सार्वजनिक संस्थानहरूको नाफा साढे ४२ अर्ब, लाभांश ८ अर्ब ८३ करोड मात्रै

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८२ मा सार्वजनिक संस्थानहरूले ४२ अर्ब ६२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ४३ वटा सार्वजनिक संस्थानको नाफा १२.८८ प्रतिशत घटेको हो । अघिल्लो वर्ष यी संस्थानले ४८ अर्ब ९२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।  सरकारको लगानी रहेका ४३ वटा सार्वजनिक संस्थानहरूमध्ये २८ वटा संस्थान मात्रै नाफामा छन् भने १५ वटा संस्थान घाटामा रहेका छन् । अर्थमन्त्रालयका अनुसार औद्योगिक क्षेत्रका १० वटा संस्थानमध्ये अधिकांश संस्थान घाटामा रहेका छन् । औद्योगिक क्षेत्रका संस्थानहरूले गत वर्ष १ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । तर, जनकपुर चुरोट कारखानाको नाफा भने धनात्मक रहेको छ । यस कारखानाले २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  गत वर्ष दुग्ध विकास संस्थानले २३ करोड २२ लाख रुपैयाँ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ, हेटौडा सिमेन्ट उद्योगले ३३ करोड ४२ लाख रुपैयाँ, नेपाल औषधिले ८ करोड ९० लाख रुपैयाँ, उदयपुर सिमेन्ट उद्योगले १८ करोड २१ लाख रुपैयाँ, नेपाल ओरियण्ट म्याग्नासाइटकले ५१ करोड ७९ लाख रुपैयाँ, बुटवल धागो कारखानाले ३ करोड ३९ लाख रुपैयाँ, नेपाल मेटल कम्पनीले ६१ लाख रुपैयाँ, धौवादी फलाम कम्पनीले १० लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।  व्यापारिक क्षेत्रका विभिन्न ४ वटा संस्थान सञ्चालनमा रहेका छन् । यी संस्थानहरूले गत वर्ष ९ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष यी संस्थानले ११ अर्ब ८१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।  व्यापारिक क्षेत्रका कम्पनीहरूमा कृषि सामग्री कम्पनीको नाफा ७११.७३ प्रतिशत बढेर २७ करोड २१ लाख रुपैयाँ र नेपाल वन निगमको १३१.११ प्रतिशत बढेर २ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खुद नाफा ५९.४१ प्रतिशत घटेर ५ करोड २५ लाख रुपैयाँ र नेपाल आयल निगमको १८.५० प्रतिशत घटेर ९ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  सेवा क्षेत्रमा रहेका ९ वटा संस्थानले गत वर्ष २ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष २ अर्ब २२ करोड १ लाख रुपैयाँ नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा क्षेत्रको नाफा ३२.२६ प्रतिशत बढेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।  सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूमा २ वटा संस्थान घाटामा छन् भने अन्य सबै नाफामा रहेका छन् ।  औद्योगिक क्षेत्र व्यवस्थापनको नाफा ७९८.५८ प्रतिशत बढेर ५४ करोड ५४ लाख रुपैयाँ, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ६.५१ प्रतिशत बढेर ४ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको १०१.५१ प्रतिशत बढेर १ लाख रुपैयाँ र नेपाल नागरिक उड्डयन प्राधिकरणको २८.३५ प्रतिशत बढेर ३ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल पूर्वाधार निर्माण कम्पनीको ७१.०९ प्रतिशत घटेर २४ लाख रुपैयाँ, साझा यातायात सहकारी संस्थाको ५५.७० प्रतिशत घटेर ८ करोड ६ लाख रुपैयाँ, विशाल बजार कम्पनीको १३.७३ प्रतिशत घटेर १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, नेपाल वायुसेवा निगम र नेपाल रेल्वे कम्पनी भने घाटामा सञ्चालन भइरहेका छन् । नेपाल वायुसेवा निगमको १ अर्ब ४ करोड रुपैयाँ र नेपाल रेल्वे कम्पनीले २० करोड ६ लाख रुपैयाँ घाटा बेहोरेका छन् ।  सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरूले गत वर्ष ४१ करोड ९ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । अघिल्लो वर्ष १२ करोड ५ लाख रुपैयाँ नोक्सानी बेहोरेका थिए ।  