६ महिनामा ८६ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताकाे लाभांश, नयाँ लगानी भने बढ्यो

काठमाडौं । ६ महिनाको अवधिमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेका कम्पनीहरूबाट साढे १ अर्ब रुपैयाँबराबरको लाभांश रकम फिर्ता लिएका छन् । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशी लगानीका कम्पनीहरूले १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । पुस महिनामा मात्रै ८ करोड ७३ लाख ६७ हजार रुपैयाँ लाभांशबापत फिर्ता लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए । गत आवको सोही अवधिको तुलनामा चालु आवमा लाभांश रकम ८६ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । यस्तै, चालु आर्थिक वर्ष (आव)मा नेपालको विभिन्न औद्योगिक क्षेत्रमा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालको औद्योगिक क्षेत्रमा २२६ वटा विदेशी कम्पनीहरूले २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार बराबरको लगानीलाई स्वीकृत गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३ करोड ६५ लाख १७ हजारले बढी हो । विभागको तथ्यांकअनुसार पछिल्लो समयमा विदेशी लगानीकर्ताहरूको आकर्षण ठूला तथा मझौला उद्योगमा भन्दा साना उद्योगमा भएको देखिएको छ । चालु आर्थिक वर्षमा २११ वटा विदेशी कम्पनीहरुले साना उद्योग, १२ वटा कम्पनीहरुले मझौला उद्योग र ३ वटा कम्पनीहरूले ठूला उद्योगहरुमा लगानी गर्नेगरी स्वीकृति लिएका छन् । अघिल्लो आवको सोही अवधिमा भने विदेशी लगानीकर्ताहरुले ११० वटा साना उद्योग, १९ वटा मझौला उद्योग र २ वटा ठूला उद्योगमा लगानी गर्ने स्वीकृति लिएका थिए । तथ्यांकअनुसार विदेशी लगानीकर्ताहरुको आकर्षण पर्यटन उद्योगतर्फ बढी भएको देखिन्छ । चालु आवको समीक्षा अवधिमा विदेशी लगानी स्वीकृत लिएका मध्ये १०३ वटा कम्पनीहरुले पर्यटन क्षेत्रमा, ८३ वटा कम्पनीले सेवा क्षेत्रमा, ४ वटा कम्पनीले भौतिक पूर्वाधारको क्षेत्रमा, २ वटा कम्पनीले खनिजको क्षेत्रमा, ४ वटा कम्पनीले कृषि क्षेत्रमा, २३ वटा कम्पनीले उत्पादनमूलक उद्योगको क्षेत्रमा र ७ वटा उद्योगले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने भएका छन् । त्यस्तै, नेपालमा विदेशी लगानीमा सञ्चालनमा रहेका २८ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ बराबरको थप लगानी स्वीकृति लिएको विभागले जनाएको छ । १० वटा कम्पनीद्वारा प्रविधि हस्तान्तरण उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा १० वटा विदेशी कम्पनीहरूले नेपालमा प्रविधि हस्तान्तरण गरेका छन् । साथै प्रविधि हस्तान्तरणबापत चालु आवको समीक्षा अवधिमा विभिन्न विदेशी कम्पनीले नेपालबाट १ अर्ब ४ करोड १६ लाख नेपाली, १५ लाख १५ हजार, १८१ अमेरिकी डलर, ५३ करोड २६ लाख ५९ हजार भारतीय रुपैयाँ र १३ हजार ६ सय युरो मुद्रामा रोयल्टी लगेका छन् । विभागका अनुसार अहिलेसम्म नेपालमा ६ हजार ८५ वटा विदेशी कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । ती कम्पनीहरूले ३ लाख २१ हजार २६४ जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गरेका छन् भने ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको लगानी स्वीकृति पनि लिएका छन् । सरकारले विदेशी लगानीलाई थप प्रबर्द्दन गर्नको लागि चालु आवको बजेटमार्फत् प्रत्यक्ष विदेशी लगानी स्वीकृतिलाई सरल र स्वचालित बनाइने बताएको थियो । तर, प्रविधिको व्यवस्थाको अभावका कारणले बजेटमा समावेश सो आकांक्षा भने पूरा भइसकेको छैन भने सरकारले लगानी बोर्डको क्षमता विस्तार, कन्ट्री रेटिङ लगायतका विषयहरुमा काम प्रारम्भ गरेको जनाएको छ ।

