बाढीपछिको रसुवा : राहतको आवरणमा बालबालिकालाई प्रलोभन

हरेक होल्डिङ सेन्टरमा सुरक्षाकर्मी परिचालन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती पनि बढाइयो

रसुवा । भदौ १० गतेको बाढीले अभिभावक गुमाएका र घरबारविहीन बनेका बालबालिकालाई राहत र संरक्षणका नाममा विभिन्न व्यक्ति तथा संस्थाले लैजान खोजेको भन्दै रसुवाका विद्यालय र स्थानीय तहले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी परिवार गुमाएका बालबालिका र महिलालाई आर्थिक सहयोग, खान-बस्नको व्यवस्था तथा संरक्षणको आश्वासन दिएर प्रलोभनमा पार्ने प्रयास भइरहेको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले बताए ।

‘हाम्रा विद्यार्थीको बाबुआमा हामी आफै बन्छौं । उनीहरूलाई हामी आफै हुर्काउँछौं, सिकाउँछौं । विद्यार्थी लैजान यहाँ कोही नआउनूहोस्,’ राहतका नाममा बालबालिका लैजान खोज्नेहरूप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले भने ।

उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा ५ सय ८ विद्यार्थी अध्ययनरत छन् । बाढीपछि विद्यालयमा अध्ययनरत ६६ विद्यार्थी बेपत्ता भएको विद्यालयको तथ्यांक छ । त्यसमध्ये ५४ जनाले बुबा र आमा दुवै गुमाएका छन् भने करिब १ सय १० विद्यार्थीले अभिभावकमध्ये एक जना गुमाएका छन् ।

अभिभावक गुमाएका बालबालिकामध्ये केही आफन्तको आश्रयमा रहेको अनुमान विद्यालयको छ । तर, कतिपय विद्यार्थी अझै सुरक्षित आवास र अभिभावकको खोजीमै रहेकाले उनीहरूको पढाइसमेत प्रभावित भएको प्रधानाध्यापक लामिछानेले बताए ।

nullमाधव लामिछाने । 

‘उनीहरूमा अझै पनि त्रास छ, ध्यान केन्द्रित गर्न सक्ने अवस्था छैन । अहिले खेलकुद, चित्रकला, ध्यान, गीत–संगीतलगायत सिर्जनात्मक गतिविधिमा जोडेर जीवनलाई पहिलेको लयमा फर्काउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘उनीहरूलाई किताबभन्दा पनि एकअर्काको अनुभूति र पीडा साट्न लगाउँदै आशा जगाउने प्रयास भइरहेको छ ।’

विद्यालयले भदौ २५ गतेदेखि पठनपाठन पुनः सुरु गरेको हो । तर, विद्यालय परिसरमा राहत सामग्रीको चाङ लागेकाले नियमित पठनपाठन र बालबालिकाको मनोसामाजिक वातावरण प्रभावित भएको विद्यालयको भनाइ छ । बाढीपछि विद्यालय तीन दिन होल्डिङ सेन्टरका रूपमा प्रयोग भएको थियो । त्यसपछि राहत संकलन तथा वितरणका लागि विद्यालयलाई केन्द्र बनाइएको हो ।

‘बाढीबाट त्रसित विद्यार्थीको दैनिकी पुरानै लयमा फर्काउन विद्यालय खोलेका हौं । अहिले राहतले एकदमै समस्या भइरहेको छ । गाडी आउँछ, प्रभावित र दाताहरू आउनुहुन्छ, वातावरण शान्त छैन,’ लामिछानेले भने, ‘राहत संकलनका लागि ठाउँ पहिचान भइसकेको छ । एक-दुई दिनमा यहाँबाट त्यहाँ स्थानान्तरण हुन्छ ।’

विद्यालयका अनुसार बाढीपछि अझै पनि धेरै विद्यार्थी नुवाकोटका होल्डिङ सेन्टर तथा आफन्तको आश्रयमा छन् । त्रिशूलीपारि खोलाबेंसीका करिब ३० विद्यार्थी पुल र सडकको अभावमा विद्यालय आउन सकेका छैनन् । शान्तिबजारका करिब २० विद्यार्थीको अवस्था पनि उस्तै छ ।

विद्यालयले भने अभिभावक गुमाएका तथा घरबारविहीन विद्यार्थीलाई आफ्नै संरक्षणमा राखेर पढाउने योजना अघि सारेको छ । गाँस, बासकै समस्या भएका विद्यार्थीलाई दुई वर्षसम्म निःशुल्क छात्रावासमा राखेर पढाउने निर्णय गरिएको प्रधानाध्यापक लामिछानेले बताए ।

