‘सुरुङमार्गभित्र गाडी रोक्न, ओभरटेक गर्न पाइँदैन, २ तथा ३ पाङ्ग्रे सवारी छिर्न पनि पाइन्न’
लामो समयदेखि प्रतीक्षा गरिएको नागढुंगा सुरुङमार्ग साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । हाल भौतिक पूर्वाधार निर्माणको काम सकिएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको छ । सुरुङमार्गको सञ्चालनको जिम्मा पाएको चिनियाँ र नेपाली निर्माण कम्पनीको संयुक्त टोली युसिन एआरटी जेभीले प्राविधिक जडान र सञ्चालनको अन्तिम तयारी तीव्र रुपमा गरिरहेको छ । विशेषगरी सुरुङमार्गको सञ्चालन, व्यवस्थापन, सुरक्षा, चुनौती र प्राविधिक पक्षबारे युसियन एआरटी टोलीका नेपाली प्रतिनिधि तथा सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठसँग विकासन्युजका लागि नरेन्द्र विष्टले कुराकानी गरेका छन् । सुरुङमार्ग सञ्चालनको सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा भएको हो ? हो, आगामी साउन ११ गते अर्थात् जुलाई २७ बाट नागढुङ्गा सुरुङमार्गलाई सञ्चालनमा ल्याउन सरकारको निर्देशन छ । त्यही निर्देशनअनुसार हामीले विभिन्न चरणका प्राविधिक परीक्षणहरू, कर्मचारीको तालिम र सुरक्षा पूर्वाधारको तयारी गरिरहेका छौं । अहिले हामी अन्तिम चरणको अभ्यासमा जुटेकका छौं । हामी सञ्चालनका लागि पूर्ण रूपमा तयार भइसकेका छौं । यो नेपालको लागि गौरवको आयोजना मात्र नभएर इन्जिनियरिङ क्षेत्रको एउटा ठुलो फड्को पनि हो । सवारी चालकले सुरुङमार्गभित्र प्रवेश गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमहरू के–के हुन् ? सुरुङमार्गको सुरक्षा व्यवस्था अत्यन्तै संवेदनशील र प्रविधियुक्त हुन्छ । त्यसैले चालकले केही नियमहरू कडाइका साथ पालना गर्नुपर्ने हुन्छ । पहिलो, सुरुङमार्गको इस्ट पोर्टल अर्थात् काठमाडौं तर्फ वा वेस्ट पोर्टल (धादिङ तर्फ) मा प्रवेश गर्नेबित्तिकै चालकले तोकिएको गतिको सीमा पालना गर्नुपर्छ । दोस्रो, सुरुङमार्गभित्र छिर्नु अगाडि नै आफ्नो सवारीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्छ । साथै सुरक्षाका लागि इमर्जेन्सी लाइट पनि बाल्नुपर्ने हुन्छ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण नियम भनेको सुरुङमार्गभित्र कहिल्यै पनि ओभरटेक गर्न पाइँदैन । एउटा गाडीले अर्को गाडीलाई उछिन्न खोज्दा ठुलो दुर्घटना हुन सक्छ । सुरुङमार्गभित्र गाडी रोक्न शख्त निषेध छ । अत्यन्तै आपत्कालीन अवस्था बाहेक गाडी रोक्न पाइँदैन । यदि गाडी बिग्रिएमा पनि त्यसको लागि निश्चित स्टप स्पट र उद्धार टोलीको व्यवस्था गरिएको छ । सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठ । यात्रु र चालकहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? हाम्रो सन्देश भनेको सजग र अनुशासित हुनुहोस् भन्ने नै हो । हामीसँग सुरुङमार्गमा अत्याधुनिक कन्ट्रोल रुम छ । प्रत्येक मिटरको गतिविधि हामी मोनिटर गरिरहेका हुन्छौं । सुरुङभित्र ठुला–ठुला स्पिकरहरू जडान गरिएका छन् । यदि कुनै चालकले नियम उल्लंघन गरेमा वा असुरक्षित गतिविधि गरेमा हामी कन्ट्रोल रुमबाटै माइक मार्फत निर्देशन दिन्छौं । जुन चालकले आफ्नो सिटमै बसेर स्पष्ट सुन्न सक्छ । त्यसैले ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न हामी सबैमा अपिल गर्दछौं । सबै प्रकारका सवारी साधन सुरुङमार्गमा जान पाउँछन् कि केही प्रतिबन्धहरू पनि छन् ? सुरुङमार्गको संवेदनशीलतालाई हेरेर केही सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । सरकार र सडक विभागको निर्णय अनुसार अहिलेलाई दुईपाङ्ग्रे (मोटरसाइकल/स्कुटर) र तीनपाङ्ग्रे (अटो रिक्सा आदि) सवारी साधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ । यसैगरी, ग्यासका बुलेटहरू, प्रज्वलनशील केमिकल बोकेका गाडीहरू र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरूलाई पनि सुरक्षाका कारण सुरुङभित्र जान दिइने छैन । धेरै उचाइ भएका र बढी भार भएका सवारी साधनका साथै चौपाया बोकेका गाडीहरूलाई पनि प्रवेश निषेध गरिएको छ । यस्ता सवारी साधनहरू पुरानै साविकको बाटो भएर जानुपर्ने हुन्छ । गाडीको गतिको सीमा कति निर्धारण गरिएको छ ? सामान्यतया हामीले सुरुमा प्रति घण्टा ४० किलोमिटरको सीमा राख्ने सोच बनाएका छौं । तर, सुरुको एक/दुई हप्ता यात्रु र चालकलाई बानी नपरुन्जेलसम्मका लागि प्रति घण्टा ३० किलोमिटरको गतिको सीमा तोक्ने विषयमा हाम्रो सेफ्टी युनिटले छलफल गरिरहेको छ । बिस्तारै मानिसहरू अभ्यस्त भएपछि यसलाई समायोजन गर्न सकिन्छ । यो सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिने नागढुङ्गाको उकालो र जाममा कत्तिको राहत मिल्छ ? समयको बचत कति होला ? यो सुरुङमार्गको सबैभन्दा ठुलो फाइदा नै समय र इन्धनको बचत हो । साविकको बाटोबाट जाँदा नौबिसेदेखि थानकोटसम्म उकालो, घुम्ती र जामका कारण सामान्य अवस्थामा पनि ४५ मिनेट देखि १ घण्टा लाग्ने गर्छ । जाम हुँदा त ३/४ घण्टासम्म पनि कुर्नुपर्ने हुन्छ । तर सुरुङमार्गको प्रयोग गर्दा सिस्नेखोला देखि किसिपिढीसम्मको ५ किलोमिटरको दूरी पार गर्न जम्मा ७ देखि ८ मिनेट मात्र लाग्छ । यसले गाडीको इन्धन खपत घटाउँछ, गाडीको इन्जिनको आयु बढाउँछ र मानिसको अमूल्य समय जोगाउँछ । यो एउटा गेम–चेन्जर प्रोजेक्ट हो । आयोजना सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन कसरी गरिएको छ ? सुरुङमार्ग सञ्चालनका लागि हामीले दक्ष जनशक्तिको एउटा ठुलो टोली तयार गरेका छौं । सडक विभागको टेन्डर प्रक्रिया अनुसार विभिन्न युनिटहरू छन् । जस्तैः फ्यासिलिटी म्यानेजमेन्ट युनिट, ट्राफिक फ्यासिलिटी कन्ट्रोल म्यानेजमेन्ट, सिभिल वर्क युनिट, टोल कलेक्सन र सेफ्टी म्यानेजमेन्ट युनिट । जम्माजम्मी १५० जना कर्मचारीको दरबन्दी छ । यसमा सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, टोल कलेक्टर र सुरक्षा विज्ञहरू समावेश छन् । नेपालमा सुरुङ मार्गको अनुभव भएका मानिस कम भएकोले हामीले धेरैलाई अहिले विशेष तालिम दिएर तयार पारेका छौं। नेपालको पहिलो सुरुङमार्ग भएकोले यसमा जोखिम र चुनौतीहरू के–के देख्नुहुन्छ ? चुनौतीहरू त अवश्य छन् । सबैभन्दा ठुलो चुनौती भनेको मानिसहरूको व्यवहार र अनुशासन हो । नयाँ संरचना भएकोले चालकहरू एक्साइटेड भएर सुरुङ भित्र फोटो खिच्ने, गाडी रोक्ने वा उच्छृङ्खल गतिविधि गर्ने सम्भावना हुन्छ । तर प्राविधिक रूपमा भन्नुपर्दा सुरुङमार्ग बाहिरको बाटो भन्दा