विदेशबाट फर्किएर स्वदेशमै करोडौंको व्यवसाय थाले, तीन वर्षमै बैंकको लिलामीमा परे
काठमाडौं । ओखलढुंगाका मोहनबहादुर श्रेष्ठ ८ वर्ष विदेशको बसाइँपछि २०७५ सालमा नेपाल फर्किए । तत्कालीन समयमा यातायात क्षेत्रमा सिन्डिकेट थियो । सिन्डिकेटका कारण नै सार्वजनिक यातायातमा चढ्ने यात्रुले कुटाइ खानुपर्ने बाध्यता थियो, गाली त सामान्य जस्तै थियो । त्यसैले सीमित यातायात व्यवसायीहरूको एकाधिकार तोड्न आन्दोलन भयो । नेपाल बन्द हुन्थ्यो । र, अन्ततः यातायात क्षेत्रको सिण्डिकेट तोडियो । यातायात क्षेत्रको सिन्डिकेट तोड्ने आन्दोलनमा थिए ओखलढुंगाका श्रेष्ठ । यातायात क्षेत्रको सिन्डिकेट तोड्न मयूर यातायात प्रालि सफल भएको थियो । साना ठूला गरी करिब ५० जना लगानीकर्ताले ५ करोड पुँजी लगानी गरे । ४० भन्दा बढी बस सञ्चालनमा ल्याए । सुरुवातमा थोरै लगानी गरेका श्रेष्ठ हाल मयूर यातायातमा ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्वसहित अध्यक्ष छन् । यही अवधिमा श्रेष्ठले मयूर यातायातको नामबाट थप बस बजारमा ल्याउने योजना बनाए । तर, मयूरको नाममा बस ल्याउँदा साधारण सभाबाट प्रस्ताव पारित गर्नुपर्ने, ५० जनाले निर्णयमा हस्ताक्षर गर्नुपर्ने लगायत लामो प्रक्रिया अपनाउनुपर्ने भएपछि स्वागतम यातायात प्रालि दर्ता गराए । विसं २०७८ भदौमा राष्ट्रिय वाणिज्य बैंकसँग ४५ वटा बस खरिदका लागि १५ करोड रुपैयाँ हायर पर्चेज कर्जा लिने सम्झौता गरे । बैंकसँगको सम्झौताअनुसार विसं २०८४ सम्म कर्जा चुक्ता गर्ने गरी मासिक ३३ लाख रुपैयाँ किस्ता तोकियो । प्रति बस ५४ लाख ७० हजार रुपैयाँमा खरिद गर्ने गरी टाटा मोटर्स भारत (सिप्रदी ट्रेडिङ)सँग सहमति भयो । तर, यही समयमा उनीमाथि वज्रपात पर्यो । बसहरू बजारमा आएको केही समयमै उनका बुवा दुर्घटनामा परे । उनको बुबाको उपचारको क्रममा निधन भयो । ‘मयूरसँगै म र मेरो भाइ राज श्रेष्ठले स्वागतम यातायात ल्यायौँ । २०७८ असोजतिर बसहरू बजारमा आए । बसहरू राम्रोसँग चल्न नपाउँदै बुवा दुर्घटनामा पर्नुभयो । हामी बुवाको उपचारमा लाग्यौं । तर, उपचार गराउँदा गराउँदै बुवाको निधन भएपछि काजक्रियामा लाग्यौं । बसमा त्यति धेरै ध्यान दिन सकिएन,’ श्रेष्ठले दुःखी हुँदै भने, ‘प्रति बस ५४ लाख ७० हजार रुपैयाँका दरले ४५ वटा बसको २४ करोड ६१ लाख ५० हजार रुपैयाँको प्रोजेक्ट बनेको थियो । जसमा १५ करोड रुपैयाँ बैंक र बाँकी डाउन पेमेन्ट थियो । तर, बैंकले स्वीकृत गरेको १५ करोडमा १४ करोड मात्रै दियो ।’ बैंकले १ करोड रुपैयाँ भुक्तानी नगरेपछि सिप्रदीले बसहरू तानेर ६ महिना पार्किङमा राखेको उनले गुनासो गरे । बैंकको ढिलाइका कारण टाटा कम्पनीलाई ३१ लाख रुपैयाँ ब्याज तिर्नु परेको उनले स्मरण गरे । एक वर्षपछि मात्रै बाँकी रहेको १ करोड रुपैयाँ बैंकले भुक्तानी गरिदिएको उनले सुनाए । त्यसपछि आयो समस्या श्रेष्ठका अनुसार स्वागतम यातायातमा २ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म लगानी गर्ने डेढ दर्जन लगानीकर्ता थिए । उनीहरूले स्वागतम यातायात प्रालिको सेयर मागिरहेका थिए । तर, बैंकले सेयर रोक्का राखेका कारण सेयर दिन नसकिएको उनले बताए । यहीबिचमा उनले