काठमाडौं । अनलाइन बुकिङदेखि डिजिटल भुक्तानी र ओटीपीमार्फत कोठाको ढोका खोल्नेसम्म प्रविधिले होटलमा पाहुनाले सेवा लिने शैली नै बदलिदिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिने होटल व्यवसायमा स्वचालित प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको हो ।
चेक–इन र चेक–आउटदेखि कोठा व्यवस्थापनसम्म प्रविधिको प्रवेशसँगै होटल सञ्चालन सहज र छरितो बन्दै गएको छ । तर प्रविधिको बढ्दो प्रयोगसँगै होटल व्यवसायको मूल पहिचान मानिने मानवीय आत्मीयतामाथि नयाँ प्रश्न पनि उठाएको छ ।
विशेषगरी नेपाली हस्पिटालिटीको आफ्नै मौलिक आतिथ्य संस्कार छ, ओठमा मीठो मुस्कानसहित दुई हात जोडेर गरिने नमस्कार । पाहुनालाई गर्ने यही आत्मीय स्वागत नेपाली आतिथ्यको पहिचानसमेत हो ।
तर, होटल व्यवसायमा प्रविधिको प्रयोग बढ्दै जाँदा यो शैली पनि विस्तारै बदलिँदै गएको छ । अहिले होटलमा कृत्रिम बौद्धिकता (एआई) र रोबोटले पाहुनालाई स्वागत गर्नेदेखि कोठामै पानी तथा अन्य सामग्री पुर्याउनेसम्मका सेवा दिन थालेका छन् ।
प्रविधिले सेवा छिटो, सहज र प्रभावकारी बनाए पनि मेसिन वा रोबोटबाट दिइने सेवामा मानवीय आत्मीयता, व्यक्तिगत ध्यान र प्रत्यक्ष संवादको अभाव हुने जोखिम भने उत्तिकै रहेको व्यवसायीहरू बताउँछन् ।
हस्पिटालिटीमा प्रविधि र एआईको प्रयोग बढाउँदै जाँदा त्यहाँ कार्यरत श्रमिकलाई पूर्ण रूपमा विस्थापित गरेर मेसिनमा मात्रै निर्भर हुने अवस्था सिर्जना गर्न नहुने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए ।
समयअनुकूल प्रविधि अपनाउँदै नेपालको मौलिक आतिथ्य, आत्मीयता र मानवीय सेवालाई जोगाउनुपर्नेमा उनको जोड छ ।
प्रविधिबाट सेवा प्रभावकारी र सहज बनाउँदै मानवीय सेवाको पक्षलाई पनि कायम राखेर दुवैबीच सन्तुलन मिलाउनु नै अहिलेको प्रमुख चुनौती र आवश्यकता रहेको उनको भनाइ छ ।
तर, प्रविधिको अधिकतम र व्यावहारिक प्रयोग आजको आवश्यकता भएको व्यवसायीहरू स्वीकार गर्छन् । यसैलाई मध्यनजर गरेर होटल संघ नेपाल (हान) ले आगामी माघमा आयोजना गर्ने डाइमण्ड जुबिलीको अवसरमा ‘टेक्नोलोजी ड्रिभन हस्पिटालिटी’लाई मुख्य नाराका रूपमा अघि सारेको छ ।
त्यस्तै, होटल व्यवसायी महासंघ नेपाल (एचपिएफएन) ले पनि होटल व्यवसायमा प्रविधिको पहुँच र प्रयोग विस्तार गर्ने उद्देश्यले राष्ट्रिय डिजिटल साक्षरता अभियान सञ्चालन गरिरहेको छ ।
साना तथा ठूला होटल व्यवसायीको क्षमता विकाससँगै प्रविधिको व्यवहारिक प्रयोगलाई विस्तार गर्न नसकेसम्म नेपालको आतिथ्य क्षेत्रलाई समयअनुकूल, दक्ष र प्रतिस्पर्धी बनाउन चुनौती रहने व्यवसायीहरू बताउँछन् ।
एचपिएफएनका उपाध्यक्ष सन्तोष उप्रेतीले ग्राहकको व्यवहार तथा होटल खोज्ने, बुकिङ गर्ने र प्रचारप्रसार गर्ने तरिका नै बदलिइसकेकाले व्यवसायलाई डिजिटल युगमा प्रवेश गराउनु अत्यावश्यक भइसकेको बताए ।
उनका अनुसार ‘डिजिटल लिटरेसी फर होटल एण्ड रेस्टुरेन्ट’ कार्यक्रम सामान्य कार्यक्रम मात्र नभई नेपाली पर्यटन व्यवसायलाई भविष्यका लागि तयार पार्ने दीर्घकालीन अभियानको सुरुवात हो ।
यस अभियानमार्फत सानादेखि ठूला होटल तथा रेस्टुरेन्टलाई सामाजिक सञ्जाल, अनलाइन बुकिङ, डिजिटल मार्केटिङ तथा एआईको व्यवहारिक प्रयोगसँग जोड्ने प्रयास भइरहेको उनले बताए ।
एआईको सही प्रयोगबाट होटलका प्रचार सामग्री तयार गर्न, ग्राहकसँग संवाद गर्न, विभिन्न भाषामा आवश्यक जानकारी उपलब्ध गराउन तथा सामाजिक सञ्जाल व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
