अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण चीनलाई ठूलो अवसर प्राप्त भएको छ । कोरोना महामारीपछि चीनविरुद्ध बनेको नकारात्मक नजरलाई उसले सजिलै आफ्नो पक्षमा मोड्न सक्छ । चीन अब एक जिम्मेवार र अनुभवी देशको रूपमा व्यवहार गर्न सक्ने विज्ञहरू बताउँछन् ।  सामान्यतया चीनलाई विश्व आर्थिक प्रणालीलाई अस्थिर पार्ने देशको रूपमा हेरिन्छ । तर अब उसले यो छवि परिवर्तन गरी प्रणालीलाई जोगाउने राष्ट्रको रूपमा आफूलाई प्रस्तुत गर्न सक्छ । यो चीनका लागि आफ्नो शक्ति प्रदर्शन गर्ने सुनौलो मौका पनि हो ।  चीनको सफलताका लागि भारतसँगको सम्बन्ध महत्त्वपूर्ण छ । भारत एक ठूलो र तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो । यसको भूराजनीतिक स्थिति यसलाई इन्डो-प्यासिफिक क्षेत्रको प्रमुख खेलाडी बनाउँछ । भारत र चीनबीचका सम्बन्ध जटिल छन् । यी दुई देशबीच प्रतिस्पर्धा र सहकार्य दुवैका तत्वहरू छन् । भारतलाई हातमा लिँदा चीनले विश्व नेतृत्व गर्न सजिलो हुने विज्ञहरू बताउँछन् ।  अमेरिकाले चीन र भारतसहित आफ्ना व्यापारिक साझेदारहरूमा ट्यारिफ लगाएको छ । चीनले पनि यसविरुद्ध जवाफी कदम चालेको छ । तर चीनले ह्वाइट हाउसद्वारा २ अप्रिलमा घोषणा गरिएको शुल्कभन्दा बढी नहोस् भनी ध्यान दिइरहेको छ । राष्ट्रपति सी जिनपिङले अमेरिकाबाट आउने सामानमा ३४ प्रतिशत शुल्क लगाउनेछन्, जुन ट्रम्पद्वारा लगाइएको शुल्कबराबर हो ।  चीनले अमेरिकामाथि केही लक्षित कदमहरू पनि चाल्नेछ- दुर्लभ सात प्रकारका खनिजको निर्यात घटाइनेछ, केही कुखुरा उत्पादनहरूको खरिद रोकिनेछ र अमेरिकी कम्पनीहरूको निगरानी बढाइनेछ । चुप बस्नु चीनको स्वभाव होइन अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले जवाफी कदम नचलाउन सुझाव दिएका थिए, तर चीनका लागि त्यो सम्भव थिएन । चीन चुपचाप बस्न सक्ने देश होइन । साना देश झैं होइन, चीनसँग अघि बढ्न पर्याप्त सम्भावना छ । किनभने यो विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । यद्यपि, उसले लामो समयदेखि आर्थिक मन्दी र रियल इस्टेट क्षेत्रमा गिरावट भोगिरहेको छ । विगत केही दशकमा यसको विकास दर सन्तोषजनक रहँदै आएको छ ।  यदि चीन साँच्चिकै विश्व नेतृत्व गर्न चाहन्छ भने उसले आफ्नो शक्ति देखाउनु पर्नेछ । ब्लूमबर्ग इकोनोमिक्सले लेखेको छ कि चीन पूर्ण रूपमा जवाफी कदम चालिरहेको छैन– चीनमा हाल ट्यारिफ औसतमा करिब ५२ प्रतिशत पुगेको छ, जुन अमेरिकाले चीनमा लगाएको ६० प्रतिशत शुल्कभन्दा कम हो । अमेरिकामा मन्दीको आशंका अमेरिकामा आर्थिक मन्दी हुने आशंका छ । जेपी मोर्गन चेस एण्ड कम्पनीले मन्दीको भविष्यवाणी गरिसकेको छ । बार्कलेज पीएलसीका अनुसार अमेरिका कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा गिरावट देखिनेछ, जबकि सिटीग्रुप र यूबीएस ग्रुपलाई विकास हुनेमा धेरै आशा छैन ।  