कम्ता छैन मीनबहादुरको रफ्तार

धमाधम उठ्दै भाटभटेनी, खरानी बनेको भवन एक वर्षमै ठडियो

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भाटभटेनी सुपरमार्केटका शाखाहरूमा ठूलो क्षति पुग्यो । करोडौंको लगानी छिनभरमै खरानीमा परिणत भयो ।

त्यसक्रममा काठमाडौंको टंगालस्थित भाटभटेनीको मुख्य कार्यालय पनि ध्वस्त भयो । एक वर्षअघि आगोले जलेको त्यही ठाउँ सोमबार फेरि मानिसहरूको भीडले भरियो । जहाँ खरानी र भग्नावशेष थियो, त्यही ठाउँमा नयाँ संरचना ठडिएको छ । संरचना पहिलेको भन्दा केही फरक र आकर्षक बनाइएको छ । त्यहीँ भवनमा सामानले भरिएका छन् ।

ग्राहकको चहलपहल छ । कर्मचारी आफ्ना काममा फर्किएका छन् । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका लागि यो केवल एउटा भवन पुन:निर्माण भएको क्षण थिएन । उनका लागि यो पीडा, जिम्मेवारी, विश्वास र पुनःउठ्ने साहससँग जोडिएको क्षण थियो । खरानीबाट नयाँ निर्माण भएको बताउँदै गुरुङले भाटभटेनी आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभएको बताए ।

हजारौं कर्मचारी, लगानीकर्ता, व्यवसायी, आपूर्तिकर्ता र उपभोक्ताको योगदान जोडिएको संस्थालाई उनले देशकै सम्पत्तिका रूपमा व्याख्या गरे ।

‘यो मेरो सम्पत्ति होइन, देशको सम्पत्ति हो,’ उनले भने, ‘यहाँ हजारौं भाइबहिनीले लगानी गरेका छन् । धेरै व्यवसायी र आपूर्तिकर्ता जोडिएका छन् । त्यसैले यसलाई जसरी पनि उठाउनुपर्ने थियो ।’

null

भाटभटेनी ध्वस्त भएपछि गुरुङसामु एउटा ठूलो प्रश्न थियो, अब के गर्ने ? आफ्नो संस्थामाथि भएको क्षतिको पीडा त थियो नै, त्यससँगै हजारौं कर्मचारी, लगानीकर्ता र व्यवसायिक साझेदारप्रतिको जिम्मेवारी पनि थियो । गुरुङका अनुसार उनले कठिन अवस्थामा पनि आफूमा विश्वास गर्नेहरूलाई निराश बनाउन चाहेनन् ।

‘मसँग आबद्ध भाइबहिनीहरूलाई धोका दिन भएन । लगानीकर्तालाई धोका दिन भएन । व्यावसायिक साझेदारलाई पनि धोका दिन भएन,’ उनले भने । 

त्यसैले पुन:निर्माण केवल संरचना बनाउने काम रहेन । त्यो संस्थासँग जोडिएका हजारौं मानिसको विश्वास जोगाउने अभियान बन्यो । गुरुङले आफूलाई त्यस अवधिमा वर्तमान समयबाट एब्सेन्ट भएको जस्तो महसुस भएको बताए ।

तर, देश-विदेशबाट आएको सहयोग, बैंकिङ क्षेत्रका साथीहरूको सकारात्मक सहयोग र कर्मचारी तथा निर्माणमा संलग्न टोलीको निरन्तर मेहनतले भाटभटेनीलाई पुनः उभ्याउने साहस मिलेको उनको भनाइ छ ।

खरानीबाट उठ्नका लागि पैसा मात्र पर्याप्त थिएन । त्यसका लागि इच्छाशक्ति र निरन्तर काम गर्ने आँट आवश्यक थियो । गुरुङले आफ्नो पुन:निर्माण यात्रालाई गोर्खाली साहससँग जोडे । ‘हामी हिम्मतवाला छौं । त्यसमा पनि हामी गोर्खाली हौं । गोर्खालीको साहस अर्कै छ,’ उनले विकासन्युजसँग भने ।

उनका लागि भाटभटेनी पुन:निर्माण गर्नु व्यक्तिगत सफलता मात्र थिएन । संस्थासँग जोडिएका कर्मचारी र व्यवसायिक साझेदारप्रतिको दायित्व पूरा गर्ने विषय थियो ।