‘बाढीबाट एक्लिएका विद्यार्थीलाई पिर नमान, तिमीहरूका बाबु पनि हामी नै हौं, आमा पनि हामी नै हौं भनेर आश्वस्त पारिरहेका छौं । भोलि भविष्य छ, केही गरौंला भनेर विस्तारै उनीहरूलाई अध्ययनतर्फ तान्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

तर, विद्यालयको छात्रावासको क्षमता सीमित छ । हाल ६० जना विद्यार्थी राख्ने अनुमति रहेको छात्रावासमा बाढीपछि १४ छात्र र १२ छात्रासहित २६ विद्यार्थी रहेका छन् । त्यसबाहेक ६ जना स्थानीय बाढी प्रभावितले पनि त्यहाँ आश्रय लिइरहेका छन् ।

अभिभावकविहीन करिब ५० विद्यार्थीलाई समेत छात्रावासमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले क्षमता बढाउन विद्यालयले संघ सरकारसँग आग्रह गरेको छ ।

‘आपत्कालीन अवस्थालाई ध्यानमा राखेर छात्रावासको कोटा २०० पुर्याइदिन सरकारलाई पटक-पटक आग्रह गरेका छौं । अहिलेसम्म निर्णय भएको छैन,’ लामिछानेले भने ।

null

विद्यालयले छात्रावास परिसरमा निर्माणाधीन भवनमा गैरसरकारी संस्थाको सहयोगमा थप शैय्या, खानेपानीलगायत आवश्यक संरचना निर्माण गरिरहेको जनाएको छ । सरकारबाट क्षमता विस्तारको अनुमति पाए बालबालिकालाई अभिभावककै वातावरणमा राखेर हुर्काउने विद्यालयको योजना छ ।

‘सरकारले कोटा बढाउने अनुमति दियो भने यहाँ राखेर उनीहरूलाई घरकै वातावरणमा हुर्काउनेछौं । त्रिशूलीपारि रहेका बच्चाहरूलाई पनि नआत्तिनु, नभौतारिनु, हामी छौं भनेका छौं,’ लामिछानेले भने, ‘सडक नबनेर हो भने उनीहरूलाई पनि ल्याउँछौं । बुबाआमाले जस्तै माया गरेर राख्न सक्छौं भन्ने विश्वास छ ।’

तर, विद्यालयले बालबालिकाको संरक्षणका लागि योजना बनाइरहँदा राहत तथा सहयोगको आवरणमा उनीहरूलाई अन्यत्र लैजान खोज्ने गतिविधिप्रति भने गम्भीर प्रश्न उठाएको छ ।

‘परिवार गुमाएको छ भन्ने थाहा भएपछि बालबालिका र महिलालाई भिडियोमा बोलिदिनुस्, पैसा दिन्छु, खानपान र कोठाको व्यवस्था गरिदिन्छु भनेर फकाउन आउनेहरू सुरुदेखि नै छ्यापछ्याप्ती भेटिएका थिए,’ लामिछानेले भने, ‘केही व्यक्ति तथा संघसंस्थाले बालबालिकालाई पनि लैजान्छु भनेको सुन्नमा आएको छ । अभिभावक विशेष सचेत हुनुपर्छ । सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’

उनका अनुसार केही संस्थाले बालबालिकालाई लैजाने, पढाउने र संरक्षण गर्ने प्रस्तावसमेत गरेका छन् । तर, विद्यालयले बालबालिकालाई उनीहरूको समुदाय, संस्कृति र भूगोलबाट अलग नगरी स्थानीय संरचनामै संरक्षण गर्नुपर्ने धारणा राखेको छ ।

null

‘केही संघसंस्था यहाँ बालबालिका लैजान्छु, पढाउँछु, संरक्षण गर्छौं भन्दै आउनुभएको छ । हाम्रा बालबालिका लैजान आउनुभएको हो भने तपाईंहरू फर्किनुहोस् । सहयोगका लागि हो भने हामीले काम गरेका छौं, सघाउनुहोस् भनेर आग्रह गर्ने गरेका छौं,’ लामिछानेले भने ।