बजार पनि अस्थिर देखिएको छ– एसएन्डपी ५०० सूचकांकमा २०२० को महामारीपछिको सबैभन्दा ठूलो गिरावट आएको छ । यसैगरी, तेलको मूल्य घटेको छ र बन्ड प्रतिफल पनि घटेको छ । यसले देखाउँछ कि वर्षको सुरुमा देखिएको अमेरिकाको आर्थिक सुधार अब सकिँदैछ । ट्यारिफका कारण आउने गिरावट केवल अमेरिका सीमित रहने छैन । ट्रम्पको कदमले स्थिति झन बिग्रियो यो सत्य हो कि चीन आज २००१ मा विश्व व्यापार सङ्गठनमा सामेल हुँदा जस्तो तीव्र गतिमा उसले विकास गरिरहेको छैन । युरोपमा पनि वृद्धि सुस्त छ । यसकारण अमेरिका नै अर्थव्यवस्थाको मुख्य चालक बनिरहेको थियो । तर, ट्रम्पका निर्णयहरूले स्थिति झन् जटिल बनाइदिएको छ । चीन कहिलेकाहीँ रिस देखाउँछ चीन सधैं संयमित रहँदैन । सी जिनपिङका अधिकारी रिसाउँदा आक्रामक बन्छन् । अष्ट्रेलियाको रक लोबस्टरमा प्रतिबन्ध लगाइयो, वाइन निर्यातमा उच्च शुल्क लगाइयो । प्रधानमन्त्री स्कट मोरिसनले कोभिडको उत्पत्तिमा अन्तर्राष्ट्रिय जाँचको माग गरेपछि चीन रिसाएको थियो । उत्तर कोरियाबाट मिसाइल आक्रमणको डरले दक्षिण कोरियाले सुरक्षा प्रणाली तैनाथ गरेपछि त्यहाँका व्यवसायहरूमा पनि प्रतिबन्ध लगाइयो । चीनमाथि जापान विरोधी भावना बढाएको आरोप पनि लाग्दछ । बहुराष्ट्रिय कम्पनीहरूले सरकारको खुलेआम आलोचना गर्न नसक्ने अवस्था छ । यद्यपि चीनलाई उसको अर्थतन्त्रमा पहुँच एक महत्त्वपूर्ण हतियार बन्न सक्ने थाहा छ । अमेरिकासँग निर्भरता देखाउने टिप्पणी ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर्सका अध्यक्ष स्टेफन मिरानले हालै ब्लूमबर्ग टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा 'अमेरिकाबाट सामान बेच्ने देशहरू बाध्य छन्, किनकि उनीहरूसँग अमेरिका बाहेक अरू बजार छैन' भनेका थिए । ट्रम्पले भियतनामी नेता टो लामसँग फोन वार्तापछि भियतनामलाई भारी शुल्कबाट बचाउन ट्यारिफ हटाउन तयार रहेको बताएका थिए । भियतनाम ती देशहरूमध्ये एक हो जसमा बुधबार सबैभन्दा धेरै असर परेको थियो । सुधारको अवसर सिर्फ अमेरिकी प्रशासनको विपक्षमा उभिनु नै बुद्धिमानी होइन । चीनले पनि धेरै पटक अचानक निर्णय लिएको छ– २०१५ मा युआनको अवमूल्यनले बजारमा ठूलो उथलपुथल ल्याएको थियो । आफ्नै प्रविधि कम्पनीहरू र उद्यमीहरूलाई नियन्त्रण गर्ने सरकारी प्रयासहरूले चीनको छवि बिगारेको छ । ताइवान विरुद्धको धम्की र सैन्य अभ्यासले पनि विश्वमा चीनप्रतिको विश्वास घटाएको छ । छविमा सुधार गर्ने मौका चीन सरकार आफ्नो नीति परिवर्तन गर्ने सम्भावना कम छ । तर ट्रम्पका कारण अमेरिका कमजोर देखिएको बेला केही नरम व्यवहार देखाएर चीनले आफ्नो छवि सुधार गर्न सक्छ । सबैभन्दा राम्रो उपाय असन्तुष्ट देशहरूसम्म पुग्नु हो– विशेष गरी एसिया–प्रशान्त क्षेत्रमा व्यापार तथा लगानीमा सहुलियत दिनु हो ।  ट्रम्पले आफ्ना निर्णय फेरि परिवर्तन गर्न सक्छन्, यद्यपि उनले त्यसो नगर्ने बताएका छन् । पछिल्ला दिनहरूमा बजारमा देखिएको अस्थिरताले उच्च तहमा ध्यान खिच्नेछ । यो मान्न गाह्रो छ कि कुनै छुट दिइने छैन । यसको अर्थ यो होइन कि संसारले यो साता भएको सबै बिर्सिनेछ ।  