बसहरू सञ्चालनका लागि एक व्यक्तिलाई जिम्मा दिए । तर, उनले बैंकको किस्ता जम्मा नगरी आम्दानी जति सबै आफै लिएको आरोप लगाए । ‘बैंकसँग सौहार्दपूर्ण वातावरण बन्ने नदेखेपछि एउटा पार्टीलाई बसहरू चलाउन दिएँ । बसहरू चलाउने तर, बैंकको किस्ता नतिर्ने समस्या निम्त्याए,’ उनले भने, ‘पहिलो पार्टी (व्यक्ति) ले समस्या निम्त्याएपछि सहकार्य टुटाएर दोस्रो पार्टी खोज्यौँ । दोस्रो पार्टीले सेयर खरिद गरेर बैंकको ऋण चुक्ता गर्ने सहमति थियो । तर, बैंकले सेयर रोक्का गरेका कारण बिक्री हुन सकेन । सेयर नपाएपछि पार्टीले फिर्ता गर्यो ।’ श्रेष्ठका अनुसार हालसम्म १६ वटा किस्ता गरी करिब ९ करोड रुपैयाँ चुक्ता भएको छ । तर, बैंकले भने कर्जा र ब्याजसहित अझै १५ करोड रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिने गरेको उनले बताए । पछिल्लो समय भने बसहरूलाई आफ्नै स्वामित्वमा लिएर दैनिक ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म बैंकको खातामा जम्मा गरिरहेको उनले बताए । पछिल्लो पटक १५ दिनभित्र कर्जा नियमित गर्छु भन्दा पनि बैंकले सहयोग नगरेको उनको दुखेसो छ । ‘यो बीचमा अन्य व्यक्तिलाई बसहरू चलाउन दिँदा समस्या भयो । हालसम्म २ वटा पार्टीले चलाए । उनीहरूले बसहरू चलाए तर बैंकको ऋण चुक्ता गरेनन् । अब ५/७ करोड रुपैयाँ कर्जा लिएर वैशाख पहिलो साताभित्र बैंकको ऋण नियमित गर्छाैं,’ उनले भने, ‘हचुवाको भरमा लिएको होइन । बैंकलाई अप्ठ्यारोमा पार्न लिएको होइन । मैले लिएको कर्जा मेरो परिवार, मेरो छोरोले तिर्नुपर्छ । मेरो पाँचौं पुस्तासम्म बिग्रिन्छ । अहिले व्यक्तिको फन्दामा परेर समस्या आएको हो ।’ स्वागतम यातायात प्रालिका साना लगानीकर्तालाई भने जग्गा दिएर समस्या समाधान गरिसकेको श्रेष्ठले बताए । साथै आफ्नो व्यक्तिगत समस्या समाधान भइसकेको र अब बैंकको ऋण चुक्ता गर्ने गरी काम भइरहेको उनको भनाइ छ । बसहरू स्वागतम यातायातको नाममा दर्ता भएपनि मयूर यातायातको लोगोबाट सञ्चालन भइरहेका छन् । ब्लूबुकमा स्वागतम यातायात प्रालि रहेपनि मयूर यातायातको लोगोमार्फत चलिरहेका छन् । यस आधारमा मयूर यातायातको नाममा ४५ वटा बस र स्वागतम यातायातका ४५ वटा गरी उपत्यकामा मयूरको नाममा ९० वटा चलिरहेका छन् । ४५ बस लिलाम गर्दै राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकका कर्जा असुली विभाग प्रमुख सरोज बस्नेतका अनुसार स्वागतम यातायात प्रालिले पाँच वर्षमा सबै ऋण चुक्ता गर्ने गरी १५ करोड रुपैयाँ कर्जा लिएको हो । तर, पछिल्लो तथ्याङ्कअनुसार समयमा किस्ता चुक्ता नगर्दा १२ करोड ८७ लाख रुपैयाँ सावाँ र २ करोड भन्दा बढी ब्याज तिर्न बाँकी छ । ‘मासिक ३३ लाख रुपैयाँको किस्ता हो । ४५ वटा बसहरूमा १३ किस्तादेखि २० किस्तासम्म तिर्न बाँकी छ । पछिल्लो तथ्याङ्क अनुसार १२ करोड ८७ लाख रुपैयाँ सावाँ र २ करोड भन्दा बढी ब्याज बाँकी छ । १५ करोड कर्जा लिएको हो । आजको दिनमा पनि १५ करोड जति नै सावाँ र ब्याज तिर्न बाँकी छ,’ उनले भने, ‘१५ करोडको सामान्य ब्याजदर तोक्दा पनि वार्षिक डेढ करोड रुपैयाँ वर्षको ब्याज आउँछ । कर्जा लिएको तीन वर्ष भइसकेको हुँदा २ करोड बढी ब्याज नै बाँकी छ ।’ २ साताअघि ऋणी श्रेष्ठले स्वयम्भू शाखा प्रमुख र बैंकको कर्जा असुली प्रमुख बस्नेतसँग बसबाट संकलन रकम बापत दैनिक एक लाख रुपैयाँ बैंकमा जम्मा गर्ने, दुई दिनभित्रमा ५० लाख रुपैयाँ र त्यसको एक सातामा अर्काे ५० लाख जम्मा गर्ने र कर्जा नियमितका लागि जग्गा धितो राख्ने वा पार्टनर खोज्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार तीन दिनसम्म एक लाख रुपैयाँ जम्मा गरेको बताउँदै बस्नेतले भने, ‘तर, त्यसपछि भने जम्मा गर्न छाड्नु भयो । ५० लाख रुपैयाँको कमिटमेन्ट पनि पूरा गर्नु भएन । लगातार तीन दिन फोन गरेँ । फोन नै उठाउनु हुन्नँ । यदि यी कमिटमेन्ट पूरा भएनन् भने लिलाममा जान्छाैं भनेका थियौं । सोही अनुसार लिलामीको सूचना निकालेका हौं । अब कालोसूचीको प्रक्रियामा हुनुहुन्छ ।’ बैंकको शाखा कार्यालय स्वयम्भूबाट हायर पर्चेज कर्जामा ऋण लिएको स्वागतम यातायात प्रालिले कर्जा चुक्ता नगरेपछि ४५ वटा बस नै लिलाममा राखेको हो । बैंकका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता रहेको स्वागतम यातायातका संस्थापक सेयरधनी मोहनबहादुर श्रेष्ठ र राज श्रेष्ठलाई लिखित तथा मौखिक ताकेता भइरहेको छ । यदि अबको ३५ दिनभित्र कर्जाको ब्याज र अन्य दस्तुर चुक्ता गरेमा कर्जा नियमित हुने कर्जा असुली प्रमुख बस्नेतको भनाइ छ । यदि सो अवधिमा समेत कर्जा भुक्तान तथा नियमित नगरे बसहरू लिलाममा बिक्री गर्ने उनले बताए । उनका अनुसार कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने वा लिलाम बिक्री हुन नसकेको धितो सम्पत्ति बैंक आफैंले सकार्नेछ । धितो रहेका सवारी साधन (बस) खरिद गर्न इच्छुकले बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । सवारी साधन (बस)हरू टाटा मोटर्स भारतबाट सन् २०१८ मा निर्माण भएका हुन् । बसहरूको मूल्य न्यूनतम् १९ लाख ३८ हजार रुपैयाँदेखि अधिकतम ३८ लाख ९८ हजार ८९० रुपैयाँ तोकिएको छ । नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष रवि रिमाल यातायात कम्पनीहरू बाहिरबाट हेर्दा राम्रै चलिरहेको भएपनि आन्तरिक रूपमा समस्यामा रहेको बताउँछन् । भाडा रकम संकलनमा हिनामिना हुने भएकाले बसहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘रकम संकलन (कलेक्सन) राम्रोसँग हुँदैन, कर्मचारीहरूले आधिभन्दा बढी रकम साहुलाई बुझाउँदैनन्, क्यास लेसको सुविधा छैन । ठूलो कम्पनी भएपछि व्यवस्थापन राम्रोसँग गर्न सकिँदैन,’ उनले भने, ‘पब्लिकसँग जति रेभिन्यू कलेक्सन हुन्छ, त्यो निखारिएर मात्रै आउँछ । साथै नियमित मर्मत गर्नुपर्छ । बैंकको किस्ता दोस्रो प्राथमिकतामा पर्छ । पहिलो प्राथमिकतामा मर्मतमा ठूलो रकम खर्च हुन्छ ।’ स्वागतम यातायातका ४५ वटा बस बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक, मूल्य कति ?
