७ बैंकको वितरणयोग्य नाफा २० अर्ब ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको २० अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्म ७ बैंकको वितरणयोग्य नाफा १९ अर्ब ९८ करोड ३३ लाख १२ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको असोजसम्ममा विभिन्न ५ बैंकको १२ अर्ब ५४ करोड १ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । असोज मसान्तसम्ममा सबैभन्दा धेरै हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । हिमालयन बैंकको ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको असोजमा हिमालयनको ३ अर्ब ४८ करोड ४४ लाख ३७ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ, नेपाल बैंकको ५७ करोड १ लाख ९२ हजार रुपैयाँ, कुमारी बैंकको ३ अर्ब ९१ करोड ९९ लाख २० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को १ अर्ब १६ करोड ९४ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको असोजमा एनआईसी एशियाको २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ, नेपाल बैंकको १ अर्ब २६ लाख ८२ हजार रुपैयाँ, कुमारीको ३ अर्ब ३२ करोड ८४ लाख २४ हजार रुपैयाँ र एनआईएमबिको २ अर्ब ५१ करोड ५ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । गत वर्ष नाफामा रहेका माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा यसपटक भने ऋणात्मक रहेको देखिन्छ । असोजसम्ममा माछापुच्छ्रेको ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ र सिटिजन्सको ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यी बैंकको वितरणयोग्य नाफा धनात्मक चालु आवको असोजसम्ममा १३ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रभु बैंकको वितरणयोग्य नाफा बढेको देखिन्छ । प्रभुको १ हजार ६९ प्रतिशत बढेर ४० करोड ६० लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जबकि गत वर्षको असोजमा यस बैंकको वितरणयोग्य नाफा २ करोड ४७ लाख १५ हजार रुपैयाँ मात्रै थियो । यस्तै, सिद्धार्थ बैंकको ५११.२९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख ९६ हजार रुपैयाँ, कृषि विकास बैंकको ३७४.१७ प्रतिशत बढेर २४८४७३६ हजार रुपैयाँ, एभरेष्ट बैंकको १५५.२४ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५३ प्रतिशत बढेर ४ अर्ब ८४ करोड ९५ लाख ६ हजार रुपैयाँ, एनएमबि बैंकको ८१.१६ प्रतिशत बढेर १ अर्ब ९४ करोड ३३ लाख १८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ । यस्तै, लक्ष्मी सनराइज बैंकको ७५.९८ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३७ करोड ७९ हजार रुपैयाँ, सानिमा बैंकको २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड ४ लाख ४८ हजार रुपैयाँ, नबिल बैंकको १३.१४ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ५२ लाख ९८ हजार रुपैयाँ, प्राइम बैंकको ११.४८ प्रतिशत बढेर ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । समीक्षा अवधिमा वितरणयोग्य नाफा धनात्मक भएपछि विभिन्न ३ वटा बैंकको भने गत वर्षको असोजको तुलनामा घटेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकको ४.४२ प्रतिशत घटेर २१ करोड ४७ लाख २५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १९.२१ प्रतिशत घटेर १ अर्ब ५० करोड ९८ लाख ८४ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४.५० प्रतिशत घटेर २ अर्ब ४१ करोड १० लाख ४८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिन्छ ।
सिप्रदीको व्यापार २४ अर्ब बढी, तीन आर्थिक वर्षमा औसत ६८ प्रतिशत लाभांश