सिंगापुरका प्रधानमन्त्री लरेन्स वोंगले भनेका छन्, 'अन्तर्राष्ट्रिय व्यापारको सुनौलो युगमा सिंगापुरले जीवनस्तरमा जुन तीव्र सुधार देखेको थियो, त्यसको अन्त्यप्रति हामी निराश छौं ।’  'हालको प्रणाली पूर्ण रूपमा सही त होइन, तर अमेरिका जुन बाटोमा हिँडिरहेको छ, त्यो सुधार होइन,’उनले थपे । सिंगापुर जसले सधैं महाशक्तिहरूको विवादमा तटस्थता अपनाउँदै आइरहेको छ । 

संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक

काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शोमा यसपटक भने संकटमा परेको छ । नाडा अटो शो-२०२५ मा तीन ठूला कम्पनीले मात्र स्टल बुकिङ गरेका छन् ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट  नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) संस्था खडा भएपछि नाडा अटो शो संकटमा पुगेको हो ।  नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको हो ।  नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरकफरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो तथा नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी शो गर्ने घोषणा गरिसकेका छन् । यसैगरी, नाडाले स्टल बुकिङका लागि गत फागुन २७ गतेदेखि चैत ४ गतेसम्म दर्ता खुला गरेको थियो । जसमा चारपाङ्ग्रे गाडीहरुमा तीनवटा ठूला कम्पनीले मात्रै स्टल बुकिङ गराएका छन् भने दुई पाङ्ग्रेतर्फ दुईवटा कम्पनीले बुकिङ गराएका छन् ।  नाडाका एक सदस्यले भर्खरै पोखरामा वाडा शो सम्पन्न गरेको बताउँदै वाडा शोले राम्रै संकेत गरेको दाबी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा शो खोल्यौँ । राम्रै भएको छ । धेरैले बुकिङ पनि गराएका छन् ।’  नाडा अटो शोका लागि तयारीमा जुटिरहेको उनको भनाइ छ ।  उनले भने, ‘तीन ठुला कम्पनीबाहेक अरू कसैले नाडा अटो शोका लागि हालसम्म बुकिङ गराएका छैनन् । गाह्रो छ, हेरौं के के हुन्छ । अहिले यो विषयमा दुवै संस्थाबीच छलफल चलिरहेको छ । बाँकी छलफलमा के-के निर्णय हुन्छ ।’  वाडा अटो शोमा नेपालका धेरै ब्राण्डहरू गएकाले नाडा अटो शोमा पनि ती ब्राण्ड देखिनेमा उनी विश्वस्त छन् ।  यसपटक नाडा अटो शो नहुने संकेत नाडाको कुरा नाइमासँग मिलेन भने यसपालिको नाडा अटो नहुन सक्ने व्यवसायीहरू बताउँछन् ।  नाइमाका एक सदस्यका अनुसार यो नाडा सकिन लागेको संकेत हो । उनले हरेक वर्ष साउनमा खुलाउनुपर्ने बुकिङ फागुनमै खुलाएको आरोप लगाए ।  उनले, ‘स्टल बुकिङ खुलाउन धेरै हतार गर्यो । अब नाडाको ब्याण्ड बज्छ । उनीहरूसँग बजेट नै कम छ । स्टल बुकिङ खोलियो तर त्यसमा तीनवटा कम्पनी मात्रै सहभागी छन् । त्यसमा पनि धेरै ब्राण्ड छैनन् ।’ नाइमाले स्टल बुकिङ वैशाखतिर खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । आफूहरूले कुनै हतार नगरेको र व्यवस्थित तरिकाले अघि बढिरहेको ती सदस्यको दाबी छ ।  