बढी सुरक्षित हुन्छ । यहाँ हावाहुरी, बाढी वा पहिरोको प्रत्यक्ष असर पर्दैन । यद्यपि, भित्र हुन सक्ने आगलागी वा मेकानिकल फेलियर हाम्रा लागि चुनौती हुन्, जसका लागि हामीले पर्याप्त पूर्वतयारी गरेका छौं । दैनिक कति सवारी साधन आउजाउ गर्ने अनुमान छ र यसबाट हुने आम्दानीको अवस्था के होला ? अहिलेको ट्राफिक तथ्याङ्क हेर्दा नागढुङ्गा भञ्ज्याङ भएर दैनिक धेरै सवारी साधन चल्छन् । हामीले सुरुङमार्गबाट दैनिक करिब १० हजार सवारी साधन आउजाउ गर्ने अनुमान गरेका छौं । आम्दानीको कुरा गर्दा यो टोल कलेक्सनमा आधारित हुन्छ । तर ठ्याक्कै कति आम्दानी हुन्छ भन्ने कुरा म अहिले भन्न सक्ने अवस्थामा छैन । किनकि त्यो मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो । सुरुङमार्गको जिम्मेवारी पाएको चिनियाँ र नेपाली कम्पनी युसियन एआरटी जेभीले मुख्य रूपमा के–के काम गर्छ ? हाम्रो कम्पनीको मुख्य जिम्मेवारी नै नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा मर्मत हो । यस अन्तर्गत सवारी साधनको आवागमनलाई सुचारु बनाउने, टोल कलेक्सन गरी सरकारलाई बुझाउने, सुरुङमार्गभित्रका प्राविधिक उपकरणहरूको रेखदेख गर्ने, सरसफाइ गर्ने र सानातिना टुटफुट भएमा मर्मत गर्ने कामहरू पर्छन् । मुख्य उद्देश्य भनेको यात्रुलाई सुरक्षित र निर्बाध सेवा दिनु हो । चिनियाँ र नेपाली टोली बीचको समन्वय र जिम्मेवारी बाँडफाँड कसरी गरिएको छ ? यो एउटा संयुक्त टोली हो । चिनियाँ विज्ञहरूसँग सुरुङमार्ग सञ्चालनको लामो अनुभव छ । त्यसैले अहिले प्रत्येक महत्त्वपूर्ण युनिटको हेडको रूपमा चिनियाँ विज्ञहरू हुनुहुन्छ । उहाँहरूले नेपाली कर्मचारीहरूलाई प्रविधि हस्तान्तरण गरिरहनुभएको छ । जम्मा ८ देखि १० जना चिनियाँ विज्ञहरू हुनुहुन्छ । नेपाली टोलीमा पनि सिभिल इन्जिनियर र अन्य प्राविधिकहरू छन् जो भविष्यमा यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम हुनेछन् । सडक विभागले सीभी र कार्यक्षमताका आधारमा कर्मचारीको एप्रुभल दिएपछि मात्र हामीले नियुक्ति गरेका छौं । सुरुङमार्गभित्र सुरक्षा संयन्त्र र उपकरणहरू कसरी मिलाउनुभएको छ ? सुरुङमार्गभित्र सुरक्षाका लागि विभिन्न लेयरको व्यवस्था गरेका छौं । १५ वटा शक्तिशाली ‘जेट फ्यान’ राखिएका छन् । जसले भित्रको कार्बन मोनोअक्साइड र धुवाँको स्तर हेरेर अटोमेटिक रूपमा आफ्नो गति परिवर्तन गर्छन् । लाइटिङ सिस्टम पनि अटोमेटिक बनाइएको छ । जसले बाहिरको घाम वा बदलीको अवस्था हेरेर भित्रको प्रकाश समायोजन गर्नेछ । सुरुङमार्गभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छौं । हरेक ५० मिटरमा फायर हाइड्रेट (आगो निभाउने संयन्त्र) जडान छन् । आगलागीको सूचना पाउने बित्तिकै बज्ने अटोमेटिक अलार्मको व्यवस्था छ । पोर्टलमा ५००० लिटर क्षमताका दुईवटा दमकल र तालिमप्राप्त फायर फाइटरहरू चौबिसै घण्टा स्ट्यान्डबाई रहनेछन् । सुरुमा बसलाई मात्र, त्यो पनि एकतर्फी रूपमा सञ्चालन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । सबैजना यस प्रविधिसँग परिचित भएपछि मात्र दुईतर्फी बस सञ्चालन र त्यसपछि क्रमशः अन्य साना तथा ठुला सवारी साधनलाई अनुमति दिइने तयारी भइरहेको छ । सेफ्टी