रेष्टुरेन्टमा खाँदाबस्दा पनि कार्ड नै प्रयोग गर्छन्,’ उनले भने ।
नेपालीहरूलाई विदेश जाँदा कार्ड लिएर जानु भन्दा पनि नमान्ने गरेको गोर्खाली बताउँछन् । नेपालीहरुलाई नगद मात्रै कारोबार गर्ने बानी बसेकाले डलर कार्डको महत्व जानकारी नभएको उनले बताए ।
‘हामीसँग प्रयाप्त मात्रामा विदेशी मुद्रा छ, बैंकहरुलाई डलर दिन केही समस्या छैन । तर, नगद मात्रै नभएको हो, विदेशी पर्यटकले नगद ल्याउने गरेका थिए । तर, पछिल्लो समय उनीहरुले पनि नगद ल्याउन छाडिसके,’ उनले भने, ‘नगद नभएपछि कार्ड लिएर जानुहोस् भन्दा नेपालीहरु मान्नुहुन्न ।’
साथै, दशैंमा हजारौं नेपालीहरु विदेश घुम्न जाने भएकाले अमेरिकी डलरको नगद माग अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार यदि सबैलाई २५ सयका दरले नगद दिने हो भने पुग्दैन ।
‘विदेशीहरु नेपालमा आउँदा एक हजार डलर मात्रै खर्च गर्छन्, तर नेपालीहरु विदेश जाँदा २५ सयदेखि चार हजार डलर खच गर्छन्,’ उनले भने ।
पर्यटनको सिजन सुरु हुन थालेकाले आगामी दिनमा नगदमा विदेशी मुद्रा बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । तर, विदेशी पर्यटकहरुले नगद नल्याइ कार्ड प्रयोग गरे भने समस्या हुन सक्ने बैंकरहरु बताउँछन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले डलरको नगद अभाव हुन थालेपछि बैंकहरुले कार्डमा जोड दिइरहेको बताए ।
‘बैंकहरुमा अहिले अमेरिकी डलरको नोट अभाव छ तर बैंकहरुले बाहिरबाट ल्याइरहनु भएको छ, राष्ट्र बैंकले पनि सहजीकरण गरिरहेको छ, रकम अभाव हुँदा कार्डलाई प्रमोट गरिरहेका छौं,’ उनले भने, ‘कार्ड सुरक्षित पनि हुन्छ, कार्ड प्रयोग गर्ने बानी नभएपनि बिस्तारै बानी बसाल्नु पर्छ ।’