जसमध्ये गोरखापत्र संस्थान र राष्ट्रिय आवास कम्पनीको नाफा धनात्मक रहेको छ भने अन्य कम्पनीको नाफा ऋणात्मक रहेको छ । गत वर्ष गोरखापत्रको नाफा ९४.१७ प्रतिशत बढेर १२ करोड १२ लाख रुपैयाँ र राष्ट्रिय आवास कम्पनीको १४९.४६ प्रतिशत बढेर ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।  तर, सांस्कृतिक संस्थानले १ करोड ३० लाख रुपैयाँ, जनक शिक्षा सामग्री केन्द्रले २६ करोड ५९ लाख रुपैयाँ, सार्वजनिक सेवा प्रशारण नेपालले २५ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।  जनोपयोगी क्षेत्रका विभिन्न ५ कम्पनीको गत वर्ष खुद नाफा ३.७३ प्रतिशत घटेर १६ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीले १७ अर्ब १० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  नेपाल विद्युत प्राधिकरणको ११.९२ प्रतिशत बढेर १० अर्ब ५२ करोड ७१ लाख रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनीको २१.३४ प्रतिशत घटेर ६ अर्ब २३ करोड १ लाख रुपैयाँ, विद्युत उत्पादन कम्पनीको ५८.९३ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय प्रशारण ग्रिड कम्पनीको ६७.९६ प्रतिशत घटेर ६ करोड ६ लाख रुपैयाँ नाफा गरेका छन् ।  तर, नेपाल खानेपानी संस्थानले भने घाटा बेहोरेको छ । यस संस्थानले गत वर्ष ४० करोड ७६ लाख रुपैयाँ घाटा बेहोरेको छ ।  वित्तीय क्षेत्रका १० वटा कम्पनीको गत वर्ष खुद नाफा २१.८० प्रतिशत घटेर १५ अर्ब १६ करोड ८६ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष १० वटा संस्थानले १९ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।  जसमध्ये गत वर्ष कृषि विकास बैंक, राष्ट्रिय जीवन बीमा कम्पनी, निक्षेप तथा कर्जा ’कोष सुरक्षण, नेपाल स्टक एक्सचेन्ज, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सिडिएस एण्ड क्लियरिङ्गको नाफा बढेको छ । तर, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको नाफा घटेको छ ।  कुन क्षेत्रबाट कति लाभांश ?  गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले सार्वजनिक संस्थानबाट ८ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो । सेयर लगानीको प्रतिफल स्वरूप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त गर्ने गर्दछ ।  गत वर्ष ७ वटा सार्वजनिक संस्थानबाट मात्र लाभांश प्राप्त भएको मन्त्रालयले जनाएको छ । जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने औद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन । कुल प्राप्त लाभांश मध्ये जनोपयोगी क्षेत्रको नेपाल दूरसञ्चार कम्पनीबाट ७४.५६ प्रतिशत प्राप्त भएको छ ।  वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट १ अर्ब ९० करोड ५७ लाख रुपैयाँ लाभांश प्राप्त हुँदा सेवा क्षेत्रबाट ३४ करोड २२ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ ।

नाडा र नाइमाको एक्स्पोले व्यवसायी विभाजित, को कुन धारमा ?

काठमाडौं । अटो व्यवसायीहरूबीच एकले अर्कालाई सकाउने खेलको सुरुवात भएको छ । नाडाकै केही पदाधिकारीहरूको प्रयासमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) स्थापनादेखि सुरु भएको खेल अटो एक्स्पोको संघारमै प्रष्ट देखिएको हो ।  दुवै संस्थाले अटो एक्स्पो आयोजना गर्ने घोषणा गरिसकेका छन् । नाइमाले बुकिङ रजिस्ट्रेसन पनि बन्द गरिसकेको छ भने नाडाले अगाडि नै रजिस्ट्रेसन खोले पनि अहिलेसम्म बन्द गरेको छैन । अर्थात नाडाले विगतको जस्तै बिजनेस पाउन सकेको छैन । अधिकांश अटो व्यवसायीहरू नाइमामा जाँदा नाडा अटो शोको भविष्यमाथि नै प्रश्न उठेको छ ।  नाइमाको नेपाल मोबिलिटी एक्स्पोको लागि स्टल बुकिङ चाहिएभन्दा बढी भए पनि नाडा अटो शोका लागि भने स्टल नै बुकिङ हुन सकेनन् । व्यवसायीहरूले एक-आपसमा जुँगाको लडाइँ गर्दा नाडा अटो शोको भविष्यमाथि प्रश्न उठेको हो ।  