तर, प्रविधिको प्रयोग बढाउँदैमा नेपाली आतिथ्यको मौलिकता गुमाउन नहुने उप्रेती बताउँछन् । ‘प्रविधि हाम्रो सहयोगी हो, तर हाम्रो वास्तविक शक्ति नेपाली आतिथ्यता, आत्मीयता, मौलिक संस्कृति र पाहुनालाई गरिने सम्मान हो,’ उनले भने ।
प्रविधिले कामलाई छिटो बनाउनुका साथै विश्वभर पहुँच विस्तार गर्न सहयोग गरे पनि पाहुनालाई हृदयदेखि स्वागत गर्ने नेपाली संस्कारको स्थान कुनै प्रविधिले लिन नसक्ने उनको भनाइ छ ।
‘हाम्रो लक्ष्य प्रविधिसँगै नेपाली आतिथ्यलाई पनि कायम राख्नु हो,’ उप्रेती भन्छन् ।
वेभप्लस आईटी सोसाइटीका संस्थापक चन्द्र चक्रधारका अनुसार ग्राहकको व्यवहारमा समेत ठूलो परिवर्तन आएको छ । अहिले ग्राहकले होटलमा प्रत्यक्ष सम्पर्क गर्नुअघि नै अनलाइन खोज्ने, अन्य ग्राहकका रिभ्यु हेर्ने र त्यसकै आधारमा होटल छनोट तथा बुकिङ गर्ने गरेका छन् ।
त्यसैले डिजिटल सीप अब विकल्प मात्र नभई होटल तथा रेस्टुरेन्ट व्यवसायको क्षमता अभिवृद्धिको अनिवार्य हिस्सा बनेको उनको भनाइ छ ।
होटल व्यवसायीले आफ्नो अनलाइन उपस्थिति बलियो बनाउन गुगल बिजनेस प्रोफाइल र गुगल म्याप्सको प्रभावकारी प्रयोग गर्नुपर्ने चक्रधार बताउँछन् । यसबाट होटलको स्थान, सेवा, सम्पर्क विवरण तथा ग्राहकका समीक्षा सहजै उपलब्ध गराउन सकिन्छ ।
त्यस्तै, वेबसाइटसँगै फेसबुक, टिकटक र ह्वाट्सएप बिजनेसजस्ता सामाजिक सञ्जाललाई २४सै घण्टा ग्राहकलाई आवश्यक जानकारी दिने माध्यमका रूपमा प्रयोग गर्न सकिने उनले बताए ।
परम्परागत गुगल सर्चसँगै एआईमा आधारित सर्चको प्रयोग बढिरहेकाले होटल तथा रेस्टुरेन्ट आफ्नो व्यवसाय च्याटजीपीटीजस्ता एआई सर्च माध्यममा समेत सहजै भेटिने गरी डिजिटल उपस्थिति बनाउनुपर्ने उनको सुझाव छ ।
एआईको प्रयोगबाट विज्ञापन सामग्री, भिडियो स्क्रिप्ट, अनुवाद तथा विभिन्न व्यावसायिक रिपोर्ट तयार गर्न सकिने उनले बताए ।
त्यस्तै, क्यान्भालगायतका एआई टुलको प्रयोगले साना व्यवसायलाई समेत न्यून लागतमा प्रचार सामग्री तयार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
तर, डिजिटल रूपान्तरणसँगै सुरक्षा पक्षलाई पनि बेवास्ता गर्न नहुने चक्रधार बताउँछन् । पासवर्ड सुरक्षा, एक्सेस कन्ट्रोल र साइबर सुरक्षाका आधारभूत उपाय अपनाएर डिजिटल जोखिम न्यूनीकरण गर्नुपर्ने उनको सुझाव छ ।
महँगा सफ्टवेयरमा मात्र निर्भर हुनुभन्दा उपलब्ध निःशुल्क तथा सहज टुलहरूको अधिकतम प्रयोग गर्दै कर्मचारीलाई समेत त्यसको व्यवहारिक तालिम दिन सके साना तथा ठूला होटल व्यवसायले डिजिटल प्रविधिबाट लाभ लिन सक्ने उनी बताउँछन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक एवं वेलनेस सचिवालयका संयोजक लक्ष्मण गौतमले नयाँ प्रविधि भित्रिँदा सुरुआती चरणमा आशङ्का र डर हुनु स्वाभाविक भए पनि त्यसको सही प्रयोगले कामलाई सहज बनाउनुका साथै विकासको गतिलाई समेत तीव्र बनाउने बताए ।
उनले विगतमा क्याल्कुलेटरको प्रयोग सुरु हुँदा पनि यसले मानिसको काम खोस्ने लगायतका विभिन्न आशङ्का व्यक्त गरिएको उदाहरण दिँदै प्रविधिको विकाससँगै त्यसले काम गर्ने तरिका परिवर्तन गरेको उल्लेख गरे ।
अहिले एआईको प्रयोगले रोजगारी खोस्ने चिन्ता देखिए पनि यसको सही प्रयोगले मानिसलाई थप सिर्जनशील बन्न, नयाँ सोच विकास गर्न र कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने उनको भनाइ छ ।
‘एआईबाट डराएर भाग्नेभन्दा यसको सही प्रयोग कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ,’ गौतमले भने ।
उनका अनुसार विश्व पर्यटन क्षेत्रमा समेत एआईको प्रयोगलाई महत्त्वका साथ अघि बढाइएको छ । त्यसैले होटल तथा पर्यटन व्यवसायीले एआईलाई चुनौतीका रूपमा मात्र नहेरी आत्मसात गर्दै आफ्नो व्यवसायलाई प्रविधिमैत्री, सहज र प्रतिस्पर्धी बनाउन आवश्यक छ ।