म्यानेजमेन्ट युनिट अन्तर्गत रेस्क्यु टिम, पेट्रोल टिम, फायर फाइटिङ टिम, भेइकल टोइङ र भेइकल लिफ्टिङ टिमहरू छन् । सुरुङमार्गभित्र २४सै घण्टा पेट्रोलिङ भइरहन्छ । कुनै पनि सानो दुर्घटना वा गाडी बिग्रने घटना भएमा हामी तुरुन्तै थाहा पाउँछौं र ५ देखि १० मिनेटभित्र उद्धार टोली घटनास्थलमा पुग्छ । यदि सुरुङमार्गभित्र गाडी बिग्रियो वा टायर पन्चर भयो भने के गर्ने ? यदि गाडी बिग्रिएमा चालकले आत्तिएर गाडी बाटोमै छोड्नु हुँदैन । हामीसँग टोइङ भेइकल र लिफ्टिङ भेइकलहरू तयारी अवस्थामा छन् । हामी तुरुन्तै त्यो गाडीलाई तानेर सुरुङ बाहिर निकाल्छौं वा साइड लगाउँछौं ताकि अरू गाडीलाई अवरोध नहोस् । सुरुङमार्गभित्र गाडी मर्मत गर्न वा टायर फेर्न पाइँदैन, किनकि त्यसले जाम र दुर्घटना निम्त्याउन सक्छ । सुरुङमार्गमा आपतकालीन टेलिफोन बुथ राखिएको कुरा सत्य हो ? हो, आपतकालीन टेलिफोन बुथहरू राखिएको छ । यदि तपाईंको मोबाइलले काम गरेन वा कुनै समस्या पर्यो भने तपाईंले ती बुथमा गएर फोन उठाउने बित्तिकै सिधै कन्ट्रोल रुममा सम्पर्क हुन्छ । तपाईंले आफ्नो समस्या बताएपछि हाम्रो टोली तुरुन्तै आउँछ । आगलागी भयो भने नियन्त्रणका लागि के व्यवस्था छ ? आगलागी नियन्त्रणका लागि यहाँ फायर हाइड्रेन्टहरू जडान गरिएका छन् । सुरुङको दायाँ–बायाँ भित्तामा पानीका पाइपहरू छन् । पाइपमा पानीको पर्याप्त प्रेसर हुन्छ । साथै प्रत्येक निश्चित दूरीमा फायर इस्टिङ्ग्युसर अर्थात् आगो निभाउने उपकरण राखिएका छन् । हाम्रा आफ्नै दमकलहरू पनि पोर्टलमा स्ट्यान्डबाई हुन्छन् । सुरुङमार्गभित्र प्रदूषण र धुवाँको व्यवस्थापन कसरी हुन्छ ? हामीले जेट फ्यानहरू राखेका छौं । सुरुङमार्गभित्र गाडीहरू चल्दा निस्कने धुवाँ र कार्बनमोनोअक्साइडलाई बाहिर फाल्न र ताजा अक्सिजन भित्र ल्याउन यी फ्यानहरूले २४सै घण्टा काम गर्छन् । यदि भित्र आगलागी भएर धुवाँ भरियो भने स्मोक डिटेक्टरले तुरुन्तै संकेत दिन्छ र यी फ्यानहरूले धुवाँलाई तीव्र गतिमा बाहिर फाल्छन् । यसले गर्दा यात्रुलाई सास फेर्न समस्या हुँदैन । सुरुङमार्गभित्र बत्ती गयो भने के हुन्छ ? सुरुङमार्गभित्रको बिजुली आपूर्ति कहिल्यै काटिँदैन । ९९.९९ प्रतिशत बिजुली नजाने व्यवस्था गरिएको छ । यदि मुख्य लाइनबाट बिजुली गयो भने पनि १५ सेकेन्डभित्र हाम्रो अत्याधुनिक ब्याकअप जेनेरेटर र अटोमेसन सिस्टमले बिजुली सुचारु गर्छ । सुरुङमार्गभित्र अँध्यारो हुने अवस्था नै आउँदैन । विपद् व्यवस्थापनका लागि के-कस्तो योजना छ ? यो सुरुङमार्ग भूकम्प प्रतिरोधी प्रविधिबाट बनाइएको छ । ठुला रेक्टरका भूकम्पले पनि यसलाई असर नगर्ने गरी इन्जिनियरिङ गरिएको छ । यद्यपि, कुनै पनि विपद्को अवस्थामा हामीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको इमर्जेन्सी रेस्पोन्स ग्रुपसँग समन्वय गरेका छौं । मुख्य सुरुङमार्गको छेउमा अर्को सानो सुरुङ पनि देखिन्छ, त्यो के हो ? त्यो इमर्जेन्सी इभ्याकुएसन टनेल हो । यो मुख्य सुरुङको समानान्तर २६८८ मिटरकै लम्बाइमा छ । यदि मुख्य सुरुङमार्गभित्र ठुलो आगलागी भयो, बाटो ब्लक भयो वा युद्ध जस्तो अवस्था आयो भने यात्रुहरूलाई सुरक्षित रूपमा निकाल्न यो प्रयोग