कुन व्यवसायी कुन संस्थामा ? युनाइटेड टेडर्स सिण्डिकेट नेपालमा टोयोटा ब्राण्डका गाडीहरूको एकमात्र आधिकारिक  बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड टेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक तथा नाइमाकी अध्यक्ष हुन् रितुसिंह वैद्य । उनी व्यवसायी सुरज वैद्यकी श्रीमती पनि हुन् । भारतको नयाँदिल्लीमा जन्मिएर नेपालका प्रतिष्ठित घराना वैद्यज अर्गनाइजेनसभित्र भित्रिएकी रितु हाल टोयोटा ब्राण्डको गाडी प्रवर्द्धनमा तल्लीन छिन् ।  टोयोटा नेपाल भित्रिएको ५१ वर्ष भैसकेको छ भने रितु यही ब्राण्डको विस्तारका लागि स्ट्राटेजी बनाइरहेकी छिन् । उनले सेल्स, सर्भिस, स्पेयर पार्टस सबै आफैले समालिरहेकी छिन् ।  नाइमाकी अध्यक्ष समेत रहेकी रितुले नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा ब्राण्डसँगै लेक्सस तथा एथर ब्राण्डका सबै गाडीहरू प्रर्दशनमा राख्नेछिन् । उनी जसरी पनि नाइमाको एक्स्पो सफल बनाउन लागेकी छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालि सुहृद घिमिरे किया गाडीको आयातकर्ता तथा आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष हुन् । उनी नाइमामा पनि संग्लन छन् । कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया, इसुजु, कोमात्सु र ओटिस जस्ता प्रतिष्ठित ब्राण्डहरू बिक्री गर्दै आइरहेको छ । जसले व्यावसायिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । आगामी साउनको अन्तिम सातातिर भृकुटीमण्डपमा हुने नेपाल मोबिलिटी एक्स्पोमा किया गाडीका ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्।  लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक हुन् अञ्जन श्रेष्ठ र निराकार श्रेष्ठ । नेपालको ठूला व्यावसायिक ग्रुपको पहिचान बनाएको लक्ष्मी ग्रुपको नेतृत्व तहमा रहेर काम गरिरहेका अञ्जन श्रेष्ठ नेपालका एक सफल व्यवसायीका रुपमा पनि परिचित छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् भने उनी नाडाको पूर्व अध्यक्ष समेत हुन् । निराकर नाडा र नाइमाका पनि सदस्य हुन् । नेपाल मोबिलिटी एक्स्पोमा हुण्डाई र फोरथिङ गाडीको ब्राण्डहरू प्रदर्शनमा राखिने जानकारी छ ।  शारडा ग्रुप नेपालका आमोडा जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स तथा शारडा ग्रुपका निर्देशक गौरव शारडा हुन् । गौरव नाइमाको मोबिलिटी एक्स्पोका संयोजक समेत हुन् । उनी एसपीजी अटोमोबाइलको स्थापनासँगै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका हुन् भने गौरवले नेपाली बजारमा चेरी ब्राण्ड, निसान, डाटसन र नयाँ ईभी ब्राण्ड ओमोडा विक्री वितरण गर्दै आएका छन् । नाइमा मोबिलिटी एक्स्पोमा यी ब्राण्डहरुका साथै यही साता मात्रै नेपाल भित्र्याइएको विन्डसर नयाँ ब्राण्डका विद्युतीय कार (इभी) हरू प्रर्दशनीमा राखिनेछन् ।  विशाल ग्रुप नेपालका लागि मोरिस ग्यारेज एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट माेटर्स तथा विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् निकुञ्ज अग्रवाल । नेपालकै ठूलो व्यापारिक समूहमध्येको एक विशाल ग्रुप हो । निकुञ्जले उक्त व्यावसायिक समूहको नेतृत्व गरिरहेका छन् । यो ग्रुपले नेपाली अटो बजारलाई तताएको छ । विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्राण्डका गाडी ल्याएर बिक्री गर्दै आएको छ ।   यस ग्रुपले फक्सवागन, रेनो, एमजी, विलिङ, सुजुकी मोटरसाइकल, माज्दा, मेक्सस, भिनफास्ट, ग्रेटवाल जस्ता ब्राण्ड बिक्री गरिरहेको छ भने नाइमाको एक्स्पोमा एमजी फस्कवागेन, टिभीएस, ग्रेटवालल ब्राण्डहरू प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ ।  साइमेक्स इंक प्रालि बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक हुन् यमुना श्रेष्ठ । उनी नाइमाकी सदस्य पनि हुन् । पछिल्लो समय उनले नेपाली अटो बजार तताएकी छन् । पछिल्लो समय उनको कम्पनी नेपाली बजारमा सर्वाधिक विद्युतीय बीवाईडी गाडी बिक्री गर्ने कम्पनी बनेको छ । जबकि सन् २०२४ मा कम्पनीले ६ हजार थान गाडी बिक्री गरेर नेपालकै पहिलो नम्बरमा पर्न सफल भएको थियो । ६ महादेशमा ३० भन्दा बढी औद्योगिक पार्कहरू स्थापना गरेको बीवाईडीले इलेक्ट्रोनिक्स, अटोमोबाइल बजारमा छल्याङ मारेको छ ।  