मन्त्रीपछि सचिव पनि आउट, उद्योग मन्त्रालयमा नयाँ नेतृत्व

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक नेतृत्व दुई महिना नबित्दै पुनः फेरिएको छ । सरकारले उद्योग सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै हालै सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्व सुम्पिएको हो ।

३० असार २०८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा आएका दुवाडीलाई छोटो समयमै हटाएर तामाङलाई पदस्थापन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो । बारम्बार हुने यस्तो प्रशासनिक फेरबदलले मन्त्रालयको नीतिगत र संस्थागत निरन्तरतामा असर पर्न सक्ने भन्दै प्रशासनिक वृत्तमा चासो र चिन्ता बढेको छ ।

दुवाडीको छोटो कार्यकाल विशेषगरी खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको विषय र कर्मचारीतन्त्रप्रति तत्कालीन मन्त्रीको तीव्र असन्तुष्टिका बीच गुज्रिएको थियो ।

ग्यास अभावको समस्या संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसम्म पुगेको थियो भने २४ भदौको समिति बैठकमा तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले कानुनी सुधार र आपूर्ति व्यवस्थापनमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएकी थिइन् ।

सोही असन्तुष्टिकै पृष्ठभूमिका बीच मन्त्री यादवले २५ भदौमा राजीनामा दिएकी थिइन् । नयाँ उद्योगमन्त्री दीपक कुमार साहले पदभार ग्रहण गर्दा सचिव दुवाडीसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका भए पनि सरकारले मन्त्रालयको प्रशासनिक कमान्ड परिवर्तन गरेको छ ।

हाल सरकारले विभिन्न निकायमा सचिवहरूको सरुवा तथा पदस्थापनलाई तीव्र बनाएको सन्दर्भमा उद्योग मन्त्रालयमा पनि दुई महिनामै नयाँ नेतृत्व आएको हो ।

अब नवनियुक्त सचिव रुद्रसिंह तामाङका सामु मन्त्रालयका चालु आयोजना, आपूर्ति व्यवस्थापन र नीतिगत प्राथमिकताहरूलाई कसरी अघि बढाउने भन्ने मुख्य चुनौती रहेको छ । 

Share News