रसुवा । ‘विद्यालय हिडेको म कता अगाडि पुग्दो रहेछु, अनि बल्ल आफू अझै सामान्य अवस्थामा रहेनछु भन्ने सोचेर झसङ्ग हुँदै विद्यालय फर्कन्छु ।’
उत्तरगया गाउँपालिका-५ मा रहेको शिवालय आधारभूत विद्यालयका शिक्षक दिपक ढकालको अहिलेको अवस्था हो यो । तरपनि उनी विद्यालय आउन छाडेका छैनन् । काठमाडौंबाट समाचार संकलनका लागि रसुवाको यात्रा तय गरेको विकासन्युजको टोलि असोज ५ गते मंगलबार उत्तरगया गाउँपालिका-५ मा रहेको शिवालय आधारभूत विद्यालयको प्राङगणमा पुग्यो । प्राङ्गणमा त्यतिबेला दुई दृश्य देखिए ।
प्राङगणको प्रवेशद्वारतर्फ गैरसरकारी संस्थाका दाताबाट विद्यार्थीले पठनपाठनमा आवश्यक पर्ने झोला, कापी, कलम लगायत सामाग्री लिँदै थिए । अर्को भागमा भने उनीहरुको आखाँ जाँच भइरहेको थियो । त्यसकै लागि कक्षा ५ सम्म मात्रै अध्ययन अध्यापन हुँदै आएको उक्त विद्यालयका विद्यार्थी लामबद्ध बनेर आफ्नो पालो कुर्दै थिए ।
दीपक ढकाल ।
बाढीपछि शिवालय विद्यालयले पुरानै लय समात्ने जमर्को गरेको छ । विद्यालय भने भदौ २५ गतेबाट सुचारु भएको हो । विद्यालय मात्रै होइन्, बाढीपछि विक्षिप्त बनेकी विद्यार्थी रजनी ढकालको दैनिकी पनि विद्यालय सुचारु भएयता बदलिँदै गएको छ । गत सातादेखि उनी झोलामा किताब भरेर पठनपाठनका लागि बिहान १० बजे शिव आ.वि पुग्ने गरेकी छन् ।
‘स्कूलमा के-के खेल्न पाइन्छ । साथी पाइन्छ रमाइलो लाग्छ,’ उनले हामीसँग भनिन् ।
सामान्य गफगाफमा उक्त कुरा बताएकी आचार्यकाे बाल मानसपटलमा दबाब नपरोस् भन्दै उनीसँगको कुराकानीलाई बिट मार्दै शिक्षकसँग कुरा गर्दा भने त्यहाँको अवस्था फरक पाइयो ।
‘हामी आफै विक्षिप्त छौं । बच्चाहरूको हालत पनि उस्तै छ । पहिले जस्तो ध्यान लगाउन सकेका छैनन्,’ विद्यालयको एक कुनामा विद्यार्थीलाई परामर्श दिँदै गरेका शिक्षक दीपक ढकालले समस्या खुलाए ।
त्यतिबेला उनले होल्डिङ सेन्टरबाट विद्यालयमा अध्ययन गर्न आएका एक विद्यार्थीलाई परामर्श दिँदै थिए ।
‘विद्यार्थीमा एकाग्रता छैन । हल्ला गर्ने रुने चिडचिडाहट छ, सम्झाइबुझाइ गरेका छौं, उनले भने ।
विद्यार्थीलाई सम्हाल्न बाढीको २५ औं दिनामा बल्ल विद्यालय पुगेका उनकै वेदना पनि असह्य छ । उत्तरगया–५ कैदलेटारमा बस्दै आएका उनको घर सम्पत्तिसहित बाढीले सर्वस्व बगर बनायो । १ छोरा २ छोरी र श्रीमतीको जिम्मेवारीमा बाधिएका उनी अहिले बेघर छन् । बास बस्ने ठेगान छैन ।
‘भदौ १० गतेको बाढीमा डुबिसकेको ६ वर्षको छोरो बल्लतल्ल गर्दा बचाएँ तर उसको अवस्था अझै सामान्य छैन्,’ उनले पीडा पोखे ।
छोरालाई सामान्य अवस्थामा फर्काउन रसुवाबाट काठमाडौंसम्म पुर्याउँदा पनि समस्याका समाधान नभएको उनको भनाइ छ ।
‘जहाँ लगेपनि बाढी आउँछ यहाँ नबसौं भनेर रोएको रोएकै छ,’ लामो सुस्केरा हाल्दै गुनासो पोखे, ‘छोराको असामान्य अवस्थाले उसको स्वास्थ्य र शिक्षा दुवैमा असर परिरहेको छ ।’
बाढीले छोराको मस्तिष्कमा उब्जाएको त्रास मात्रै होइन, छोराको शारीरिक स्वास्थ्य पनि नाजुक छ । शिक्षक ढकालकाअनुसार उनका ६ वर्षीय छोरालाई जन्मैदेखी गंगालाल हृर्दय केन्द्रमा हरेक महिना पुर्याउनै पर्ने हुन्छ । बाढीपछि सडक समेत अवरुद्ध बनेकाले उनले परिवारलाई काठमाडौं सार्नुको विकल्प भेटेनन् ।