गरिन्छ । मुख्य सुरुङबाट यो इभ्याकुएसन टनेलमा जानका लागि निश्चित दूरीमा ढोकाहरू राखिएका छन् । ती ढोकाहरूबाट मानिस र साना गाडीहरू छिर्न सक्छन् र अर्को सुरुङ हुँदै सुरक्षित बाहिर निस्कन सक्छन् । सुरुङमार्गमा जाम भयो भने के गर्ने ? सुरुङमार्गभित्र ओभरटेक गर्न नपाउने भएकोले गाडीहरू एउटै लाइनमा अनुशासित भएर हिँड्नुपर्छ । यदि एउटा गाडी बिग्रिएर जाम भयो भने हामी तुरुन्तै त्यो गाडीलाई तानेर इभ्याकुएसन टनेलमा हाल्छौं वा बाहिर निकाल्छौं । जाम हुन नदिनु नै हाम्रो मुख्य काम हो । नेपाली टोलीले चिनियाँ प्रविधिबाट के सिकिरहेको छ ? हामीले धेरै कुरा सिकिरहेका छौं । सुरुङ मार्गको सञ्चालन, कन्ट्रोल रुमको मोनिटरिङ, टोल कलेक्सन सफ्टवेयर र सुरक्षाका प्राविधिक पक्षहरू हाम्रा लागि नयाँ थिए । चिनियाँ र भारतीय विज्ञहरूले हामीलाई मक ड्रिल र ड्राई रिहर्सल गराइरहनुभएको छ । अबको केही समयपछि नेपाली जनशक्ति नै यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन गर्न सक्षम हुनेछ । यो एउटा ठुलो ज्ञान र प्रविधि हस्तान्तरणको अवसर हो । यदि सुरुङमार्ग कुनै कारणले बन्द भयो भने विकल्प के छ ? सुरुङमार्ग बन्द हुने अवस्था आएमा यात्रुहरूले साविककै नागढुङ्गाको उकालो बाटो (पुरानो बाटो) प्रयोग गर्नुपर्ने हुन्छ । त्यो बाटोलाई पनि सरकारले विकल्पको रूपमा सधैं सुचारु राख्नेछ । सुरक्षित सुरुङमार्ग प्रयोग गरौं । देशको विकासमा सघाऔं । हामीले नागढुङ्गा सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास गरेका छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ ।
सूर्य नेपालको आम्दानी एक वर्षमै साढे ३२ अर्ब, उच्च करले अवैध कारोबारको चिन्ता
काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशत अर्थात् ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा २८ अर्ब ९९ करोड रुपैयाँ, आव २०७८/७९ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ३४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँ, आव २०७३/७४ मा २४ अर्ब २२ करोड ८० लाख रुपैयाँ र आव २०७२/७३ मा २१ अर्ब ७३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत र नेपाली संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालका निजी क्षेत्रका प्रमुख उत्पादनमूलक उद्योगमध्ये एक मानिने कम्पनी हाल चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्य सामग्रीको उत्पादन र बिक्रीमा संलग्न छ । अगरबत्ती व्यवसाय विस्तारका लागि कम्पनीले पूर्ण स्वामित्वको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसै वर्ष कम्पनीले ‘मरानी’ ब्रान्डअन्तर्गत प्रिमियम महको निर्यातसमेत सुरु गरेको जनाएको छ । कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, बिजुली र चौतारीलगायतका ब्रान्ड बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर फैलिएको वितरण सञ्जालमार्फत कम्पनीले १५० भन्दा बढी ग्राहकसँग प्रत्यक्ष कारोबार गर्दै आएको जनाएको छ । कम्पनीका अध्यक्ष सञ्जीव पुरी भारतको आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् । भारतीय प्राविधिक संस्थान कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्वविद्यार्थी