आठराई-त्रिवेणीका सपना सारथी दीपेन्द्र

<p>काठमाडौं । सामान्य चियागफमा पनि धेरै चर्चा हुने विषय हो विकास र नेताको भूमिका । कुनै काम वा निर्णय यसरी वा त्यसरी गर्नुपर्थ्यो भनेर उपाय सुझाउने पनि धेरै हुन्छन् । तर, आफैले ती कामको नेतृत्व गर्ने आँट भने कमैमा हुन्छ । अझ ग्रामीण क्षेत्रको समग्र विकासको जिम्मेवारी काँधमा लिन जो कोही तयार भइहाल्दैनन् । तर, [&hellip;]</p>

काठमाडौं । सामान्य चियागफमा पनि धेरै चर्चा हुने विषय हो विकास र नेताको भूमिका । कुनै काम वा निर्णय यसरी वा त्यसरी गर्नुपर्थ्यो भनेर उपाय सुझाउने पनि धेरै हुन्छन् । तर, आफैले ती कामको नेतृत्व गर्ने आँट भने कमैमा हुन्छ ।

अझ ग्रामीण क्षेत्रको समग्र विकासको जिम्मेवारी काँधमा लिन जो कोही तयार भइहाल्दैनन् । तर, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकालाई विकासमा अग्रणी बनाउने अठोट शिरमा लिएर खटेका छन् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु ।

अघिल्लो बैशाखमा भएको चुनाव जितेसँगै समाज परिवर्तन र विकासलाई गति दिने गरी काम गरिरहेको उनले बताए ।

‘गाउँपालिका हरेक क्षेत्रमा पछि परेको देखेर नै मलाई गाउँपालिकाको अध्यक्ष बन्न मन लागेको हो, यहाँको विकासलाई तीव्रता दिन नसकेको देखेर आफै पालिकाको अध्यक्ष बनेको  हुँ’ उनले भने ।

दीपेन्द्र परिवारका ९ सन्तानमध्येका कान्छा छोरा हुन् । उनको जन्म २०४४ बैशाखमा भएको हो । ३५ वर्षको उमेरमा उनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उनले प्लस टुसम्मको अध्ययन गरेका छन् । स्नातक तह अध्ययनको लागि भर्ना भए पनि पूरा गर्न नसकेको उनले बताए ।

‘मैले धेरै पढ्न पाएको छैन । स्नातक तहको अन्तिम वर्षमा पुगेपछि पढाइमा ब्रेक लाग्यो’, उनले भने।

त्यसबेला दीपेन्द्र चाहन्थे, पढाइ सकेर राम्रो जागिर पाइयोस् । जागिर नपाए विदेश जाने सोच पनि उनमा आएको थियो ।

अध्ययनकै क्रममा उनी राजनीतिमा पनि आवद्ध भइसकेका थिए । तर, राजनीतिमै स्थापित भइएला भन्ने उनलाई लागेको थिएन । बरु जिविकोपार्जनको विकल्प रोजगारी हुन सक्ला भन्ने साेचेका थिए। काम खोज्दै जाँदा उनले एउटा गैरसरकारी संस्थामा जागिरको अवसर पाए । तर, उनले डेढ वर्षभन्दा बढी उक्त संस्थामा काम गर्न सकेनन् ।

‘एनजीओमा काम गरेपछि जागिरको अनुभव पर्याप्त भयो । त्यहीँ बेला थाहा भयो जागिर खाने होइन रहेछ, खुवाउने रहेछ’, उनले भने ।

एनजिओको जागिर छाडेपछि भने उनले विदेशको सोच पनि त्यागिदिए । स्वदेशकै माटोमा पसिना बगाउने र व्यवसायमा रमाउने भन्दै निर्माण क्षेत्रको काममा हात हाले । उनले २०६९ सालमा पोमु कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरी निर्माण व्यवसायीको रुपमा काम सुरु गरेका थिए । त्यसपछि भने उनले व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै गए ।

राजनीतिमा बढी केन्द्रीत भएपछि उनले कन्स्ट्रक्सन कम्पनीको जिम्मा भने उनले आफ्नो श्रीमतीलाई दिएका छन् ।

