१७४ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७०५ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३३ करोड, युनाइटेड मोदीको २८ करोड ९७ लाख र राधी विद्युत कम्पनीको २८ करोड रुपैयाँको कारोबार भएको छ । कालिका पावरको सेयर मूल्य ९.८४ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ ।    बुधबारको कारोबारमा १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशतले बढेको हो । साथै वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।   

असार मसान्तसम्मको दाबी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको अनुरोध

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई असरा मसान्तसम्मको दाबी बापत्को रकम लिन अनुरोध गरेको छ । कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन आह्वान गरेको हो । कम्पनीका अनुसार हालसम्म दाबी सम्बन्धमा सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । तोकिएको समयावधिभित्र पनि आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ । 

एनपीएल घटेसँगै मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १५.६२ प्रतिशत बढेर १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३९ करोड ८० लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.०२ प्रतिशत घटेर ५ करोड ८७ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.६३ प्रतिशत बढेर ५३ करोड ६१ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा ११.५३ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वितरणयोग्य नाफा १५ करोड ९ लाख ४२ हजार रुपैयाँ थियो । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७८ करोड २० लाख १५ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा कम्पनीको निक्षेप संकलन ६.९१ प्रतिशत बढेर २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १०.७१ प्रतिशत बढेर १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, कम्पनीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८४.८४ प्रतिशत रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.७ रुपैयाँ बढेर २०.०३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा फाइनान्स प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८९६ गुणा रहेको छ ।  समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) पनि घटाएको छ । गत वर्षको पुसमा ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.६४ प्रतिशतमा झारेको छ ।