‘छोराको अहिलेको अवस्था त्यसैमाथि पहिलेदेखि उसलाई मुटुको समस्या छ । यताको कुरा बिर्साउन श्रीमती, २ छोरी र छोरालाई साथीभाईको आर्थिक सहयोगमा काठमाडौं पुर्याएको छु,’ ।
परिवारबाटै ४ सदस्य गुमाएका शिक्षक ढकालले मृत आत्माको अन्तिम संस्कार गर्ने ठाउँ नपाएर काठमाडौंमा गरेको बताउँछन् ।
‘परिवारको व्यवस्थापन गर्न जादाँ काठमाडौं ग्राण्डी अस्पताल पछाडि निःशुल्क किरिया बस्न पायौं, परिवारबाट बाढीले बगाएका ४ सदस्यको काम उतै सकेर मात्रै विद्यालय फर्किएँ,’ उनले भने ।
काठमाडौंबाट फर्किएर उनी खोला किनारमा ढलेको घर पुगे । जहाँ उनले समाजको अर्को निकृष्ट रुप देख्नु पर्यो ।
‘काजकरिया गर्न र परिवारको बास ठेगान लगाएर घर आउँदा लेदोले भरिएको घरबाट पनि चोरी भएछ । त्यहाँ रहेको दराज निकालेर सबै गहना सामान लुटिएछ,’ दुःख भावमा उनले समाजको चरित्रमाथि औंला उठाए ।
यसरी परिवारको व्यवस्थापन पश्चात उनी पुनः पेशागत जिम्मेवारीमा फर्किएका हुन् । उनका अनुसार ९ जना शिक्षक रहेको उक्त विद्यालयका ३ जना शिक्षक बाढीमा परे ।
‘३ जना शिक्षक बेपत्ता हुनुहुन्छ, एक जना अझै फर्किन सक्नुभएको छैन । अहिले ५ जनाले पढाइरहेका छौं,’ उनी थप्छन्, ‘हामी बाँचेकाको पनि आफ्नै दुरावस्था छ । तरपनि, विद्यार्थीलाई साहस दिनु पर्यो,’ साथीभाई र आफन्तको शरण लिएर अध्यापन गराइरहेका शिक्षक ढकालले दुखेसो पोखे ।
केहीदिनदेखि विद्यार्थीलाई परामर्श दिइरहेका उनीमा यतिबेला बाढीबाट प्रभावित बालबालिकाका लागि विज्ञ मनोपरामर्शविद्को आवश्यकता खड्किरहेको छ ।

‘हामीले त सकेको गरिरहेका छौं । अझ पोख्त मान्छेले विभिन्न तौरतरिकासँग परामर्श गरे छिटो सुधार हुने थियो कि ? आशासहित उनले प्रश्न गरे ।
बालमनोपरामर्शका लागि केही स्थानीय प्रदेश तथा संघीय सरकारबाट पहल भए नभएकोबारे जिज्ञासा राख्दा उनले भने, ‘शिक्षामन्त्रीको सल्लाहकार भन्नुहुने रमन रायमाझी ज्यूसँग मेरो कुरा भएको थियो । उहाँले हामी भरे फोन गर्छौ भन्नुभयो । भरे फेरि मैले नै फोेन गरें, केही दिन पर्खन भन्नुभयो अहिलेसम्म पर्खिएकै छौं ।’
मन्त्रालयसम्म पठाउन तयार गरेर दराजमा थन्क्याएको विद्यार्थीको सूची निकालेर देखाउँदै उनले गुनासो पोखे, ‘हामी हेर्छौ गर्छौ भन्ने त धेरै संघसंस्था छन् । राहत पनि आएको छ । बास बनाउन अलिक समय लाग्छ । जसोतसो बासको जोहो भएकै छ,’ उनले थपे, ‘अभिभावक, शिक्षक र बालबालिका सबैलाई राखेर ग्रुपमा परामर्श गरिदिए अहिले चाहिएको त्यहीँ हो ।’
त्यहीँ पनि बालबालिकालाई खुसी बनाउन प्रयास गरिरहेको बताए । उनी मात्रै होइनन्, शिवालय आ.विकी शिक्षिका प्रविना आचार्यको ब्यथा पनि उस्तै छ । उत्तरगया गाउँपालिका-५ बोगटीटार बस्दै आएकी उनले बाढीबाट बुबा गुमाइन् ।
‘पहिले-पहिले बाढी सामान्य आउथ्यो, त्यस्तै सोच्नुभयो होला बुबा बेपत्ता हुनुभयो । परिवारमा आमा, भाईबुहारी र म छौं । बाढीले बुवासंँगै खेतबारी सबै लग्यो,’ उनले दुःखी हुँदै भनिन् ।
शिक्षिका प्रविना आचार्यसँग कुराकानी गर्दै विकासन्युजकर्मी अस्मिता पराजुली ।
