ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला पुनः नियुक्त
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा बैंकर बुद्धि अकेला नियुक्त भएका छन् । अकेकाले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औं बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखि नै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डीजीएम पदमा रूपमा कार्यरत छन् । शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराइएको हो । यो डिजिटल कर्जा सेवा एफ–वन सफ्ट समूह अन्तर्गतको फोन ऋण प्रालिद्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाह सुनिश्चित गर्ने बैंकले जनाएको छ । यस सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक कर्जामा सहज पहुँच विस्तार गर्नु सेवाको मुख्य उद्देश्य रहेको छ । कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय गरिनेछ । जसमा तलब जम्मा कारोबारको नियमितता, हाल कायम ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकहरूले एक महिनाभित्र एकमुष्ट वा १२ महिनासम्म किस्ताबन्दी प्रणालीमार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, समयअगावै कर्जा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ । मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्ने र स्वीकृतिपछि सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका हुन् । सेवाबारे जानकारी दिँदै उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, 'आरबीबी फोन ऋण सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो । प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो ।' आरबीबी फोन ऋण सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
९ कम्पनीमा सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।