४२ वर्षअघिको सुरुवातदेखि आजसम्म

व्यावसायिक यात्रा सुरु गरेर नेपालकै ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट साम्राज्य खडा गर्ने गुरुङको लगभग ४२ वर्षको मेहेनत र व्यावसायिक यात्रा साँच्चै नै प्रेरणादायी छ । खोटाङमा जन्मिएका मीनबहादुर सुरुमा जागिरे थिए । उनले नेपाल बैंक लिमिटेडमा जागिर गर्थे । तर, उनमा केही आफ्नै व्यवसाय गर्ने ठूलो सपना थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले जागिर छोडेर श्रीमतीसँग मिलेर एउटा सानो किराना पसल थाले, जुन पछि भाटभटेनी सुपरमार्केटको रूपमा रूपान्तरित भयो । सानो ३५ हजार रुपैयाँको लगानी र ३५ वर्गफिटको सटरबाट सुरु भएको उनको व्यवसाय आज नेपालकै सबैभन्दा सफल र ठूलो व्यापारिक प्रतिष्ठान बनेको छ ।

null

उनले करिब ४२ वर्षअघि श्रीमतीको गहना बेचेर ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको स्मरण गरे । सुरुवाती दिनमा भाडाको सानो घरमा श्रीमतीसँगै बसेर सेवा गर्ने उद्देश्यले अघि बढेको व्यवसाय आज देशभर फैलिएको छ ।

उनका अनुसार आजको भाटभटेनी रातारात बनेको संरचना होइन । त्यसमा वर्षौंको मेहनत, पसिना र निरन्तरको प्रयास जोडिएको छ । त्यसैले ध्वस्त भएको संरचनालाई फेरि उठाउनु उनका लागि केवल निर्माणको काम थिएन । दशकौंको यात्रालाई पुनः निरन्तरता दिने चुनौती थियो । 

‘बसेर हेरेर के हुन्छ ?’

भाटभटेनीको पुननिर्माणमा गुरुङसँगै उनकी श्रीमती सावित्री गुरुङको पनि महत्त्वपूर्ण भूमिका रह्यो । सावित्रीका अनुसार परिवारदेखि कर्मचारीसम्म सबैले दिनरात नभनी काम गरे । त्यसैको परिणामस्वरूप एक वर्षको अवधिमा ध्वस्त संरचनाहरू क्रमशः सञ्चालनमा ल्याउने अवस्था बनेको हो ।

‘उहाँ धेरै हिम्मत भएको मान्छे हो । कुनै पनि कुरालाई हुन सक्दैन भन्ने छैन । भइहाल्यो, अब यसलाई गरौं, छिटो उठाऔं भन्ने सोच उहाँको हुन्छ,’ सावित्रीले विकासन्युजसँग भनिन् ।

null

उनका अनुसार विपत्तिपछि बसेर तनाव लिनुभन्दा सबै मिलेर काम गर्ने निर्णय गरियो । कर्मचारीदेखि निर्माणमा संलग्न सबै टोली २४ सै घण्टा खटिए । ‘हामी सबै मिलेर बडो मेहनतका साथ २४ सै घण्टा जुटेर नै गरेको हो,’ उनले विकासन्युजसँगको कुराकानीमा भनिन् ।

गाउँबाट सुरु भएको सहयात्रा

सावित्रीका लागि भाटभटेनीको यात्रा व्यवसाय मात्र होइन, दुवै जनाको सहयात्राको परिणाम पनि हो । ‘हामी गाउँबाट आएको मान्छे । केही थिएन । दुवै मिलेर काम गर्नुपर्यो । गर्दागर्दै भयो । मेहनत गर्यौं, त्यसैले भयो,’ उनले भनिन् । त्यही सहयात्राले भाटभटेनीलाई एउटा पारिवारिक व्यवसायबाट हजारौं मानिस जोडिएको संस्थामा विस्तार गरेको छ ।