घरको बलियो खम्बा बुबा गुमाउँदाको पीडा दबाएर यतिबेला उनी उसैगरी उठ्न खोजेका विद्यार्थीको सहारा बन्ने प्रयासमा छिन् । जीवन रक्षाका लागि बसाइँ जाने कि भन्नेसम्मको सोच आएको उनको भनाइ छ ।
विद्यार्थीको अवस्थाबारे विकासन्युजकर्मीको जिज्ञासामा थप्दै उनले भनिन्, ‘हामी आफैं पनि अब बाँच्ने अवस्था नै हुँदैन भने बसाइँ जाने कि भन्ने अवस्थामा छौं । यहाँ आउने अधिकांश बच्चा बाढीबाट लखेटिँदै बाचेर होल्डिङ्ग सेन्टरमा बसेका छन् उनीहरु त कसरी सामान्य हुन सक्नु र !’ शिक्षिका आचार्यले बताइन् ।
विद्यार्थीमा यतिबेला बाढी पुनः आउँछ भन्ने त्रास मात्रै रहेको उनले सुनाइन् ।
‘समुदायमा परामर्श भएकै छैन । परामर्श र पुनर्वासमा विशेष ध्यान पुर्याउन उनले सरकारसँग माग राखिन् ।
सोही वडाको लहरेपौवा बसोबास गर्दै आएकी शिक्षिका विन्दु पौडेल भन्छिन्, ‘बच्चाहरू बाउआमा छोडेर स्कूल आउन डराइरहेका छन् । अभिभावकले पनि फेरी केही हुने हो कि भनेर बच्चालाई ढुक्कसँग पठाउन सकेका छैनन् ।’

उनीहरुका अनुसार पुनः ठूलो बाढी आउन सक्ने भनिएकाले त्रास अझ बढ्दै गएको छ । बाढीअघि ४५ जनाले अध्ययन गर्दै आएको उक्त विद्यालयमा होल्डिङ्ग सेन्टरबाट ४० बालबालिका थपिएका छन् । ३९ छात्र र ४७ जना छात्रा विद्यार्थीलाई ६ जना शिक्षकले अध्ययन अध्यापन गराइरहेका छन् । ९ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयका ३ शिक्षक बाढीमा परि बेपत्ता बनेका छन् ।
विन्दु पौडेल ।
यस्तै, सोही वडाको अर्को विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने भने आफै अभिभावक बनेर विद्यार्थीलाई संघर्ष सिकाउन चाहन्छन् ।
‘२५ गतेबाट विद्यार्थीको पढाइ सुरु हुन थालेको छ । उनीहरुलाई बाढीको पीडा बिर्साउन कथा पढ्ने, वाद्यवादन, नृत्य लगायत सिर्जनात्मक अभ्यासमा केन्द्रित गरेका छौं, उनले थप्दै भने, ‘त्यसबाट उनीहरुलाई पढाइतर्फ निरन्तरता दिँदै जाँदा र बालबालिकाहरू दैनिक जीवनमा फर्किँदै जाँदा उनीहरूका क्रियाकलापहरू पनि क्रमशः मिल्दै जान्छन् भन्ने लाग्छ ।’
अभिभावकबिहिन बालबालिकालाई उनी आफ्नै स्वामित्वमा हुर्काउन चाहन्छन् । तर, यतिबेला विभिन्न संघ-संस्थाहरू बच्चा लैजान्छु भन्दै आउँदा भने उनको मन कुडिएको छ ।
‘विभिन्न संघ संस्थाहरु अहिले हामी बालबालिका लैजान्छौ संरक्षण गर्छौ भनेर आउनुभएको छ,’ पीडा भरिएको आक्रोशसहित उनले थपे, ‘म उहाँहरुलाई हाम्रा बच्चालाई हामी अभिभावक बनेर यहीँ माटो अनुकूल संघर्ष गर्न सिकाउँछौं । बढाउँछौं, हुर्काउछौं भनेर भन्छु ।’

उक्त प्रस्ताव ल्याउने संस्थालाई उनले सोही ठाउँलाई उठाउन सहकार्यका लागि आह्वान गरे । ‘बाल संरक्षण, खानपान, सरसफाइ, शिक्षा र मनोरञ्जनलगायतका क्षेत्रमा सबै संघ-संस्थाले आफ्नो विशेषज्ञताअनुसार समन्वय र सहकार्य गरौं । हामी काम गर्न तयार छौं,’ उनले भने, ‘तपाईंहरू सहयोग गर्नुस् र सबै मिलेर पीडामा परेको यो ठाउँ, विद्यालय र बालबालिकालाई माथि उठाउने प्रयत्न गरौं ।’
बाढीबाट विद्यालयका ६ जना विद्यार्थी बेपत्ता छन् । ५ सय ८ जना विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालय खुलेको २ साता पुग्दा २ सय ८५ जना विद्यार्थी पठनपाठनमा फर्किएका छन् ।