नाइमाको मोबिलिटी शोमा ओमोडा एण्ड जेको, टोयोटा, किया, निसान, एमजी, सिट्रोन, हुन्डाई, फोर्ड, प्युजो, पा्रोटोन, जीडब्लुएम, बजाज,ट्राइफ, एथर, सुजुकी बाइक, हिरो, होण्डा, महेन्द्रालगायतका विभिन्न ब्राण्ड रहने जनाइएको छ । ती सदस्यले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिने जानकारी दिए । साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्ता धेरै हुने नाइमाको भनाइ छ ।  गाडीको मूल्य सस्तो हुने भ्रम नाडा र नाइमाको प्रतिस्पर्धामा गाडीको मूल्य सस्तो हुने बजारमा हल्ला चलिरहेको छ । तर यो हल्लामात्र रहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । ‘गाडीको मूल्य सस्तो हुने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन। दुवै संस्थाले अटो शो गर्दा गाडीको मूल्य घट्ने भन्ने हुँदैन,’ एक व्यवसायीले भने । उनले अन्तिम अवस्थामा नाइमा र नाडाबीच सहमति हुनसक्ने पनि संकेत गरे । सानो देशमा दुइटा अटो शोको आवश्यक नरहेको उनको बुझाइ छ । चौधरी र वैद्यबीच प्रतिष्ठाको लडाइँ हाल नाडाका अध्यक्ष रहेका करणकुमार चौधरी र नाइमाको तदर्थ समिति संयोजक रितुसिंह वैद्य नेतृत्वको दुवै संस्थाले आफ्नो प्रतिष्ठाको लडाइँ गरिरहेको बुझिन्छ ।  सवारीसाधन आयातकर्ताको हक र हितमा काम गर्न विसं २०३२ सालमा छाता संगठनको रूपमा नाडाको स्थापना भएको थियो । संस्थाले सवारीसाधनको बिक्री-वितरणलाई सहज बनाउने उद्देश्य अनुरूप २०५५ बाट नै नाडा अटो सो आयोजना गर्ने निर्णय गरेको थियो ।

नयाँ वर्ष नजिकिँदै गर्दा चितवन र पोखराका होटलमा अकुपेन्सी बढ्यो, विदेशी पर्यटक आन्दोलनको मारमा

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ साल सुरु हुन अब केही दिनमात्रै बाँकी छ । नयाँ सालमा काठमाडौं उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपल हुने गरेको छ । नयाँ साल लाग्न अझै केही दिन बाँकी भएकाले पर्यटकीय स्थलमा नयाँ वर्षको चहलपल सुरु भइनसकेको व्यवसायीहरू बताउँछन् । तथापि अहिले पर्यटकीय सिजन भएको हुँदा पर्यटकीय स्थलमा पर्यटकको राम्रै चहलपहल छ । ती क्षेत्रहरूमा नयाँ वर्षको चहलपहल सुरु भइसकेको छ । होटहलरूमा प्रि–बुकिङ सुरु भएको व्यवसायीहरूको भनाइ छ ।  नयाँ वर्षमा उपत्यकाको कुरा गर्दा एकदिन अघिदेखि चहलपहल सुरु हुन्छ । विशेषगरी ठमेल क्षेत्र र वसन्तपुरमा पर्यटकको बढी चहलपहल हुने गर्छ । उपत्यका आसपासका क्षेत्रहरू नगरकोट, धुलिखेलमा पनि नयाँ वर्षमा पर्यटकको चहलपहल बढी हुन्छ । पर्यटकीय क्षेत्र चितवन, लुम्बिनी, बन्दिपुर, सुकुटेमा पनि उस्तैउस्तै हुन्छ । पर्यटकीय स्थल पोखरामा पर्यटकको चहलपहल राम्रै रहेको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । अहिले पोखरासम्म पुग्ने बाटोको सुविधामा पनि विगतको तुलनामा सुधार भएको हुँदा यस पटक पर्यटकको आगमनमा राम्रै वृद्धि भएको उनीहरू बताउँछन् ।  