यमुनाले अटोमोबाइलका साथै हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गरिरहेकी छिन् । साउनमा हुने नाइमा एक्स्पोमा कम्पनीले बीवाईडी विभिन्न ब्राण्डहरूसँगै यहीँ साता नेपाल भित्र्याइएको नयाँ गाडी सिलायोन ७ मोडेलको गाडी नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ ।  आइएमई मोटर्स कमर्सियल भेहिकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स हो । यसका प्रबन्ध निर्देशक निसान ढकाल हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन् । उनी नाडामा आमन्त्रित सदस्यका रूपमा छन् । तर उनले आफ्ना गाडीको प्रदर्शनी भने नाइमामा राख्नेछन् ।   उक्त कम्पनीले कमर्सियल भेहिकलमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ भने नाइमा एक्स्पोमा अशोक लेल्याण्डले कमर्सियल भेहिकल गाडीहरू प्रदर्शनमा राख्नेछ ।  पद्म ज्योति ग्रुप  होन्डा बाइक तथा स्कुटर र होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ तथा पद्म ज्योति ग्रुप हो । जसका प्रबन्ध निर्देशक सौरभ ज्योती हुन् भने उनी नाइमा पनि आवद्ध छन् । उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पद्म ज्योतिका छोरा हुन् । उक्त कम्पनीमा हाल मिरा ज्योति सुधृण ज्योति, सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन् । उक्त ग्रुपले होन्डा मोटरसाइकल बिक्री गर्दै आएको छ भने आगामी साउनमा हुने नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले होन्डा ब्राण्डका सवारी साधनहरू प्रर्दशनमा राख्नेछ ।  शौरव नाडाका पूर्व अध्यक्ष समेत हुन् । तर, उनी पनि नाइमामा आवद्ध भएका छन् ।  महिन्द्रा अग्नि ग्रुप महेन्द्रा गाडीको लागि आधिकारिक बिक्रेता अग्नि इन्करपोरेटेड प्रालिले तथा अग्नि ग्रुप हो । यसका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ हुन् । यस कम्पनीले महिन्द्रा र याज्दी ब्राण्डका गाडीहरू बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा प्रदर्शनमा राख्न पनि यी दुवै ब्राण्डका साथै महिन्द्राको नयाँ ब्राण्ड बीई सिक्स र एक्सयुभी नाइन ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको र मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिने जानकारी दिएको छ ।  अल्फा अटोमोटिभ  रोयल इन्फिल्डको लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोटिभ हो । यसका प्रबन्ध निर्देशक हर्ष सांघाई हुन् । अल्फा अटोमोटिभले रोयल इन्फिल्डको दुईपाँग्रे सवारीसाधनबाट नेपालभरि आफ्नो बजार विस्तार गरिरहेको छ । रोयल इन्फिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय छ ।  नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको ब्रान्ड रोयल इन्फिल्ड हो । अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका साथै डोङफेङ, कर्मसियल गाडी, क्लासिक ३५० को नयाँ भर्सन एफआई, इलेक्ट्रा, सिग्नल्स, मेटेओर ३५०, हिमालयनलगायतका मोडलहरू बिक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले मोबिलिटी एक्स्पोमा रोयल इनफिल्ड र डोङफेङ कमर्सियल ब्राण्डका गाडीहरू प्रदर्शनीमा राख्नेछ ।  हंसराज हुलासचन्द एण्ड कम्पनी बजाज बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी हो । यस कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।  कम्पनीले नेपाल बजारमा बजाज मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । कम्पनीले मोबिलिटी एक्स्पोमा बजाजसँगै सिट्रोन, लिपमोटर, प्युजो  ब्राण्डका गाडीहरू प्रदर्शनमा राख्नेछ । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघसँगै नाडाका अध्यक्ष भइसकेको व्यवसायी हुन् । उनी पनि नाइमामा आवद्ध भएका छन् ।  