अराजक कम्पनी, मुकदर्शक नियामक

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत भदौ ३० गते सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो । विगत पाँच वर्षदेखि सेयरधनीलाई लाभांश नदिएको भन्दै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट यो वर्ष २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गर्‍यो । तर, गज्जबको कुरा त के भने लाभांश प्रस्ताव गरेको तीन महिनापछि लघुवित्तले लाभांश वितरणको एजेण्डा नराखि साधारणसभ आह्वानको सूचना निकाल्यो । लघुवित्तले के कति कारणले प्रस्तावित लाभांश रोकिएको हो भन्ने विषय सेयरधनीहरूलाई जानकारी समेत नदिई साधारण सभा सम्पन्न गर्‍यो । लघुवित्तले लाभांश प्रस्ताव गरेको दिन अर्थात् भदौ ३१ गते सेयर मूल्य १ हजार ३५ रुपैयाँ थियो । यो तीन महिनाकाे अवधिमा लघुवित्तको सेयर मूल्य बढेर १ हजार १६३ रुपैयाँसम्म पुग्यो । यो अवधिमा लघुवित्तको सेयर मूल्य १२८ रुपैयाँ अर्थात् ११ प्रतिशतसम्म बढेको देखिन्छ । २० लाभांश पाउने आशमा सेयर खरिद गरेका सेयरधनीहरू भने अन्तिममा हेरेकाे हैर्यै भए । यस्तै, साना किसान विकास लघुवित्तले गत मंसिर २४ गते सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्‍यो । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेकाे भएपनि लघुवित्तले मनाेमानी ढंगले १५ प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्‍यो । लाभांश वितरण गरेकाे चार दिनमै अर्थात मंसिर २८ गते सेयरधनीहरूलाई लाभांश संशोधन भएको जानकारी गरायो । लाभांश संशोधन गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत प्रस्ताव गरेको कम्पनी सचिव अनिलकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गर्नु परेको थियाे । लघुवित्तको लाभांश ५ प्रतिशत घट्यो । तर, सेयर मूल्य ११३ रुपैयाँ अर्थात् १३ प्रतिशत बढ्यो । २० प्रतिशत लाभांश प्रस्ताव गरेको अघिल्लो दिन लघुवित्तको सेयर मूल्य ८८१ रुपैयाँ थियो । लाभांश संशोधन भएको दिनसम्म लघुवित्तको सेयर मूल्य ९९४ रुपैयाँ पुग्यो । लाभांश संशोधनपश्चात् भने साे लघुवित्तकाे सेयर मूल्य घट्दाे क्रममा देखियाे । यस्तै, गत कात्तिक २३ गते धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो । तर, लाभांश प्रस्ताव गरेको २ महिना अर्थात् पुस २५ गते लाभांश वितरण नगर्ने निर्णय भएको सूचना नेप्सेमार्फत् गरायाे । लाभांश प्रस्ताव गरेको दिन अर्थात् कात्तिक २५ गते यस लघुवित्तको सेयर मूल्य ५९० रुपैयाँ थियो । त्यसपछि निरन्तर बढेको सेयर मूल्य पुस २३ गतेका दिन सेयर मूल्य १ हजार ३५ रुपैयाँसम्म पुगेको थियो । तर, लघुवित्तले पुस २५ गते लाभांश वितरण नगर्ने बताएपछि आइतबार पुस २९ गते सो लघुवित्तको सेयर मूल्य ८७२ रुपैयाँमा झरेको छ । यो अवधिमा लघुवित्तको सेयर मूल्य ४४५ रुपैयाँ अर्थात् ७५.