
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या बढ्दै जान थालेपछि तारे स्तरका होटल दर्जनभन्दा बढी थपिएका छन् । यसले होटल उद्योगमा उल्लेख्य परिमाणमा लगानी बढ्न थालेको पुष्टि गर्छ ।
बढी पैसा खर्च गर्ने ‘क्वालिटी’ पर्यटक लक्ष्य गर्दै थपिएका यस्ता तारे होटलले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको व्यवसायी बताउँछन् ।
सन् २०२३ मा एकै वर्ष एक दर्जनभन्दा बढी तारेस्तरका होटल थपिएका हुन् । यी होटलमा अर्बौं रुपैयाँबराबर लगानी भएको छ ।
पर्यटन विभागका अनुसार २०२३ मा १३ वटा तारे होटल थपिएका छन् । यिनमा एकदेखि पाँचतारे स्तरसम्मका छन् ।
२०२३ मा होटल उद्योगमा राम्रो परिमाणमा लगानी थपिएको होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।
‘यस उद्योगमा पछिल्लो एक वर्षमा थपिएको होटल संख्या र लगानीले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको छ,’ शाहले विकासन्युजसँग भने, ‘यसबाट हामीले बढिभन्दा बढी क्वालिटी टुरिस्टलाई सेवा दिन थप सहज हुनेछ ।’
पर्यटन बोर्डको तथ्यांकअनुसार २०२३ मा १० लाख १४ हजार ८ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । पर्यटक नेपाल घुम्न आउने सन्दर्भमा नेपाल २०१९ कै तहमामा आइसकेको अध्यक्ष शाह बताउँछन् । त्यस वर्ष करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
‘नेपालमा पर्यटक आगमन वृद्धि हुनु, तारेस्तरका होटलहरू धमाधम खुल्दै जानु, होटलहरूमा राम्रो बुकिङ भएकाले हामी उत्साहित र सकारात्मक दुवै छौं,’ शाहले भने, ‘हाम्रो होटल क्षमता वृद्धि भएर गयो, तर पर्यटक ल्याउन सक्ने क्षमता भने अझै वृद्धि भएन ।’
नेपालका होटलले ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाएको अध्यक्ष शाह बताउँछन् । ‘नेपाली आतिथ्य उद्योगको क्षमता ३५ लाखको भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षमता त भयो, तर यो क्षमतालाई कसरी परिपूर्ति गर्ने भन्ने पनि महत्वपूर्ण छ ।’
अहिले नेपालमा जति पनि ठूला लगानीका होटल, रिसोर्ट थपिएका छन् र अझै थपिने क्रममा रहेका छन् तिनलाई कसरी चलायमान बनाउने र तिनबाट प्रतिफल कसरी लिने भन्नेमा सरकारले पनि ध्यान दिनुपर्ने उनी बताउँछन् ।
‘सरकारले सन् २०२३ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यो लक्ष्य पूरा गर्न हाम्रा पूर्वाधार छन् कि छैनन् भन्ने हेर्नुपर्यो,’ उनले भने, ‘२०२३ मा काठमाडौंको विमानस्थलले १० लाख पर्यटक ल्यायो, हाम्रो क्षमता ३५ लाखको छ, त्यो क्षमताको एक तिहाइ मात्रै उपयोग भयो । निजी क्षेत्रले आफ्नो तर्फबाट पूर्वाधार बलियो बनाइसक्यो अब पालो सरकारको हो ।’
उनका अनुसार विमानस्थल र बाटोघाटो मात्रै बलियो हुने हो भने नेपालले पर्यटनबाट मनग्य आम्दानी गर्न सक्छ ।
अहिलेसम्म देशैभरि होटल, लज, रिसोर्ट, होमस्टेलगायत गरेर झन्डै १० हजार बेड पर्यटकीय स्तरका उपलब्ध रहेको शाह बताउँछन् । दिनमा १० हजार पर्यटक आउँदा पनि सेवा दिन सक्ने उनको भनाइ छ ।
नेपालको होटल उद्योगमा हालसम्म करिब १५ खर्ब रुपैयाँ हाराहारीमा लगानी भइसकेको हानको तथ्यांक छ ।
सरकारले २२ वटा पाँचतारे होटलको लाइसेन्सिङ गरेको छ भने अर्को वर्षसम्म १८ देखि २० वटा पाँचतारे होटल थपिने क्रममा रहेको शाह बताउँछन् ।
‘हामीसँग अर्को दुई वर्षमा ४०–४२ वटा पाँचतारे होटल हुन्छन्,’ उनी भन्छन्, ‘यो खुलिरहेका होटल क्वालिटी टुरिस्ट लक्ष्य गरेर खोलिएका हुन्, यो निजी क्षेत्रको प्रयास हो, अब सरकारका तर्फबाट हुनुपर्ने प्रयास आवश्यक छ । क्वालिटी टुरिस्टका लागि हाम्रो सर्भिस पनि क्वालिटी हुनुपर्छ ।’
यस्तै नेपाल पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने देशमा तारे होटल बढ्नु भनेको समृद्धि आउनु भएको बताउँछन् । नेपालमा पर्यटक संख्या बढिरहेका बेला तारेस्तरका होटलमा पनि वृद्धि हुनुले अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक सन्देश पुग्ने उनको विश्वास छ ।
उनका अनुसार पहिला तारे होटल भन्नासाथ विदेशी पर्यटक मात्रै जाने भन्ने थियो । तर, अहिले तारे होटलमा विदेशी पर्यटक मात्रै जाने भन्ने भाष्य बदलिएको उनी बताउँछन् ।