सुरुमा अनेरास्ववियूसँग आवद्ध रहेका दीपेन्द्र पढाइ छाडेपछि युवा संघको राजनीतिमा लागे । संघमा रहँदा युवा सशक्तिकरणका साथै युवा जागरूकताका क्षेत्रमा उनले काम गरेको बताउँछन् । यसपछि भने उनमा राजनीतिक राप रात दिन भरिँदै गयो । २०६९ सालमा बुटवलमा भएको युवा संघको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

उनले २०७७ सालमा करिव डेढ वर्ष राष्ट्रिय युवा परिषद्को जिल्ला अध्यक्ष भएर पनि काम गरेका थिए । जुन राजनैतिक नियुक्ति थियो । त्यसबेलासम्म उनले आफ्नो राजनीतिक प्रतिष्ठा उँचो बनाइसकेका थिए । २०७४ को चुनावमा उनी उम्मेदवार बन्न चाहेका थिए तर, पार्टीले टिकट दिएन । ‘मेरो आकांक्षा भए पनि पार्टीले मलाई टिकट दिएन, म अर्को पटकको चुनावमा उठ्छु भनेर सन्तोष माने । तर, हाम्रो उम्मेदवार जित्न सक्नुभएन’, उनले भने ।

२०७९ को निर्वाचनमा भने पार्टीले दीपेन्द्रलाई नै टिकट दियो । उनले चुनाव जिते । उनले सामाजिक रुपमा गरेको योगदान र उनको क्षेत्रमा देखाएको बलियो राजनीतिक उपस्थिति नै उनको जित्ने आधार भएको दीपेन्द्र बताउँछन् ।

दीपेन्द्र हाल जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । एमाले विभाजन अघि उनले जिल्ला कमिटी सचिव भएर काम गरेका थिए । अब भने पार्टीमा जिल्ला कमिटीकै नेतृत्व सम्हाल्ने योजनामा उनी छन् ।

विकासमै केन्द्रित

उनको ठाउँमा विद्युत पुगेकै थिएन । तर, निर्वाचित हुनु अगावै उनले गाउँमा विद्युत बाल्न भूमिका निर्वाह गरेका थिए ।
निर्वाचित भएपछि घोषणा पत्रमा उल्लेख भएका विषय एक एक गरी कार्यान्वयन गरिरहेका छन् । गाउँपालिकाभरी नै तीब्र विकासको नेतृत्व दीपेन्द्रले गरेका छन् ।

गाउँपालिकाभित्र करिब २८ सय घरधुरी छन् । जसमध्ये दुई हजार घरमा बिजुली पुगिसकेको छ । बाँकी घरमा पनि बिजुली पुर्याउन उनी दिन रात खटिरहेका छन् । उनले घरायसी प्रयोजनको विद्युतीय महसुल गाउँपालिकाले नै तिरिदिने व्यवस्था मिलाएका छन् ।

गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाएको छ । गाउँ पालिकाको प्रशासनिक भवन निर्माणको काम अघि बढाएका छन् । त्यससँगै सबै वडाको कार्यालय बनाउने उनको योजना छ ।

‘संविधान बनाउँदा हामीले जनसंख्यालाई हेरेर गलत व्यवस्था गर्यौं । पहाडी क्षेत्रमा विकासमा करोडौं रुपैयाँ खर्च हुन्छ, बजेट थोरै हुन्छ’, उनले भने, ‘राज्यले बनाएको नीति नै लागू हुन सकेको छैन ।’

गाउँपालिकाको नेतृत्व मार्फत उनी गाउँलेले देखेको सम्पन्नाको सपना साकार पार्न लागेका छन् । मतदाताले पनि उनी सफल हुँदै गएको विश्लेषण गरिरहेका छन् । तर, दीपेन्द्र आफै भने गाउँका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।

‘मान्छेले मलाई सफल भएको देख्छन्, तर म सफल भएको छैन, गाउँपालिका बासी र मैले देखेको सपना जब पूरा हुन्छ त्यसबेला मात्रै म सफल भएको हुन्छु’, उनले भने ।

Share News