४२ प्रतिशतले बढेको छ । यो बिचमा सेयरधनीले लाभांश पाउने आशमा सेयर खरिद गरेको देखिन्छ । तर, अन्ततः संस्थाले लाभांश वितरण नगर्ने बताएपछि सेयरधनी पुर्पुरोमा हात लगाएर बस्न विवश बनेका छन् । यी माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । पुँजी बजार जस्तो संवेदनशील क्षेत्रमा सूचीकृत कम्पनीहरूले मनोमानी गर्दा र नियामक निकाय मुकदर्शक बन्दा लाखौं लगानीकर्ताको अर्बाैं लगानी पानीमा बालुवा खन्याएजस्तै भइरहेको छ । कम्पनीको जिम्मेवार निकायमा पुगेका व्यक्तिले नीति निर्देशन समेत पालना नगर्दा ठूलो समस्या सिर्जना भइरहेकाे छ । लाभांश वितरण गर्ने प्रस्ताव गरेर अन्ततः वितरण नगर्ने फ्रड काम गरेका संस्थाप्रति पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मौन छन् । लाभांशको लोभ देखाएर सेयरधनीलाई सेयर खरिद गर्न उत्साहित बनाएको संस्थाप्रति नियामक पनि उदार देखिएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल केही संस्थाहरूले नबुझेर सुरुवाती चरणमा गलत काम गरिरहेको बताउँछन् । संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरूलाई ज्ञानको अभाव भएकाले यस्ता समस्या आउने गरेको उनको भनाइ छ । लाभांश घोषणा गर्नुभन्दा अगाडि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्ने हुन्छ । तर, स्वीकृति नलिइ लाभांश प्रस्ताव गर्ने र पछि थाहा भएन भनेर रद्द गर्ने गरेको उनले बताए । उनका अनुसार लाभांश घोषणाको स्वीकृति दिनुअघि राष्ट्र बैंकले विभिन्न विषयमा अध्ययन गर्छ । ‘रिस्क प्रोभिजिनिङ गरेको, सेवा शुल्क नियमानुसार लिए/नलिएको, ग्राहकबाट जथाभावी रकम असुल गरेको, लोन लस प्रोभिजन नराखि खराब कर्जालाई असल कर्जा बनाएको विषयमा गहन अध्ययन गर्छाैं,’ उनले भने, ‘राष्ट्र बैंकले निश्चित प्रक्रिया पुर्याउन लगाउँछ, सबै प्रक्रिया पुर्याउँदा वितरणयोग्य नाफा देखिँदैन, नदेखिएपछि लाभांश वितरण नगर्न बाध्य हुन्छन् ।’ संस्थाका सञ्चालकहरूले नबुझेका कारण यस्ता समस्या देखिन थालेको उनकाे भनाइ छ । उनका अनुसार धौलागिरी र युनिक नेपाल लघुवित्तले पहिलो पटक लाभांश घोषणा गरेको हुँदा ज्ञानको अभाव देखिएको हो । पुँजी बजारमा सूचीकृत कम्पनी भएकाले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले एक्सन लिनुपर्ने उनले बताए । ‘पुँजी बजारमा सूचीकृत कम्पनीमा इनसाइडर ट्रेडिङ गर्ने नियत पनि हुन सक्छ, त्यो सरासर गलत हो, पुँजी बजारसँग सम्बन्धित विषय धितोपत्र बोर्ड र नेप्सेले एक्सन लिनु पर्छ,’ उनी भन्छन्, ‘राष्ट्र बैंकले लाभांश वितरण गर्न पाउँदैन भनेर भन्छ, पुँजी बजारको विषयमा आवश्यक कदम चाल्न उनीहरू स्वतन्त्र छन् ।’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य लाभांश घोषणा गरेर पछि नबाँड्ने कुनै कम्पनीमाथि बोर्डले अध्ययन गरेर एक्सन लिने बताउँछन् । कुनै कम्पनीले लाभांश प्रस्ताव गरेर नबाँडेको छ भने यस विषयमा बोर्डले अध्ययन गरेर थप एक्सन लिने उनको भनाइ छ । ‘यी दुई लघुवित्तको के कति कारणले नबाँडेको हो, त्यस विषयमा बाेर्डकाे सुपरीवेक्षण विभागले हेरिरहेको छ, गलत भएको छ भने कारवाही गर्छौं, सुरुमा लाभांश प्रस्ताव गरेर पछि वितरण गर्दिनँ भन्न मिल्दैन, राष्ट्र बैंकले पनि के कति कारणले नदिएको हो, त्यो विषय पनि खुलाउनुपर्छ, त्यो विषय नखुलाएर वितरण गर्दैनौं भन्न मिल्दैन,’ उनले भने । युनिक नेपाल लघुवित्तका कार्यकारी निर्देशक डा‍. गोपाल दहितले लाभांशको एजेण्डा हटाएको र आउने वर्ष मात्रै वितरण गर्ने बताए । ‘लाभांश घोषणा गरेर पनि प्राविधिक कारणले बाँड्न नसक्ने भयौं, मर्जर गर्ने तयारीमा छौं, त्यसैले लाभांशको एजेण्डालाई पछि धकेलेको हो, अहिले मर्जरको अभियान नै चलेको छ, मर्जर सम्पन्न भएपछि बाँड्छौं,’ उनले भने । धौलागिरी लघुवित्तका कम्पनी सचिव मीनप्रसाद जोशीका अनुसार लघुवित्तले लाभांश घोषणा नगरी प्रस्ताव मात्रै गरेको हो । तर, लाभांश प्रस्तावसहित प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएकोमा प्रोभिजन