‘अहिले विदेशीमात्रै होइनन् नेपाली पनि तारे होटलमा खर्च गर्न सक्ने छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय मध्यम वर्गीय र उच्च मध्यम वर्गीय पनि तारेस्तरका होटलमा पाहुना बन्न थालेका छन्, यसलाई पनि सकारात्मक रूपमै लिन सकिन्छ ।’
अहिले देशभरि तारेस्तरका होटल तथा रिसोर्टहरू धमाधम खुल्नुले क्वालिटी पर्यटकको आगमनमा पनि वृद्धि हुँदै गएको बुझाउने निर्देशक लामिछानेको भनाइ छ ।
अहिले नेपालमै पनि विवाह तथा अन्य समारोहका लागि तारे होटल मानिसहरूको रोजाइमा पर्न थालेका छन् । अहिले सानादेखि ठूला कार्यक्रम पनि तारे होटलमै आयोजना हुन्छन् । नेपालमा तारे होटल वृद्धि हुनु आन्तरिक र वाह्य दुवैका लागि फाइदाजनक देखिने निर्देशक लामिछाने बताउँछन् ।
अब २०२३ मा कहाँ–कहाँ कस्ता होटल थपिए त ? यसबारे विस्तृतमा चर्चा गरौं ।
पाँचतारे होटल वर्णवास
संघीय राजधानी काठमाडौंको बालुवाटारमा लक्जरियस पाँचतारे बुटिक होटल वर्णवास सञ्चालनमा आएको छ । होटलमा कुल ४८ वटा कोठा छन् । यो होटल निर्माणमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको लगानीमा होटल सञ्चालनमा आएको हो ।
पाँचतारे होटल सिद्धार्थ भिलासा
रुपन्देही भैरहवामा सञ्चालनमा आएको सिद्धार्थ भिलासा होटलले पाँचतारे स्तरको मान्यता पाएको छ । यो होटलमा ८५ वटा कोठा छन् ।
बाराही जंगल रिसोर्ट
बाराही ग्रुपले चितवन मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ । बाराही जंगल भिल्लैभिल्ला रहेको रिसोर्टमा ३५ कोठा छन् ।
सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट
कपिलवस्तु चन्द्रौटामा चारतारे होटल सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएको छ । यो होटलमा ६१ वटा कोठा छन् भने यसको चुक्ता पूँजी १५ करोड रुपैयाँबराबर रहेको छ ।
चारतारे होटल रोम रिजेन्सी
पर्यटन राजधानी पोखरामा खुलेको रोम रिजेन्सी चारतारे स्तरको होटल हो । यस होटलको चुक्ता पूँजी १५ करोड रुपैयाँ छ भने यसमा ६१ वटा कोठा रहेका छन् ।
चातारे होटल आइकावा इन
चितवन सौराहामा चारतारे स्तरको होटल आइकावा इन सञ्चालनमा आएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सियल सुइट गरी ४ श्रेणीका कोठा छन् । होटलमा ६१ वटा कोठा रहेको छ । यसको पनि चुक्ता पूँजी १५ करोड रुपैयाँ छ ।
पाँचतारे होटल अकामा
काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल पाँचतारे स्तरको हो । यो होटलमा १ सय ८ कोठा छन् ।
दुईतारे होटल द मायसा
काठमाडौंमा सञ्चालनमा आएको मायसा होटल दुईतारे स्तरको होटल हो । यस होटलमा ४१ वटा कोठा रहेका छन् ।
दुईतारे होटल सनसेट भ्यु
काठमाडौं बानेश्वरमा रहेको सनसेट भ्यु होटल दुईतारे स्तरको होटल हो । यस होटलमा २१ वटा कोठा रहेको छ ।
दुईतारे होटल हिमालयन होराइजन
काभ्रेपलान्चोक धुलिखेलमा रहेको होटल हिमालयन होराइजन दुईतारे स्तरको होटल हो । यस होटलमा ४८ वटा कोठा रहेका छन् भने यस होटलको चुक्ता पूँजी ३ करोड रहेको छ ।
एकतारे होटल फरेस्ट इन
काठमाडौं बूढानीलकण्ठमा रहेको होटल फरेस्ट इन एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने होटलमा कोठा संख्या २० रहेको छ ।
एकतारे होटल रूपम
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालनमा आएको होटल रूपम एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ छ । यस होटलमा २१ कोठा रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार २०२३ मा झन्डै २ सय नयाँ होटल थपिएका छन् । तिनमा तारेस्तरका नयाँ ९ होटल थपिएका छन् भने तारेस्तर नभएका १ सय ८८ वटा नयाँ होटल छन् ।
प्रतिवेदनअनुसार २०२२ मा मुलुकमा तारे होटलको संख्या १ सय ७३ थियो । एक वर्षपछि २०२३ मा बढेर १ सय ८२ पुगेको छ । तारेस्तर नलिएकातर्फ २०२२ मा १ हजार २ सय २८ थियो भने २०२३ सम्म आइपुग्दा १ हजार ४ सय १६ पुगेको छ ।
ती सबै र नयाँ बनेका होटलमा रुम संख्या पनि राम्रै बढेको छ । २०२२ मा तारे र तारेस्तर नभएका होटल दुवैमा गरी ५३ हजार ३ सय ६५ रुम थियो । एक वर्षपछि २०२३ मा आइपुग्दा ५४ हजार ३ सय ७० पुगेको छ । यो भनेको नयाँ १ हजार ५ रुम थपिएको हो ।