अस्मिता पराजुली/नरेश बोहोरा

६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस

काठमाडौं । ‘बसमा कुनै विद्यार्थी बाँकी छन् कि भनेर फर्केर हेर्न जाँदा बाढीले स्कुल बस बगायो । हुत्तिएर म बसको अन्तिम सिटमा पुगें,’ ज्यान जोगाउन गरेको अन्तिम प्रयास सुनाउँदै अनुजा अधिकारीले भनिन्, ‘झ्यालको सिसा लात्तीले फोरेरै भीरमा हाम फालें । त्यसपछि अब म बाँचें भन्ने महसुस भयो ।’ भदौ १० को यो कहालीलाग्दो क्षण सम्झिँदा उत्तरगया गाउँपालिका-५ बनुवाकी अनुजा अधिकारीलाई अझै पनि मनमा त्रास सिर्जना हुन्छ । मन आत्तिन्छ । मुटु ढुकढुक हुन्छ । के बिर्सें, के बिराएँ र के छोडें भन्ने लाग्छ ।  अनुजा अधिकारी आचार्य ७ वर्षदेखि शिक्षण पेसामा आवद्ध छिन् । भदौ १० गते बिहान ८ बजेर ५५ मिनेट जाँदासम्म पनि उनको दैनिकी विगतका दिनहरूजस्तै थियो । बिहानै उठ्ने, खाना खाएर विद्यालय जाने तयारी सकेर आफूले ७ वर्षदेखि पढाउँदै आएको बेत्रावती मोर्डन त्रिनिटी विद्यालयको बस पर्खिने । त्यो दिन पनि उनी उसैगरी विद्यालय जान बस चढिन् ।  उनीमाथि आफ्नो क्षेत्रका विद्यार्थीलाई सुरक्षित विद्यालयसम्म पुर्याउने जिम्मेवारी थियो । ७ वर्षदेखि उनले यहीँ काम सम्हाल्दै आएकी थिइन् । भदौ १० गते बिहान भने उनीको अनुभव कहालीलाग्दो बन्न पुग्यो । ‘म मेरो गाउँ र माथि गाउँका ३१ जना बच्चालाई लिएर बेत्रावती बजारमा रहेको स्कूल पुगेकी थिएँ । ९ बजेर १० मिनेट जाँदा मलाई फोन आयो,’ त्यसपछि मात्रै बाढी आएको बारे आफूले जानकारी पाएको शिक्षिका  आचार्यले बताइन् ।  फोनमा बसमा रहेका बच्चा लिएर भाग्न सुझाइएको थियो । त्यत्तिकैमा उनको कानमा बेत्रावती बजार छाडेर सुरक्षित स्थानमा जानूस् भन्ने आवाज पर्यो । ‘फोन आउने र प्रहरी कार्यालय, पिलिकाका कर्मचारी बजार क्षेत्रका व्यापारीले बजार छाडेर सुरक्षित ठाउँमा जान माइकिङ्ग गर्दै आउनुभएको एकैसाथ सुने । उहाँहरूले मलाई भेटेपछि बच्चालाई तुरुन्त लिएर भाग्न सुझाउनुभयो,’ उनले स्मरण गरिन् ।  त्यसपछि उनले छात्रावासमा रहेका २६ विद्यार्थीलाई समेत बसमा चढाएर उचो क्षेत्रतर्फ लागिन् । ‘हामी भर्खर बच्चा लिएर स्कुल ग्राउण्डमा पुगेका थियौं । बाढी आउँदैछ भनेपछि होस्टलका २६ बच्चासमेत लिएर ड्राइभर दाइलाई अग्लो ठाउँमा जा‍औं भने,’ उनले सुनाइन् ।  तर, त्यतिबेला विद्यालय र कार्यालय समय भएकाले सधैंजस्तो जाम हुनसक्ने कुरा उनको मानसपटलमा आयो ।  ‘बजार कट्नै लागेका थियौं, विद्यालय जाने बेला सधैं गाडीको जाम भोगेको याद गरें । त्यहाँबाट भाग्न सकिँदैन भन्ने पक्का भयो । त्यसपछि साना-साना बच्चाहरू कहाँबाट भगाउने भन्ने सोच्न नभ्याउँदै बाढीले छाेपिसक्यो,’ उनले तीतो अनुभव सुनाइन् । त्यतिबेलासम्म त्रिशुलीमा आएको बाढीले बजार रहेको फाँट सबै छोपिसकेको थियो । बजारमा रहेका नुवाकोट–रसुवा जोड्ने २ पुल उनले देख्दादेख्दै बगायो ।  ‘हामी बाढीबाट लखेटिदै अलिक डिलमा पुगेका थियौं । हेर्दाहेर्दै बाढीले फाँट बगाइसक्यो । त्यहाँबाट त बाँचियो अब जाने ठाउँ छैन भन्ने भएपछि के गरौं कसो गरौं भन्ने भयो,’ उनले त्यो कहाली लाग्दो दृश्य स्मरण गर्दै भनिन्, ‘त्यसपछि मेरो दिमागमा बच्चाहरूलाई भीरबाटै भएपनि माथि चढाउने सोच आयो, ड्राइभर दाई र म भएर कसैलाई तान्ने कसैलाई माथि फाल्ने गरिहाल्यौं ।’   सबै बच्चालाई सारियो भन्ने भएपनि अन्तिममा बसमा नहेरी उनको मन ढुक्क बनेन । जिम्मेवारीमा खरो बन्दै उनी जोखिमको प्रवाह नगरी पुनः बसतर्फ लागिन् ।   ‘अन्तिममा मेरो मनमा कोही बच्चा रोएजस्तो सुनें । बसमा अझै बच्चा छ जस्तो भइरह्यो फेरि हेर्न गएँ,’ ‘शिक्षिका आचार्यले अँध्यारो मुद्रामा भनिन्, ‘त्यो बेला म बसमा छिर्नु र बच्चा जोगाउन गएकी मलाईसहित बाढीले बस पल्टाउनु एकैपटक भयो ।’ उनका अनुसार बसमा बच्चा थिएनन् तर बाढीले उनी स्वय‌ंको जीवन जोखिममा पर्यो । बाढीले उनलाई अन्तिम सिटमा हुत्यायो । त्यहीबेला बसको झ्यालको सिसा फोरर उनी बाहिर आउन सफल भइन् ।  सोही क्रममा पैदल विद्यालय आइरहेको ४ बच्चाको जीवन समेत उनकै उद्धारबाट जोगियो । यसरी उनले त्रादी माहोलमा देखाएको साहस र चेतपूर्ण कदमले शिक्षिका आचार्य, सवारीचालकसहित ६१ जना बालबालिकाले पुनर्जन्म पाए ।  बाढीले विद्यालयको भवनसहित सबै संरचना ध्वस्त बनाएकाले विद्यार्थीको पठनपाठन यतिबेला भने ठप्प छ ।  ‘केही बच्चाहरू यतै खुलेका पायक पर्ने स्कूलमा जान थालेका छन् ।  अब यो क्षेत्र सामान्य बन्न त वर्षाैं लाग्छ होला,’ उनले भनिन् ।   सरकारसँग उनले तत्काल बाढीपीडितका लागि पुनर्बासको व्यवस्था गरिदिन समेत  माग राखिन् । बाढीले ५ वडा रहेको उत्तरगया गाउँपालिकामा रहेका १० वटा विद्यालयमा क्षति पुगेको छ । जसमा एक विद्यालय नर्ससहित मोर्डन ट्रिनिटी इङ्लिस विद्यालयमा प्रधानाध्यापकसहित ९ शिक्षक बाढीबाट बेपत्ता छन् । ‘दश वर्षदेखि यहीँ ठाउँमा वारपार गरिराखेको छु यस्तो प्रलय कहिले आएन । हाम्रो स्कूल र प्रिन्सिपल बाढीबाट बेपत्ता हुनुहुन्छ,’ उनले दुःखी हुँदै सुनाइन् ।