बढी गर्नु पर्ने भएपछि वितरण नगर्ने निर्णय गरिएको उनले बताए । ‘लाभांश घोषणा नभई प्रस्ताव गरेर प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएको जानकारी नेप्सेलाई गरेका छौं । तर, राष्ट्र बैंकले प्रोभिजनिङ बढी गरायो, अहिलेको अवस्थामा बाँड्न मिल्ने वा नमिल्ने स्पष्ट धारणा केही पनि आएन,’ उनले विकासन्युजसँग भने, ‘अहिले पनि लघुवित्तप्रति नकारात्मक धारणा छ, बोनस खुवाएको भनेर चारैतिरबाट पर्ने दबाबलाई मध्येनजर गरी र घाटामा रहेकाले लाभांश नबाँड्ने निर्णय गरिएको हो ।’ यसअघि लघुवित्तले प्रस्ताव गरेको लाभांश ढिला गरी जानकारी गराएको भन्दै नेप्सेले गत कात्तिक २४ गते लघुवित्तको ३ दिन कारोबार स्थगन गरी स्पष्टिकरण समेत सोधेको थियो । सर्भरमा समस्या आएका कारण ढिला भएको र आगामी दिनमा यस्ता समस्या नदोहोर्याउने प्रतिबद्धता जनाएसँगै कारोबार फुकुवा भएको थियो । नेप्सेका एक कर्मचारी संस्थाहरूले राष्ट्र बैंकको नीतिको लुपहोल प्रयोग गर्दै सेयर मूल्यमा खेलिरहेको बताउँछन् । उनका अनुसार लाभांश प्रस्ताव गरेपछि राष्ट्र बैंकले रोक्न चाहेमा रोकिने र स्वीकृति दिएमा घोषणा गर्ने अभ्यासले सेयरधनीलाई मर्का भइरहेको छ । यसका लागि राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भइसकेपछि मात्रै लाभांश प्रस्ताव गर्नु पर्ने नीति बनाउनु पर्ने उनको भनाइ छ । अहिलेको अभ्यासले बढ्दो बजारमा सेयरधनी ठूलो नोक्सानमा पर्न सक्ने खतरा हुने उनको बुझाइ छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ४७ मा लाभांश घोषणा र वितरण सम्बन्धि व्यवस्था गरिएको छ । सो दफाको उपदफा १ मा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्नु अघि राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था छ । सोही दफाको उपदफा २ मा बैंक तथा वित्तीय संस्थाले आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी, राष्ट्र बैंकले तोकिदिएको पुँजी, पुँजीकोष, सम्भावित नोक्सानी व्यवस्था र दफा ४४ बमोजिम साधारण जगेडा कोषमा छुट्याउनु पर्ने रकम पूरा नगरेसम्म तथा सर्वसाधारणलाई छुट्याइएको सेयर पूर्ण रुपमा बिक्री वितरण नगरेसम्म शेयरधनीहरुलाई लाभांश घोषणा गर्न वा वितरण गर्न नपाउने व्यवस्था छ । सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेर दुई/तीन महिनापछि लाभांश वितरण नगर्ने कम्पनीको गलत नियतका लगानीकर्ताहरूको ठूलो रकम डुबेको छ भने अझै यस्तै नियत भएका कम्पनीहरू बढेमा थप रकम डुब्ने देखिन्छ । नियामक भने अहिले मुकदर्शक बनिरहेका छन् । नियामकको यही किसिमको उदारपन देखिएमा अगामी दिनमा समस्या थप पेचिलो बन्दै जाने पक्का छ । धौलागिरी लघुवित्तका सेयरधनीको पुर्पुरोमा हात, सेयर मूल्य ७५ प्रतिशत बढेपछि लाभांश गायब

शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’

  काठमाडौं । समग्र महिला अधिकारकर्मीहरुले महिला आरक्षण र संरक्षणको नाममा राजनीति गर्दै गर्दा शिक्षा, सीप र कर्ममा व्यस्त थिइन् संगीता पहाडी (अर्याल) । कर्मयोगी संगीतालाई महिला आरक्षण कोटा पनि चाहिएन, संरक्षण कोटा पनि चाहिएन । पढेर इन्जिनियर बनिन् । २०४९ सालमा नेपाल टेलिकममा काम थालिन् । ३२ वर्षसम्मको कर्मले उनलाई देशकै एक ठूलो कम्पनीको कार्यकारी प्रमुख पदमा पुर्यायो । १८ अर्ब रुपैयाँ सेयर पुँजी, ७८ अर्ब रुपैयाँ संचित मुनाफा, १६० अर्ब रुपैयाँ नेटवर्थ र २ करोडभन्दा बढी सक्रिय ग्राहक भएको शक्तिशाली कम्पनी हाँक्दैछिन् संगीता । एउटा संस्थामा काम गर्दै गर्दा त्यो संस्थाको नेतृत्वमा पुग्ने रहर सबैको हुन्छ । त्यो रूची, रहर र सपना संगिता पहाडी (अर्याल) को पनि थियो । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमलाई हाँक्ने सपनालाई सार्थक बनाउन उनले ठूलो कोसिस गरिन् । दुुई पटक कम्पनीको प्रबन्ध निर्देशक (एमडी)का लागि सिफारिस भए पनि अन्ततः नाम काटियो र अर्कै व्यक्ति छानिए । तर पछिल्लो समय उनले कार्यकारी प्रमुखको रुपमा संस्था हाकिरहेकी छिन् । दुई पटक नेतृत्वका लागि भिडेकी संगीताले तेस्रो पटक भने त्यति ठूलो संघर्ष गर्नु परेन । उनलाई त्यो पदले आफैं बोलाउँदै उनी समक्ष आइपुग्यो । नेपाल टेलिकम हाँक्ने संगीताको सपना अब सार्थक बन्यो । कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उनी निलम्बनमा परे र संगितालाई सरकारले पूर्ण अधिकारसहित निमित्त प्रबन्ध निर्देशकका रूपमा नियुक्त गर्यो । ‘मैले तीन दशकदेखि टेलिकममै काम गरिरहेकी छु, यति लामो समय संस्थामा काम गरेपछि नेतृत्व गर्नुपर्छ भन्ने सोच सबैको हुन्छ र मेरो पनि थियो, सोही हिसाबले विभिन्न समयमा आवेदन पनि दिएँ, सर्टलिष्टमा सिफारिस पनि भएँ तर एमडीका लागि छनोट भइनँ । हरेष पनि खाएकी थिइनँ, मिहिनेत मेरो हातमा थियो, नतिजा मेरो हातमा थिएन,’ उनले खुसी हुँदै भनिन्, ‘अहिले सरकारले नियुक्त गर्यो, मैले पूर्ण जिम्मेवारीका साथ काम गर्दैछु ।’ काठमाडौंको नयाँ बानेश्वरमा जन्मिएकी संगिताको पारिवारिक माहोल पनि शिक्षित भएकोले उनले पढाइ र काममा पनि धेरै चुनौतीहरू खेप्नु परेन । उनले विद्यालयको पढाइ डिल्लीबजारस्थित पद्मकन्या माध्यामिक विद्यालयबाट पुरा गरिन् भने त्रिचन्द्र क्याम्पसबाट आइएस्सी पास गरिन् । त्यसपछि उनी भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहबादबाट ब्याचलर इन इलेक्ट्रोनिक र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मास्टर इन टेलिकम्युनिकेसन गरिन् । भारतबाट स्नातक पुरा गरेपछि उनी वि.सं २०४९ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा प्रवेश गरेकी थिइन् । अहिले उनले टेलिकममा काम गरेको तीन दशक समय भइसकेको छ । योभन्दा पहिले उनले कम्पनीको नायब प्रबन्धक निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने गत असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् । उनले वि.सं २०५१ सालमा स्थायी नियुक्ति लिएकी थिइन् । २०७८ माघमा नायव प्रबन्ध निर्देशक भएर काम गरेकी थिइन् । यो बिचमा उनले धेरै डिपार्टमेन्टको जिम्मेवारी पनि कुशलताका साथ निर्वाह गरिसकेकी छन् । समग्र महिला अधिकारकर्मीहरुले महिला आरक्षण र संरक्षणको नाममा राजनीति गर्दै गर्दा शिक्षा, सीप र कर्ममा व्यस्त थिइन् संगीता पहाडी (अर्याल) । कर्मयोगी संगीतालाई महिला आरक्षण कोटा पनि चाहिएन, संरक्षण कोटा पनि चाहिएन । पढेर इन्जिनियर बनिन् । २०४९ सालमा नेपाल टेलिकममा काम थालिन् । ३२ वर्षसम्मको कर्मले उनलाई देशकै एक ठूलो कम्पनीको कार्यकारी प्रमुख पदमा पुर्यायो । गज्जवको पारिवारिक माहौल संगीताका बुबा सर्वोच्च अदालतका पूर्व न्यायाधिश लक्ष्मण प्रसाद अर्याल हुन् भने उनको श्रीमान् पनि इन्जिनियर नै हुन् । उनका श्रीमान विश्वबन्धु पहाडी अहिले नेपाली सेनामा इन्जिनियरका रूपमा काम गर्छन् । बुबा र श्रीमानको साथ, सहयोगले पनि आफू यहाँसम्म आइपुगेको उनी बताउँछिन् । उनका दुई जना भाईहरु पनि इन्जिनियर भएकोले पनि आफूलाई धेरै सहयोग पुगेको उनी बताउँछिन् । विभागीय प्रमुखहरुको नेतृत्व गर्दा सम्बन्धित