बैंकले निर्माण व्यवसायीसँग पेनाल ब्याज लिन नपाउने, राष्ट्रिय परिचय पत्रबिनै खाता खोल्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई सहज हुने किसिमको नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै निर्माण व्यवसाय क्षेत्रमा प्रवाह भएको कर्जाको विषयमा नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकले सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भईरहेको तर भुक्तानी प्राप्त हुन बाँकी रहेका निर्माण व्यवसायीलाई प्रवाह भएको निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको हकमा ऋणीको अनुरोधमा नगदप्रवाह विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । यस्तै, निर्माण व्यवसाय क्षेत्रमा प्रवाह भएको कर्जामा पुनरतालिकीकरण तथा पुनरसंरचनाको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था २०८२ असार मसान्तभित्र गरिसक्नु पर्ने राष्ट् बैंकको निर्देशन छ । यसरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ मंसिर मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो, कम्तिमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने परिपत्रमा उल्लेख छ । साथै, त्यस्तो कर्जामा उक्त अवधिको पेनाल ब्याज लिन नपाइने व्यवस्था पनि गरिएको छ भने पुनरतालिकीकरण तथा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, यसअघि गरिएको कर्जा नोक्सानी व्यवस्था राइट ब्याक गर्न नपाइने परिपत्रमा उल्लेख छ । सम्बन्धित सार्वजनिक निकायबाट भुक्तानी प्राप्त हुन बाँकी रहेको कागजात लिएको हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यस्तै, राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नभएकालाई पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ व्यवस्था गरिए पनि विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने उल्लेख छ । साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
लयमा फर्किँदै अर्थतन्त्र, वित्तीय सूचकमा सकारात्मक संकेत
काठमाडौं । देशको अर्थतन्त्र लयमा फर्किएको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको देखिएको हो । तथ्यांकअनुसार अधिकांश वित्तीय सूचकहरु सकारात्मक छन् । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशमा महँगी पनि घट्दै गइरहेको देखिन्छ भने विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स तथा आयात निर्यातको बढ्दो ग्राफले पनि देशको अर्थतन्त्र चलायमान भएको बुझ्न सकिन्छ । तथ्यांकमा महँगी घट्दै चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६० प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी गराएको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । आयात र निर्यात बढ्यो आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । यो महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो । यो अवधिमा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो। रेमिट्यान्स साढे १० खर्ब नाघ्यो समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो । शोधान्तर स्थिति बचतमा यो अवधिमा शोधान्तर स्थिति पनि बचतमा देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो । १८ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति यो अवधिमा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा ४४.९ प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । २०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।