पुरीले उत्पादन, सञ्चालन, सूचना तथा डिजिटल प्रविधिलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीसँग करिब ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, करिब १ अर्ब २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा करिब २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ सुविधा (क्रेडिट लाइन) लिएको जनाएको छ । कम्पनीका अनुसार यसको मुख्य नाफाको स्रोत रहेको चुरोट व्यवसाय उच्च कर प्रणाली र कडा नियामकीय व्यवस्थाको दबाबमा छ । चुरोटमा करको भार निरन्तर बढ्दै जाँदा कानुनी रूपमा सञ्चालन हुने उद्योगमाथि सञ्चालनसम्बन्धी दबाब बढेको कम्पनीको भनाइ छ । नेपालमा चुरोटको खरिद क्षमता तुलनात्मक रूपमा कम रहेको र यसको माग मूल्यप्रति संवेदनशील भएकाले कर वृद्धिसँगै उपभोक्ता खैनी, गुट्खालगायत सस्ता तथा कर छली हुने धुवाँरहित सुर्तीजन्य उत्पादनतर्फ आकर्षित हुन सक्ने कम्पनीले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अन्तर्गत जारी निर्देशिकाअनुसार चुरोटको प्याकेटको कम्तीमा ९० प्रतिशत भागमा ग्राफिक स्वास्थ्य चेतावनी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ । यो विश्वमै सबैभन्दा ठूलो स्वास्थ्य चेतावनी क्षेत्रमध्ये एक हो । यस्तो व्यवस्थाका कारण कम्पनीले आफ्नो ट्रेडमार्क तथा ब्रान्ड प्रदर्शन गर्न पर्याप्त स्थान नपाउने अवस्था सिर्जना भएको सूर्य नेपालले जनाएको छ । यसले अनिवार्य स्वास्थ्य चेतावनी नबोकेका तस्करीमार्फत भित्रिने अन्तर्राष्ट्रिय चुरोट ब्रान्डहरूको कारोबार बढ्न सक्ने जोखिम पनि रहेको कम्पनीले दाबी गरेका छ । यस्ता अवैध चुरोटलाई केही उपभोक्ताले तुलनात्मक रूपमा आकर्षक विकल्पका रूपमा लिन सक्ने भएकाले वैधानिक रूपमा उत्पादन हुने स्वदेशी चुरोटको मागमा नकारात्मक असर पर्न सक्ने जनाएको छ । कम्पनीले आफ्नो होल्डिङ कम्पनी आईटीसी लिमिटेडबाट व्यवस्थापकीय अनुभव, प्राविधिक दक्षता तथा व्यावसायिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ । सन् १९१० मा स्थापना भएको आईटीसी भारतको अग्रणी बहुआयामिक कम्पनीमध्ये एक हो । कम्पनीले चुरोट, ब्रान्डेड प्याकेज्ड खाद्य सामग्री, शैक्षिक तथा स्टेशनरी सामग्री, व्यक्तिगत सरसफाइका सामग्री, सेफ्टी म्याच, अगरबत्ती, कृषि व्यवसाय, पेपरबोर्ड, कागज तथा प्याकेजिङ र सूचना प्रविधिलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईटीसीको एग्री बिजनेस डिभिजनले सूर्य नेपालको आवश्यक तम्बाकु पातको आपूर्तिमा पनि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ । व्यवसाय विविधीकरण, गुणस्तरीय उत्पादन तथा नयाँ बजार विस्तारमार्फत सूर्य नेपालले नेपालको औद्योगिक क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ ।
७ दिन पनि टिकेन सीईओ पुनर्नियुक्तिको निर्णय