खरानीबाट उठेको १०औं स्टोर

टंगालको पुनः सञ्चालन भाटभटेनीका लागि अर्को महत्त्वपूर्ण चरण हो । गुरुङका अनुसार यो ध्वस्त भएका १२ वटा संरचनामध्ये पुनः सञ्चालनमा आएको १०औं स्टोर हो । अझै दुईवटा पुन:निर्माणको चरणमा छन् । तर भाटभटेनीका लागि टंगाल अरूभन्दा फरक छ । यही स्थानसँग कम्पनीको पुरानो यात्रा जोडिएको छ । सावित्रीका लागि पनि टंगाल विशेष छ । 

उनी यसलाई आफ्नो सुरुवाती यात्रासँग जोडिएको स्टोरका रूपमा सम्झिन्छिन् । ‘यो मेरो पुरानो, मैले सुरु गरेको स्टोर हो । ४२ वर्षअघिका मेरा सुरुदेखिका ग्राहकहरू पनि भेट्न आउनुभएको छ,’ उनले भनिन् ।

null

लौरो टेकेर आएका पुराना ग्राहकदेखि नयाँ पुस्तासम्मको उपस्थितिले उनलाई भावुक बनाएको छ । ‘उहाँहरूले घरमै आएको जस्तो गर्नुभएको छ । उहाँहरू आइदिनुहुन्छ, माया गर्नुहुन्छ । त्यही माया पाएर खुसी लागेको छ,’ उनले विकासन्युज भनिन् । 

ग्राहकका लागि भाटभटेनी, पसलभन्दा बढी

भाटभटेनी पुनः सञ्चालनमा आउँदा सबैभन्दा खुसी हुनेमध्ये उपभोक्ता पनि छन् । नियमित ग्राहक तथा भेन्डरका रूपमा जोडिएका गोपाल थापाका लागि भाटभटेनी बन्द हुँदा दैनिक जीवनमै असहजता आएको थियो । उनका अनुसार खाद्यान्नदेखि लत्ताकपडासम्मका सामानका लागि अलग-अलग ठाउँमा जानुपर्ने अवस्था थियो ।

‘सुनदेखि लसुनसम्म पाइने हुनाले हामीलाई सहज छ,’ उनले भने । भाटभटेनी पुनः खुलेको दिन उनले खुसी हुँदै टिसर्ट र ट्राउजरसमेत किने । क्याप किन्ने योजनासहित उनी स्टोरमा घुमिरहेका थिए ।

null

अर्का ग्राहक धनबहादुर श्रेष्ठले पनि एक वर्षको बन्द अवधिमा सामान किन्न धेरै ठाउँ धाउनुपरेको सुनाए । ‘कहाँबाट किन्ने, कहाँ के गर्ने, एकदम दुनियाँ घुमेर किन्यौं । अहिले खुलेपछि खुसी लागेको छ,’ उनले भने । उनका लागि भाटभटेनी पसल मात्र होइन, परिवारजस्तो बनेको छ ।

‘यो त चमत्कारै लाग्छ’

भाटभटेनीसँग लामो समयदेखि जोडिएका कर्मचारी र भेन्डरका लागि पुन:निर्माणको गति आफैमा आश्चर्यको विषय बनेको छ । हिमालय निरौला भाटभटेनीमा सफ्टवेयरको काम गर्ने भेन्डर हुन् । उनका अनुसार टंगाल स्टोर भाटभटेनीको विस्तार यात्राको महत्त्वपूर्ण आधार हो ।

null

‘हामी धेरै आतुर थियौं । यो कहिले बन्छ भनेर आम उपभोक्ता पनि पर्खिरहेका थिए,’ उनले भने । उनका अनुसार भाटभटेनीको आकर्षण एउटै छानामुनि धेरै प्रकारका सामान र सेवाको उपलब्धता हो । ग्रोसरी, किचेनवेयर, रेडिमेड, इलेक्ट्रोनिक्सदेखि बालबालिकाका लागि मनोरञ्जनका सामग्रीसम्म उपलब्ध हुने भएकाले ग्राहकका लागि सहज भएको उनको भनाइ छ ।

निरौलाले भाटभटेनीको पुन:निर्माणको मुख्य आधार टिमवर्क भएको बताए । ‘उहाँको निर्देशनअनुसार टिमले एकदम जागरुक भएर काम गरेको छ। यति छिटो यसरी भाटभटेनी ठडिन्छ भन्ने मेरो कल्पना पनि थिएन,’ उनले भने । 

