अर्थमन्त्री पुनलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव : पपुलिष्ट बजेट नल्याउनू, आकार सानो बनाउनु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरूले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । ‘बजेटको आकार ठूलो नबनाउनुस् । जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री महतले भने, ‘पपुलिज्मको पछाडि कोही लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्नुस् भन्ने मेरो सुझाव छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रूपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । ‘ हामीले विगतदेनि नै बजेटको साख गिराउने काम गर्दै आएका छौं’, खतिवडाले भने, ‘यो पटक पनि राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो हो ।’ खतिवडाले दायित्वजति संघीय सरकारमा राखेर स्रोतजति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औंल्याउँदै त्यसो नगर्न भने । ‘दायित्वजति संघीय सरकारमा राख्ने र श्रोतजति तल पठाउँदा अर्थमन्त्री असफल भयो भन्ने आरोप आउने गरेको छ’, खतिवडाले भने, ‘श्रोत तल पठाउने हो भने त्योसँगै दायित्व पनि पठाउनुस् भन्ने मेरो आग्रह छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने स्पष्ट गरे । त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘एकजना अर्थमन्त्रीले मात्र चाहेर केही गर्न सक्दैन’, उनले भने, ‘नीति निर्माता सबैले सोच्नुपर्छ । अरु मन्त्रालयहरूको पनि सहभागिता चाहिन्छ ।’ राजनीतिक स्थायित्वको ग्यारेन्टी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए । उनले कम्तिमा तीन वर्ष वर्तमान सरकारले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । अर्का पूर्वमन्त्री शंकर कोइरालाले विगतमा जलस्रोतमा लगानी गर्दा स्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । अर्का अर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । ‘नियामक संस्थाहरूका कारण निजी क्षेत्र आतंकित भएको छ’, उनले भने, ‘सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए । ‘पुँजीगत खर्च किन हुँदैन भने कोही कर्मचारी फाइल सदर गर्न तयार छैन । विधिपूर्वक काम गर्दा केही हुँदैन भन्ने ग्यारेण्टी गरिनुपर्छ’, पाडेले भने, ‘कुन दिन कसलाई अख्तियारमा लाने हो टुंगो छैन । काम गरेबापत गाउँमा सबैले भ्रष्टाचारी भन्छ । करिअर पनि सकिन्छ ।’ संसदीय समिति, अख्तियार, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धानजस्ता निकाय राज्यभन्दा अलग नभएको उनको भनाइ थियो । ‘देश बनाउने हो भने सबै एकैतिर फर्किनुपर्छ । कोही कता कोही कर्ता फर्किएर मुलुक बन्दैन’, पाण्डेले भने । पाण्डेले नियामक निकायलाई राजनीतिक वा व्यक्तिगत प्रतिशोधका आधारमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको अथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए । बजेटको विश्वसनीयता कायम राख्न आकार अनावश्यक ठूलो बनाउन नहुनेमा उनको पनि जोड थियो । ‘असीमित ढंगले बजेटको आकार फराकिलो बनाउन सकिँदैन’, पौडेलले भने, ‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेट राखौं । अनगिन्ती योजना थप्ने काम नगरौं ।’ उनले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनास्रोत राखिएका हजारौं टुक्रे आयोजना खोज गर्न आँट गर्न अर्थमन्त्री पुनलाई सुझाव दिए । त्यसमा आफू र आफ्नो दलका तर्फबाट अर्थमन्त्रीलाई साथ रहने प्रतिबद्धता जनाए । मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरूका सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमन्त्रीहरुका सुझावलाई गाइडलाइनका रूपमा गह गर्ने प्रतिबद्धता जनाए ।

नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ, बुधबार किने ६३ करोडको सेयर

काठमाडौं । बुधबार पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बुधबार कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड ३० लाख ९३ हजार २५८.५० रुपैयाँ बराबरको कारोबार भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बुधबार नेप्सेमा कारोबार भएको स्रोतले बताएको छ । स्रोतका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । सिद्धार्थ प्रिमियरले प्रतिकित्ता २८० रुपैयाँका दरले २० लाख ७३ हजार ४४६ कित्ता सेयर बिक्रीमा राखेको थियो । सोही मूल्यमा उक्त सेयर हिमालयन लाइफले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर हिमालयन लाइफले ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँमा खरिद गरेको हो । यस्तै, ग्लोबल आइएमई क्यापिटलपनि प्रतिकित्ता २८० रुपैयाँका दरले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर प्रतिकित्ता २८०.२५ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर कम्पनीले ५ करोड २५ लाख २८ हजार ३८७.५ रुपैयाँमा खरिद गरेको हो । यसअघि गत मंसिरमा पनि हिलमायन लाइफ र एशियन लाइफले नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद गरेका थिए । हिमालयन लाइफले प्रतिकित्ता ३ सय रुपैयाँका दरले १९ लाख ७९ हजार २४२ कित्ता सेयर ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको थियो । यस्तै, एशियन लाइफले छुट्टाछुट्टै मूल्यमा १० लाख कित्ता सेयर २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँमा खरिद गरेको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् भने हिमालयन र एशियनले उक्त सेयर खरिद गरिरहेका छन् । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण लगानी गर्ने अन्य क्षेत्र नभएपछि नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गरेको बताउँछन् । बैंकको ब्याजदर निरन्तर रूपमा घट्दोक्रममा रहेकाले रिइन्स्योरेन्सको सेयर खरिद गरेको उनको भनाइ छ । ‘लगानी कहाँ गर्ने ?, बैंकको ब्याजदर घटिरहेको छ । नेपाल रिको सेयर खरिद गर्याे भने पछिका दिनमा काम लागि हाल्छ,’ उनले भने, ‘हामीसँग ६५ अर्ब रुपैयाँ पुगिसक्यो । साढे ६ अर्ब लगानी गर्नुपर्छ । नेपाल रिससहित अन्य कम्पनीमा पनि लगानी गरेका छौं । नेपाल रिमा दीर्घकालमा फाइदा भएकाले लगानी गरेका हौं ।’

नेपाल र कतारबीच द्विपक्षीय समझदारी, नेपाली कामदारको प्रशंसा

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तामा ८ वटा विषयमा सम्झौता भएको हो । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको बताइएको छ । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । कतारी अमिरले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो । होटल सोल्टीमा भएको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।