काठमाडौं । असार ३१ गते बसेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्रसिंह विष्टलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गर्यो । साउन ८ गते पहिलो चारवर्षे कार्यकाल सकिनुअघि नै उनलाई साउन ९ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि जिम्मेवारी दिने निर्णय गरिएको थियो । तर, यो निर्णय सात दिन पनि टिकेन । साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नै निर्णय उल्ट्याउँदै विष्टको पुनर्नियुक्ति रद्द गरिदियो । नयाँ सीईओ नियुक्त नभएसम्म हाल कायममुकायम नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरियो । बाहिरबाट हेर्दा यो एउटा सामान्य प्रशासनिक निर्णय जस्तो देखिए पनि यसको पछाडि नेपाल राष्ट्र बैंकको नियामकीय दृष्टिकोण, सर्वोच्च अदालतको आदेश, ‘नसिहत तथा सचेत’ सम्बन्धी कानुनी विवाद र बैंकिङ क्षेत्रमै देखिएको नेतृत्व संकट जोडिएको छ । पुनर्नियुक्ति किन टिकेन ? स्वावलम्बन लघुवित्तका उच्च स्रोतका अनुसार सीईओ बिष्टको पुनर्नियुक्ति रद्द हुनुको मुख्य कारण नेपाल राष्ट्र बैंकबाट यसअघि दिइएको ‘नसिहत तथा सचेत’ सम्बन्धी कारबाही हो । स्रोतका अनुसार राष्ट्र बैंकले विगतमा बहुवित्तीय (मल्टिपल फाइनान्सिङ) सम्बन्धी विषयमा स्पष्टिकरण नै नसोधी संस्थालाई नसिहतसहितको पत्र पठाएको थियो । सम्बन्धित कर्जा भने बिष्ट सीईओ बन्नुभन्दा अघिकै अवधिका थिए । एउटा कर्जा २०७५ सालमा र अर्को २०७८ सालमा प्रवाह भएको थियो । ती कर्जामा ऋणीहरूले किस्ता पुनर्संरचना तथा सहजीकरणको माग गरेका थिए । पछि राष्ट्र बैंकले ती कर्जालाई मल्टिपल फाइनान्सिङको रूपमा व्याख्या गर्दै २०८१ वैशाख १३ गते संस्थालाई नसिहतसहितको पत्र पठाएको स्रोतको दाबी छ । जबकि विष्ट वि.सं २०७९ साउन ६ गते गतेको बैठकले साउन गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका थिए । त्यसपछि सीईओ विष्टले राष्ट्र बैंकमा पुगेर वास्तविक अवस्था बुझाउन खोजेका थिए । स्रोतका अनुसार त्यतिबेला राष्ट्र बैंकका अधिकारीहरूले ‘पहिलाकै कर्जा रहेछ, यसले खासै असर गर्दैन’ भन्ने प्रतिक्रिया दिएका थिए । ‘हामीले त्यसबेला राष्ट्र बैंकमा गएर वास्तविक अवस्था बुझाएका थियौं । कर्जा पुरानै रहेछन्, यसले खासै असर गर्दैन भन्ने जवाफ पनि पाएका थियौं । त्यसैले यो विषयले भविष्यमा नियुक्तिमै असर गर्छ भन्ने कल्पना पनि गरिएको थिएन,’ लघुवित्तका एक उच्च अधिकारीले भने, ‘तर सर्वोच्च अदालतले ‘नसिहत तथा सचेत’ सम्बन्धी विषयमा निगरानी गर्न राष्ट्र बैंकलाई लिखित निर्देशन दिएपछि स्थिति अहिले बदलियो ।’ स्रोतका अनुसार यही आदेशपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नियुक्तिहरूलाई थप कडाइका साथ हेर्न थालेको छ । लघुवित्त सञ्चालक समिति ले विष्टको पुनर्नियुक्तिको निर्णय गरिसकेपछि राष्ट्र बैंकबाट त्यसमा आपत्ति जनाउँदै रद्द गर्न निर्देशन दियो । त्यसपछि सञ्चालक समिति आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको स्रोतको दाबी छ । राष्ट्र बैंकले यस्तो कारबाही गर्दा धेरैजसो अवस्थामा स्पष्टीकरण नै माग्दैन । औपचारिक छानबिन बिनै नसिहत दिने अभ्यास रहेको र यसलाई पाँच वर्षका लागि पदमा अयोग्य बनाउने उद्देश्यले नदिइएको राष्ट्र बैंकले अदालतको बहसमा समेत जिकिर गरेको थियो । साथै अर्थ समितिमा केही दिन अघि भएको छलफलमा पनि नेपाल राष्ट्र बैंकका एक प्रतिनिधिले नसिहत तथा सचेतलाई पाँच वर्षे अयोग्यताको कारबाहीका रूपमा नदिइएको स्पष्ट पारेको थिए । साथै अदालतको आदेशबाट कानुनी