कर्मचारीको दुई दशकको कथा

भाटभटेनीको पुन:निर्माणमा बाहिरबाट देखिने संरचनाभन्दा पछाडि हजारौं कर्मचारीको श्रम जोडिएको छ । पूजा निरौला विगत १९ वर्षदेखि भाटभटेनीमा कार्यरत छिन् । उनी रेडिमेड तथा फुटवेयरको पर्चेजिङ म्यानेजर र बीएम टिमको नेतृत्वमा छिन् । उनका लागि भाटभटेनीमा बितेको १९ वर्ष एउटा रोजगारी मात्र होइन, जीवनको लामो अध्याय हो ।

उनका अनुसार संकटका बेला पनि कर्मचारीलाई सेवासुविधाबाट वञ्चित हुन नदिने प्रयास गरिएको थियो। पुनर्निर्माणपछि ग्राहकले खोजेको र रोजेको सामान उपलब्ध गराउने लक्ष्यसहित टिम फेरि काममा फर्किएको छ । उनले भाटभटेनीले ठूलो संख्यामा रोजगारी दिएको र त्यसमा महिलाको सहभागिता पनि उल्लेख्य रहेको बताइन् । ‘हाम्रो मालिककै मेहनत र जागरले हामी उठेका छौं,’ उनले भनिन् । 

null

भाटभटेनीमाथि भएको आक्रमणबारे गुरुङले कसैलाई दोष दिन चाहेनन् । उनले विगतको घटनालाई बिर्सेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए । ‘कसलाई दोष दिने ? म कसैलाई दोष दिन्नँ । घटना घट्यो, त्यसलाई बिर्सिसकेको छु । अब हामी नयाँ सिराबाट, नयाँ सोचबाट अगाडि बढौं,’ उनले भने । तर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारबाट संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारबाट संरक्षण हुनुपर्छ । यो मेरो सम्पत्ति होइन, देशको सम्पत्ति हो,’ उनले भने । 

‘नेपालमा अझै सम्भावना छ’

भाटभटेनी पुन:निर्माणको प्रसंगबाट गुरुङले नेपालको आर्थिक भविष्यबारे पनि आशावादी धारणा राखे । उनका अनुसार नेतृत्व इमानदार र विकासमुखी हुन सके नेपालले आगामी १५ वर्षमा ठूलो आर्थिक रूपान्तरण गर्न सक्छ । उनले निजी क्षेत्रलाई पनि देश निर्माणमा थप सक्रिय हुनुपर्ने बताए ।

‘नेपालमा किन आतङ्कित हुने ? यही देशमा बस्ने हो, यही देशको विकास गर्ने हो । देशको विकासमा ठूलो सहयोग निजी क्षेत्रले गर्ने हो,’ उनले भने । उनका लागि भाटभटेनीको पुन:निर्माण एउटा व्यापारिक परियोजना मात्र होइन, संकटपछि पनि उठ्न सकिने उदाहरण बनेको छ ।

१० वटा उठे, दुई अझै बाँकी

एक वर्षअघि जलेका संरचनाहरूको सम्झना अझै ताजा छ । तर आज त्यही ठाउँमा फेरि ग्राहकको भीड छ । कर्मचारी काममा छन् । सामानका र्याक भरिएका छन् । ध्वस्त भएका १२ संरचनामध्ये १० वटा सञ्चालनमा आइसकेका छन् । दुईवटा अझै पुन:निर्माणको प्रक्रियामा छन् । ती दुईवटा पनि मंसिरभित्र सञ्चालनमा आउने तयारीमा छन् । भाटभटेनीका लागि यो यात्रा अझै सकिएको छैन । सावित्रीका लागि भने टंगालको पुनः सञ्चालन विशेष खुसीको क्षण हो । पुराना ग्राहक फर्किएका छन् । 

नयाँ ग्राहक आएका छन् । कर्मचारी आफ्ना काममा फर्किएका छन् । र सबैभन्दा ठूलो कुरा एक वर्षअघि खरानी बनेको ठाउँमा फेरि जीवन फर्किएको छ । आगोले संरचना जलाउन सक्छ । तर वर्षौंको मेहनत, सम्बन्ध र विश्वासलाई खरानी बनाउन सक्दैन भन्ने सन्देशजस्तै बनेको छ टंगालको पुनःउद्घाटन । 

Share News