पोखरा अरू बेला पनि घुम्नको लागि पर्यटकको रोजाइ बन्दै आएको छ । नयाँ वर्षलक्षित घुम्न आउने पर्यटकहरू बढेसँगै होटलहरूको अकुपेन्सीमा पनि राम्रो सुधार भएको होटल व्यवसायीहरू बताउँछन् । अहिले त्यहाँको होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म रहेको छ । होटल संघ पोखराअन्र्तगतका होटलहरुले पर्यटकलाई आकर्षित गर्नलाई होटल बुकिङमा अहिले २० प्रतिशत छुटको व्यवस्था गरेको संघका निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले ‘जाऊँ है पोखरा’ अभियानसहित विभिन्न प्याकेजहरू ल्याएको छ । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’जस्ता प्याकेजहरू पनि घोषणा गरेको निर्वतमान अध्यक्ष तुलाचनले बताए । नयाँ वर्षलाई लक्षित गरेर होटल संघ पोखराले आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा महोत्सव गर्दैछ ।  निवर्तमान अध्यक्ष तुलाचनका अनुसार नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सव आयोजना गर्न लागिएको हो ।  महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने उनले बताए । यसबाहेक अन्य साना होटल तथा रेष्टुरेन्टहरुले पनि पर्यटकलाई आकर्षित गर्ने हिसाबले विभिन्न अफर सार्वजनिक गर्ने तयारीमा रहेको संघले जनाएको छ । चितवनको सौराहामा पर्यटकको चहलपहल बढ्दो  छ । घुम्नका लागि आन्तरिक तथा विदेशी पाहुनाको संख्या बढ्दै होटलको अकुपेन्सीमा राम्रो सुधार भएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले बताए । अध्यक्ष गंगा गिरी अहिले होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतमा पुगेको बताउँछन् । अध्यक्ष गिरीका अनुसार अहिले होटलहरुमा प्रिबुकिङ सुरु भइसकेको छ । सौराहामा विशेषगरी विदेशीहरु ट्रेकिङको समयमा बढ्ने हुँदा त्यो बेला होटलको अकुपेन्सी पनि बढ्ने उनले बताए । विदेशीहरू ट्रेकिङको लागि आउने समयमा यहाँको होटलमा अकुपेन्सी बढ्न मद्दत पुग्ने उनको भनाइ छ ।  अहिले बुटवलको बाटोमा सुधार भएको कारण पर्यटकको संख्या बढ्न थालेको अध्यक्ष गिरी बताउँछन् । साथै रक्सोल क्षेत्रबाट आउने भारतीय पर्यटकको संख्यामा उल्लेखीय वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार चाइनिज र आन्तरिक पर्यटकको आगमन राम्रो भएकोले अहिले चितवनका धेरै होटलहरु भरिभराउ रहेको छ । होटल संघ सौराहाले नयाँ वर्षलाइ लक्षित गरेर रुम रेटमा विशेष छुट दिएको छ । अहिले संघअन्तर्गतका होटलहरुले न्यूनतम ५५ सय पर्ने रुमलाई ४५ सयमा दिन थालेको छ । होटलहरूले यति प्रतिशत छुट भनेर घोषणा नगरेपनि केही न केही छुट होटलहरुले दिएको अध्यक्ष गिरीले बताए । सौरहामा नयाँ वर्ष लक्षित गरेर दुई÷तीनवटा कार्यक्रम हुँदैछन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) ले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दैछन् । रेवानले ३१ र १ गते सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । अध्यक्ष गिरीले भने, ‘हामीले सांस्कृतिक थारुको झाँकी प्रर्दशन गर्दैछौं । चितवन थारु बस्ती र संस्कृतिको बाहुल्यता रहेको हुनाले त्यसकै प्रमोसनको लागि थारु खानालाई अगाडि सार्ने जमर्को गरेका छौं ।’ बर्दियामा छैन चहलपहल  नयाँ वर्ष सुरु हुनैलाग्दा पर्यटकीय स्थल बर्दियामा भने कुनै चहलपहल नभएको क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए । तथापि त्यहाँका होटल व्यवसायीहरूले नयाँ वर्षलक्षित कार्यक्रम, प्याकेज ल्याउने तयारी भने गरिरहेका छन् ।  अध्यक्ष चौधरीका अनुसार काठमाडौं, चितवन, पोखराजस्ता ठाउँबाट पर्यटक आउनको लागि गाडीको यात्रा निकै कठिनाइ भएकोले नयाँ वर्षलाई भनेर बाह्य पर्यटक निकै नै कम आउने गरेका छन् । त्यसमाथि अहिले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनले विश्वमा राम्रो सन्देश प्रवाह हुन नसक्दा विदेशी पर्यटकको संख्यामा कमी आएको उनले बताए । गाडीबाट २५÷२६ घण्टा  यात्रा गर्नुपर्ने, हवाइबाट यात्रा गर्न प्लेन टिकट महँगो हुँदा नयाँ वर्षमा टाढाबाट पर्यटक आउन नखोज्ने भएकाले बर्दियामा कुनै चहलपहल बढ्न नसकेको उनको भनाइ छ । अहिलेको अवस्थामाा होटल व्यवसायीहरू पनि नयाँ वर्ष आयो भनेर खासै उत्साहित नभएको उनले सुनाए । बर्दियाले यो वर्ष ‘भिजिट बर्दिया’ घोषणा गरेको छ । यसले पनि पर्यटक संख्या वृद्धिमा प्रभाव पार्न नसकेको अध्यक्ष चौधरीको बुझाइ छ ।  त्यस्तै, उनले खर्च गर्ने युवाहरू बाहिर हुँदा, टाढाको यात्रा गरेर पर्यटक आउन नखोज्ने, स्थानीय आफ्नै काममा व्यस्त हुँदा अहिलेको अवस्थामा चहलपहल बढ्न नसकेको सुनाए ।  अध्यक्ष चौधरीले भने, ‘अहिले तुलनात्मक रूपमा बर्दियामा पर्यटक घटेको छ । किनकि बाटोघाटो सजिलो छैन । कनेक्टिभिटीमा सुधार हुन सकेको छैन । लगानीकर्ताहरू उत्साहित हुनुपर्ने अवस्था अहिले छैन ।’  भारतीय पर्यटक भित्रिने सीमा नाकामा बस्ने नेपाली कर्मचारीले अनावश्यक दुःख दिने, अनुचित पैसा माग्ने गरेको गुनासो आउने गरेको हुँदा पर्यटकको संख्या झन् घट्न पुगेको उनको भनाइ छ ।  पर्यटकीय क्षेत्र भैरहवामा पनि पर्यटकको खासै चहलपहल नभएको क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले बताए । उनका अनुसार होटल बुकिङ पनि खासै छैन । उनले होटल बुकिङ खुलेपनि नयाँ वर्षको एक/दुई दिन अगाडि मात्रै बुकिङ बढ्ने सुनाए ।  अहिलेको अवस्थामा होटलको अकुपाइड २५ देखि ३० प्रतिशतको हाराहारीमा रहेको उनले बताए । अहिले पर्यटकीय सिजन हुँदा पहिलेभन्दा होटलको अकुपेन्सी बढे पनि सन्तोषजनक नभएको गुनासो उनको छ । नयाँ वर्षमा होटलको अकुपेन्सी ६० प्रतिशत बढ्न सक्ने अनुमान उनले गरे । अध्यक्ष श्रेष्ठका अनुसार नयाँ वर्षमा होटलहरूले होटल बुकिङमा २० प्रतिशतसम्म छुट दिने गरेका छन् । अहिले चहलपहल नभए पनि नयाँ वर्षको एकदिन अघिदेखि भने बुकिङ बढ्नेमा उनी ढुक्क छन् । नयाँ वर्षको अवसरमा होटल तथा रेस्टुरेन्ट संघले स्ट्रीट फुड फेस्टिभलको आयोजना गर्दैछ ।