नाडा अटो शोमा सीमित व्यवसायी एक दर्जन गाडी तथा बाइकको लागि आधिकारिक बिक्रेता कम्पनी एमडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, विवेक सिकारिया, सिजी माेटर्सका निर्वाण चौधरी तथा सिप्रदी ट्रेडिङ प्रालिका राजनबाबु श्रेष्ठ नाडामा अटो शो मा सहभागी हुने छन् ।  सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता हो सिप्रदी ट्रेडिङ प्रालि । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । उनी नाडाका उपाध्यक्ष पनि हुन् ।  सिप्रदी ट्रेडिङले टाटा ब्रान्डका गाडीहरू बिक्री गर्दै आएको छ । यो कम्पनीले भदौ पहिलो सातादेखि सुरु हुने नाडा अटो शोमा सहभागी हुनेछ भने प्रदर्शनमा टाटा ब्रान्डका गाडीहरू राख्नेछ ।  एमएडब्ल्यू ग्रुप एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन् । एमएडब्ल्यूले हेभी इक्युपमेन्टदेखि चर्चित प्यासेन्जर गाडीसम्म बिक्री गर्दै आएको छ भने दुईपाँग्रे यामाहा र हेभीइक्युपमेन्टमा जेसीबी र चारपाँग्रेमा जिप, स्कोडा र पछिल्लो समय चर्चित ब्रान्डको रूपमा स्थापित सेरेस बिक्री गर्दै आएको छ । यस कम्पनीले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ ।  यो कम्पनी नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो दुवैमा देखिनेछ । यसैगरी एमडब्लूले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि अटो नाडा शोमा अवलोकन गर्न सकिने बुझिएको छ ।  चौधरी ग्रुप  चौधरी समूह अन्तर्गतको सिजी मोटोकर्पले मारुती सुजुकीका चारपाँग्रे गाडी बिक्री गर्दै आएको छ । जुन हाल नाडा अटोमोबाइल एसोसियसनका अध्यक्ष करण चौधरीले नेतृत्व  गर्दै आएका छन् । अटो व्यवसायमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेशसँगै चौधरी ग्रुपले हाल धमाधम विद्युतीय ब्रान्ड भित्र्याइरहेको छ । चौधरी ग्रुपले नेटा, आयोन, एक्सपेङ, स्मार्ट, रिडारा, विद्युतीय गाडी तथा कमर्शियलतर्फ केवाईसी, किङलङका गाडी बिक्री गर्दै आएको छ । हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पा, अप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुईपाँग्रे सवारी साधनहरू नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ । 

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत, कुन क्षेत्रको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म ३५ अर्ब ८६ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन् । यो अवधिमा कम्पनीहरूले मोटर बीमाबाट सर्वाधिक व्यापार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा मोटर बीमाबाट मात्रै १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको ३०.०५ प्रतिशत हिस्सा देखिएको छ । मोटर बीमापछि बीमा कम्पनीहरूले सबैभन्दा धेरै व्यापार सम्पत्ति बीमाबाट गरेको देखिएको छ । कम्पनीहरूले चालु आवको वैशाखसम्ममा सम्पत्ति बीमाबाट ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.२० प्रतिशत रहेको छ । त्यस्तै, निर्जीवन बीमाको व्यवसायमा इन्जिनियर तथा ठेक्काको हिस्सा १६.९० प्रतिशत रहेको छ । ११ महिनामा कम्पनीहरूले इन्जिनियर तथा ठेक्काबाट ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरूले विविधबाट ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ व्यवसाय गरेका छन् । त्यस्तै, सामुद्रिक बीमाबाट २ अर्ब १० करोड २४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कुल व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ५.८६ प्रतिशत रहेको छ ।  बीमा कम्पनीहरूले हवाई बीमामार्फत १ अर्ब ९० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी, कृषि तथा बालीको १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघु बीमाबाट ७८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा हवाईको ५.३०, कृषि तथा बालीको ३.७६ र लघुको २.१८ प्रतिशत हिस्सा रहेको छ ।