उनका अनुसार बालबालिकालाई सुरक्षित राख्नुको अर्थ उनीहरूलाई भूगोलबाट विस्थापित गर्नु होइन । स्थानीय विद्यालय, समुदाय र राज्यको संयन्त्र बलियो बनाएर उनीहरूको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘उनीहरूलाई यहीँको संस्कार र वातावरणमा हुर्काउने हो । उनीहरूको विकास यहीँबाट मात्रै हुन्छ । कतै लैजाँदैमा उनीहरू पूर्ण रूपमा विकसित हुन्छन् भन्ने म मान्दिनँ,’ उनले भने ।

बालबालिकामाथि हुन सक्ने जोखिम रोक्न विद्यालयले सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधिले विद्यार्थीलाई जोखिम र सावधानीका विषयमा जानकारी दिइरहेको लामिछानेले बताए ।

बालबालिकाको सुरक्षासँगै बाढी प्रभावित परिवारको तत्काल पुनःस्थापना गर्नुपर्ने आवश्यकता पनि विद्यालयले औंल्याएको छ । लामिछानेका अनुसार घर, जमिन र बसोबासको टुंगो नलागेसम्म प्रभावित परिवार असुरक्षित अवस्थामा रहनेछन् ।

‘सरकारले जति सक्दो छिटो यस्ता परिवारलाई सेटलमेन्ट देखाउनुपर्ने हो । त्यसो भयो भने उहाँहरूमा यो मेरो जग्गा हो भन्ने हुन्छ, घर बनाउन लाग्नुहुन्छ । त्यसपछि बाढी बिर्सिएर छिमेकीलाई सघाउने अवस्थामा पुग्दा जीवन सामान्य बन्दै जान्छ,’ उनले भने ।

उत्तरगया गाउँपालिकाले पनि बाढी प्रभावितको पुनःस्थापनाका लागि तीन स्थानमा सुरक्षित जग्गा पहिचान गरेको जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार ती स्थानमा पुनर्वास गराउने प्रस्ताव सम्बन्धित निकायमा पठाइएको छ ।

nullचमेली गुरुङ । 

‘हामीले पालिकाभित्रैका तीन सुरक्षित ठाउँमा जग्गा पहिचान गरेर निर्णयका लागि सम्बन्धित निकायमा पठाइसकेका छौं । उहाँहरूले मूल्यांकन गरेर अनुमति दिएमा बाढी प्रभावितलाई त्यहाँ पुनर्वास गराउने हाम्रो योजना छ,’ गुरुङले भनिन् ।

बालबालिकालाई बाहिर लैजानुभन्दा स्थानीय संस्था र समुदायलाई बलियो बनाएर उनीहरूको भविष्य सुरक्षित गर्नुपर्ने उनको धारणा छ ।

भदौ १० गतेको बाढीले रसुवामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएपछि अहिले राहत र उद्धारको चरणसँगै प्रभावित परिवार तथा बालबालिकाको दीर्घकालीन संरक्षणको प्रश्न थप जटिल बन्दै गएको छ । विद्यालय र स्थानीय तहले तत्कालको राहतसँगै बालबालिकाको संरक्षण, परिवारको पुनस्र्थापना र स्थानीय समुदायमै उनीहरूको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । 

बाढीपछि बढेको सुरक्षा चुनौतीबारे रसुवाका  प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई प्रश्न गर्दा उनले उक्त विषयमा हालसम्म कुनै उजुरी नआएको बताए । 

‘हामीले सोही जोखिमको सम्भावना हुनसक्ने भएकाले हरेक होल्डिङ सेन्टरमा सुरक्षाकर्मी परिचालन गरेका छौं,’ उनले थपे, ‘समुदायमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती  बढाएका छौं ।’

त्यस किसिमको शंका भएमा तुरुन्त खबर गर्न स्थानीय सरकारलाई सुझाएको उनले स्पष्ट पारे ।

अन्य पठनीय सामग्रीहरू :

जोगिएकाहरू पनि छाड्दैछन् गाउँ

आफ्नो पीडा भुलेर सामाजिक काममा सक्रिय वेदबहादुरको कथा

हामी फेरि उठेर अगाडि बढ्छौं 

विवश छन् विद्यार्थी, सकसमा शिक्षक

सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे

बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग

६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस

मृत्यु संस्कारमा चुक्यो सरकार

बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन

तुइनमा अडिएको जिन्दगी

बाढीले बचाएको स्याफ्रुबेंसीको एक्लो दोकान 

आश्रयस्थलमा गुम्यो गोपनीयता

रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन

Share News