काठमाडौं । गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर-वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ । सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । यसअघि विकासन्युजसँग कुरा गर्दै सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए । सम्बन्धित सामग्री : अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’
बैंकले ६ प्रतिशत ब्याजमा ऋण दिन्छौं भन्दा पनि अटाे व्यवसायी दोधारमा, लयमा फर्किने प्रयास
काठमाडौं । गत भदौ ३२ र २४ गतेको जेनजी आन्दोलनपछि खस्किएको अटो बजार लयमा फर्किने प्रयासमा रहेको छ । २ वटा अटो शोले चलायमान बनाएको अटो बजार जेनजी आन्दोलनले ठूलो क्षति पुर्याएपछि सुस्त बनेको थियो । अहिले पुनः लयमा फर्किने प्रयासमा बजार रहेको छ । आन्दोलनको क्रममा टाटा, महेन्द्र, सिजी, हुन्डाई, सुजुकीजस्ता ठुला अटो कम्पनीका शोरुमहरूमा आगजनी र तोडफोड भएको थियो भने करिब १० हजार सवारीसाधनमा क्षति पुग्यो । अहिले अटो बजार लयमा फर्किने प्रयासमा रहेको व्यवसायीहरु बताउँछन् । उनीहरु विगतमा स्टकमा राखेको गाडीहरु बिक्री भइसकेको दाबी गर्छन् । व्यवसायीहरुले जेनजी आन्दोलनलगायत यस्ता खालका विभिन्न चुनौतीहरूको सामना गरिरहेको अटो बजारले दशैं तिहारपछि केही सुधारको सङ्केत देखाएको बताएका छन् । अटो व्यवसायी तथा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ-फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार जेनजी आन्दोलनका कारण दशैंअघि गाडीको बिक्री घटेको थियो । उनले तिहारपछि गाडीको इन्क्वाइरी र बिक्रीमा वृद्धि भइरहेको जानकारी दिए । यसअघि कर बढ्ने हल्लाले गाडीको स्टक बढेको भनिए पनि आयातकर्ताहरूसँगको स्टक घटेको दाबी उनको छ । उनका अनुसार गाडी आयातमा भने अझै पनि ठूला चुनौतीहरू छन् । चीनसँग जोडिएका नाकाहरूमा बाढी, पहिरो र हिमपातले गर्दा आयात प्रक्रिया निकै जटिल बनेको छ । गोल्छाका अनुसार केरुङ नाकाको पुल भत्किएको र तातोपानी नाका बाढीका कारण लामो समयदेखि प्रभावित भएको छ । तातोपानीबाट दशैंपछि मात्रै गाडी आउन थालेको र कोरला नाकामा पनि अहिले हिमपातका कारण आयात गर्न गाह्रो भएको उनले बताए । यी अवरोधका कारण भन्सारबाट छुटेका गाडीहरूलाई अस्थायी रूपमा चोभार बन्दरगाहमा राखिएको छ । उनले केही मोडलको स्टक आउट भएको र नयाँ गाडी आउने बित्तिकै बुकिङअनुसार डेलिभरी दिइरहेको जानकारी दिए । यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी अटो बजार दशैं तिहारपछि नकारात्मक अवस्थामा नभई स्वाभाविक समायोजनको चरणमा रहेको बताउँछन् । पछिल्लो समय देखिएको सुस्तता अस्थायी मात्र भएको र दीर्घकालीन समस्या नरहेको उनको भनाइ छ । उनले अब उपभोक्ताको माग बढ्दै जाने र आगामी महिनाहरूमा बजार पुनः सक्रिय रुपमा लयमा जाने विश्वास व्यक्त गरे । चौधरीले भने, ‘आर्थिक वर्ष सुरु हुनुअघि कर बढ्ने आशंकाले केही व्यवसायीहरूले स्टक बढाएका थिए । त्यसपछि जेनजी आन्दोलनले बिक्रीवितरणमा असहजता ल्याइदियो । यी कारणहरूले गर्दा बजारमा अस्थायी सुस्तता देखिएको हो, तर यो कुनै संरचनात्मक वा दीर्घकालीन समस्या भने होइन । अब विस्तारै सुधार हुँदै जान्छ ।’ उनका अनुसार उपभोक्ताको माग विस्तारै बढ्दै गइरहेको छ । यसका साथै वित्तीय क्षेत्र क्रमशः सामान्य हुँदै गएको र बैंक तथा वित्तीय संस्थाहरूले अटो लोन एवं हायर पर्चेज सहज बनाउन थालेकाले नगद प्रवाहमा राहत पु¥याएको छ, जसले बजारलाई फेरि गतिमा ल्याउने उनको विश्वास छ । चौधरीले पछिल्लो समय विद्युतीय सवारीसाधनमा उपभोक्ताको रुचि बढ्दै गएको बताउँदै यसले अटो बजारलाई नयाँ दिशामा अगाडि बढाइरहेको दाबी गरे । यसैगरी, अटो उद्योगी तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया पनि अटो बजारको सुस्तता विस्तारै कम हुँदै गइरहेको बताउँछन् । उनका अनुसार जेनजी आन्दोलनले सवारीसाधनको माग २० देखि ३० प्रतिशतसम्म घटेको थियो । यो सुस्तता स्टक र जेनजी आन्दोलनले मात्र नभई समग्र आर्थिक क्रियाकलापमा कमी र राजनीतिक अस्थिरताका कारण भएको उनको भनाइ छ । उनले भने, ‘यस वर्ष दशैं/तिहारअघि गाडीको स्टक राम्रै थियो । हाम्रो कम्पनीमा गाडीहरू सामान्यतया १/२ महिनासम्म मात्रै स्टक रहन्थे । तर यसपटक ३ महिनासम्म स्टक पुग्यो । जबकी गाडीहरूको बिक्री अपेक्षाकृत हुन सकेन । अब क्रमिक रुपमा यो सुधार हुँदै गइरहेको छ । ’ सीजी मोटर्सका मार्केटिङ हेड बद्री भट्टराईले बजार सुस्त हुनुमा बैंक फाइनान्सिङको अभाव, आम नागरिकको कम आय र खरिद क्षमतामा आएको कमी रहेको दाबी गरे । यस्तै, टाटा मोर्टस बीवाइडीलगायत कम्पनीले पनि जेनजी आन्दोनले अटो बजार सुस्ताएको र व्यापार व्यवसाय विस्तारै लयमा आउन बताएका छन् । थपलियाका अनुसार बिक्रीमा आएको कमीका कारण अटो बजार सुस्ताएको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरूले ६/७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको भएपनि समग्र अर्थतन्त्रमा चहलपहल नभएसम्म माग बढ्न नसक्ने उनको तर्क छ । तर, पूर्वानुमान गरिएको भन्दा बिक्री कम हुँदा भने चुनौती बढेको उनको भनाइ छ । अहिले गाडी खरिदका लागि बैंकहरूले ६० प्रतिशतसम्म मात्र फाइनान्स गर्ने गरेकोमा यसलाई ८० प्रतिशत पु¥याउनुपर्ने व्यवसायीहरूको माग छ । उसो त अहिले राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई सवारी साधन खरिदको कर्जाको लोन टु भ्यालु रेसियो ८० प्रतिशत कायम गरेके छ । गोल्छाले १५ वर्षअघि ९० प्रतिशतसम्म फाइनान्स उपलब्ध हुने गरेको स्मरण गर्दै ८० प्रतिशत फाइनान्स भएमा ग्राहकलाई सहज हुने र बिक्री बढ्ने जानकारी दिए । यस विषयमा नाइमामार्फत सरकारसँग छलफल भइरहेको र आशावादी रहेको गोल्छाले बताए । हाल बैंकले ६० प्रतिशत मात्र कर्जा दिने गरेका छन् । यसको मतलब यदि कुनै इलेक्ट्रिक कारको मूल्य १० लाख रुपैयाँ छ भने बैंकले ६ लाख रुपैयाँसम्म मात्र कर्जा दिन्छ, बाँकी ४ लाख रुपैयाँ भने उपभोक्ताले डाउनपेमेन्टका रूपमा आफैंले तिर्नुपर्छ । हाल बजारमा बिक्री हुने गाडीहरूमध्ये करिब ७५ प्रतिशत इलेक्ट्रिक भेहिकल (ईभी) र २५ प्रतिशत पेट्रोल गाडी रहेका छन् । दुवै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स उपलब्ध हुनुपर्ने व्यवसायीहरूको माग छ । बैंकरहरुले पनि अटो कर्जा विगतको तुलनामा कम प्रवाह भइरहेको बताउँदै आएका छन् । नबिल बैंकमा कार्यरत एक बैंकरले अटाे लाेनकाे माग विगतकाे तुलनामा केही कम भएकाे सुनाए । उनले ब्याजदर कम भए पनि माग न्यून रहेकाे सुनाए । यस्तै, दशैंयता चीनसँगको तातोपानी भन्सार नाकाबाट सवारी साधन तथा कन्टेनरको आयात निरन्तर भइरहेको छ भने विगतको तुलनामा आयात हुने गाडी र कन्टेनरको संख्यामा भने कमी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी रमेशबहादुर शाहका अनुसार पछिल्लो समय चीनबाट दैनिक औसत १३ देखि १५ वटा कन्टेनर छुट्ने गरेको भए तापनि नेपाल प्रवेश गर्ने संख्यामा उतारचढाव रहेको छ । ‘गाडीको संख्या कहिले बढी हुन्छ, कहिले कम हुने गरेको छ । कहिलेकाहीँ नाकाबाट जाचपास भएर आउने भएकाले दैनिक कति गाडी भित्रिन्छन् भन्ने यकिन तथ्यांक दिन गाह्रो छ,’ शाहले भने । उनका अनुसार औसतमा ५ देखि ८ वटा गाडी भित्रिने अनुमान छ । तातोपानी नाका अहिले भने सहज रुपमा सञ्चालनमा आएको शाहले उल्लेख गरे । दशैंयता आवाजावत निरन्तर भइरहेको उनको भनाइ छ ।