अन्योल हटाउनुपर्ने आवश्यकता रहेको उनले धारणा राखेका थिए । बैंकिङ क्षेत्रमा नेतृत्व संकटको चिन्ता सामान्य प्रशासनिक कारबाहीका रूपमा दिइने यो प्रक्रिया अहिले नियुक्ति र पुनर्नियुक्तिको आधार बन्न थालेपछि बैंकरहरु चिन्तित बनेका छन् । एक बैंकरका अनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत कुनै न कुनै रूपमा ‘नसिहत तथा सचेत’ को दायरामा परिसकेका छन् । यदि यही व्याख्या निरन्तर लागू हुने हो भने अनुभवी सञ्चालक तथा सीईओको अभाव सिर्जना हुन सक्ने चिन्ता बैंकिङ क्षेत्रमै बढेको उनको भनाइ छ । ‘कुनै व्यक्तिलाई पाँच वर्षसम्म अयोग्य हुने अवस्थासम्म पु¥याउने कारबाही गर्दा एक पटक पनि स्पष्टीकरण नसोधिनु प्राकृतिक न्यायको सिद्धान्तसँग मेल खाँदैन । कानुनी अस्पष्टताको भार अहिले वित्तीय संस्थाहरूले बोकिरहेका छन्,’ उनले भने । स्वावलम्बन लघुवित्तभित्र पनि नेतृत्व रिक्त हुने अवस्थाले चिन्ता बढाएको छ । १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी, २८ अर्ब रुपैयाँको पोर्टफोलियो, १८५ शाखामार्फत देशभर २ लाख ७० हजार विपन्न परिवारको लघुवित्त सेवा प्रदान गरिरहेको संस्थामा स्थायी नेतृत्व नहुँदा निर्णय प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता रहेको एक सञ्चालकले बताए । दुई सञ्चालक किन भए पदमुक्त ? बुधबार बसेको सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पनि पदमुक्त गरेको छ । कम्पनी सचिव चन्द्रमणि चौलागाईंका अनुसार सञ्चालक बेचन गिरि र गोकुल प्याकुरेल मनासिव कारण र पूर्वसूचना बिना लगातार तीन पटकभन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित रहेकाले उनीहरूको पद स्वतः रिक्त भएको हो । चौलागाईंका अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर ६ को बुँदा १ को उपबुँदा (११) मा कुनै सञ्चालक बिना सूचना लगातार तीन पटकभन्दा बढी बैठकमा अनुपस्थित भएमा उनको पद स्वतः रिक्त हुने व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार दुवै सञ्चालकलाई पदमुक्त गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत उनले जानकारी दिए । लघुवित्त स्रोतका अनुसार पदमुक्त भएका दुवै जना स्वावलम्बन विकास केन्द्रका प्रतिनिधि हुन् । स्वावलम्बन विकास केन्द्र संस्थाको प्रवर्द्धक (प्रमोटर) संस्था हो । यसअघि केन्द्रबाट दुई जना सञ्चालक रहने व्यवस्था थियो । तर, गत मंसिर–पुसमा भएको सेयर संरचना परिवर्तनपछि प्रवर्द्धक समूहको सेयर हिस्सा घटेसँगै सञ्चालक समितिको संरचना पनि परिवर्तन भयो । नयाँ व्यवस्थाअनुसार समितिमा चार जना प्रवर्द्धक र तीन जना सर्वसाधारण समूहका सञ्चालक रहने व्यवस्था कायम भएपछि विकास केन्द्रको एक प्रतिनिधित्व स्वतः घटेको थियो । स्रोतका अनुसार कुन सञ्चालकलाई फिर्ता बोलाउने भन्ने विषयमा सञ्चालक समितिले विकास केन्द्रलाई पटक–पटक पत्राचार गरे पनि केन्द्रले स्पष्ट निर्णय गर्न सकेन । त्यसपछि दुवै प्रतिनिधि सञ्चालकले बैठकमा सहभागी हुन छाडेका थिए । एक जना लगातार चार पटक र अर्का जना पाँच पटकसम्म बैठकमा अनुपस्थित भएपछि राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार उनीहरूको पद स्वतः रिक्त भएको हो ।