नेतृत्व क्षमता सार्वजनिक रुपमा देखिँदैन । संस्थाका कार्यकारी प्रमुख भएपछि भने जो कोहीको नेतृत्व क्षमता सार्वजनिक रुपमा पनि हेरिन्छ । सहकर्मीहरुको बुझाईमा संगीताले प्राविधिक र व्यवसायिक दक्षता विगतको कार्यसम्पादनबाट नै पुष्टि गरिसकेकी छिन् । व्यवस्थापकीय कुशलता पनि उनको राम्रो हुनेमा टेलिकमका कर्मचारीहरु नै विश्वस्त देखिन्छन् । संगीताले टेलिकममा काम सुरु गरेदेखि हालसम्म आफ्नो तर्फबाट शतप्रतिशत दिएको बताउँछिन् । ‘मैले लामो समय मोबाइल नेटवर्क विस्तारमा काम गरें, नयाँ प्रडक्ट ल्याउनमा पनि मेरो भूमिका रह्यो, इन्टरनेटको जेनेरेसन विस्तारमा पनि धेरै काम गरें, अब फाइभजीको विस्तारको योजनामा छौं,’ उनले भने । पर्दा पछाडि बसेर परिश्रम एउटा संस्थामा टीमवर्क महत्वपूर्ण विषय हो । काम गर्दै गर्दा अनेकन समस्या तथा आरोह अवरोहहरू झेल्नु पर्ने हुन्छ । त्यो अल्झनको अनुभव संगीताले पनि राम्रोसँग गरेकी छन् । संस्थाले राम्रो काम गर्न सक्यो भने नेतृत्वले वाहीवाही पाउँछ भने खराब काम गरे पनि त्यो सम्पूर्ण अपजस नेतृत्वले नै पाउँछ । तर, सफलता पछाडिका सारथीहरू भने धेरै हुन्छन् । नेपाल टेलिकममा विभिन्न समयमा बनेका एमडीको ब्याक सपोर्ट तथा ब्याक स्ट्रेन्थको भूमिका भने संगीताले निर्वाह गरिन् । उनले धेरै समय मोबाइल नेटवर्कको विकास तथा विस्तारमा काम गरिन् । नेटवर्क विस्तारका दिनहरू स्मरण गर्दै उनी भन्छिन्, ‘सुरुमा २५ हजार लाइन, त्यसपछि ५० लाइन, दुई लाख, ६ लाख, ३५ लाख हुँदै १ करोडसम्म पुग्न हामी सफल भयौं, त्यसमा मैले आफ्नो भूमिकालाई सशक्त रूपमा राखेको जस्तो लाग्छ, त्यो कामको रिकगनाइजेसन टेलिकमले पनि गरेको छ ।’ नेपाल टेलिकममा विभिन्न प्याकेज तथा व्यावसायिक स्कीम ल्याउन पनि उनले ठूलो भूमिका खेलिन् । नेपाल टेलिकमले प्रदान गर्ने टुरिष्ट सिम पनि उनै संगीताको कन्सेप्ट हो । फाइवर टु दि होम (एफटीटीएच) दर १७ हजारबाट १२ हजारमा घटाउन पनि उनैले पहल गरिन् । जतिखेर उनी व्यापार प्रवर्द्धनका रूपमा कार्यरत थिइन् । भारतबाट ब्याण्डविथ खरिद गर्दा ६ डलर परमेगाविट रेटलाई २ डलरमा झार्नुमा पनि उनको हात छ । देशमा फोरजी विस्तारमा पनि आफूले ठूलो पहल गरेको उनी सुनाउँछिन् । तर, यसमा उनीसँगै उनको टीम र तत्कालीन नेतृत्वको पनि ठूलो पहल छ । ‘जब कुनै बेला डिपार्टमेन्ट हेड भइन्छ त्यहाँ म्यानेजेरियल कुरा आउँछ, एउटा ग्रुपको नेतृत्व गर्ने बेला पनि व्यवस्थापकको कुरा आउँछ, हामीलाई किताबमा सिकेरभन्दा पनि अनुभवले सिकाइरहेको हुन्छ, रिजल्ट ओरिन्टेड भएर काम गर्नु नै असल व्यवस्थापकको गुण हो, टीमलाई मोटिभेसन र सन्तुष्ट पार्न सक्नु नै व्यवस्थापकको खुबी हो, सोही ढंगले म अगाडि बढ्छु,’ उनले भनिन् । खस्किँदो बिजनेस, बढ्दो चुनौती कुनै बेला वार्षिक १५ अर्बको नाफा गर्ने नेपाल टेलिकम अहिले करिब ८ अर्बमा झरेको छ । ग्राहक संख्या बढ्दो भएपनि विभिन्न सामाजिक प्लेटफर्महरूले टेलिकमको बिजनेस खोसिरहेका छन् । वि.सं २०७४ सालमा टेलिकमको नाफा १५ अर्ब रुपैयाँ थियो । अहिले ७ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । नाफा घट्नुको मुख्य कारण भ्वाइसको कमि भएको उनी बताउँछिन् । ‘अहिले भ्वाइस प्रयोग नगरेर डाटा प्रयोग बढ्दो छ, यो संसारभरको ट्रेण्ड नै हो, अन्तर्राष्ट्रिय कलबाट पनि हामीले पहिले १५/१६ अर्ब आम्दानी गर्थ्यौं, अहिले त्यो आम्दानी ५ अर्बमा झरेको छ, विभिन्न सामाजिक सञ्जालले गर्दा हाम्रो नाफा घटेको छ,’ उनी भन्छिन्, ‘यो हाम्रो लागि चुनौती हो ।’ हाल टेलिकमको पुँजी १८ अर्ब, रिजर्भ ७५ अर्ब र नेटवर्थ १६० अर्ब रुपैयाँ बराबरको छ । कम्पनी अब रणनीतिक हिसाबमा योजना बनाएर अगाडि बढ्ने तयारीमा रहेको उनको भनाइ छ । ‘७५ जिल्लासम्म फाइबर टु दि होम (एफटीटीएच) सेवा पुर्याइसकेका छौं, नेटवर्क कभरेज अझै बढाउने योजना छ, त्यसले आर्थिक अवस्था थप बढाउन सकिन्छ, पहिलेको झै नाफा १५ अर्ब रुपैयाँ गर्ने हैसियत पुर्याउने लक्ष्यमा छौं,’ उनले भनिन् । आफूसँग भएको प्राविधिक दक्षता, व्यवस्थापकीय दक्षता, व्यावसायिक चेतना र नेतृत्व क्षमता प्रदर्शन गर्दै संगीता पहाडी नेपालको देशकै ठूलो कम्पनी नेपाल टेलिकमको कार्यकारी प्रमुख भएकी छिन् । १८ अर्ब रुपैयाँ सेयर पुँजी, ७८ अर्ब रुपैयाँ संचित मुनाफा, १६० अर्ब रुपैयाँ नेटवर्थ र २ करोडभन्दा बढी सक्रिय ग्राहक भएको नेपाल टेलिकमको कार्यकारी प्रमुखको जिम्मेवारी आफैमा धेरै महत्वपूर्ण रहेको छ । उनले अब आफ्नो मुख्य फोकस ग्राहकको सेवामा हुने बताइन् । टेलिकम नेपाल सरकारको पूर्ण स्वामित्वको कम्पनी भएकोले पनि यो कम्पनीप्रति सर्वसाधारणको अपेक्षा धेरै छ । कम्पनीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने चुनौती पनि थपिएको छ । यो चुनौतीका बिच कम्पनीले आफूलाई बजारको बलियो प्रतिस्पर्धी पनि देखाउनु पर्नेछ । यो चुनौतीका बिचमा कसरी काम गर्नु हुन्छ भन्ने जिज्ञासामा उनले जवाफ दिइन्, ‘यो सबैलाई म्यानेज गर्नु पर्नेछ, कम्पनीको सेवा डेलिभरीका साथै ग्राहकको सन्तुष्टि पनि मेन्टेन गरेर अगाडि बढ्नु पर्नेछ, यो आफैंमा चुनौतीको विषय हो, छोटो समयमै ग्राहकको अपेक्षासँगै कर्मचारीको माग पनि पुरा गर्नु पर्नेछ ।’ उनले फाइभजीको कामलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने धारणा राखिन् । ‘कतिपय ठाउँमा टावर आएन, कभरेज पुगेन भन्ने लगायतका समस्याहरू सुन्नुपर्छ, ती सबै समस्या तत्काल समाधान गर्नु पर्ने हुन्छ, हामी थप सशक्त भएर हिड्नुपर्छ, चुनौती लिएर अगाडि बढ्दै गर्दा केही अवसर पनि हुन्छ,’ उनले भनिन्, ‘हामीसँग भएको स्रोतसाधनको पूर्ण उपभोग गरेर काम गर्छौं ।’ नेपालमा प्रोफेसनलभन्दा पनि व्यवहारिक रूपमा काम गर्नु पर्ने बाध्यता रहेको उनको अनुभव छ । कम्पनीले गुणस्तरीय सेवा र नाफा वृद्धिमा मात्र ध्यान दिन पाएको छैन । जनप्रतिनिधि, उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको सुझाव अनुसार व्यवहारिक हिसावले सार्वजनिक हितका पक्षमा पनि टेलिकमले काम गर्नुपर्ने अवस्थाबारे पनि उनले बोलिन् । ‘सरकारी कम्पनी हो । नाफा मात्र हेरेर भएन, सार्वजनिक हितमा पनि हामीले काम गर्नुपर्नेछ, व्यवहारिक पक्षहरु पनि समेट्नुपर्नेछ ।’ ‘अब हामी २४ घण्टा सेवा दिने योजनामा छौं, सहरभन्दा बाहिर पनि गुणस्तरीय नेटवर्क पुर्याउने योजना छ, त्यही अनुरूप हामीले सात प्रदेशको १९ जिल्लालाई नमुना दूरसञ्चार जिल्ला भनेर घोषणा गरेका छौं,’ उनले भनिन्, ‘ती जिल्लाहरूमा नेटवर्क मेन्टिनेन्स र कस्टुमर केयर सेन्टर पनि हुन्छन् ।’ टेलिकमसँग रहेका दक्ष जनशक्ति र पुँजीको परिचालन गरेर भविष्यमा समेत यही पोजिसनमा रहने विश्वास उनको छ । यसका लागि कठोर मिहिनेत र त्यसै अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्ने उनको भनाइ छ । अब्बल व्यवस्थापक कसरी बन्ने ? एउटा संस्थालाई कुन गतिमा अगाडि बढाउने भन्ने महत्वपूर्ण भूमिका र जिम्मेवारी त्यो संस्थाको नेतृत्वको हुन्छ । नेतृत्वले जुन नियतले संस्थालाई अगाडि बढाउँछ, संस्थाले पनि सोही अनुसारको प्रगति हासिल गर्छ । निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी नेतृत्वले व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा अगाडि बढ्नु पर्ने बताउँछिन् । ‘हरेक विषयलाई संस्थागत रूपमा लिनुपर्छ, कुनै निर्णय गर्दा संस्थाको रिफ्लेक्सन हो भन्ने बुझ्नुपर्छ, प्रोफेसनालिजम पनि मेन्टेन गर्नुपर्छ, नेतृत्व प्रोफेसनल हुनुपर्छ,’ उनी भन्छिन्, ‘संस्था बनाउनु भनेको एउटा रेलको लिक बनाउनु जस्तै हो ।’ प्राविधिक मान्छे भएकाले पनि होला, उनका तर्कमा प्राविधिक कुरा जोडिएर आईहाल्छ । एउटा नेतृत्वले आफूले गरिरहेको कामलाई पनि विशेष प्राथमिकताका साथ आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । ‘आफूले गरेको कामलाई जति ध्यान दिएर गर्छौं त्यति नै सफलता प्राप्त हुन्छ, जति सफलता प्राप्त गर्छौं, हामी अगाडि बढ्छौं, आउने आरोह तथा अवरोहलाई सामान्य रूपमा लिएर काम गर्ने हो, आफ्नो लक्ष्यमा इमानदारी भएर काम गर्ने हो, न्यायपूर्वक निर्णय गर्यो भने नेतृत्व सफल हुन सक्छ,’ उनले भनिन् । ग्राहकको सन्तुष्टिका लागि टेलिकमको सेवाको सहज र सुलभ उपलब्धताका साथै गुणस्तरमा सुधारका लागि आफूले विभिन्न स्रोत परिचालन गरिरहेको उनले बताइन् । कम्पनीको संस्थागत र प्रणालीगत विकासका लागि आफूले देशको अवस्था अनुसार प्रादेशिक निर्देशनालय स्थापना गर्नुका साथै कर्मचारीको व्यवस्थापनलाई प्रमुख प्राथमिकताका साथ काम गरिरहेको उनले सुनाइन् । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको स्थापना गरेको छ । नमस्ते पे एपको प्रयोग गरी डिजिटल भुक्तानी गर्ने कार्यलाई व्यवहारिकता प्रदान गरिरहेको छ । कम्पनीले अपर तामाकोशी, त्रिशुली थ्री बी लगायत विभिन्न परियोजनामा लगानी गरेको छ । हाल यी सबै कम्पनीहरूको कार्य प्रारम्भिक अवस्थामै रहेकोले आम्दानी नभएको उनको भनाइ छ । ती कम्पनीको प्रभावकारीता वृद्धिमा पनि उनको ध्यान गएको छ । प्रतिस्पर्धीको छैन डर तीन दशक नेपाल टेलिकममा काम गरिसकेकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अब आउने जुनसुकै प्रतिस्पर्धी कम्पनीहरूसँग टेलिकम नडराउने धारणा राख्छिन् । ‘देशभर ठूलो पूर्वाधार तयार भइसकेको छ, हामी अब गुणस्तरीयता बढाउनमा लागिपरेका छौं, टेलिकम एउटा स्थापित संस्था हो, आगामी दिनमा आउने प्रतिस्पर्धी कम्पनीसँग कुनै डर छैन,’ उनले भनिन् । टेलिकमको आफ्नै इन्टरनल र एक्स्ट्रनल अडिट पनि भएकोले एक परिपक्व संस्थाका रूपमा अगाडि बढिरहेको बताइन् । ‘इन्टरनेटमा हामीसँग १५ लाख ग्राहकलाई सेवा दिन सकिने पूर्वाधार छ, अहिले ४ लाख मात्रै ग्राहक छन्, देशभर १५० वटाभन्दा बढी कार्यालय छन्, त्यहाँबाट पनि ग्राहकलाई सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘टेलिकम अब झन् गुणस्तरीय कम्पनी हुन्छ ।’ आफूले अहिले संस्थालाई बिहान सात बजेदेखि राती ९ बजेसम्म समय दिइरहेको उनी बताउँछिन् । उनी पैसा, पावर र प्रख्यातिभन्दा पनि सामान्य कर्मचारीका रूपमा आफूले काम गरिरहेको बताउँछिन् । उनी कम बोल्न रुचाउने व्यवस्थापकमा पर्दछिन् । उनी आफू फलभन्दा पनि कर्ममा विश्वास गर्ने बताउँछिन् । ‘पद र पैसालेभन्दा पनि जिम्मेवारीले उर्जा दिन्छ, पद र पैसाले मलाई कहिल्यै घमण्ड दिएन, म सामान्य जीवनशैलीमा विश्वास गर्छु,’ उनी भन्छिन्, ‘अहिले पनि घरपरिवार र संस्थालाई सँगसँगै अगाडि बढाइरहेकी छु ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान ​​​​​​​१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’